गायक पशुपतिको आग्रह : देश लुट्नेलाई बहिष्कार गरौँ !

‘लुट्न सके लुट् कान्छा लुट्न सके लुट, अरु देशमा पाईंदैन नेपालमै हो छुट’
   नयाँ दैनिक comment 0

फाल्गुण ३, काठमाडौँ । लोकदोहोरी गायक पशुपति शर्माले देशको स्थितीप्रति गीतमार्फत आक्रोश पोखेका छन् । उनले नयाँ गीत प्रकाशित गर्दै देश लुट्नेलाई बहिष्कार गर्न समेत अनुरोध गरेका छन् । माया–प्रेमसँगै व्यवहारिक र राष्ट्रप्रेमी गीत गाउने शर्माको पछिल्लो गीत हो–‘लुट्न सके लुट, नेपालमै हो छुट..!’

दश मिनेट १० सेकेन्ड लामो भिडियोमा पशुपतिले आफ्नो भाइलाई गीतमा लुट्न उक्साउँदै दिग्दारी प्रस्तुत गरेका छन् । गीतमा भनिएको छ, ‘पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ तर देश र जनताको निस्वार्थ रुपले माया गर्ने न कुनै नेता भेटेँ न त अरु कोही । त्यसैले भन्न मन लाग्यो–

लुट्न सके लुट कान्छा, लुट्न सके लुट
अरु देशमा पाईंदैन नेपालमै हो छुट ।

उनको गीतको पहिलो टुक्कामा भनिएको छ– ‘हाम्रो गाउँको एउटा भाइ स्थायी शिक्षकमा लड्यो, स्थायी शिक्षक हुन्छु भनि पढ्नुसम्म पढ्यो । बल्ल–बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ, त्यसकै छोरो पढ्न फेरि बोर्डिङतिर जान्छ ।’

उनले सरकारी जागिर खाने डाक्टरले बिरामी क्लिनिकतिर तानेकोमा पनि गीतमा चिन्ता व्यक्त गरेका छन् । गाउँको भाइले सुब्बामा जागिर खाएर दुई वर्षमै घर बनाएको भन्दै उनले सरकारी कर्मचारीलाई कहाँबाट पैसा आउँछ भनेर प्रश्न गरेका छन् ।

गणतन्त्र फालेर राजा ल्याए पनि कैयौँ फालेकै राजाजस्तो भएको उनको आरोप छ । डेढ अर्बको हेलिकप्टर चढेको भन्दै उनले राष्ट्रपतिमाथि पनि कडा प्रहार गरेका छन् । उनको व्यंग्य छ, ‘जनताको मुटुभित्र काँडा कति कति, डेढ अर्ब हेकिप्टर चढ्छिन् राष्ट्रपति !’

वाइडबडी जहाज किन्दा लुट्नुसम्म लुटेको भन्दै उनले सुनकाण्ड कहाँ पुग्यो भनेर पनि सरकारलाई सोधेका छन् । राजनीतिक पार्टीका नेताले भ्रष्टाचार गरिरहेको र कार्यकर्ताले विरोध नगरी उनैको पक्षमा कुकुरजस्तै भुक्ने गरेको भन्दै उनले आक्रोश पोखेको छन् । स्वर्गजस्तो देशमा यमराजको शासन भइरहेको उनले गीतमा दावी गरेका छन् ।

ड्याङडुङ गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्ने र सोझालाई नेपालमा नामर्द भनिन्छ भन्दै उनले भाइलाई आदर्शको खेती नगर्न गीतमा भाइलाई सुझाव दिएका छन् ।

हिजो सोमबार मात्रै सार्वजनिक गरिएको सो गीत मालाश्री स्टुडियोले रेकर्डिङ गरेको हो । गीतलाई युट्युवमा करिब ५० हजारले हेरिसकेका छन् । सो गीतमा स्वर, शब्द र संगीतका साथै अभिनयसमेत पशुपति आफैँको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *