उच्च रक्तचापको रोकथाम उपचार कसरी गर्ने ?

   डा.सन्देश लामिछाने comment 0

पछिल्लो तथ्यांकअनुसार विश्वमा १.३ विलियनभन्दा बढी मानिसमा उच्च रक्तचापको समस्या देखिन्छ । हाम्रो देश नेपालमा प्रत्येक तीनमध्ये एक जनामा यो समस्या रहेको अनुमान गरिएको छ । तर यीमध्ये धेरै व्यक्तिहरुलाई थाहा पनि हुँदैन कि आफूमा यो समस्या छ भनेर । किनभने सबै बिरामीमा लक्षण देखिन्छ नै भन्ने हुँदैन । त्यसैले आफू सावधान रहेर वर्षमा कम्तिमा दुई पटक व्लड प्रेसर नाप्नु अति आवश्यक छ ।
उच्च रक्तचापका धेरै विरामीहरुमा मधुमेह (सुगर) रोग पनि सँगसँगै भएको तथ्यांकले देखाउँछ । जुन शरीरका लागि झनै घातक सावित हुन्छ । त्यसैले व्लड प्रेसर सँगसँगै रगतमा सुगरको मात्रा जाँच्नु पनि अति आवश्यक छ । सामान्यतया उच्च रक्तचापका विरामीमा कुनै लक्षण देखिँदैन तर केही विरामीमा भने चक्कर लाग्ने, बेलाबेला टाउको दुखिरहने, सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्नेजस्ता लक्षणहरु देखिन्छन् । यस्तो समस्या देखिएमा तुरुन्त अस्पताल गएर विशेषज्ञ चिकित्सकसँग परामर्श लिनु पर्दछ ।
कतिपय व्यक्तिहरु उच्च रक्तचाप भएको थाहा हुँदाहुँदै पनि नियमित औषधि सेवन गर्नुपर्दछ, एक पटक औषधि प्रयोग गर्न थालेपछि जिन्दगीभर छाड्न मिल्दैन भन्ने भ्रमका कारण औषधिको प्रयोग गर्न डराउँछन् । कतिपय बिरामी त औषधि सुरु गरेपछि पनि नियमित औषधिको सेवन नगर्ने, फलोअपमा नजाने र डाक्टरको सल्लाहअनुसार शारिरीक व्यायाम नगर्ने, खानपानमा सावधान नअपनाउने गरेको पनि पाइन्छ ।
यस्ता विरामीमा उच्च रक्तचापले ‘साइलेन्ट किलर’ अर्थात ‘स्लो पोइजन’ जसरी शरीरका मुख्यमुख्य अङ्गहरु जस्तैः मुटु, मस्तिस्क, मृगौला, आँखा, धमनीलाई नराम्ररी असर गर्दछ । फलस्वरुप हृदयघात, पक्षघात, मृगौला खराब हुनेदेखि अन्धोपनसम्मका समस्या आउने खतरा हुन्छ ।
९५ प्रतिशत प्रेसरको प्रत्यक्ष कारण के हो भन्ने थाहा हुँदैन । यसलाई ‘प्राइमरी (एसेन्सियल) हाइपरटेन्सन’ भनिन्छ । तर ‘प्रेसर’ बढाउने मुख्य कारक तत्वहरुमा रक्सीको अधिक मात्रामा सेवन, धुम्रपान, मोटोपन, मानसिक तनाब, वंशानुगत, नुनको बढी मात्रामा प्रयोग, बढ्दो उमेर र शारीरिक व्यायामको कमी आदिले मुख्य भूमिका खेल्दछन् ।
यी बाहेक ५ प्रतिशत बिरामीमा किड्नीसम्बन्धि समस्या, मुटुको समस्या, थाइरोइड ग्लान्ड र अरु विभिन्न हर्मोनल ग्लान्डसम्बन्धि समस्या, औषधि (स्टेरोइड)को लामो प्रयोग, सुत्केरी अवस्थाका कारणले पनि उच्च रक्तचाप हुन सक्दछ । यसलाई सेकेन्डरी हाइपरटेन्सन भनिन्छ ।

कति व्लड प्रेसरलाई हाइपरटेन्सन भन्ने ?

हाइपरटेन्सनको नयाँ गाइडलाइन :

उच्च रक्ताचापको रोकथाम र उपचार कसरी गर्ने ?

क) जीवनशैलीमा परिवर्तन
१. स्वस्थ खानेकुराको प्रयोग
DASH Diet (Dietary Approach to stop hypertension को पालना । यस अन्तर्गत हरियो सागपात, फलफूल, माछा आदिको सेवनमा वृद्धि र बढी चिल्लो र बोसोयुक्त खानामा कमी गर्नुपर्दछ ।
२. नियमित आहारमा नुनको प्रयोगमा कमी ल्याउनुपर्दछ । दैनिक आहारमा सोडियम पन्ध्रसय मिलिग्राम भन्दाबढी हुनुहुँदैन ।
३. धुम्रपान र मध्यपान गर्नु हुँदैन ।
४. तौल घटाउनुपर्दछ ।
५. नियमित शारीरिक व्यायाम गर्नुपर्दछ । दिनको कम्तिमा ३० मिनेट पैदल हिँड्ने गर्नुपर्दछ ।
६. तनाब व्यवस्थापन उपाय जस्तैः मेडिटेशन, योगा, जीम गर्नुपर्दछ ।
७. दिनमा कम्तिमा ६, ७ गिलास पानी पिउनुपर्दछ ।

ख) औषधिको प्रयोग
चिकित्सकको सल्लाहबमोजिम नियमित औषधिको प्रयोग गर्नुपर्दछ । व्लड प्रेसरको नियमित मनिटरिङ गर्ने र चिकित्सककोमा नियमित फलोअपमा जानुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *