कुर्सी प्राप्त गरेपछि मान्छे अन्धो हुन्छन्ः सिटौला

‘कम्युनिस्ट शब्द नै अभिशाप नहोला भन्न सकिन्न ।’
   नयाँ दैनिक comment 0

पुस १२, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला तेस्रो धारका नेता हुन् । सिटौलाले अहिले देउवा र पौडेल भन्दा बेग्लै गुटको नेतृत्व गरिरहेका छन् । यसैसाता सम्पन्न महासमिति बैठकमा आफ्नो समूहको लाइन अनुसारको विधान पारित भएको सिटौलाको दाबी छ ।

‘विधान ल्याउन मेरो हस्तक्षेपकारी भूमिका नै भयो । अहिले जुन विधान आयो, त्यो शेरबहादुरजी र रामचन्द्रजी दुबैको लाइन हुँदै होइन,’ सिटौलाले अनलाइनखबरसँग भने, ‘चाहे हस्तक्षेपकारी भन्नुस्, चाहे सुझावकारी भन्नुस्, मेरो भूमिका रहृयो । र, विधान आएकोमा म खुसी छु ।’

प्रधानमन्त्री केपी ओलीकै गृहजिल्ला झापा घर भएका कांग्रेस नेता सिटौलालाई हामीले कांग्रेस महासमिति बैठकको समीक्षा र उनको पार्टीको भावी नीतिका बारेमा मात्रै सोधेनौं, केपी ओली नेतृत्वको सरकारको कामको मूल्यांकन समेत गर्न लगायौं । कांग्रेस नेता सिटौलाले सरकारको मूल्यांकन गर्दै भने- ‘ओलीजीले जति गर्न सक्नुहुन्थ्यो, गर्नुभएन । संख्याको दृष्टिले उहाँको सरकार अझै चार वर्ष टिकिरहने देख्छु । आगामी चार वर्ष पनि यस्तै रहृयो भने कम्युनिस्ट शब्द नै अभिशाप नहोला भन्न सकिन्न ।’

यसपालिको महाधिवेशनबाट सिटौला समूह रामचन्द्र पौडेलतिर ढल्किएको हल्ला चलेको थियो । आगामी महाधिवेशनमा तपाईले पौडेल समूहलाई सघाउने हो त ? यो प्रश्नमा सिटौलाले आफ्नो कित्ता स्पष्ट पार्दै भने- ‘शेरबहादुरजी र रामचन्द्रजीबारे भनिहालेँ कि विगत महाधिवेशनमा नै मैले नेता मान्न सकिनँ । आज आएर नेता मान्नुपर्ने कुनै कारण परेकै छैन ।’

कांग्रेस नेता सिटौलाको राजनीतिक विश्लेषण-

तपाई पनि झापाली मान्छे, प्रधानमन्त्री केपी शर्मा ओलीसँग कत्तिको भेट हुन्छ ?

निर्वाचनपछि उहाँसँग तीनपटक भेट भयो । दुईवटा औपचारिक बैठकमा र एउटा निजी काममा । बस यत्ति हो । खास राजनीतिक कुराकानी भएको छैन ।

कसरी हेरिरहनुभएको छ, ओलीजीको १० महिने कार्यकाललाई ?

ओलीजीले जति गर्न सक्नुहुन्थ्यो, गर्नु भएन । मैले भेट्दा भनेको छु उहाँलाई, तपाई प्रधानमन्त्री भएपछि जति धेरै काम गर्न सक्नुहुन्थ्यो गर्नु भएन । किन हो प्रधानमन्त्रीजी ? भनेको छु ।

भर्खरै केही दिनअघि सिकलेसमा एउटा कार्यक्रमा त्यही पार्टीको अध्यक्ष प्रचण्डसँग भेट भएको थियो । उहाँलाई पनि मैले भनेको छु, संसदीय व्यवस्थामा सरकारले गर्ने हो, प्रतिपक्षले बोल्ने हो । सरकारले जनतालाई केही दिनै सकेन, प्रतिपक्षले पनि सरकारले गर्न सकेन भनेर कोही बोल्नै सकेन ।

आफ्नै पार्टीले पनि संसदमा किन प्रभावकारी भूमिका खेल्न सकेन भन्ने लाग्छ । शायद प्रतिपक्षले दह्रो भूमिका निर्वाह गर्न नसकेका कारण पनि सरकारलाई सहज भयो होला । तर, त्यो सहजताका नाममा सरकार अन्धो भयो भन्ने लाग्छ । प्रतिपक्षको भूमिकाबाट सरकार चनाखो हुन्छ, दुरदृष्टि हुन्छ । मलाई के लाग्छ भने यत्रो परिर्वतनपछि संविधान बन्यो, संविधानबाट तीन तहको सरकार आयो ।

केन्द्रको सरकारले जनतालाई धेरै चिज दिनसक्नुपर्छ । जनताको राजनीतिक अधिकार पनि रक्षा गर्नुपर्छ, तीव्र आर्थिक विकास पनि दिनुपर्छ । त्यसमा प्रतिपक्षले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ तर, आज सरकारलाई प्रतिपक्षले कतिसम्म गरिदियो भने नीति तथा कार्यक्रममा सर्वसम्मति जनायो, हुन्न पनि भनेन । यहाँभन्दा नालायकी प्रतिपक्ष त संसदमा अरु केही हुन्न भनेर मैले आफ्नै सभापतिलाई भनेको छु । तर, यति सहज अवस्था पाउँदा पाउँदै सरकारले किन काम गर्न सकेन ? सरकारको जवाफ दिँदा मलाई बडो दुःख लागेको छ ।

हामी राजनीतिक स्थिरता नभएर नभएर विकास नभएको भन्थ्यौं । अहिले त्यो मान्यता के कारणले खण्डित हुँदैछ ? कारण त खोज्नुपर्‍यो होला नि ?

मलाई के लाग्छ भने नि प्रधानमन्त्री र मन्त्रीहरुलाई ब्यूँझाउने, सचेत गराउने जमात त्यही पार्टीभित्र भएन । आफ्नो पार्टीको नेतालाई ठीक ठाउँमा हिँडाउन त्यही पार्टीका नेताहरुले चाकडी गरेर मात्र पुग्दैन । नेपालकै इतिहास छ, लोकतान्त्रिक प्रक्रियाबाट कुर्सी प्राप्त गर्छन् । कुर्सी प्राप्त गरेपछि लोकतन्त्र बिर्सन्छन् र मान्छे अन्धो हुन्छन् । अहिले प्रधानमन्त्रीलगायत मन्त्री परिषद्का साथीहरुले सम्झाउन किन सकेन ? दोस्रो, प्रतिपक्षले दबाव दिन किन सकेन ? तेस्रो, प्रतिपक्षले संसदबाट सकेन भने सडकमा किन गएन ? आदि कुरा मेरो मनमा छन् ।

सरकारले छिमेकीसँगको सम्बन्धचाहिँ सुधार गरेको हो यो अवधिमा ?

पहिलो जुन ठाउँमा थियो, त्यही ठाउँमा छ ।

सरकारले काम गर्न नदिएको भनेर कर्मचारी संयन्त्रमाथि पनि आरोप लगाउन थालेको छ, ब्युरोक्रेसी त्यस्तै हो त नेपालको ?

यो चाहिँ मलाई के लाग्छ भने सरकार कस्तो बाटोमा हिँड्यो भने दुई तिहाई भएपछि डण्डा लगाउँछौं भनेर कम्युनिस्ट पार्टीका नेताहरुले बोल्दै हिँडे । न्यायाधीशहरु थरर, संवैधानिक निकायहरु पनि थरर, कर्मचारीको के हालत भयो होला ? कर्मचारीले विगार्‍यो भन्ने बेकार हो । कर्मचारीलाई स्वाभिमानका साथ काम गर्न दिएको छैन यो सरकारले भन्ने मेरो मूल्यांकन छ ।

न्यायाधीशहरुले स्वतन्त्र र निश्पक्ष रुपमा काम गर्न पाएका छैनन् । यो दुई तिहाईको सरकारको मुल दायित्व थियो, अदालत, संवैधानिक निकाय र कर्मचारीलाई लाई स्वतन्त्र र निश्पक्ष ढंगले बढ्न वातावरण निर्माण गर्ने । सरकार यहाँ चुक्यो । दुई तिहाईको नाममा, संख्याको शक्तिको आडमा सरकारले कर्मचारी प्रशासन, प्रहरी, अदालत सबैलाई तह लगाउन खोज्यो । यो गलत हो । सरकारले त संविधान र कानुनभित्र रहेर यी इस्टिच्युसनहरुलाई बलियो बनाउनुपर्ने हो । तर, सरकारको काम गराई कमजोर देखियो ।

अपरिपक्व भन्दा हुन्छ ?

साँच्चै मलाई आश्चर्य लागेको छ किन यति अपरिपक्व काम गरेको हो सरकारले ? म धेरै आरोप लगाउन चाहन्न तर, एउटा कुरा भन्न चाहन्छु । हामी सबैले मिलेर यत्रो परिर्वतन ल्यायौं, हामीले मिलेर संविधान बनायौं । त्यो संविधानभित्रबाट तीन तहको सरकार आएको छ । यो चानचुने कुरा होइन ।

अब यो सरकारले जसरी हामीले आन्दोलनमा द्रुत गतिका काम गर्‍यौं, त्यति नै तीव्रका साथ जनताको पक्षमा काम गर्न सक्नुपर्छ । तर, बाहिरबाट हेर्दा कस्तो देखिन्छ भने सरकार केही नगर्ने, प्रतिपक्ष केही नबाल्ने । यस्तो कमजोर संसद किन बनाएको हो ?
अर्को, यो संसद र सरकारले पनि जनतालाई सेवा दिन सकेन, विकास, आर्थिक प्रगति दिन सकेन भने दिन्छ कसले यो यो देशमा ? मन्त्रीहरु, कम्युनिस्ट पार्टीका नेताहरु बलियो हुँदै जाने, जनता कमजोर हुँदै जाने भयो भने नेपालको भविश्य के हुन्छ ? चिन्ताको विषय छ ।

त्यसैले म सुझाव दिन चाहन्छु, सरकारले आफ्नो एक वर्षको समीक्षा गरोस्, आफ्नो पार्टी संगठनको रिभ्यू गरोस् र नयाँ सोचका साथ कदमहरु चालोस् । संविधानलाई तोडेर होइन, संविधानभित्रबाट ।

तर, सत्तारुढ नेताहरु छ साना-साना विषयलाई कांग्रेसले उचाल्यो, जस्तै-निर्मला प्रकरण, कर्मचारीलाई पनि भड्काउने काम गर्‍यो भन्छन् नि ? भित्रभित्रै खेलेको हो कांग्रेसले ?

कांग्रेसलाई अवमूल्यन गर्ने प्रश्न भयो यो । कांग्रेसले भित्रभित्र गर्ने हुँदै होइन, जनताको माझमा गएर पारदर्शी ढंगले कुरा उठाउँदैछ । यी विषयहरु कांग्रेस संसद, प्रदेशसभा र सडकबाट जोडदारसँग उठाउनुपर्थ्यो ।

मेरो आफ्नो मूल्यांकनमा यदि कांग्रेसले जोडदारसँग आवाज उठाएको भए शायद सरकारले निर्मला प्रकरणमा पनि राम्रोसँग छानविन गर्थ्यो कि ?

कर्मचारीबारे भन्नुभयो । स्वयंम नेकपासम्बद्ध कर्मचारीहरु नै आन्दोलनमा छन् । विचरा हामीसँग आवद्ध कर्मचारीहरु त कतिबेला फ्याँकिदिछन् भनेर त्रासदीमा बसेका छन् । प्रधानमन्त्री ओलीजीलाई राम्रो काम गर्ने रहर त होला । रहरै नभएको प्रधानमन्त्री त म भन्दिनँ । तर, उहाँको रहर यथार्थपरक वस्तुनिष्ट भएन ।

निर्मला पन्तको कुरा उठाउनुभयो, निर्मला पन्तको विषयमा प्रधानमन्त्रीले इन्टरभ्यूहरुमा बोल्दै हिँड्ने हो र ? त्यो पनि कस्तो गलत सूचनाका आधारमा बोलिदिनुभयो भने पन्तको शव मेयरको घरमा लगेर राजनीति गरियो भन्नुभयो । शवलगत्तै होइन, मेयरको घरमा । म आफैं पुगेको छु पन्तको घरमा । केस जधन्य अपराध हो, सुरुमा प्रहरी प्रशासनले ढाकछोप गर्न खोजेकै हो । किन आफ्नो प्रशासनले ढाकछोप गर्न खोज्यो भनेर गृह मन्त्रालय सिरियस्ली लागेन ?

अनि प्रधानमन्त्रीले नै गलत तथ्यका आधारमा बोलेपछि हामी कहाँ जानेर भनेर प्रश्न गरे परिवारका सदस्यहरुले । अनि यस्तैमा त भीडले राजा चाहिन्छ भन्छ नि त । बढो चिन्ताको विषय छ ।

त्यसैले प्रधानमन्त्रीले धेरै बोल्ने होइन, गर्ने हो । गरिरहनु नि जनताको पक्षमा काम । किन धेरै बोलेर फसिराख्नुभएको छ, मैले बुझेको छैन । कम्युनिस्ट पार्टीका नेताहरुलाई पनि के भएको हो, सरकार र प्रधानमन्त्रीलाई सही दिशामा हिँडाउन किन छलफल गर्नु हुन्न ?

उहाँहरुले प्रधानमन्त्रीलाई सचेत पनि गराउनुपर्छ, सहयोग पनि गर्नुपर्छ । संख्याको दृष्टिले उहाँको सरकार अझै चार वर्ष टिकिरहने देख्छु । आगामी चार वर्ष पनि यस्तै रहृयो भने कम्युनिस्ट पार्टी भन्नु दुःखद होला । यो लेखिदिए हुन्छ, आगामी चार वर्ष पनि यस्तै सहृयो भने कम्युनिस्ट शब्द नै अभिशाप नहोला भन्न सकिन्न ।

कांग्रेस पनि यस्तै रहृयो भने ?

जनताले पत्याउन छोड्छन् । सरकार नगर्ने, प्रतिपक्ष नबोल्ने । यो भन्दा कति कमेन्ट गर्नु मैले ?

कांग्रेस र कम्युनिस्ट यस्तै रहे भने आउँछ चाहिँ को त ? ज्ञानेन्द्र शाह कि साझा विकेकशील ? तपाई के देख्नुहुन्छ ?

राष्ट्र धेरै कमजोर हुन्छ । नयाँ श्रृंखलाका हिसात्मक गतिविधि हुन सक्छ, द्वन्द्व खडा हुनसक्छ । यसले नेपालमा शान्ति, लोकतन्त्र र जनताको आर्थिक प्रगति चाहनेहरु परास्त हुन थाल्छन् र त्यो अराजकताबाट को उदाउँछ भन्न सकिन्न । त्यसैले यो वडो संवेदनशील प्रश्न हो र हामी हिजो आन्दोलनमा जुटेका कांग्रेस र कम्युनिष्टहरु घोरिने बेला भयो ।

अहिलेको शान्ति एक प्रकारले मूर्दा शान्ति जस्तो मात्र छ । मैले अघि पनि भनेको छु, अतिवादी कोणबाट विचारहरु संगठित हुन थालेका छन्, हरेक पार्टीमा त्यो विचारहरु प्रवेश हुन थालेका छन् । अन्तत, जनता अजेय शक्ति भनिन्छ तर, जनता निराश भएभने त्यो सेन्टिमेन्ट वा कमजोरीलाई कसैले उचालिदिन सक्छन् ।

हामी ठूलो देशहरुको बीचमा छौं । अन्तराष्ट्रिय प्रभाव नेपालमा पर्दैन भन्न सकिँदैन । नेपाललाई प्रयोगशाला बनाउने षड्यन्त्र पनि छ, चाहे पश्चिमाहरुको होस्, चाहे दक्षिणको होस्, चाहे उत्तरको होस् । नेपालले आफ्नै खुट्टामा उभिएर राजनीतिलाई अगाडि बढाउन सक्नुपर्छ आजको दिनमा ।

नेपालको सवभौमसत्ता कमजोर हुन्छ कि भन्ने चिन्ता हो । नेपाल रहने, नेपालीहरु पनि रहने तर, आफ्नो निर्णय आफैं गर्न नसक्ने अवस्थामा पुग्छ कि भन्ने गम्भीर चिन्ता हुन्छ ।

तर, हामी दुईदलीय सिस्टममा गए जस्तो देखिन्छ । कांग्रेस र कम्युनिस्ट कमजोर हुँदा संविधानभित्रबाटै राप्रपा, विवेकशील वा अर्को तेस्रो शक्ति आउँदा त के विग्रन्छ र ?

