गोरखामा श्रीनाथप्रति श्रद्धाञ्जली, कुन नेताले के भने ?

   नयाँ दैनिक comment 0

साउन ५, गोरखा । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य श्रीनाथ अधिकारी ‘श्याम’को श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । फोक्सोको क्यान्सरका कारण निधन भएको १४औँ दिन सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालको आयोजनामा श्रद्धाञ्जली सभा भएको हो । गोरखामै जन्मेर गोरखाको कम्युनिस्ट आन्दोलनमा जग हालेका अधिकारीप्रति श्रद्धाञ्जली दिन नेकपाका नेताहरु, अधिकारीका परिवार तथा आफन्त, गोरखाका सयौँ कार्यकर्ता र शुभचिन्तकहरु शनिबार गोरखा बजार पुगेका थिए ।

नेकपा दाइ कांग्रेस बन्न सक्दैन : नारायणकाजी श्रेष्ठ

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नेकपा दाइ कांग्रेस बन्न नसक्ने ठोकुवा गरे । आफूलाई पार्टी सदस्यता फाराम भराउने नै श्रीनाथ भएको खुलाउँदै श्रेष्ठले अधिकारीको सपना पूरा गर्न कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तै हुनुपर्ने बताए । उनले भने, ‘हामी दाइ कांग्रेस हुन सक्दैनौँ, कांग्रेसको स्थान त कांग्रेसले नै ओगट्छ । हामी त सच्चा क्रान्तिकारी बन्नुपर्छ ।’

नेपालको राजनीतिमा चरम व्यक्तिवाद र भ्रष्टिकरण बढ्दै गएको बताउँदै श्रेष्ठले विकासको नीति ‘पव्लिक, प्राइभेट, पार्टनरसीप’ हुनुपर्नेमा ठीक उल्टो ‘पोस्ट, पावर र प्रपर्टी’ भएकोमा उनले चिन्ता समेत व्यक्त गरे ।

जनयुद्धको थालनीदेखि श्रीनाथसँगै थिएँ : हितराज पाण्डे

नेकपा, गण्डकी प्रेदशका अध्यक्ष हितराज पाण्डे ‘उत्तम’ले जनयुद्धको थालनीदेखि पार्टी नफुट्दासम्म आफू श्रीनाथसँगै रहेको बताए । श्रीनाथबाट त्यागको पाठ सिक्नुपर्ने बताउँदै पाण्डेले श्रीनाथले परिवारलाई पनि राजनीतिकरण गरेकोमा प्रसंसा समेत गरे ।

गोरखाले आन्दोलनको आदर्श गुमायो : हरिराज अधिकारी

नेकपाका नेता हरिराज अधिकारी ‘कुमार’ले गोरखामा कम्युनिस्ट पार्टीको पुरानो नेता भनेर वाचस्पति देवकोटा र श्रीनाथको नाम सुन्ने गरेको स्मरण गर्दै अधिकारीले श्रीनाथको निधनपछि गोरखाले आन्दोलनको आदर्श गुमाएको बताए । प्रतिनिधि सभाका सांसद समेत रहेका अधिकरीले भने, ‘श्यामलाई सिरानी हालेर हामीले धेरै कुरा सिक्नुपर्छ ।’

श्रीनाथको निष्ठा नै आदर्श भएको बताउँदै अधिकारीले श्रीनाथ आन्दोलनमा झोला भिरेर आएको र झोलामै टिकेकोमा गर्वानुभूति गरे । बाबुको विचारलाई सहयोग गरेकोमा उनले परिवारलाई धन्यवाद समेत दिए । श्रीनाथसँग पार्टी अलग भए पनि व्यवहार अलग नभएको अधिकारीको भनाई थियो ।

सिंहदरबार नछिरेर श्रीनाथ जोगिए : लेखनाथ न्यौपाने

नेकपाका युवा नेता लेखनाथ न्यौपानेले सिंहदरबार नछिरेर श्रीनाथको आदर्श जोगिइरहेको बताए । मन्त्री र सांसद बनेर सिंहदरबार छिरेकाहरु स्वच्छ रहेर आन्दोलनमा नफर्केको दावी गर्दै न्यौपानेले भने, ‘श्रीनाथ दाइ सिंहदरबार नछिरेर ठिकै गर्नुभयो, मन्त्री र सांसद बनेर छिरेकाहरु स्वच्छ फर्केको उदाहरण नै पाउन मुस्किल छ ।’

श्रीनाथ लोभ भएका पारदर्शी नेता भएको बताउँदै न्यौपानेले अहिलेको राजनीतिमा प्राप्तिका ¥याल काढ्ने प्रवृत्ति खतरनाक रुपमा देखिएको दावी गरे । पार्टीका अध्यक्षद्वय केपी र प्रचण्डले पनि दैनिक खर्च र खर्चको स्रोत नखुलाए पार्टीभित्र विचारको मात्रै वहसको औचित्य नहुने बताए । कार्यक्रमको उद्घोषणका क्रममा न्यौपानेले प्रश्न गरे, ‘आन्दोलनका हरेक परीक्षामा श्रीनाथ उत्तीर्ण हुनुभयो, हामी सक्छौँ कि सक्दैनौँ ?’

रुदारुँदै पनि खुसी छौँ : नारायण अधिकारी

श्रीनाथ अधिकारीका जेठा छोरा नारायण अधिकारीले बाबुको निधनले पीडा भए पनि बिरामी हुँदादेखि पार्टीका नेता/कार्यकर्ताको सहयोगले खुसी भएको बताए । अधिकारीले भने, ‘बुवाले केही कमाउनुभएन भन्ने लाग्थ्यो तर धेरै कमाउनुभएको रहेछ । पैसा त जसले जहिलेसुकै कमाउन सक्छ, तर यस्तै सम्पत्ति जो कोहीले कमाउन सक्दैन ।’ बाबुको निधनपछि आफूहरुले धार्मिक परम्परा तोडेर प्रगतिशील संस्कार अपनाएको उनले बताए । अधिकारी नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय सदस्य समेत हुन् ।

कार्यक्रममा भक्ति लामिछानेले श्रीनाथको जीवन सरल र प्ररणादायी भएको बताए । श्रीनाथले ‘ओभरसियर’को जागिर समेत त्यागेर आन्दोलनमा लागेको खुलाउँदै लामिछानेले श्रीनाथ परिवारभन्दा माथि उठेर सोच्ने वैचारिक नेता भएको बताए ।

श्रीनाथकी बहिनी सारदा पौडेलले पनि कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ताले देखाएको सहयोग र सद्भावले पीडा कम गराएको बताइन् । कार्यक्रममा सहभागी सबैले श्रीनाथको तस्विरमा माल्यार्पण सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *