चिकित्सा विधेयकको त्रुटी सच्याउन डा. केसीको आग्रह

   नयाँ दैनिक comment 0

माघ १०, काठमाडौँ । डा.गोविन्द केसीले सांसदहरुलाई सार्वजनिक पत्र लेखेर चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका छन् । १५ दिनदेखि अनसनरत डा. केसीले बिहीबार सार्वजनिक पत्र लेखेर सांसदहरुलाई विधेयकमा भएका त्रुटीबारे औंल्याउँदै सच्याउन आग्रह गरेका हुन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अधुरै नै रहने बताएका छन् । उनले पत्रमा लेखेका छन्, ‘मलाई आशा छ, समय र सत्ता फेरिँदा मुद्दा पनि फेर्नेहरुको बहकाउ र भ्रममा परेर प्रतिनिधिमुलक संस्थाले निर्णय गर्ने छैन ।’

एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने आफ्नो माग माथेमा कार्यदलको सुझाव र स्वास्थ्य सेवाको गुणस्तरसँग समेत जोडिएको उनले बताएका छन् । डा.केसीको पत्रमा भनिएको छ, ‘यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो ।’

उनले लेखेका छन्, ‘जहाँसम्म काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्ने कुरा छ, सरकारले ५ वर्षभित्र प्रत्येक प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज खोल्नुपर्छ र निजीको हममा आयोगले अध्ययन गरी विभिन्न विकल्पहरुसहित आवश्यक निर्णय गर्न सक्छ । म त सधैं दुर्गममा मेडिकल कलेज खोल्नुपर्छ भनेर निरन्तर लडिरहेकै छु ।’

आफूले कुनै हठ वा अहंकार देखाएको नभई सत्यको आग्रह गरेको भन्दै डा. केसीले प्रधानमन्त्रीसँग बालुवाटारमा भएको छलफल, सुभाषचन्द्र नेम्वाङ र विष्णु पौडेलको उपस्थितिमा भएको सम्झौता र देव गुरुङले दर्ता गरेको संशोधन सम्झिएका छन् ।

‘सम्झौता गरेका वा साक्षी बसेका सबैजसो दलबाट आज तपाईंहरू संसदमा हुनुहुन्छ,’ उनले भने, ‘नागरिकको रुपमा मैले सरकार, प्रधानमन्त्री र जनप्रतिनिधिले गरेका बाचा र सम्झौता केवल जालझेल मात्रै थियो भन्ने ठान्न सक्दिनँ । तपाईं सांसदहरू पनि पक्कै त्यस्तो ठान्नुहुन्न होला । यदि त्यस्तो हो भने त आम नेपाली जनताप्रतिको विश्वासघात हुनेछ र त्यसविरुद्ध हामी लड्नुको विकल्प रहने छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *