काकाका काइदाका कुरा

   प्रा.डा.भीम खतिवडा comment 1

आज म काइला काकाका अनौठा कुरा यहाँहरुसँग साट्दैछु है प्रिय पाठकहरू !

काका भन्नुहुन्छ— हामी सबैजसो मर्ने भयले पीडित बनिरहन्छौं । आखिर आलोपालो मूलबाटो त्यही हो भन्ने जानकारी सबैलाई छ नै । बाँच्नैलाई धौ-धौ भएकाहरू पनि आत्तिन्छौं मृत्युदेखि । हामीलाई थाह छ यो प्राकृतिक नियम नै हो, तथापि सापको मुखमा आधा शरीर पसिसकेको भ्यागुताले पनि अगाडि फेला परेको पुतलीलाई करप्प पार्छ नि !

जिन्दगीको यही यथार्थले मानिसलाई मृत्युमुखा प्रकृतिसँग थर्कमान भएरै पनि कर्ममा प्रवृत्त भइरहने प्रेरणा मिल्छ । अनि शरीर मरिसकेपछि पनि अमरनामा भएर बाँच्ने अभीष्टले ऊ पेट, घर र दायित्वबाहेका परसेवा तथा सद्भावका रसभरी रहरहरू साँच्छ । हो, यस्ता रहरका प्रहरहरूमा मलाई आजभोलि यो गीतका शब्दहरूले निकै छोइरहन्छन् । जतिपटक सुने पनि आजको मेरो, तपाइँको र हाम्रो जीवनको यथार्थसँग जोडिएको यसको दुइवटा पक्ष नि !

‘धनविनाको मन ठूलो कि मनविनाको धन !’

हो त, हाम्रो समाजको वर्गीय चरित्र नै यस्तो छ । यो बेला मलाई मेरो प्यारो शिष्यको याद आइरहेछ । उनका कुरा खेलिरहन्छन् सधैं । कत्ति मीठो शैलीमा उनले भने मलाई कि- ‘सर, यो समाज देखेर म छक्क पर्छु । सीप, कला र व्यवसायिक संलग्नताको लामो परम्पराबाट पुरस्कारको रूपमा हामीले अछुत, तल्लो जात र पानी अचलजस्ता उपाधिहरू दिएका छौँ कर्मवीर आफन्तहरूलाई । मलाई राम्रा कपडामा सजिएर मन्दिर, बजार, चौक, चौपारीमा ठाँटसँग हिड्न मिल्छ तर तिनै लुगा चिटिक्क पारेर सिलाउने माइला दमै दाजैलाई घरभित्र पस्न नै दिनुहुँदैन भन्छ मेरो पण्डितसमाज । मैले धुमधडाकसँग लगाउने जुत्ता तयार गर्ने सार्की ठुले आँगनबाट भित्र पस्नै पाउन्नन् ।’

बुबाले नुहाएर सधैँ पूजा गर्ने भगवान्को प्रतिमा कति सुन्दर छ अहा ! तर बुबाले पूजाकोठामा राखेको त्यही देवताको प्रतिमा बनाउने कामी धने बा बुबाभन्दा दुई वर्ष जेठा भएर पनि हाम्रा घरभित्र पस्न उनलाई निषेध छ । घरमा मात्रै हो र ! उनले बनाएको २० किलोको देवीको मूर्ति धुमधामसँग पूजा गरेर चोकमा सुन्दर मन्दिर बनाएर पुजारी दाइले प्राणप्रतिष्ठा गरेर भित्र राखेका दिनदेखि धने बाले आफ्नै हस्तकला मुसार्न, छुन र खुसी साट्न त परै जाओस् त्यो मन्दिरको सबभन्दा तलको खुट्किलोमा खुट्टा राख्नसम्म पाउन्नन् ।

बाबै नि ! पण्डित बाले हातमा पञ्चरत्ने औँठी लाएको कम्ती सुहाएको छैन । त्यो पनि हाम्रै गाउँको सुनार माल्लाईले बनाइदिएको रे ! तर, अस्ति पण्डित बालाई नसोधी खाडीमा बिरामी परेको छोराको नाममा देउरालीको देवीथानमा पूजा गरेको निहुँमा त्यही उसैले बनाइदिएको पञ्चरत्ने औंठी लगाकै हातले तीन थप्पड लगाएर पञ्च राखेर दुरी दुहाई पारेका नि माइलालाई ।

साँच्चै सर, दलवीर बिकलाई मोही दिँदा गाई रुख चढ्ने कुरा त ढाँट रैछ, छली रैछ सर ! घरमा कोही नभएको मौका छोपेर दिएँ कि दलेले दुई ग्लास मोही स्वाट्टै पारिदियो । अनि हामी साँझ र भोलिपल्ट गोठमा, थलामा गई गई हेर्यौं । गाई कहाँ रुख चढ्नु नि !

