कायरसँग ‘क्रान्तिकारी बिहे’ र नाम खुइल्याउने धुन

   निर्मला न्यौपाने comment 0

रामको नाम खुइल्याएर रावणले आफ्नै नाम चम्काउन खोजेका थिए, सकेनन् । यसैले शक्तिका पूजारी हामी रामराम जप्दै सुत्छौँ र उठ्छौँ । एकताका भैरव अर्याल नाम फेर्ने धुनमा कस्सिएर लागेका थिए । ‘काउकुति’ मा त्यही पढन पाइन्छ । मान्छेहरू नाम चम्काउन नाम फेर्ने पनि गर्छन् ।

नेपालमा नाम फेर्ने काममा डा. तुलसी गिरी विशेष चर्चित छन् । क्रिश्चियन धर्म ग्रहण गरेर पिटर बनेका उनी सङ्कटकालका बेला नेपालमा सत्ताका हर्ताकर्ता बनेका थिए । नेपाली सत्तामा दह्रो गरी टिक्न क्रिश्चियन हुनु निकै लाभदायक हुने सत्य प्रकाशमा आएको छ । युनिभर्सल पीस फेडेरेसन (यूपीएफ) ले हालसालै गरेको ‘एसिया प्यासिफिक सम्मीट’ यसको गतिलो उदाहरण हो । यसले नेकपाभित्र ठूलो रडाको मच्चिएको छ ।

माधव नेपाल, केपी ओलीले यहीँ नाम चम्काउन चाहे । यहीँ भीम रावल, घनश्याम भुषालले त्यस्तो नामलाई खुइल्याईदिए । उता कोरियामा यही कामले मदर मुनको नाम बेस्सरी चम्केछ । नेपाल ‘स्वर्गीय राज्य’ भैसकेको ठानिएछ । एकनाथ ढकालले त्यता नाम चम्काएछन्, यता नाम खुइलिने डरले त्राहीमाम् हुँदै सरकारी सुरक्षा खोजिरहेका छन् ।

आम नेपालीले यस्ता भयङ्कर खबरबाट पनि बेखबर रहनुपर्छ । हामीलाई आफ्नै सुसेधन्दा प्यारो हुन्छ । हामी भोट हाल्छौँ र चोट खप्छौँ । ‘जति चोट दिन्छौ देऊ नेतागण ! मुटुभित्र साँचेर राख्नेछौं !’ यही हाम्रो कथा, व्यथा र गीत हो । अनन्तदेखिको रीत हो । ‘सरकार सिंहदरबारमा बस्छ, त्यहाँ पस्न पाइँदैन । सरकार भर्खरै कालीमाटीको सोल्टी होटलमा पनि बसेछ । त्यहाँ पनि हामी जस्ता सर्वसाधारणले पस्न सक्ने कुरा भएन !’

विद्वान मुक्तिबन्धुको यस्तै अभिमत सम्झिँदै ०७५/०८/२२ गते बिहानै म पोखराबाट पर्वततिरको ‘सिंहदरवार’ खोज्न हिँडेँ । बाटाका पोलमा जताततै निर्मला पन्त न्याय खोजिरहेकी थिइन् । एकजना लेखनदासको लेखनीको झोँकले म हतारिएकी थिएँ । ‘विप्लवको सङ्घर्षले पेरुको नियति भोग्छ’ शीर्षकमा उसले ठोकुवा गरेछ आफ्नै अनलाइनबाट । कसैको जुम्रो त्यो लेखनदासले आफूलाई लेखक ठान्दो रहेछ । लेख्नेहरू, राम्रै लेख्नेहरू पोखरामा शनिबार साहित्यिक जमघटमा थिए । ‘लालटिनको उज्यालो’ छर्दै सरस्वती ज्ञवाली काठमाण्डौंबाट पोखरा आएकी थिइन् । तिलक पौडेल स्याँकोर्टे आफ्नो कृति विमोचन गराउँदै थिए । म ‘मेरा असर्दाहरू’ झोलामा राखेर बसतिर दौडिएँ ।

‘कति सुन्दर हेर, किताब चरो
दुइ पङ्ख फिजाउँछ, यो बिचरो ।’