उहाँहरुतर्फ जनता जाने सम्भावना देख्दिनँ म । नेपालको पार्टी विकासमा कांग्रेस कम्युनिस्ट जनस्तरमा झाँगिएका संगठित शक्तिहरु हुन् । भर्खर नयाँ जन्मिएका पार्टीहरुले उनीहरुलाई त्यति सजिलै विस्थापित गर्छन् भन्ने लाग्दैन ।

राप्रपा त आफैंमा समय सापेक्ष विचार नभएको पार्टी हो, उसले केही गर्न सक्छ जस्तो लाग्दैन । विवेकशील भर्खर जन्मिएको छ, शहरी बेल्टमा उसको केही प्रभाव देखिन्छ । लोकतान्त्रिक मूल्यमान्यता अंगीकार गरेको पाउँछु र उसका बारेमा कुनै नकारात्मक कमेन्ट गर्न चाहन्न तर, म आफैं पार्टी कांग्रेस र कम्युनिस्ट पार्टीबारे कुरा गर्छु । जिम्मेवार पार्टी यिनै हुन्, जनता, राष्ट्रको पक्षमा यिनी पार्टीहरुको काम गर्न सक्नुपर्छ । जे कमजोरी छ, त्यसलाई हटाएर नयाँ ढंगले विकास गर्न सक्नुपर्छ ।

भनेपछि केही समय दुई दलीय सिस्टममै जान्छ ?

मलाई लाग्छ केही समय होइन, आगामी निर्वाचन पूर्णरुपमा दुई पक्षीय हुने सम्भावना छ । अरु पार्टी पनि रहन्छन् तर, मूल रुपमा जनताको भोट दुईतिर जान्छ । दुबै पार्टीले जानेनन् भने अलग कुरा हो ।

अब कांग्रेसको महासमिति बैठकबारे चर्चा गरौं । तपाईको विचारमा कांग्रेसको महासमिति बैठक सफल भयो कि असफल ?

जुनरुपमा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्नुपथ्र्यो, त्यसमा पर्याप्त छलफल गर्न सकेनौं । स्पष्ट लक्ष्य र कार्यदिशा निर्धारण गर्न सकिएको छैन । तथापि महासमितिमा आएका साथीहरुले केन्द्रबाट प्रस्तुत प्रस्तावहरुमा सुझाव दिनुभएको छ । त्यसलाई समेत आधार मानेर लक्ष्यसहित कार्यदिशा निर्धारण गर्न सकिन्छ । एक अर्थमा यो उपलब्धी हो ।

दोस्रो, पार्टीको विधानमा धेरै ठूलो बहस थियो । नेतृत्व पङ्तीमै धेरै ठूलो बहस भएका कारण विधान संशोधन नै हुँदैन कि भन्ने आशंका थियो । नवौं दिनमा पुगेर भएपनि केन्द्रीय कार्यसमितिले सर्वसम्मत रुपमा प्रस्ताव गरेपछि विधान पारित भएको छ । महासमितिका साथीहरुले प्रस्तुत गरेको विचारलाई आधार मानेर परिर्माजन गर्ने भनेका छौं । अब सभापतिले तुरुन्तै केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुहोला । त्यो बैठकले परिर्माजन गरेर निर्णय गरेपछि विधानले एउटा आकार लिन्छ ।

र, संघीय संरचनाअनुसार जान ६ महिनाभित्र महाधिवेशन गर्नुपर्छ । त्यसरी नजाने हो भने महाधिवेशनसम्म पुग्ने कार्यकालका लागि अन्तरिम रुपमा संघीय संरचना निर्माण गर्नुपर्छ । यो विधानमा नै व्यवस्था गरिएको छ ।

यो विधानमा केही महत्वपूर्ण विषय प्रवेश भएको छ । जस्तो पार्टीको सबै तहको पदाधिकारी प्रत्यक्ष निर्वाचित हुन्छन्, समावेशी सहभागिता बढाइएको छ र सदस्य विस्तार अभियानलाई स्थानीय तहमा महत्वका साथ राखिएको छ । अहिले विधानमा आएका विषयहरुलाई इमान्दारिता र सक्रियताका साथ लागू गर्ने हो भने पार्टीले नयाँ शक्ति आर्जन गर्न सक्छ । यसलाई मूल्यांकन गर्दा यो एउटा उपलब्धी हो ।

शिक्षकका रुपमा नम्बर नै दिने हो भने महासमिति बैठकलाई कति नम्बर दिनुहुन्छ ? पास मात्रै कि उच्च श्रेणीमै ?

म टिचर हुँदा के गर्थें, त्यो अलग कुरा हो । पार्टीकै केन्द्रीय तहमा काम गर्ने व्यक्तिको हैसियतले भन्दा जुन प्रकारको उर्जा निर्माण गर्न सक्नुपथ्र्यो, त्यो भएन । तथापि पार्टीको विधानमा जुन परिर्वतन गर्नुपर्ने थियो, त्यो गर्न सकिएको छ ।

देशभरबाट १५/१६ सय कार्यकर्ता ९ दिन भेला हुँदा चुनावी हार, पछिल्लो राजनीतिक परिस्थिति, सरकारको समीक्षा गर्दै आगामी दिनमा के गर्ने भनेर छलफल हुनुपर्ने होइन र ? त्यस्तो त भएको देखिएन नि ?

महासमितिका साथीहरुले तपाईले भनेको जस्तै प्रश्नहरु उठाउनुभएको छ । राजनीतिक र आर्थिक प्रस्तावका सन्दर्भमा यो सनातनी परम्परा जस्तो मात्र भयो । समयको चुनौती बुझ्न सकेनन् र समाधान पनि दिएन भनेका छन् । यथापि महासमिति सदस्यहरुले तपाईले भने जस्तै सुझाव दिएको हुँदा आगामी दिनमा राम्रो काम गर्छौ नि त । नेतृत्वको होस त खुलाएको छ । नेतृत्वको होस खुलेको छ यसपटक, मैले बुझेको यति हो ।

सानातनी परम्पराकै कुरा गर्नुभयो । सनातन हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर कांग्रेसमा कुरा उठ्यो । धर्मनिरपेक्षता स्वीकार गरिसकेको कांग्रेसमा फेरि यो बहस किन ?

धर्मबारे एउटा विवाद जबरजस्त उठ्न खोजेको छ । विगतमा राजतन्त्र रहँदाको जस्तै यथास्थितिमा हिन्दु धर्म राख्नुपर्छ भन्ने र धर्म परिवर्तन गर्न पाउनुपर्छ भन्ने अर्को विषय । दुबै जबरजस्त आउन खोजेका छन् र दुबै धारमा राजनीति खडा भयो भने द्वन्द्व हुने सम्भावना देखिन्छ ।

धर्मबारे अहिलेको संविधानले जे व्यवस्था गरेको छ, सनातन धर्मसंस्कृतिको संरक्षण गर्ने, गाईको संवैधानिक संरक्षणलाई निरन्तरता दिने र धर्म परिर्वतनलाई निषेध गर्ने । हाम्रो महासमितिमा यसबाट सनातन धर्म बचाउन सकिन्छ भन्ने कोण पनि आयो, अर्कोतिर सबै छाडेर हिन्दु राज्य घोषणा गर्नुपर्छ भन्ने विचार पनि प्रवेश भयो । धर्म निरपेक्ष पूर्ण रुपमा लागू गर्नुपर्छ भन्ने विचार पनि आएको छ ।

मलाई के लाग्छ भने कांग्रेसको महासमितिमा प्रवेश गरेको विचार अन्य पार्टीमा पनि प्रवेश गरेको होला । र चिन्ताको विषय धर्मका नाममा यो वन त्यो भनेर विवाद भयो भने यसले मुुलुकलाई अतिवादतिर धकेल्न सक्छ ।

यो मात्र होइन, राजतन्त्र चाहिन्छ कि चाहिँदैन भन्ने बहस जबरजस्त ढंगले उठ्न खोजेको छ । मधेसतिर सीके राउत र अन्यत्र विप्लवको विचार जबरजस्त उठ्न खोजेको छ । चारैतिर अतिवादी विचार जबरजस्त उठ्न खोजेको छन्, यो द्वन्द्वमा नेपाल पर्‍यो भने ठूलो अराजकता हुनसक्छ र आएको सिंगो परिर्वतन नै नरहन सक्छ । त्यसैले मेरो विचारमा चाहे धर्मको नाममा होस्, चाहे राजचन्त्रको नाममा होस्, चाहे सीके राउतको नाममा होस्, चाहे विप्लवको नाममा होस्, जुनै कोणबाट आएका विचारलाई नसोची नबुझी उठाउने हो भने देशको राजनीति अतिवादतिर धकेलिन्छ । अतिवादको राजनीतिले नेपाललाई स्थिरता पनि दिँदैन, समृद्धि पनि दिँदैन । अर्को ठूलो द्वन्द्व र कोलाहलमा नेपाल फस्न सक्छ । यसबाट जोगाउन दायित्व दलहरुको हो र नेताहरु र संसदले गम्भीरतापूर्वक विचार गर्नुपर्छ ।

तपाईको विचारमा धर्मबारे संविधानले जे भनेको छ, त्यसलाई लागू गर्नु नै उत्तम हो ?

अहिले संविधानमा जे व्यवस्था छ, त्यसलाई लागू गर्न सक्नुपर्छ । यो धेरै बहस किन भइरहेको छ भने केही दिन अगाडि क्रिष्टियान संस्थाको एउटा कार्यक्रम नेपालमा भयो । त्यसलाई सरकारले ज्यादै महत्व दियो । जबकी त्यहाँ प्रमुख अतिथी बनेर कम्बोडियाका प्रधानमन्त्री आए, जो लोकतान्त्रिक विश्वमा धेरै विवादित छन् । अत्यन्त विवादास्पद संस्थाले गरेको कार्यक्रमलाई सरकारले धेरै महत्व दिँदा नेपाललाई ईशाइकरण गर्न खोजेको त होइन भन्ने आशंका सनातन हिन्दु धर्मावलम्बीहरुलाई पर्नु त स्वभाविक छ । मलाई लाग्छ, यसमा सरकारले गल्ती गर्‍यो ।

खासगरी प्रधानमन्त्रीजीलाई तपाईमार्फत भन्नुपर्छ, यो गलत भयो । अब यस्तो गल्ती नदोहोरियोस् । संविधानभित्र जे व्यवस्था छ, त्यसलाई सुदृढ गर्नेतर्फ सरकार लाग्नुपर्छ । कम्युनिस्ट पार्टीको सरकार छ, दुई तिहाईको समर्थन छ, उहाँहरुले चाहदा धेरै गर्न सक्नुहुन्छ । इच्छाशक्ति दह्रो बनाएर राष्ट्रलाई बलियो पार्न जुट्नु पर्ने बेलामा एउटा क्रिस्चियनहरुले खडा गरेको संस्थालाई बलियो पार्न जानु दुःखद हो ।

एशिया समिटकै कारण कांग्रेसमा हिन्दुको कुरा उठेको हो त ?