धत् खराब कुरा सप्पै !

सन्दीपका कुरा मेरालागि महागुरुको प्रवचन बनिरहेथे । उनी भन्थे, ‘हाम्रातिर मात्रै यस्तो खाले चालचलन होला भन्ने लाग्थ्यो सानू छँदा मलाई । अस्ति भर्खरै समाचार आयो : कालिकोटमा होटलमा चिया खाएर ग्लास नधोई छाडेको भनेर होटले साहुले मान्छे लगाईकन धुर्वे मिझारको ढाड खुस्काइदिएछन् । धरानमा पनि यस्तै घटना घटेपछि साहुनीले माफी नै मागिन् रे !’

साँच्चै हाम्रो समाजमा यति धेरै मठमन्दिरहरू छन् । हामी जनताभन्दा देउताहरू धेरै छन् । तर, देउता बनाउने मान्छेलाई नै मान्छे नगन्ने बुद्धि यी जान्ने सुन्ने भनौंदाहरूलाई कसले दियो होला । सन्दीपहरूले विभेदको कुरूप परम्परालाई हाम्रो संस्कृतिबाट कसरी धोएर सफा बनाउलान् ।

हरदिनका खबरहरू मानवीय उत्पीडन, जात, धर्म, लिङ्ग र वर्णविभेदजन्य मात्रै छन् अधिकांश । अस्ति भर्खरै मधेसमा ससाना नानीहरूबीच तल्लो जातकाले छोइदिएको निहुँमा उपल्लो भनिएका जातका मानिसहरू धुइरिएर परिवारकै सबैलाई मारमुङ्ग्री गरेको खबर आएको थियो । हैन शास्त्रले मानिसहरूलाई जन्मिँदैदेखि ठूलो र सानू त भनेको छैन त बा,

‘जन्मना जायते शूद्रो कर्मणा द्विज उच्यते ।’ अथवा मानिस जन्मिदा सबै शूद्र हुन्छन् तर सुकर्मका कारणले ब्राम्हण बन्छन् भन्छ शास्त्र पनि । शूद्र भनेर पनि हेपाइतीमै लेखिएको हो तर हामीले यसको अर्थ ‘बराबर’ लगाउलँ है !

कामको आधारमा, व्यवसायको आधारमा सामाजिक विकासका लागि गरिएको विभाजनलाई सुकिला र टाठाबाठाहरूले धर्मनियम र काट्नै नहुने साँस्कृतिक विधान बनाइदिएर सानो जात, ठूलो जात, छुत अछुतजस्ता सामाजिक विभेदका श्रृङ्खला बनाए, शासनको सजिलाका लागि । आफूलाई सधैं उच्च देखाउनका लागि यसरी आफूजस्तै मनकारी आफन्तहरूलाई हेपायती गरेर विभेदको कलङ्कले समाजकै अनुहारभरि दागैदाग बनाएका छन् मानिसहरूले नै ।

बरु सेवा, सद्भाव, परोपकार र समर्पणभावमा मान्छेको ठुलोपन र महानता झल्किन्छ । आफूसँग भएको धनसम्पत्तिको केही अंश समाजका विभिन्न क्षेत्रमा सुकर्मरत मानिस र संस्थाहरूको प्रेरणाका लागि अर्पण गर्ने मानिसहरू पनि छन् नि हाम्रै समाजमा । माथि गीतमा भनिएझैँ यस्ता धन र मन दुबै भएका थोरै मानिस छन् हाम्रो समाजमा, जसले पूर्खाका नाममा, मातापिता र सुकर्मी पूर्वजका स्मृतिसम्मानमा जीवभरि यस्ता समर्पणका कामहरू गरिरहेका छन् —वैयक्तिक रूपमै कतै त कतै सबल संस्था बनाएरै ।

हाम्रो समाज आडम्बर, प्रदर्शनी र बोक्रे सानको क्षणिक टिलिक्क–संस्कृतिमा रमाउन लागेको यो विसङ्गत समयमा व्यक्ति तथा संस्थाहरूप्रति हाम्रो दृष्टिकोण पनि स्वार्थसापेक्ष बन्दै गएको छ । हामी मन परेपछि देवतै ठानेर भजनकीर्तनमा तन्मय बन्छौँ अनि मन नपरेको छ भने गालीका बोलीको होली खेल्छौँ । हामीमा गुणदोषको वस्तुविवेक हराउँदै गएको छ । यस्तो परिवेशमा सामाजिक अनुहारको वस्तुगत अध्ययन गरेरै यसको असल पक्षको प्रशंसा तथा विकृतपक्षको आलोचना गर्न र सुधारको प्रेरणा प्रसार गर्न अल्छी मान्नु हुन्न ।

वास्तवमा जन्मेपछि मृत्यु निश्चित छ भन्ने जान्दाजान्दै पनि थुप्रै महाजनहरू अन्तिम अवस्थापर्यन्त मुट्ठी कसेर, दाँतबाट पसिना निकाल्दै अर्थसङ्ग्रहमा लिप्त भइरहेका हुन्छन् । हो, अपवाद बन्नेहरू अमर अमर हुन्छन्, कीर्तिगाथाहरूमा । कति रमाइला कुरा गर्नुहुन्छ काकाले ।

 

कीर्तिर्यस्य स जीवति

यो विज्ञापनको समय हो । कामभन्दा हल्ला बढी हुन्छ यहाँ । कलीयुग छलीयुग ढाँट्नेकै ढलिमलीयुग भन्नुहुन्छ आमा पनि । असल कर्म गर्नेहरू हल्ला, विज्ञापन र प्रशंसाका इन्द्रेणी तुल चाहँदैनन् । उनीहरू अविराम समाजको चेतना, विकास र समृद्धिका लागि लागिरहन्छन् । जीवनपर्यन्त समाजका लागि बाँच्ने सुजनहरू सुकर्मका सामथ्र्यले नै जनप्रसाद र समाजप्रसाद जीवन उप्रान्त पनि सुकीर्तिका प्रकाशले आफू, परिवार, वंश, समाज र पूरै राष्ट्रलाई झलमल्ल बनाउन सक्षम हुन्छन् । यही हो मानवजीवनको सार्थकता । सपना त देख्नैपर्छ नि !

तर, समाजको रङ अलि छेपारीकान्त बन्दै गएको छ । सेवावापत नगद चाहिन्छ आज । स्वार्थसाधनाका लागि सन्तान बेच्न अघि सर्छ मान्छे । भ्रष्टाचरण उसको धर्म बन्दै जाँदो छ । नीतिकारले उहिल्यै भनेका कुमान्छेका विशेषताहरूले घर गर्न लागेको छ वर्तमानमा । मनले अर्कै सोच्ने, मुखले अर्कै बोल्ने र काम गर्ने बेला अर्कै गर्ने खालका कति भयौं कति ! धर्मलाई पनि राजनीतिसँग सौदा गर्न थालेपछि के बाँकी रहला र !

हिजोआज पुराण फेसन बनेको छ । परिवारजनले श्रद्धापूर्वक सुन्ने, अनुशासित बनेर, उद्यमी बनेर पूर्वजहरूको स्मृतिसम्मानमा परसेवार्थ आनासुकी छुट्याउने प्रतिबद्धतासहित धर्मोद्देश्यका विधिविधानसहित आयोजना गरिनुपर्ने पवित्र कर्म पनि चारगाउँ थर्काएर, सिनेमाका गीतका अनधिकृत नक्कली भाका चर्काएर, दशौं लाखको विज्ञापनको हल्लाका बीच सम्मेलन गरेर त आडम्बरबाहेक के प्रदर्शन होला र महाशय ! अँ, राम्रै भावनाले सामाजिक विकासका लागि मठमन्दिर, शिक्षालय, परोपकार–घर तथा आश्रमस्थल आदि निर्माणमा बाआमाले वाग्दान गरेका चलअचल सम्पत्तिमाथि सन्तानको लालच र दान दिइसकेको सम्पत्ति फिर्ता गर्नेसम्मका क्रियाकलापले त हामीलाई निगुरमुन्टी बनाएकै छ ।

हो, यस्तो सामाजिक परिवेशमा चेतनाको उर्वराभूमि बनाएर कर्मक्षेत्रलाई आफ्ना पूर्वजको स्मृतिसम्मानमा समर्पण र सेवाको आस्थालाई ससम्मान निरन्तरता दिएर सबैलाइ उत्प्रेरित गरिरहेकै छन् महामना महानुभावहरूले । तब त पूर्वजहरूका आर्शीवचन यसरी सार्थक बन्नेछन् — कीर्तियस्य स जीवति ।

 

हाम्रो सक्कली अनुहार

यो बलिरहेको बत्ती निभाएर जन्मोत्सव मनाउने समयमा नवयुवाहरूका लागि त माथिका कुरा अनावश्यक ल्याङल्याङबाहेक केही होइनन् । अरूका छोराछोरीलाई अनुशासनका पाठ पढाउने स्वाभिमानी म शिक्षक आफ्नै छोराबाट भयभीत हुन्छु । मोराले कुनबेला आफैंलाई बिताउला भन्ने तराईले निद्रा पर्न छाडिसक्यो ।

सरकारी विद्यालयमा हजार सन्तानलाई थर्काएर तह लाइकन फर्कँदै गर्दा प्राइभेट स्कुलमा पढ्ने आफ्नै छोरो लागु पदार्थ दुव्र्यसनमा रङ्गेहात पक्रेर थानामा लगेको खबरले आँगनमै घुँडा कर्करी खाएर घुद्रुक्क भएका गुरुजनलाई भेटेको छु पटकपटक । पण्डित्याईँ गरीगरी पढाएको छोराले क्याम्पसबाटै जात हैन मन चाहिँ मिल्ने केटी लिएर मन्दिरमा गएर सिन्दुर लाउँदै गर्दा भेटेपछि माइला पुरेतलाई जङ्गलीले भेटेको आजसम्म बिसेक भएकै छैन ।

सबैलाई रेडियोबाट जीवनका सफलताको उपदेश दिने प्रोफेसर गजुरमुखीकी छोरीको पाँच महिनाको पेट पैसाका बलमा जबर्जजस्ती खलास पार्न खौज्दा मैया नै ‘मास छर्न गइछिन्’ भएको खबरले आङ सिरिङ्ग भइरहेछ अझै ।

सबैतिर रमिता छ हिजोआज । सम्पत्ति र स्वार्थ त संस्कृति पो भाछ त बाबै भन्नुहुन्छ काइला काका पनि । मोबाइल नकिनीदिएकै कारण भक्तवीरको भतिजो नामुद जादुगर बनेको खबर आयो । यसको जादुगरी कला त हस्पिटलबाट बिरामी र कुरुवाका मोबाइल गाइब पारेर मोबाइल क्लिनिकहरूमा फुत्तै निकाल्ने पो रहेछ, प्रहरीले चाल पाउँदा ।

हो, यसरी हाम्रो समाज स्वतन्त्रताका नाममा अतिशय स्वच्छन्द बनिरहेको छ । पढाइ बिग्रेर पटकपटक फेल भएकाहरू पार्टीका चल्ती नेता भएर गुरुहरूलाई नै झोले कार्यकर्ता बन्ने हैन भनेर प्रशिक्षण दिइरहेछन् । स्कुल कलेज छाडेर पार्टीमा लागेकै सालदेखि सफल युवा उद्यमी बन्ने चैतसिँह चौबेहरूलाई हातमा पैसा भगवान्ले राखिदिन्छन् ।

नेता भएको साडे तीन वर्षमा हुन्डरीबहादुरले बिल्डिङ ठोकेपछि कार्यकर्ता छक्क परिरहेछन् । स्वार्थी राजनीतिको वैतरणी तर्नासाथ तोरीलाहुरेहरूले सडकका पेटी ठेक्केदार भएर लाखौंकरोडौं कमाइरहेछन् । फित्तेचप्पलमा काठमाडौं पुगेका नेताहरू एकबाजी सरकारमा मन्त्री हुनुमात्रै तीनवटा घर ठड्याइहाल्छन् । पशुपति शर्माहरू अशुभ गाउँछन् र पो त खर्दार र सुब्बालाई दोष दिन्छन् त्यहाँभन्दा माथि ता भनिसक्नु भा पो त !

 

काकाका काइदाका कुरा

अझै पनि सरकारको आश छ काकालाई । पासपोर्ट बनाउन बन्द गरेर, विदेशिएका सबै युवायुवतीहरूलाई नेपालमै कामको प्रबन्ध गरोस् सरकारले । सामन्तहरूले स्वास्नी, साला र कुकुरका नाममा राखेका खेतीयोग्य जमिन जति थुतेर सबै नागरिकलाई बाँडिदेओस् । खेतीको जग्गामा प्लटिङको जादु तुरुन्त बन्द गरिहालोस् ।

विदेशमा रहेका एनआरएन नेपाली बन्धुहरू र विदेशी लगानीकर्ताहरूलाई खरबौं लगानी गर्न र विभिन्न उद्योगधन्दा खोल्न तथा विजुली उत्पादनको लहर ल्याउन तत्काल नेपाल सरकारले आह्वान गरोस् । सेना र पुलिसहरूलाई खोलामा बाँध लाउन र पहाडमा बाटाघाटा खन्न पठाओस् । अँ, तिनकै नेतृत्वमा जागिरेजतिलाई स्वैच्छिक अर्थदान र बेरोजगार युवालाई पारिश्रमिकसहित श्रमदान गराएर भारतसँग सल्ल्लाह गरेर नै मेचीदेखि कालीसम्म गज्जबको पर्खाल लगाओस् सरकारले ।

मिचिएका नेपाली भूभागहरू एतातिर पारेर मात्र लगाओस् पर्खाल । ०४६ सालपछि आजसम्मको प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाका सबै पार्टीहरूका नेता, सरकारका मन्त्री भएका सबै र उच्च ओहोदाका निवृत्त र हालका पदाधिकारीहरूको सम्पत्ति यथाशीघ्र छानबिन गरेर फेला परेको भ्रष्टाचार र कालो धनलाई सार्वजनिक गर्ने र दोषीहरूलाई जेल हाल्ने काम सरकारले गरिहालोस् । काकाका अपेक्षाहरू देशका लागि कति उपयोगी नि !

नाति–नातिनीले लुकेर मोबिलोमा नहेर्नेखाले फिलिम हेर्न सरकारले रोकोस् । धनी र गरीबलाई बोर्डिङ र सरकारी स्कुल भनेर नतोकोस् सरकारले । बोक्सी भनेर पीडा दिने धामीहरूलाई सित्तैमा जडिबुटीका बारे प्रशिक्षण दिएर पठाओस् । पीडितहरूलाई आश्रयसहित क्षतिपूर्ति देओस् । शिक्षक, कर्मचारी, प्राध्यापकहरूलाई वर्षमा एक महिना देशभित्र अनिवार्य पर्यटन गर्ने बाध्यकारी नियम बनाओस् । नागरिकता भएकाजति सबैले एकएकवटा वृक्ष हुर्काउनुपर्ने नियम नमानेर धर !

मरेपछि खीरका डल्ला पातमा राखेर खोल्सीमा फाल्दै कुकुरलाई खाजा ख्वाउनुभन्दा बाबा, आमा, बाजे, बोजुहरूलाई सरस्वाउँदो बेलामै मीठा खानेकुरा, मीठा बोली र व्यवहार अनि उचित उपचारको लागि प्रेरणा देओस् सरकारले । अंशको पाखण्ड प्रथा बन्द गरोस् बरु । रौसी, जाँड, धुवाँजस्ता अम्मलहरू बजारहुँदी खाँदा दण्ड लाग्ने कानुन बनाओस् सरकारले ।

छोरा र छोरीमा विभेद गर्नेलाई कारबाही गरोस् । बलात्कार गनेलाई जिन्दगानीभरि श्रमसहित जेलमा कोचिराख्न थालोस् । ओखती, पानी, अन्न, सागपात र खानेकुराहरूमा मिसावट गर्ने पापी मनका मानिसलाई नउठ्ने गरी कालकोठरीमा जाकोस् । हस्पिटलहरू, उद्योगका फ्याक्टरीहरू, शिक्षालयहरू र सरकारी अफिसहरूमा ढाँटतन्त्र र ठगतन्त्रलाई कठोर दण्ड दिने काइदा होस् ।

सरकारले हरेक नागरिकलाई एकुन्टा कार्ड बनाइदेओस्, कर तिरेको, पैसा कमाएको, अरू खर्च गरेका त्यसबाट छर्लङ्गै होस् । त्यस्तो कार्डलाई कम्पुटरबाट पढ्न सकिने काइदाकानुन बनाओस् सरकारले । उद्योगी, डाक्टर, उद्यमी, पुरोहित, नेता, व्यवसायी, राष्ट्रसेवक, पर्यटक आदि सबैले कमाएको र खर्च गरेको पैसाको एकेक विवरण आउने भएपछि हामी इमानदार हुनेछौं, काकाको यो मन्त्र सरकारले सुनिहालोस् । घुस लिनेलाई जागिरबाट निकालेर जेलमा कोचियोस् ।

मन्त्री हुनलाई त्यही विषयको अध्ययन गरेको हुनुपर्ने कानुन बनाओस् । जनतालाई शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा सरकारले लेओस् । अहा, काकाका यति मीठा अपेक्षाहरू सुनोस् अब सरकारले । आजका युवाले ल्याङल्याङ भनून् तर काकाका कुरामा हामी सबै सहमति जनाऊँ है त ! 

लेखक डा.खतिवडा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक हुन् ।

(drbkhatiwada@gmail.com)

One thought on “काकाका काइदाका कुरा”

  1. कृशन संयम पन्त says:

    सपना देखाउनु भो सर ले जसका लागि जनताको सरखार चाहियो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *