ओरालो लाग्दै रविन्द्र अधिकारी

४ अर्ब २५ करोड भ्रष्टाचार भएको ठहर
   नयाँ दैनिक comment 1

पुस १७, काठमाडौँ । रविन्द्र अधिकारी चर्चामा छन् मन्त्री भएदेखि नै । यसो त उनी पहिले पनि चर्चा चाहने नेता हुन् । होचा कदका भए पनि अग्ला कुरा गर्ने उनी कस्केली जनताको प्रिय थिए कुनै बेला । मिठो स्वरमा तार्किक कुरा गर्थे । नेपाली राजनीतिका राम्रा नेताहरूमा उनको पनि नाम आउँथ्यो ।
विशेषतः कास्कीबाट देशको उच्च तहमा पुग्न सक्ने नेताका रुपमा उनलाई हेरिन्थ्यो । विद्यार्थी आन्दोलनबाट स्थापित अधिकारीको सबैसँग घुलमिल हुने र तार्किक विषय राख्न सक्ने खुबीको देशैभर प्रशंसक थिए । मिडियामा पनि सम्भावित युवा नेताको रुपमा उनले बढी नै ‘स्पेस’ पाएका हुन् । जसको कारण २०६४ को चुनाबमा देशका अधिकांस निर्वाचन क्षेत्रमा माओवादीले चुनाब जिते पनि कास्की ३ बाट भने उनलाई नै जनताले जिताए । सोही निर्वाचन क्षेत्रमा पनि समानुपातिकतर्फ भने माओवादी पार्टी नै हजारौँ मतले अगाडि थियो ।
तत्कालिन एमालेको महाधिवेशनमा पनि राम्रै मत ल्याएर केन्द्रीय समितिमा निर्वाचित भएका थिए अधिकारी । कास्कीबाट लगातार ३ पटकसम्म चुनाव जित्ने उनी नै एक मात्र सांसद हुन् । २०६४, ७० र ७४ मा गरी उनले आफ्नै जन्मथलोबाट ह्याट्रिक नै गरेका थिए । पार्टीले विश्वास गरेरै उनलाई पर्यटन मन्त्रीको जिम्मेवारी दिएको हो सायद ।
अधिकारी पर्यटन मन्त्री भएपछि पर्यटनको क्षेत्रमा आमूल परिवर्तन आउँछ कि भन्ने जनता र व्यवसायीमा ठूलै विश्वास थियो । मन्त्री हुनेबित्तिकै विवादास्पद व्यक्तिलाई विज्ञमा नियुक्ति गरेपछि उनीप्रतिको विश्वासको ‘ग्राफ’ ह्वात्तै घट्यो । कहिले मदिरा साक्षी राखेर नाचेका त कहिले गुण्डासँग गला जोडेका तस्बिर बेलाबेला सार्वजनिक नभएका भने होइनन् ।
मन्त्री भएपछि पनि होटलमा मदिरा पिएर मातेका समाचारहरु सार्वजनिक भएपछि आशा निराशा र आलोचनामा परिणत हुन थाल्यो । कास्कीको भरतपोखरीमा जन्मिएर विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागिरहेका उनले ३ वटा घर र ६० तोला सुन सम्पत्ति विवरणमा देखाएपछि उनीप्रति धेरैको सहानुभूति रहेन । जब विमान खरिद प्रकरण अर्थात् ‘वाइडवडी’बारेका विषय बाहिर आए तब उनीप्रतिको आशंका आलोचना र आक्रोशमा बदलियो ।
लेखा समितिले पनि ६ अर्व घोटला भएको निष्कर्ष निकालेपछि झसङ्ग भए कस्केली । पोखरामा पत्रकारको प्रश्नमा पनि उनले ठोस उत्तर दिन सकेनन् । पत्रकारले प्रश्न सोध्दै गर्दा ‘हामीजस्ता मन्त्रीलाई यस्ता झिनामसिना कुरा सोध्ने’ भनेको भिडियो भाइरल नै भएको थियो ।
पटकपटक चुनाव जिताएका मतदाताले गर्व गर्नुपर्नेमा गाली खाले भएका छन् अधिकारी । अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकले सम्पादकीय नै लेख्यो, ‘वाइडबडी प्रकरणमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले शक्तिको दुरुपयोग गरे, संसदीय समितिमा झुट बोलेर आफूलाई ढँटुवा मन्त्री त पुष्टि गरे, शक्तिको अपचलनका आकांक्षी पनि सावित भए ।’
वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितताबारे जानकारी माग्न मन्त्री अधिकारीलाई गत हप्ता संसद्को सार्वजनिक लेखा समितिमा बोलाइएको थियो । महालेखा परीक्षकको प्रतिवेदनमा वाइडबडी खरिद प्रक्रिया कानुनसम्मत नभएको मात्र होइन कि बिचौलियासमेत प्रयोग भएको तथ्य उल्लेख गर्यो । आफू पर्यटनमन्त्री भएपछि वाइडबडीसम्बन्धी कुनै भुक्तानी नपठाएको अधिकारीले संसदमै बताए । उनको त्यो कथन झुट ठहरिएपछि लेखा समितिमा महालेखा परीक्षकको सल्लाहमा रकम निकासा गरिएको भन्दै बोली फेरे । त्यो पनि झुट ठहरियो ।
यसरी एकपछि अर्को झुट बोलेर मन्त्री अधिकारीले संसद्को मानमर्दन मात्रै गरेनन्, मतदाताको समेत शिर झुकाएका छन् । आफूले बोलेको झुट प्रमाणित भए पनि नैतिकताका आधारमा राजीनामा दिने पक्षमा भने उनी देखिँदैनन् । यसो गर्दै उनले आफू मात्रै ओरालो यात्रा गर्दै छैनन्, नेकपालाई समेत बदनामित पारिरहेका छन् ।
वाइडबडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले आज मंगलबार राती अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । उनीसहित सचिव कृष्णप्रसाद देवकोटा, पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाही पनि कारबाहीको सिफारिसमा परेका हुन् । ३८ पेजको प्रतिवेदनमा करिब ४ अर्ब २५ करोड भ्रष्टाचार भएको ठहर छ ।

One thought on “ओरालो लाग्दै रविन्द्र अधिकारी”

  1. Prakash Gautam says:

    Good news

Leave a Reply

Your email address will not be published. Required fields are marked *