गायक खुमन अधिकारीले संघीयता स्वीकारेनन्

   नबराज बराल comment 0

चैत १३, काठमाडौँ ।  देश संघीयतामा गैसक्यो । नयाँ संरचनामा केन्द्र, प्रदेश र स्थानिय गरी तीन तह छुट्याइएको छ । ७ प्रदेश र ७५३ स्थानिय सरकारको संरचना बनेको छ । सातमध्ये गण्डकी र कर्णालीको मात्रै नामाकरण भएको छ भने अरु नम्बरकै आधारमा चिनिएका छन् । तर, चर्चित लोकदोहोरी गायक खुमन अधिकारीले भने संघीयतालाई व्यवहारिक रुपमा स्वीकार गरेका छैनन् । उनले पछिल्लो चरणमा निस्किएको गीतमा १४ अञ्चल नै प्रयोग गरेका छन् ।

पत्याउनै गाह्रो होला–खुमन अधिकारीका चौधै अञ्चलमा ससुराली छन् । प्रचलित कानुनअनुसार भने एउटा भन्दा अर्को बिहे गर्न पाईंदैन । देवानी र फौजदारी संहिता ऐनमा श्रीमति हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः वदर हुने प्रावधान छ ।

अहिलेको जमानामा पनि यस्तो काम गरेकोमा उनलाई पछुतो पनि छैन । उल्टो देशैभर ससुराली भएकोमा गर्व गर्दै फुर्ति लगाएका छन् ।

उनी मेचीकी मेनकाको मायाजालमा परेका छन् । कोशीमा कल्पना ‘थिम’ बस्दा पनि उनको मन बिग्रिएको छ । सगरमाथाकी सरलाकोमा गएर उनको मीठो हातको एक छाक खाना खाएको पनि खुमनले खुलासा गरेका छन् ।

जनकपुरमा पनि जमुनालाई भेटेर उनले मायाको प्यास मेटेका छन् । बाग्मतीको बाटुलीले पनि उनलाई फोन गरिराख्छे । उनैसँग जीवन काट्न पशुपति भाकल गरेको समेत खुमनलाई थाहा छ । नारायणीकी निरुताले पनि खुमनलाई दिनरातै सम्झिन्छे । घरमै बोलाएर आँटोसँगै गुन्द्रुकको झोल खुवाउने गरेकी छ ।

गण्डकीकी गंगा र लुम्बिनीकी लिला पनि उनलाई देखेर ‘फिदा’ हुने गरेका छन् । लिलासँग बुटवल शहर बसेर मायाप्रिति साट्ने रहर पनि खुमनको कहिल्यै मेटिएन । धौलागिरीकी धनाले उनलाई बोलाएर सताउने र हरेक साँझ आउनु भनेर अत्याउने गरेकी छ ।

राप्ती अञ्चलकी रिता पनि उनको मुटुमै धड्एिकी छ । भेरी पुगी भिमासँग कर्णाली फर्किने योजना बुनेका छन् खुमनले । कर्णालीकी कला झन् उनलाई भेट्न नपाए झुण्डिएरै मर्ने घुर्की लाउने गर्छे ।

सेती अञ्चलकी सिता र महाकालीकी मिना बिना पनि उनी एकैछिन बाँच्न सक्दैनन् । चौधै अञ्चल ससुराल भएकाले आफूलाई देशकै पीर भएको उनले बताएका छन् ।

छोरो मान्छे भएपछि मर्द हुनुपर्छ भन्दै युवाहरुलाई जोस्याएका छन् खुमनले । ‘एउटा दुईटा लभ त हजुर बाँदरले नि गर्छ’ भन्छन् उनी । चौधै अञ्चलको एक्लो ज्वाईं भएकोमा गर्व गर्छन् स्याङ्जाली गायक ।

मीठो स्वर र लाइभ दोहोरी गाउन सक्ने विशेष क्षमताका चर्चित कलाकार खुमनले आफ्नो यथार्थ जीवनमा भने यसो गरेका होइनन् । हजारौँ गीत गाइसकेका खुमनको यो कल्पना गीतमा मात्रै व्यक्त भएको हो ।

गत हप्ता मात्रै बजारमा ल्याइएको सो गीतमा १४ अञ्चलका युवतीहरुलाई ठगी गरेको आरोपमा २ युवा पक्राउ परी जेल बसेको दृश्य देखाउँदै यसो गर्न नहुने सन्देश दिइएको छ ।

नयाँ शैली र फरक विशेषताको यो गीत युवा पुस्तामा प्रिय हुने गायक खुमनको विश्वास छ । युट्युवमा करिब चार लाखले यो गीत हेरिसकेका छन् । करिब दुई हजारले गीत मन परेको प्रतिक्रिया दिएका छन् । सो भिडियोमा पल शाह र अराज केशवको अभिनय छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *