बिरामीको पिडा : ‘डाक्टरको हडतालले अप्रेसन रोकियो’

   नारायण शर्मा comment 0

चैत २३, काठमाडौँ । चिकित्सकले फागुन १ गते जचाउँदा भनेका थिए, ‘फेरि अर्को अप्रेसन चैत २२ मा गर्नुपर्छ, २० गते सम्पर्क गर्नुस् ।’ मैले त्यसै गरेँ । २१ गते बिहीबार बिहान ९ बजे भर्ना भएँ, वीर अस्पतालको ग्यास्ट्रो सर्जरी बेड नम्बर १९३ मा । चिकित्सकले चेकजाँच गरे । पहिलेझैं रगत, ईसीजी, एक्सरे गर्न भने । त्यसै गरेँ । सबै ल्याबका रिपोर्ट फाइलमा ठिक्क पारेँ ।

सरकारी चिकित्सकले आफूहरूलाई संघीय सरकार मातहत मात्र राख्न माग गर्दै आकस्मिकबाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेपछि काठमाडौंस्थित वीर अस्पताल परिसरमा शुक्रबार विलखबन्द बिरामी र आफन्त । तस्बिर स् सुरविन्द्रकुमार पुन

बिहीबार बेलुका चिकित्सकले भने, ‘ल खाली पेट बस्नू । शुक्रबार बिहान अप्रेसन हुन्छ ।’ केही खाइनँ, खाली पेट बशुल्क हजार रुपैयाँ पनि बुझाएँ । चिरफारका सामान र बेहोस पार्न आवश्यक सबै औषधि किनेर ल्याएँ, ठिक्क पारेँ ।

मनका कुरा खेलिरहेँ– कति दिन अस्पताल बस्नुपर्ने हो । अझ अर्को अप्रेसन गर्न पर्लारनपर्ला । कतिबेला उज्यालो हुन्छ र अप्रेसन सुरु गरिएला भन्ने भइरह्यो ।

पेट खाली थियो । भोक लाग्ने नै भयो । दिसा गर्ने ठाउँमा काट्नुपर्ने भएकाले इन्फेक्सनको बढी सम्भावना थियो । त्यसैले बिहीबार दिउँसो १२ बजेदेखि खाली पेट बसेको थिएँ । हरक्षण अप्रेसनको चिन्ता मनमा भइरह्यो । यो अप्रेसन सक्न पाए, केही बिसेख हुन्थ्यो कि १

दिसा गर्ने ठाउँमा चिर्नुपर्ने भएकाले पेट खाली गराउन साबुनपानीको झोल गुद्द्वारबाट छिराउनुपर्ने हुन्छ । पेटमा पानी परेको केही सेकेन्डमै दिसा लाग्छ । ६० बेड रहेको ठाउँमा दुइटा शौचालय थिए । कुरुवाको संख्या त्योभन्दा बढी । फोहर र दुर्गन्धले शौचालय जानै नपरे हुन्थ्यो भन्ने लाग्ने । ट्वाइलेट खाली नहुने समस्याले पहिल्यै कसैलाई ट्वाइलेटभित्र चुकुल लगाएर बसाउन म अभ्यस्त भइसकेको थिएँ । किनकि, साबुनपानी पेटमा परेको २ सेकेन्डमै दिसाले अत्याउँछ ।

शुक्रबार बिहानै अप्रेसनका लागि चिकित्सक आएर सबै हेरेरजाँचे । ‘ठीक छ’ भने । गए । अप्रेसनमा लैजान ह्विलचियर लिएर आउलान् भन्दाभन्दै निदाएँ । दिउँसो १२ बजेसम्म कोही आएनन् ।

नर्सलाई सोधेँ, ‘अप्रेसन गर्न किन ढिलो रु’ उनले उल्टै ‘तल्लो तलामा रहेको अप्रेसन थिएटरमा गएर ग्यास्ट्रोको डाक्टरलाई आफैंले सोध्न’ भनिन् । म झोंक्किँदै तल झरेर सोधेँ । अप्रेसन गर्न ठीक पर्न लगाएका डाक्टर इन्द्रकुमार झाले जवाफ फर्काए, ‘हेर्नुस् नारायणजी, हामी अप्रेसन गर्ने युनिफर्ममा छौं । तर डाक्टरहरूको हडताल छ । तपाईंको गरौं भने फेरि डाक्टरहरू कराउँछन् ।’ पेसागत आन्दोलन भएकाले नरिसाउनुहोला भने । ‘हडताल रोकिए बुधबार सम्पर्क गरेर अर्को बिहीबार भर्ना हुने र शुक्रबार अप्रेसन गरौंला है’ भन्दै बिदा हुन खोजे । म नाजवाफ भएँ । कुरेरै भए पनि उनैबाट अप्रेसन गराउनुछ, रिसाउने कुरै भएन ।

भनेँ, ‘त्यसो भए डिस्चार्ज कागजमा चिकित्सकको हडतालका कारण अप्रेसन हुन सकेन भनेर लेख्दिनुस् ।’ उनले ‘बरु अप्रेसन पोस्टपोन्ड भयो भनेर लेखौंला, चिकित्सकको हडतालले सरेको भनेर लेख्न मिल्दैन’ भने । म २४ घण्टादेखिको भोक र तिर्खाले छटपटिएको थिएँ । कुरुवा बस्ने छोरा अनमोल भन्दै थियो, ‘अघिल्लो दिनदेखि भर्ना गरेको बिरामीलाई हडताल भन्दै घर पठाउने कस्तो देश हो रु’ यो सुनेर मेरो आँखा त्यसै रसाए । मैले तिनै चिकित्सकको भनाइ सापटी लिएर छोरालाई सम्झाएँ, ‘यो संक्रमणकाल हो बाबु । यस्तै हो ।’

त्यसपछि चुप लागेँ । फेरि आगामी साता अप्रेसन गर्न छँदै छ, धेरै के बोल्नू । मनमा प्रश्न उब्जिरह्यो,‘अत्यावश्यक सेवामा हुने डाक्टरको हडताल कसका लागि १ बिरामी कि उनीहरू आफ्नै लागि १’ अन्तमा अस्पतालले मलाई त्यस्तो पत्रमा हस्ताक्षर गर्न लगायो, जहाँ लेखिएको थियो, ‘मेरो अप्रेसन पोस्टपोन्ड भएकाले आफ्नै जिम्मामा बुधबार आइपुग्ने गरी घर जाँदैछु, यसबीचमा केही भैपरी आएमा वार्डको स्टाफलाई कुनै दोष दिने छैन ।’

दुई वर्षअघि मलाई बस्दा दुख्ने समस्या सुरु भयो । चितवनका नाम चलेका डाक्टरलाई देखाउँदा भनेका थिए, ‘खासै केही समस्या छैन ।’ तर दुख्न छोडेन, बरु बढ्दै गयो । काठमाडौं छिरेँ । त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा डा। पारसमान श्रेष्ठलाई देखाएँ । उनले विभिन्न ल्याब रिपोर्ट हेरेपछि डा। सुबोध अधिकारीलाई रिफर गरे । मैले सुबोधलाई देखाएँ । उनले ठूलो खालको फिस्टुला भएको भने । ल्याब रिपोर्टले त्यही पुष्टि गर्‍यो । १३ इन्च लामो घाउसहितको ‘पेरिनुअल फिस्टुला’ भएकाले कम्तीमा पनि ४र५ पल्ट अप्रेसन गर्नुपर्ने बताए । म त्यसका लागि तयार भएँ ।

घाउ ठूलो भएकाले डाक्टरको ठूलै टिम चाहिने भन्दै डा. सुबोधले नै वीर अस्पतालमा राम्रो हुन्छ, म आफैं तपाईंको अप्रेसन गर्छु भने । मैले उनले भनेअनुसारै गरेँ । माघ ९ गते अप्रेसन गरियो । वीरको ग्यास्ट्रो सर्जरी विभागमा आइतबार र बुधबार आवश्यकताअनुसार फलोअपमा जान्थे । घाउ सुधार हुँदै थियो । बस्न भने मिल्दैन्थ्यो । त्यही अप्रेसनका लागि बिहीबार भर्ना भएँ । डाक्टरको हडतालले मेरो अप्रेसन रोकियो । मजस्ता थुप्रै बिरामीको अप्रेसन रोकियो । किनकि डाक्टरहरू हडतालमा छन् ।

(कान्तिपुरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *