आन्दोलनमा डाक्टर, स्वास्थ्य मन्त्रालय बेखबर

   नयाँ दैनिक comment 0

चैत २२, काठमाडौँ । देशैभरका सरकारी डाक्टरहरु फेरि आन्दोलनमा उत्रिएका छन् । सरकारले अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने हिजोमात्रै घोषणा गरेको थियो ।

सरकारी चिकित्सकहरुले कुनै पनि सरकारी अस्पतालमा आकस्मिक बाहेकका बिरामी नहेरेको बताएका छन् । देशभर नै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका काम बन्द गरेका छन् ।

यसअघि पनि आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुलाई प्रधानमन्त्री केपी ओलीले गत फागुन १८ गते माग सम्बोधन गर्ने आश्वसन दिएका थिए । प्रधानमन्त्रीको प्रतिबद्धतापछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन् । आजको आन्दोलनबारे पनि स्वास्थ्य मन्त्रालयले कुनै जानकारी नभएको जनाएको छ ।

सरकारी डाक्टरहरुले सेवा नै अवरुद्ध पारेर आन्दोलनमा उत्रिएपछि सर्वसाधारणहरुले शुक्रबार काठमाडौं उपत्यकालगायत देशैभरका सरकारी अस्पतालबाट ओपीडी सेवा लिन पाएका छैनन् । सरकारले चैत १४ गतेको मन्त्रिपरिषद बैठकमार्फत अत्यावाश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने भन्दै राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय बिहीबारमात्रै सार्वजनिक गरेको थियो ।

सो निर्णयअनुसार टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्यास, अस्पताल एम्बुलेन्स, औषधि उत्पादन, फोहोर मैला व्यवस्थापन, विद्युत, दैनिक खाद्य बस्तु लगायतका क्षेत्रमा अवदेखि हड्ताल गर्न पाईंदैन ।

तर, सरकारको निर्णयलाई चुनौती दिँदै सरकारी चिकित्सकहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी अस्पतालमा शुक्रबारबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेको बताइएको छ ।

आफूहरूलाई संघीय सरकारको मातहतमा राख्नुपर्ने उनीहरुको माग छ । सरकारले चिकित्सकहरूलाई निजामती कर्मचारी सरह समायोजन गर्न खोजेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । हाल देशभर १४ सय सरकारी चिकित्सक कार्यरत छन् ।