सानैमा पढेको कविता टाउकोमा सर्सराउँछ । म किताबको अगाडि–पछाडि हेर्छु । ‘टेक्ने अखेटो र समाउने हाँगाको बलियो आधार नभएकाले पढ्नैपर्ने !’ डा. महेश्वर शर्माको अभिमत रहेछ । म किताबको पाना फर्काउँछु । चिरपरिचित असफल गौतमको भूमिका पढ्छु । ‘स्याँर्काेटेको किताब पढ्ने सबैलाई लाग्नेछ कि जब मानव जीवनमा असर्दा आइपर्छन् त्यसको साक्षी स्वाभिमान बाहेक अरु कोही हुँदैन !’ असफलजीले तिलकजीलाई सफल स्वाभिमानी ठह¥याएका छन् । सूची हेर्छु र एकैचोटि पृष्ठ १९४ को ‘इमानको दण्ड र पोखरा’ पढ्छु ।

‘लालपैसा कमीशन नलिएको (१९४)’, ‘पारदर्शी अभिव्यक्ति राख्ने गरेको (१९५)’, ‘शाखा प्रमुखबाट समेत एकपैसा नलिएको (१९६)!’ मा आत्मसन्तोष अभिव्यक्त छ । यी सबै नाम चम्काउने धूनजस्तो लाग्छ । रुकमाङ्गत कटुवालले आप्mनो नाम चम्काउन र कमरेड प्रचण्डको नाम खुइल्याउन भरमग्दुरै गरे । अहिले पनि ती दुवै आ–आफ्नो स्वाभिमानको बखान गरेर थाक्दैनन् । किताब बन्द गरेर म बसको सीटमै ध्यानमा बस्छु ।

माथि मैले उल्लेख गरेको लेखनदास साह्रै कायर छ, ऊ पनि स्वाभिमानकै बखान गर्छ । आदरणीय पाठकलाई उसको कायरताको सानो खुलासा दिई हालौं-

पर्वतमा उसको र मेरो प्रणय सम्बन्धको पोल खुल्यो । संदिग्ध अवस्थामा बाथरुम छिर्दै गर्दा हाल विप्लव नेतृत्वको पार्टीमा कार्यरत गिरीजीले उसलाई जुल्कीमा समातेर पार्टी नेतृत्वको अगाडि उभ्याए । कलिली केटीसँग अनुचित सम्बन्ध राखेको ऊप्रतिको पार्टीको बुझाई थियो । ऊ थर्थर–थर्थर कामेको थियो । कालोनिलो ऊ पटक्कै बोल्न सकेन । ‘के तपाइँहरूको शारीरिक सम्बन्ध छ ?’ नेतृत्वले सोध्दा उसले ‘छैन’ मा मुश्किलले वाक्य फुटाएको थियो । ऊ धामी कामेझैँ कामिरहेको थियो ।

‘कमरेड, तपाइँहरूको शारीरिक सम्बन्ध छ ?’ मलाई सोध्दा मैले ‘छ, हामी बिहे गर्ने हौँ !’ भनेकी थिएँ । पछि पार्टीले चाजोपाँजो मिलायो र हाम्रो बिहे भयो । कायरसँगको ‘क्रान्तिकारी बिहे’ !’ अहिले मलाई त्यो केटाकेटीको भाँडाकुटी खेलजस्तै लाग्छ जेहोस्, त्यै खेलमा मैले छोरी पाएकी छु । अहिले छोरी नौ वर्षकी भई । म डिभोर्स पेपरहरू बोकेर नागरिकतामा उसको नाम खुइल्याउन पोखराबाट पर्वत गएँ । उसको नाम खुइल्याएर भावनात्मक राहतको सास फेरेँ । 

लेखक–साहित्यकार तिलक पौडेल उच्च ओहोदाका सरकारी अधिकृत पनि हुन् । पहिले पोखरा र गोर्खामा कार्यरत छँदा उनीबिरुद्ध प्रशस्तै पेपरिङ भएको थियो । अहिले त्यसैको स्पष्टिकरण समेतको रूपमा पुस्तक र वण्र्य आलेख आएको छ । के लेख्न जान्नुको सीपले भ्रष्टाचार छोपिन्छ ? यस्तो प्रश्न व्यक्ति तिलक पौडेल सरलाई सोधिँदैन तर प्रत्येक आत्मसंस्मरण, आत्मकथा वा आत्मवृत्तान्त लेख्नेहरूले यसको सामयिक प्रत्युत्तर दिने समय आएको छ । पारिजातजस्ता अपवादबाहेक प्रायः सबैका अटोवायोग्राफी आत्मप्रशंसाले, बढप्पनले, श्लाघाले भरिएका छन् । यसैले साहित्यको भव्यताप्रति जनआकर्षण कम छ । सिमितको साहित्यले मात्रै नेपाली साहित्यको प्राण बाँचेको छ । पछिल्लो चरणका थुप्रै संस्मरणात्मक कृतिहरू वाइयातका फूर्ति बनेका छन् भन्नु अर्घेल्याइँ हुँदैन ।

‘बरदानको निम्ति गर्दन बेच्छन्, सिङ उम्रेका बोकाहरू !’

भैरव अर्यालले सत्यलाई शानदार भेदन गरेका छन् । मदर मुनको वरदान पाउन हाम्रा नेताहरूले के मात्रै खाएनन् ? प्रेम कैदीले त ठाडै बताए । नेताहरू नाम चम्काउनैका लागि यत्ति तल झरेका छन् । त्यस्तो नाम खुइल्याइदिन भीम रावलहरू सिंहनाद गरिरहेका छन् । नेकपाको स्थायी कमिटि बैठकमा केपी ओलीको नाम खुइल्याउन बामदेव गौतम खुलेर बम्केछन् ।

अमिताभ बच्चन गीत गाउँछन्, ‘जो है नामवाले वही तो बदनाम है !’

लेखनदास लेख्छ, ‘सत्तामा पुगेपछि प्रायः नेताले आफ्नो धर्म बिर्सिन्छ ।’ स्वयम्बरमा पुगेका नारदले आफ्नै अनुहार ऐनामा पछि मात्रै हेरेका थिए रे ! कायर लेखनदास उपदेश छाँट्छ, ‘सत्ताधारी नेकपाबाट सत्ताको गियर बदलिएन भने त्यसको फाइदा उठाउने ३ शक्ति छन्, ती हुन् : नेपाली काङ्ग्रेस, विप्लव माओवादी र राजावादी (ऐ..) !’ यो त साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्नु जस्तै हो ।

पहिले राजा, राणा र काङ्ग्रेस थिए । पछि राजा, काङ्ग्रेस र एमाले भए । यसरी ०७ र ०४७ पछि २०६२/०६३ को आन्दोलनसम्म राजा, कम्युनिष्ट र काङ्ग्रेस तीन शक्ति थए । ती इतिहासका कुरा हुन् । के आज पनि नेपालमा त्रिकोणात्मक शक्तिकै जगजगी छ ? होइन, आज चीन, भारत र पश्चिमा लगायतका अनेक शक्तिले नेपालमा भाँडभैलो मच्चाइरहेका छन् । देशभित्रकै मधेसवादी शक्तिलाई नदेख्नु अन्धता हो । वर्तमानको नेपालको राजनीतिक मैदानमा मधेसवादी विखण्डनकारी शक्ति सबभन्दा डरलाग्दो ढङ्गले अगाडि आएको छ ।

खगेन्द्र सङ्ग्रौला लेख्छन्, ‘कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलत्कार र हत्याको घटनामा राज्यका कर्ताहरू नअल्मलिएका भए मधेशको चौतर्फी आक्रोशलाई दमन गर्न सत्ताशक्तिको ठूलो दुरुपयोग हुन्थ्यो । र, त्यसको परिणाम भयावह हुन सक्थ्यो । धन्न, त्यो भएको छैन ।’
पहाडीया अहङ्कार र स्वतन्त्र मधेसको नामको भोक अचाक्ली बढेको छ । जनताको धैर्यको बाँध भत्किँदैछ । दुर्नाम भएका नामहरूलाई जनताले खुइल्याइदिनै पर्छ । समाजमा नाम चम्काउने र खुइल्याउनेको महाभारत अनवरत चलेको छ ।

लेखक न्यौपाने सत्तारुढ नेकपाकी नेतृ हुन् ।

 nyaupane.aastha@gmail.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *