अब अनलाइनबाटै बिहे, कोमल ओली ‘कारोबारी’

   नयाँ दैनिक comment 0

पुस १८, काठमाडौँ । कहिले ‘पोइला जान पाम’ त कहिले ‘मनमा आँट भाको, गोजीमा गाँठ भाको, यत्तिको मर्द भेटिएन कोही’ भनेर लोक गीतमार्फत बह पोख्ने चर्चित लोकदोहोरी गायिका कोमल ओली अब ‘कारोबारी’ बन्ने भएकी छिन् । दुई बीस उमेर काटिसक्दा पनि अविवाहित नै रहेकी ओलीले ‘माइस्वयम्भर डटकम’ नामक अनलाइन पोर्टल सञ्चालन गरी सोही मार्फत बरवधुको व्यवस्था गरिदिने ‘कारोबारी’को काम बुधबारबाट सुरु गरेकी हुन् । सोही अनलाइन मार्फत आफूले चाहेको मापदण्डअनुसारको वरवधु आवेदन फर्म भरेर हेर्न पाइने छ ।
रेडियो नेपालकी समाचार बाचिका ओली राजनीतिमा पनि लागिरहेकी छिन् । राजाको पालामा राजावादी र गणतन्त्र आएपछि गणतन्त्रवादी बनेकी ओली राप्रपा नेपालबाट तत्कालिन एमालेमा प्रवेश गरेकी थिइन् । हाल उनी नेकपाबाट राष्ट्रिय सभाको सांसद छिन् ।
‘मेरो स्वयम्बर’ नामको सो अनलाइन पोर्टलको मुख्य उद्देश्य सनातन नेपालीको बैद्धिक परम्परा जगेर्ना गर्नुका साथै धार्मिक अनुष्ठानलाई सहज, सरल तथा सुखमय दाम्पत्य जीवन बनाउने तथा ज्योतिषी, वास्तु परामर्श दिने रहेको ‘गुरु मञ्जरी’ नामक संस्थाले जनाएको छ ।
वरबधू खोजीमा रहेका व्यक्तिले उक्त वेबसाइटमा गएर आफूले खोजेको योग्यता पुगेको व्यक्तिको सूचना ग्रहण गर्ने, आफ्नो निवेदन दर्ता गर्ने र आफूले दिनुपर्ने सूचना दिएपछि पोर्टलका कर्मचारीले सुहाउँदो वरबधूको खोजी गरी निवेदकलाई सूचना दिइने जनाएको छ ।
सो अनलाइन पोर्टल नेपालका संयोजक मुकुन्द शर्माले सम्बन्धित देशको प्रचलित कानूनअनुसार वैवाहिक कानूनभित्र रहेर स्वतन्त्रता र गोपनीयतालाई उच्च सम्मान गर्दै विवाह गराउन मान्यताप्राप्त योग्य व्यक्तिबाट वरबधू खोजिदिने जानकारी दिए ।
नयाँ अनलाइनको शुभारम्भ गर्दै राष्ट्रियसभाकी सदस्य ओलीले नेपालको कला, संस्कृति तथा धर्मले नै मुलुकलाई पहिचान गरिरहेकाले यसलाई युवावर्गमा लानुपर्नेमा जोड दिइन् । उनले आफू कम्युनिष्ट पार्टीमा लागेको भए पनि हिन्दू धर्म, संस्कारमा अडिग रहेको बताउँदै हिन्दू धर्ममा गरिने यज्ञ तथा कर्मकाण्डले नै हिन्दू धर्मलाई जोगाइराखेको दावी गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *