हामी किन अल्पविकसित भयौं ?

   डा. बाबुराम भट्टराई comment 0

‘समृद्धि’ यतिबेला हामी नेपालीको राष्ट्रिय भोक बनेको छ। यो अत्यन्त राम्रो कुरा हो। किनकि भोक लागेपछि नै भोजनको बन्दोबस्ती सुरु हुन्छ। समृद्धिको राष्ट्रिय अभियानमा गम्भीरतापूर्वक प्रवेश गर्नुअघि हामीले केही निर्मम प्रश्नहरू आफैंसँग गर्न जरुरी छ। आखिर हामी किन अल्पविकसित भयौं ? ऐतिहासिक रूपले हामी किन र कसरी पछि पर्‍यौं ? हामीसरहका अरू देश चितुवाको गतिमा दौडिरहँदा हामी किन कछुवाको गतिमा घस्रिरहेछौं ? कुन कुन भित्री र बाहिरी कारण हाम्रा समृद्धिका लागि वाधक छन् ? आउनुहोस् एउटा खुला राष्ट्रिय संवाद सुरु गरौं !
सबभन्दा पहिले ‘विकास’ र ‘समृद्धि’ शब्दको प्रयोगबारे अलिकति चर्चा गरौं। परम्पपरागत रूपमा प्रयोग हुँदै आइरहेको शब्द ‘विकास’ ले आर्थिक वृद्धिमा बढी जोड दिने हुनाले विश्वमा नै क्रमशः ‘दिगो विकास’, ‘समावेसी विकास’ आदि शब्द प्रयोग हुन थालेका छन्। त्यसैले हामीले यहाँ आर्थिक वृद्धि मात्र हैन समग्र आर्थिक–सामाजिक रुपान्तरण र वृद्धिका साथै समावेशीता, दिगोपन र मानवीय खुसीको समेत भाव ग्रहण गर्ने बहुआयामिक शब्द ‘समृद्धि’ को प्रयोग गर्नु उपयुक्त ठानेका छौं।
साथै हामी अर्को के कुरामा पनि प्रष्ट हुुनुपर्छ भने समृद्धि भनेको एउटा ऐतिहासिक प्रक्रिया हो, एउटा परिघटना मात्र हैन। मानिसमा अन्तरनिहित उत्पादनशील र सिर्जनशील क्षमताको अधिकतम प्रस्फुटन र त्यसको समन्यायिक वितरण र उपभोगबाट सामाजिक मान्छेले प्राप्त गर्ने सन्तुष्टिको आधिक्यीकरण नै समृद्धि हो। त्यो स्वतः नै देश र कालसापेक्ष हुन्छ र निरन्तर परिवर्तनशील हुन्छ। वर्तमान नेपालको सन्दर्भमा समृद्धि भनेको औद्योगिक पुँजीवादी समृद्धि नै हो। भर्खरै अर्ध–सामन्ती कृषिप्रधान अर्थतन्त्रबाट व्यापारिक पुँजीवाद हुँदै औद्योगिक पुँजीवादतर्फ संक्रमण गर्न लागेको नेपाली समाजमा पहिले पुँजीवादी उत्पादक शक्तिहरूको विकास गरेर मात्र समुन्नत समाजवादमा संक्रमण गर्न सम्भव हुन्छ। त्यसैले अहिले हामीले विकास गर्ने समाजवाद–उन्मुख पुँजीवाद नै हो। यसमा कुनै द्विविधा रहनुहुन्न। यहींनेर हामीले आफैंसँग प्रश्न गर्नुपर्छ र उत्तर खोज्नुपर्छ–विश्वमा औद्योगिक पुँजीवादको विकास हुन थालेको पाँच सय वर्ष हुन लाग्दा पनि हाम्रो नेपाली समाजको औद्योगिक पुँजीवादी रुपान्तरण किन हुन सकेन ? केही प्रमुख कारण यी हुन सक्छन् –

पहिलो, सुरक्षित आश्रयस्थल : नागरिकहरूमा जति गतिशीलता र जोखिम उठाउने प्रवृत्ति हुन्छ उति छिटो त्यो समाजको प्रगति हुन्छ। तर नेपाल चाहिँ ऐतिहासिक रूपमा करिब एक लाख वर्ष पहिले ‘होमो सेपियन्स’ प्रजातिको आदिमानव उत्तर अफ्रिकाबाट पृथ्वीभर फैलने क्रममा विभिन्न दिशाबाट यहाँ आएर एउटा सुरक्षित आ श्रयस्थल मात्र बनेको बुझिन्छ। भारोपेली, तिब्बती–बर्मेली र अस्ट्रो–द्रविड भाषा परिवारका मानिसहरू यहाँका सुरक्षित पाखापखेरा, कन्दरा र खोंचमा हजारौं वर्षसम्म आदिम खेतीपाती, पशुपालन र शिकारमा रमाएर वा भाग्यलाई धिक्कारेर बसेको देखिन्छ।
काठमाडौं उपत्यका र केही हिमाली भेगबाहेक अन्यत्र बन्दव्यापार र उद्योगधन्दातिर उद्यत भएको पाइन्न। औसतमा पूर्व–पश्चिम करिब नौ सय र उत्तर–दक्षिण करिब दुई सय किलोमिटरको चतुर्भुज आकारको भूभागमा सत्तरी मिटरदेखि आठहजार आठ सय अठ्चालीस मिटरसम्मको उचाइको फरक, भूबनोट र जलवायुको चरम विविधता, तीव्र वेगमा उत्तर–दक्षिण बग्ने नदीहरूको प्रचुरता आदि कारणले यहाँको जनसंख्या, वस्ती, भाषा, संस्कृति, उत्पादन प्रणाली अत्यन्त खण्डित रह्यो। यस्तो अवस्थामा एउटा एकीकृत राष्ट्रिय बजार बन्न सकेन, जुन औद्योगिक पुँजीवादको निम्ति अनिवार्य पूर्वसर्त हुन्थ्यो। त्यसैले जतिबेला चौधौं–पन्ध्रौं शताब्दीदेखि युरोपियनहरू बजारको खोजी र विस्तारको निम्ति समुद्रीमार्ग हुँदै संसार चहारिरहेका थिए र विभिन्न वैज्ञानिक आविष्कारहरू गरिरहेका थिए, हामी मस्त निद्रामा निदाइरहेका थियौं। नदीकिनार र पहाडका गुफाहरूमा ऋषिमुनीहरूका तपस्याका बखान सुनिरहेका थियौं। त्यहींबाट हामी पछि पर्‍यौं।

दोस्रोे, इतिहासको विडम्बना :औद्योगिक विकासको निम्ति केन्द्रीकृत राष्ट्रिय–राज्य वा संघीय–राज्य आवश्यक हुन्छ। त्यही ऐतिहासिक आवश्यकता पूर्ति गर्न पचासौं राज्यमा विभाजित यस भूखण्डको भौगोलिक एकीकरणको प्रयास अठारौं शताब्दीमा हुनु अनिवार्य थियो। काठमाडौंका मल्ल शासक, तराई–मधेसका सेन शासक र बाइसी–चौबीसीका खस शासकमध्ये जो कसैको नेतृत्वमा पनि सो कार्य सम्पन्न हुन सक्दथ्यो। इतिहासको विडम्बना के भइदियो भने तुलनात्मक रूपले कमजोर र गरिब गोरखाका खस शासक पृथ्वीनारायण शाहको नेतृत्वमा त्यो अभियान सम्पन्न भयो। युगको आवश्यकता सामन्तवादबाट पुँजीवादतर्फ संक्रमण थियो, युरोप र अमेरिका त्यही दिशातिर गइरहेको थियो। तर नेपालमा जमिनका भोका गोरखाली शासकहरूले ठूलो पैमानामा जमिनको वितरण आफ्ना आसेपासेहरूलाई गरेर सामन्तवादको जग बलियो पार्दै लगे।सायद उद्योग र व्यापारको विकास भएको काठमाडौं उपत्यकाका मल्ल शासकहरूले राज्य एकीकरणको नेतृत्व गरेको भए इतिहासले अर्कै बाटो लिन्थ्यो कि ? अथवा पहिल्यै प्रशस्त खेतीयोग्य जमिन भएका सेन शासकहरूले नेतृत्व गरेको भए ? त्यो त अब अनुमानको विषय मात्र भयो। फेरि पनि पृथ्वीनारायण शाह वा जो कसैको नेतृत्वमा देशको भौगोलिक एकीकरण हुनु ऐतिहासिक रूपले सकारात्मक परिघटना नै हो। अनौठो संयोग के भने गोरखाले काठमाडौं कब्जा गरेको वर्ष सन् १७६९ मा पहिलो औद्योगिक क्रान्तिका अगुवा जेम्स वाटले वाष्प इन्जिनको प्याटेन्ट दर्ता गरेका थिए। त्यस्तै पृथ्वीनारायण शाहको देहान्त भएको दुई वर्षपछि सन् १७७६ मा पुँजीवादको बाइबल, कुरान, गीता भनिने आडम स्मिथको ‘द वेल्थ अफ नेसन्स’ प्रकाशित भएको थियो। यसरी यहाँनेर पनि हामी चुक्यौं !

तेस्रो, हलाल क्रान्ति :निरंकुश राजतन्त्रविरोधी राजनीतिक क्रान्ति सम्पन्न गरेर प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली, विधिको शासन र सोहीअनुरूपका राज्य संरचना निर्माण भएपछि मात्र विभिन्न देशमा औद्योगिक क्रान्ति भएका छन्। बेलायत, फ्रान्स, अमेरिका, रुस, चीनलगायतका इतिहास यसका साक्षी छन्। तर नेपालमा २००७ देखि भएका सबै राजनीतिक क्रान्ति र जनआन्दोलनहरू सम्झौता र आंशिक उपलब्धिमा टुंगिएका छन्। जसलाई ‘हलाल क्रान्ति’ भन्न सकिन्छ। हलाल क्रान्तिमा सधैं नयाँ क्रान्तिकारी शक्तिले पुरानो सत्ताधारी शक्तिसँग सम्झौता वा सत्तासाझेदारी गर्दछ र अन्नतः पुरानै शक्तिको वर्चस्व रहने गरी राज्य संयन्त्रमा आलंकारिक परिवर्तन मात्र हुन्छ। नेपालमा लामो संघर्षपछि बल्ल संघीय लोकातान्त्रिक गणतन्त्र स्थापना भएको छ। तर राज्यका अंगहरूमा अझै औद्योगिक क्रान्ति सम्पन्न गर्नका निम्ति आवश्यक परिवर्तन हुन सकेको छैन। आवश्यक ऐनकानुन तथा नियम र संस्थाहरू बन्न सकेका छैनन्। राजनीतिक क्रान्तिको जगमा मात्रै आर्थिक क्रान्ति सम्पन्न हुन्छ भन्ने बुझ्न नसक्नु वा ढिलो गर्नु हाम्रो ठूलो ऐतिहासिक गल्ती भएको छ र हुनेछ। यसरी हलाल क्रान्तिले गर्दा पनि ऐतिहासिक रूपले पछि पर्‍यौं।

चौथो, भाग्यवाद र जातपात : मान्छेको दिमागमा क्रान्ति नभएसम्म संसारमा कुनै पनि परिवर्तन वा क्रान्ति सम्भव हुँदैन। दश हजार वर्षको मानव सभ्यताको इतिहासमा पछिल्लो पाँच सय वर्षमा मात्रै यति ठूलो चौतर्फी परिवर्तन र प्रगति भएको सबभन्दा पहिले मान्छेको दिमागमा रहेको युगौंदेखिको अन्धविश्वास, रुढीवादका विरुद्ध वैज्ञानिक क्रान्ति भएर नै हो। युरोपमा पन्ध्रौं शताब्दीमा चर्चको सुधारपछि क्रमशः सोह्रौंदेखि अठारौं शताब्दीसम्म विज्ञानको क्रान्ति, प्रवोधन (इनलाइटनमेन्ट) को रूपमा वैचारिक क्रान्ति, राजनीतिक क्रान्ति र औद्योगिक क्रान्ति भएको हो। नेपालमा चाहिँ हामी अहिलेसम्म धर्मको आडमा समाजलाई गाँजीरहेको अन्धविश्वास, रुढीवाद, भाग्यवाद, जातपात जस्ता अवैज्ञानिक र प्रगतिविरोधी सोच मान्यता र कुरीतिलाई परित्याग गर्न सकिरहेका छैनौं। खासगरी भाग्यवाद र जातपात हाम्रो आर्थिक समृद्धिका सबभन्दा ठूला बाधक रहँदै आएका छन्। आफू बाँचेको यो लोक र जुनीमा भौतिक सुखसुविधा प्राप्त नहुने र तर आफूले नदेख्ने र नभोग्ने काल्पनिक परलोक र परजुनीमा मात्र सुख र समृद्धि पाउने हो भने कसले र किन मरिमेटेर काम गर्छ ? त्यस्तै जन्मको आधारमा श्रमको विभाजन गरिने वर्णा श्रम वा जातपात प्रथा अवैज्ञानिक र विभेदकारी मात्र छैन व्यक्तिले आफ्नो रुची र क्षमताअनुसारको व्यवसाय गर्न नपाएसम्म उद्यमशीलताको विकासै हुँदैन, जुन समृद्धिको पहिलो आधारशिला हो। त्यसैले जबसम्म भाग्यवाद र जातपातको जरोकिलो उखेलेर फाल्न सकिन्न, त्यतिबेलासम्म हाम्रो समाजले समृद्धि हासिल गर्न सक्दै–सक्दैन। यो धर्मको मुद्दा नभएर धर्ममाथि पलाएको गलगाँडको कुरा हो, जसलाई फाल्नु भनेको धर्मप्रति कुनै अनादर हुँदैहैन।
श्रम गर्नेलाई सानो वा हेय ठान्ने र श्रम नगरी ठालु पल्टने परजीवीलाई ठूलो ठान्ने संस्कार हाम्रो प्रगतिको अर्को मुख्य वाधक हो। यही गलत श्रमसंस्कृतिका कारणले पढेलेखेका युवायुवती समेत देशभित्र श्रम गर्न हिच्किचाउने र विदेशमा गएर जस्तोसुकै कठिन श्रम गर्ने प्रवृत्ति बढ्दो छ। श्रम गर्नु धर्म हो, श्रम नगरी खानु अपराध र पाप हो भन्ने मान्यता समाजमा स्थापित नगरेसम्म हामी समृद्धिको यात्रामा पछि परिनै रहनेछौं।

पाँचौं, भूराजनीतिको पासो : कसैको विकास र विनासको मूल कारण आफैंभित्र अन्तरनिहित रहने आम नियम सही हुँदाहुँदै पनि विकासको खास चरणमा बाह्य पक्षले महत्वपूर्ण र निर्णायक भूमिका खेल्न सक्छ। नेपालको ठोस सन्दर्भमा उन्नाइसौं शताब्दीमा भर्भराउँदो अवस्थामा रहेका र आधुनिक म्यानुफ्याक्चरिंग उद्योगमा रुपान्तरित हुने अवस्थामा रहेका घरेलु उद्योगहरू सुगौली–सन्धिपछि भारतीय ठूला उद्योगहरूसँग प्रतिस्पर्धा गर्न नसकेर मरणासन्न बन्दै गए। त्यस्तै चिनियाँ क्रान्तिपछि नेपालको तिब्बतसँगको व्यापार सम्बन्ध अन्त्य भएर नेपाली घरेलु उद्योगहरू थप धराशायी भए। यसरी विशाल भारत र चीनको बीचमा नेपालको भूराजनीतिक अवस्थिति नेपालको समृद्धि यात्राको निम्ति ठूलो अवसर र चुनौती दुवै रहेको छ।
सुगौली–सन्धिभन्दा पहिले आयात भन्दा निर्यात पाँच गुणा बढी भएको नेपाल–भारत व्यापार अहिले निर्यात भन्दा आयात पन्ध्र गुणा बढी हुनु ठूलो चुनौतीको विषय हो। समुन्द्र जस्तो भारत र कुवा जस्तो नेपालको अर्थतन्त्रलाई अनियन्त्रित खुला सीमानाले जोडिराख्दा यो असन्तुलन र परनिर्भरता झन बढ्दै जाने निश्चित छैन र ? वर्तमान भूमण्डलीकरणको युगमा र उत्तरी छिमेकी चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको स्थितिमा आर्थिक सम्बन्धको विविधीकरण नगरी एउटै देश भारतसँगको निर्भरता बढाउँदै लैजानु हामी पछि पर्नुको एउटा निर्णायक कारण हो। यस्तो संवेदनशील भूराजनीतिक विषयमा आन्तरिक राष्ट्रिय सहमति निर्माण हुन नसक्नु झन ठूलो लज्जाको विषय हो। अनि हामी पछि नपरे को पर्छ त ?

छैटौं, पुँजी सञ्चयको संकट : औद्योगिक क्रान्तिका लागि कृषि र व्यापारिक क्षेत्रबाट प्रारम्भिक पुँजी सञ्चय र पुँजीको विस्तारित पुनरुत्पादनका निम्ति लागिपर्ने उद्यमशील वर्गको जन्म निर्णायक महत्वको विषय हो। तर नेपाली इतिहासमा विशेषतः राणाकालदेखि कृषि र व्यापारिक क्षेत्रबाट सञ्चित पुँजी विलासिताको उपभोग र ठूला दरबारहरू जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति बढ्दै गयो। पछिल्लो चरणमा विप्रेषणबाट प्राप्त रकम पनि आयातित विलासिताका वस्तुमा खर्च गर्ने प्रवृत्ति कायम छ। पछिल्लो मन्त्रीहरूको सम्पत्ति विवरणबाट पनि जमिन, घर, सुनजस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्ति ज्यूँ का त्यूँ रहँदै आएको पुष्टि हुन्छ। बैंक र वित्तीय संस्थाहरूको खर्बौंको पुँजी उत्पादनशील भन्दा अनुत्पादनशील र उपभोगका क्षेत्रमा अल्झिरहेको प्रष्टै देख्न सकिन्छ।
अर्कोतिर, उद्यमशील वर्गको विकास हुनुसट्टा राज्यसत्ताको दोहन गर्ने क्रोनी क्यापिटालिस्ट, कमिसनखोर, विदेशी कम्पनीका दलाल आदिको विस्तार हुँदै गएको प्रष्ट देख्न सकिन्छ। साथै यातायात, निर्माण, वैदेशिक रोजगारीलगायत सबै व्यवसायमा सुरुदेखि नै सिन्डिकेट, कार्टेलिङ, एकाधिकार, आदि देखापर्नु प्रतिस्पर्धी औद्योगिक पुँजीवादको विकास निम्ति शुभसंकेत हुँदै हैन। पछिल्लो चरणमा सत्ताधारी कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता नै विभिन्न तहका सरकारमार्फत राज्यसत्ताको दोहन गर्ने भीमकाय नोकरशाही संयन्त्रमा परिणत हुने गम्भीर संकेत देखा परिरहेका छन्। यसरी उत्पादनशील पुँजीको निर्माण र उद्यमशील वर्गको विकास गर्न नसक्नु हामी पछि पर्नुको सम्भवतः सबभन्दा महत्वपूर्ण कारण हो।

सातौं, श्रमशक्तिको पलायन :देशभित्र स्वतन्त्र श्रमशक्तिको प्रचुर उपलब्धता औद्योगिक क्रान्तिका लागि एउटा अपरिहार्य पूर्व सर्त हो। तर नेपालमा सुगौली सन्धिलगत्तै पछिदेखि विदेशी सेनामा भर्ती हुने क्रम सँगसँगै ग्रामीण कृषिक्षेत्रको अतिरिक्त श्रमशक्ति विदेश पलायन हुने प्रवृत्ति निरन्तर बढ्दै गइरहेको छ। पछिल्लो चरणमा चालीसौं लाख युवा सस्तो श्रम बेच्न खाडीलगायतका मुलुकहरूमा औपचारिक रूपमै निर्यात भइरहेका छन्। पुँजी आयात गरेर वस्तु निर्यात गर्नु सट्टा श्रम निर्यात गरेर वस्तु आयात गर्ने यस्तो उल्टो प्रणालीले समृद्धि हासिल भएको उदाहरण इतिहासमा कतै छैन। यो प्रवृत्ति निर्णायक ढंगले नसल्टिएसम्म हामी पछि नै परिरहनेछौं।

आठौं, विज्ञान–प्रविधि प्रतिको उदासीनता : विकसित देशहरूको एउटा साझा विशेषता विज्ञान–प्रविधिको क्षेत्रलाई उच्च प्राथमिकता दिनु हो। नयाँ खोज र आविष्कारको भावना पहिलो, दोस्रोे, तेस्रो हुँदै अहिलेको चौथो औद्योगिक क्रान्तिसम्मको प्रमुख विशेषता हो। तर हामीकहाँ देशको पहिलो वैज्ञानिक गेहेन्द्र शमशेरको रहस्यमय हत्यादेखि वर्तमानमा आविष्कार केन्द्रको स्थापनामा अरुची र विज्ञान–प्रविधि शिक्षामा अपराधिक उदासीनतासम्मले अत्यन्त गम्भीर स्थितिको चित्रण गर्दछ। सार्वजनिक शिक्षाको दयनीय अवस्था र सीमित दक्ष जनशक्तिको समेत बढ्दो विदेश पलायनले हाम्रो आर्थिक क्रान्तिको सपना फगत दुःस्वप्नमा परिणत हुने खतराकै संकेत गर्दछ। यसरी पनि हामी पछि परिरहेछौं।
यी सबै विषयमा आज गम्भीर राष्ट्रिय विमर्शको खाँचो छ। एक्काइसौं शताब्दीमा समृद्धिको सागरको बीचमा अल्पविकासको टापु भएर बस्ने छुट हामीलाई पटक्कै छैन। भूपिले भने झैं – ‘को सक्छ निदाउन खरबारीमा, वरिपरी मुढाहरू दन्किरहेको बेलामा।’

(२०७५ असार ७ मा प्रकाशित लेख)

Leave a Reply

Your email address will not be published. Required fields are marked *