हो । त्यसका कारण सनातन हिन्दु धर्मावलम्बीहरुमा आशंका खडा भयो । सरकार नै यस्तो भएपछि हाम्रो के हालत होला भनेर कुरा उठाउनु अस्वभाविक भएन । त्यसैले धर्मबारे हाम्रो पार्टीमा उठेको बहसलाई स्वभाविक रुपमा हेरेको छु । तर, हाम्रो निर्णय प्रष्ट आएको छ, संविधानभित्रकै व्यवस्थालाई संरक्षण गर्नुपर्छ र सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकार मात्र होइन, कांग्रेसकै हालत पनि उस्तै छ नि । तपाईहरुकै महामन्त्री हिन्दु राष्ट्रबारे जनमत संग्रह गर्नुपर्छ भनिरहनुभएको छ, महासमितिमा हस्ताक्षर संकलन नै भयो । एउटा अन्तरकुन्तरमा उठेको आवाजमा कांग्रेसले नै स्वर मिलाएपछि अरुले पनि स्वर थपेको होइन र ?

संविधानमा धर्म निरपेक्ष मात्र छैन । धर्म निरपेक्ष राज्यले सनातन धर्म संस्कृतिको संरक्षण गर्नुपर्छ भनेको छ, धर्म परिवर्तन निषेध छ र दण्डनीय हुनेछ भनिएको पनि छ । यसतर्फ सत प्रतिशत धर्म निरपेक्षतावादीहरुको पनि ध्यान जानुपर्छ ।

जनसंख्याका आधारमा भन्ने हो भने नेपाल हिन्दु बाहुल्य राज्य हो । बहु जनताको धर्म संस्कृतिलाई जोगाउने दायित्व राज्यको हुन्छ, अरु चलिआएको धर्म संस्कृतिलाई पनि संरक्षण गर्नुपर्छ भन्ने मनसायका साथ संविधानमा हामीले सन्तुलन खडा गरेका छौं । धर्मबारे संविधानमा जे सन्तुलन खडा गरिएको छ, त्यसमा सरकार र संसद उभिनसक्नुपर्छ ।

मुनको कार्यक्रममा सरकार त्यो सन्तुलनमा बसेन भन्ने चर्चा त ब्यापक छ, कट्टर हिन्दुवादीहरुलाई सरकारको नियतबारे शंका उठ्नु जाजय हो क्या । भलौ, प्रधानमन्त्री र मन्त्रीहरुको नियत राम्रै होला तर, व्यवहारबाट जनतामा आशंका उब्जियो । उहाँहरुले गरेको गल्तीका कारण पनि यो उत्तेजना फैलिएको छ ।

त्यसोभए धर्मबारे कांग्रेस, राप्रपा सबैतिर जुनखालको उत्तेजना देखिएको छ, त्यसको दोषी सरकार हो त ?

राप्रपाले सुरुदेखि नै हिन्दु राज्य, हिन्दु राजा भनेको छ । नेपाली कांग्रेस त त्यो होइनौं । फेरि कांग्रेसभित्र हिन्दु धर्मावलम्बीहरु थुप्रै छन्, म पनि हिन्दु सनातन संस्कृतिकै मान्छे हुँ । तर, जुन सुकै धर्मको मान्छे भए पनि राजनीतिमा आएपछि तमान देशका जनतालाई हेरेर बोल्नु र गर्न पर्छ । लोकतन्त्रले त अल्पमतको भावनालाई पनि कदर गर्नुपर्छ ।

नेपाल हिन्दु बाहुल्य राष्ट्र हो । तर बुद्धिस्ट छन्, मुस्लिम छन्, पञ्चायतकालदेखिकै क्रिश्चियनहरु पनि छन् । उनीहरुको संस्कृतिको पनि लोकतन्त्रले रक्षा गर्नुपर्छ । लोकतन्त्रले बहुसंख्यक जनताको मात्र कदर होइन । बहुमतको सरकार बन्छ तर, बहुमतको तानाशाही त चल्दैन नि ।

त्यसैले बहुमतको देश, बहुमतको तानाशाही, बहुमतको सत्ता, बहुमतको निरंकुशताभन्नेतिर हामी जानु हुँदैन । त्यसैले हामीले महासमितिबाटै ‘धर्मबारे संविधानभित्र अडिऊ’ भनेर सरकारलाई भनेका छौं ।

महासमिति बैठककै कुरा गर्दा पछिल्लो समय तपाईले कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल बाहेक तेस्रो धारको नेतृत्व गर्न खोज्नुभएको थियो । तर, योपटक हस्तक्षेपकारी भूमिका खेलेको देखिएन नि ?

विधान ल्याउन मेरो हस्तक्षेपकारी भूमिका नै भयो । अहिले जुन विधान आयो, त्यो शेरबहादुरजी र रामचन्द्रजी दुबैको लाइन हुँदै होइन । अन्ततः मैले आफैंले उहाँहरु दुबैलाई एकै ठाउँमा राखेर पदाधिकारीहरु निर्वाचित हुनुपर्छ भनेँ । उहाँहरुले मनोनयन नराख्दा सभापतिलाई गाह्रो पर्ला भन्नुभयो । मेरो प्रष्ट मान्यता हो, मनोनयनको सिस्टमले पार्टीभित्र चाकडी र पैसावालाको खेल भयो भन्ने आरोप महासमितिकै साथीहरुको छ । त्यसलाई हामीले सम्बोधन गर्नुपर्छ र महाअधिवेशनबाट एकै पटक पदाधिकारीहरु निर्वाचित हुनुपर्छ । अन्त्यमा उहाँहरुले मान्नुभयो ।

चाहे हस्तक्षेपकारी भन्नुस्, चाहे सुझावकारी भन्नुस्, मेरो भूमिका रहृयो र विधान आएकोमा म खुसी छु ।

राजनीतिकरुपमा भने तपाईको समूहको केही भूमिका देखिएन नि ?

महासमितिका साथीहरुले चार मिनेट बोल्ने र स्वतः माइक कट हुने सिस्टम राखिएको रहेछ । महासमितिमा आउने साथीहरुको वैचारिक स्तर र प्रस्तुतीमा धेरै अन्तर थियो होला । त्यसैले महासमितिका साथीहरुको विचार पनि राम्ररी सुन्न सकिएन । अब केन्द्रीय कार्यसमिति बैठक बसिसकेपछि कांग्रेसको आगामी कार्यदिशाबारे छलफल गर्छौं ।

तर, पछिल्लो समय तपाईको तेस्रो धार, विस्तारै रामचन्द्र पौडेल समूहतिर मिल्यो भन्छन् नि ? समूहगत छलफलहरु हेर्दा त्यस्तो देखिन्छ पनि

भेटघाटका लागि म सहज मान्छे हुँ । शेरबहादुरजीले बोलाउनुहुन्छ, म भेट्न जान्छु । कहिले काँहि आफ्नै अग्रसरतामा पनि जान्छु । रामचन्द्रजी र अरुले बोलाउँदा पनि जान्छु । तर, शेरबहादुरजीले फोटो खिचेर फेसबुकमा हाल्नुहुन्न । अरुले फोटो खिचेर हालेपछि त्यतै क्याम्पमा गएछ भन्ने परेको होला ।

तर, म प्रष्ट भन्न चाहन्छु, गएको महाधिवेशनमा नै मैले रामचन्द्रजी र शेरबहादुर दुबैलाई नेता मान्न सकिनँ । त्यसबेला मेरो जे नजर थियो, त्यो कायमै छ र त्यसबेला मैले जे विश्लेषण गरेको थिएँ, त्यो ठीक रहेछ भन्ने अहिले पनि लाग्छ ।

उसोभए तपाईकै लाइनको विधान पास भएको छ, आगामी महाधिवेशनमा फाइदा हुने भयो, होइन ?

आगामी दिन हेर्दै जाउँ न, साथीहरुको विचार कसरी विकास हुन्छ । महाधिवेशनको क्षणताका पुग्दा नेपालको राजनीतिक परिस्थिति कस्तो रहन्छ ? स्वयंम पार्टीको आन्तरिक समिकरण कसरी विकास भएर जान्छ ? यसलाई पनि मैले मध्यनजर गर्नुपर्छ । साथै विस्तारै हामी राजनीतिक नेतृत्वबाट अवकाश लिने उमेरका मानिसहरु हौं । हामीले युवाहरुलाई सबैतिर उठाउनुपर्छ, बढाउनुपर्छ भन्ने मेरो मान्यता छ । समावेशी सहभागिता र खुलामा पनि युवाहरुलाई अगाडि बढाउन पाइयोस् । युवाहरुको पङ्ती स्वयमं कति जागरुक भएर उठ्छ, काम गर्छ, त्यो हेर्न बाँकी छ ।

म कांग्रेसका हरेक कार्यकर्तालाई स्वाभिमानी कार्यकर्ताको रुपमा हेर्न चाहन्छु । उसको अन्तरको आवाज बोलोस्, प्रत्येक कार्यकर्तामा भ्वाइस अफ कन्साइन्स भयो भने मात्र त्यो पार्टीले देशको स्वाभिमानलाई बोक्नसक्छ भन्ने मेरो मान्यता छ । कांग्रेसलाई देशको स्वाधिनता, स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न सक्ने पार्टीका रुपमा विकसित गर्न सक्नुपर्छ ।

त्यसैले मैले राष्ट्रिय जागरण अभियानको कुरा उठाउने गरेको छु साथीहरुको माझमा । तपाईहरु आफैँ नउठ्ने, नजाग्ने हो भने दबिएर बसेको मानिसले दबिएको समाजलाई उठाउन सक्दैन, राष्ट्रलाई पनि उठाउन सक्दैन भन्ने मेरो विचार छ । त्यसैले कांग्रेस पार्टीभित्र कत्तिको जागरण पैदा हुन्छ, त्यो जागरण कत्तिको जनताप्रति समर्पित हुन्छ, त्यो मैले हेर्न बाँकी छ ।

नेपालको राजनीतिमा व्यक्तिगत स्वार्थ हामी भएको छ । राजनीतिक वृत्तमा राजनीतिक स्वार्थ हामी भएपछि कांग्रेसमा हुनु स्वभाविक हो । पार्टीको नेतृत्व तहमा पनि धेरै व्यक्तिगत स्वार्थ हामी भएको छ । यसलाई समाप्त पारेर समग्र राजनीतिलाई आदर्श केन्द्रित, राष्ट्र केन्दि्रत गराउन सक्नुपर्छ । यसका लगि हाम्रो पार्टीभित्र धेेरै ठूलो मेहनत गर्नुपर्छ ।

प्रष्टभन्दा, तपाई सभापतिमा नउठेर युवाहरु उठ्छन् ?

मैले कार्यसमितिमा बोल्दा बडो रोचक कुरा राखेको छु । गगन थापा लगायतका साथीहरुले ७० वर्षमाथिका नेताहरु रिटायर हुनुस् भन्नुभयो । म पनि ७० वर्ष पुग्न लागेको मान्छे हुँ । ७० वर्ष पुगेपछि रिटायर हुन मलाई कुनै अप्ठ्यारो छैन । तर, म युवाहरुलाई नै भन्न चाहन्छु, गिरिजाप्रसाद कोइरालाले ८४ वर्षको उमेरमा मात्र गणतन्त्रको झण्डा बोकेको इतिहास पनि सम्झनुस् । गणतन्त्रको आन्दोलनमा सबैभन्दा बढी खट्ने, मेहनत गर्ने र दरबारतिर बुढो गिरिजाप्रसाद देखिएका छन्, त्यो इतिहास पनि मैले युवाहरुलाई सम्झाएको छु ।

उमेरले युवा भएर भएन । विचारले, कार्ययोजनाले, कर्मले युवा देखिनुस् । कतिपय युवाहरु, जो मेरा छोराहरुको उमेरका छन्, तपाईहरु त क भन्दा धेरै बुढा भइसक्नु भएछ । विचारले यति बुढो हुनुहुन्छ कि कहिँ हिड्न पनि सक्नुहुन्न जस्तो लाग्छ भन्न थालेको छु । यतिभन्दा तपाई पर्याप्त बुझ्नुहुन्छ ।

म आजको दिनमा उमेरले नै युवाहरुलाई तलदेखि माथिसम्म अगाडि बढाउन पाइयोस् भन्ने विचारमा छु ।

पार्टीभित्रको गुटका कारण तपाईको भूमिका कसैलाई हराउन वा जिताउन सक्ने तर, आफैं नजित्ने अवस्था अझै कायमै रहृयो भन्छन् नि कतिपय नेताहरु ?

मैले कसैलाई हराउन खेल त आजसम्म खेलेकै छैन । आफैं जित्ने वा कसैलाई जिताउने मात्र खेल खेल्छु । राजनीतिमा कोही हार्दैनन्, सबैले जित्छन् भन्ने मेरो मान्यता छ । तर, आजको दिनको मेरो आफ्नै राजनीति के हो भने कांग्रेसमा एउटा वृत्त छ, कुलघरानाका आधारमा राजनीति गर्ने । मैले विगतमा यति धेरै काम गरेँ, अहिले फट्याइँ किन नगर्ने भन्ने छ । म विगतमा यति वर्ष साधु भएँ, अहिले अलिकति चोर्न पाउँ भने जस्तो ।

मेरो मान्यता के छ भने विगतमा चोर भएपनि आज साधु भए पुग्छ । विगतमा साधु थिएँ, अहिले चोर्न पाउँ भन्ने मानिँदैन । म आफैं पार्टीको विश्लेषण गर्दा २००७ सालसम्म मातृका बाबुको अत्यन्त ज्वाजल्यमान इतिहास छ । ००७ सालपछि राजासँग मिल्नुभो, पार्टीबाट मिल्किनुभो । वीपीले नै निकाल्नुभयो । यतैकै कुरा गर्ने हो भने भन्न त मन छैन तर, कुरा गर्दा आइहाल्छ । गिरिजाप्रसाद कोइरालाले बीपीकै जेठो छोरा प्रकाशलाई हटाएको इतिहास छ । राजनीति सैद्धान्तिक, नीतिगत र कार्यक्रमबाट अगाडि बढ्नुपर्छ । तर, समस्या के छ भने परिवारको मान्छे मुली भएपछि आफ्नै परिवार बोकेर हिड्ने । परिवारको एउटा मान्छेले धेरै काम गरेपछि मेरो बाबुले यति गरेको थियो, मेरा बाजेले यति गरेको थियो । मैले किन खान नपाउने भन्ने ।

भनिन्छ नि, मेरा बाजेको पालामा मानामाना ध्यू थियो, हात सुँघ भन्दा त बास्ना आउँदैन । समाज त द्रुत गतिले बढेको हुन्छ । आज के लाग्छ भने हामीभन्दा जान्ने छोराहरु भइसके, समाजलाई अगुवाइ गरिरहेका छन् । हामीले त्यो वर्गलाई आकषिर्त गर्न सकेनौं भने पार्टी चाहिँ कहाँ रहन्छ ? पार्टी पनि रहँदैन । त्यसैले कांग्रेसले पुरातन शैली, सोच, परिवार, खानदान आदि इत्यादी छोडेर आजको समाजको विचारलाई बोक्न सक्ने र संगठित गर्न सक्ने मानिसहरु पार्टीको वडादेखि माथिसम्म हुनुपर्छ भन्ने मेरो मान्यता हो । यसमा काम गर्दै जाँदा कहाँनेर पुगिन्छ, त्यही अडिएला नि महाधिवेशनमा । धेरै कुरा किन भन्ने ? कसैबारे पनि तीतो बोल्न चाहन्न ।

शेरबहादुरजी र रामचन्द्रजीबारे भनिहालेँ कि विगत महाधिवेशनमा नै मैले नेता मान्न सकिनँ । आज आएर नेता मान्नुपर्ने कुनै कारण परेकै छैन ।

(अनलाइनखबरमा प्रकाशित)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *