अध्ययन गर्ने शैली सुधारौँ

   रामदीप आचार्य comment 0

हामी कम्युनिस्टहरु मानव जातिलाई पूर्ण मानव बनाउने साम्यवाद सम्मको अतिलम्बे यात्राका यात्रीहरु हौं । मान्छेले मान्छेलाई गर्ने सबैखाले शोषण, दमन र विभेदबाट मुक्ति चहान्छौं । मुक्तिका अभियान्ताले मुक्तिको सिद्धान्तको अध्ययन जरुरी हुन्छ ।

जनवाद, समाजवाद हुँदै साम्यवादसम्मको हाम्रो यात्रा सुविचारित, योजनावद्ध र नियमबद्ध हुन्छ । विज्ञानले आफ्नो विकासक्रममा चमत्कारीक विकास गरेको छ । सबै विज्ञानहरुको पनि विज्ञान समाज विज्ञानको नेतृत्व गर्नेहरुले गहिरो र तथ्यपरक अध्ययन गर्न अत्यावश्यक छ । मार्क्सले सही नै भनेका हुन्–अज्ञानताले क्रान्ति र समाजको सेवा गर्दैन ।

अध्ययनको क्षेत्रमा हाम्रा समस्याहरु हुन् :

क) वैराग्यवाद

पढेर के हुन्छ ? काम गरे भैगो भन्ने मत । पढ्नु र गर्नुबीचको द्वन्द्वात्मक सम्बन्ध जान्न जरुरी छ । अझ उन्नत तरिकाले काम गर्नको लागी उन्नत स्तरको अध्ययनको जरुरी छ ।

ख) सामाजिक सञ्जालले आज ज्ञानको दायरा फराकिलो बनाएको छ, सिद्धान्तको अध्ययन जरुरी छैन भन्ने मत ।

सामाजिक सञ्जालको ज्ञान सतही, अपूरो र कहिलेकाही भ्रमपूर्ण समेत रहने गरेको छ । जसको हातमा भौतिक सत्ता हुन्छ उसैको हातमा वैचारिक सत्ता समेत रहने गरेको छ । अतः सामाजिक सञ्जाल पनि मान्छेले नै चलाउछन् र ति मान्छेका पनि वर्गीय स्वार्थहरु हुन्छन्, वर्गीय घेराहरु, सीमाहरु हुन्छन् जसलाई उनीहरु नाघेर बाहिर जान सक्दैनन् । सामाजिक सञ्जाल पनि कुनै सिद्धान्तद्वारा नै चलेका हुन्छन् । तसर्थ हाम्रो स्वतन्त्र अध्ययन जरुरी छ ।

ग) नेताले पढ्ने नीति बनाउने हो हामीले खुरुखुरु कार्यन्वयन गर्ने भन्ने मत ।

नेताले बनाउने नीतिको जग भनेको कार्यकर्ता र जनता हो । तलबाट कच्चा पदार्थ लिएर माथि तयारी माल तयार पार्ने हो । कच्चा पदार्थ नै सही भएन भने तयारी माल गतिलो हुँदैन । सही नीतिलाई कार्यन्वयन गर्न पनि सही ज्ञानको जरुरी हुन्छ ।

घ) के पढ्ने भन्ने अलमल  

मान्छे पढौं । धनी र गरीब पढौं । धनी कसरी धनी भयो र गरीब किन भयो भन्ने वैज्ञानिक कारण खोजौं । पूँजीपति र मजदुर पढौं । मजदुरको मुक्ति कसरी भन्ने उपाय खोजौं । साम्राज्यवाद र उत्पीडित देश पढौं । उत्पीडनबाट मुक्ति कसरी पढौं । पूँजीवाद र समाजवाद पढौं । पूँजीवाद कसरी नाशवान छ र समाजवाद कसरी विजय हुन्छ पढौं । इतिहास पढौं र वर्तमान पढौं । इतिहासबाट सिकौं र वर्तमानलाई भविष्यतिर फर्काऔं । क्रान्ति पढौं र प्रतिक्रान्ति पढौं । प्रतिक्रान्तिबाट सिकौं र क्रान्तिको दिशामा अगाडी बढौं ।

आजैदेखि पढौं । सिद्धान्तलाई व्यवहारसँग जोडौं । सिद्धान्तलाई व्यवहारमा जाँचौं । अझ उन्नत सिद्धान्तको लागी अझ उन्नत व्यवहार । व्यवहारमा प्रमाणित सिद्धान्त नै सही सिद्धान्त । ज्ञान सिद्धान्तको दोहोरो छलाङ यही हो । व्यवहार ज्ञान व्यवहार यही हो ज्ञान सिद्धान्तको अनन्त चक्र । स्वअध्ययनमा जोड गरौं र सामूहिक अध्ययन गर्ने पनि बानी बसालौं ।

लेखक सत्तारुढ नेकपाका केन्द्रीय सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *