चीनमा मृत्युदण्ड घट्दो

   नयाँ दैनिक comment 0

पुस ८, काठमाडौ । चीनमा मृत्युदण्डको सजाय हुने क्रम घट्दो अवस्थामा रहेको छ । तर, यो प्रावधान हट्न अझै टाढाको विषय देखिन्छ । मृत्युदण्डको प्रावधानप्रति चिनियाँको अझै धेरै समर्थन रहेको चीनको सवोच्च अदालतका एक न्यायाधीशले बताए । मानवअधिकारवादी समूहका अनुसार बेइजिङले अन्य प्रजातान्त्रिक मुलुकको तुलनामा हरेक वर्ष मृत्युदण्ड दिने क्रम बढिरहेको भए पनि कति संख्यामा मृत्युदण्ड दिइन्छ भन्ने राज्यले गोप्य राख्ने गरेको छ । यद्यपि चीनको कानुनी प्रणालीले मृत्युदण्डसम्बन्धी विधिलाई पछिल्ला वर्षमा कडा पारेको छ ।

‘मृत्युदण्डलाई हटाउने अवस्था भने अझै आइसकेको छैन’, सुप्रिम पिपुल्स कोर्टका न्यायाधीश लि सिआओले बताए । ‘हाम्रो इतिहास, हाम्रो संस्कृति साथसाथै हाम्रो बर्तमान सुरक्षा आवश्यकताले हामीलाई मृत्युदण्डको प्रावधानलाई राख्न वाध्य बनाएको छ तर हामी यसलाई नियन्त्रण गर्ने विषयमा सचेत छौँ’ विदेशी सञ्चार माध्यमसँगको विरल सामूहिक अन्तर्वार्तामा बिहीबार उनले बताए ।

सन् २००७ मा उक्त अदालतले मृत्युदण्ड स्वीकार गर्ने वा अस्वीकार गर्ने शक्ति पुनः आर्जन गरेको थियो । उक्त अधिकार सन् २००७ पहिले प्रान्तीय अदालतमा निहित रहेको थियो । यसको तीन वर्षपछि चीनले नयाँ प्रावधान ल्यायो जसले मृत्युदण्डका लागि सबुत देखाउनुपर्ने बनायो र सन् २०१५ मा मृत्युदण्डलाई ५५ बाट ४६ मा झारियो । त्यसपछि मृत्युदण्डको संख्या क्रमशः घट्दो अवस्थामा रहेको छ, लीले भने ।

कसैको हत्या गरेका कारण आफ्नो जीवनको उत्सर्ग गर्नुपर्छ भन्ने हजारौँ वर्षदेखि चिनियाँ नागरिकको दिमागमा गडेको विचारप्रति अझै पनि व्यापक समर्थन रहेको छ, उनले मृत्युदण्डलाई कायम राख्नुपर्ने धारणालाई पुष्टि गर्दै भने । किन हामीले मृत्युदण्डको प्रावधानलाई आज पनि हटाउन सकेका छैनौँ यो धेरै कारणमध्ये एउटा कारण हो, र किन वास्तविक संख्या बाहिर ल्याउन सक्दैनौँ, लीले भने, ‘यदि हामीले मृत्युदण्डको संख्या सार्वजनिक गर्ने हो भने चिनियाँ जनताले प्रशस्त मृत्युदण्ड नदिइरहेकोमा असन्तुष्टि प्रकट गर्नेछन् ।’

मानव हत्या, बलात्कार, लागूऔषध कारोबार र पृथकतावाद सबैलाई चीनमा गम्भीर अपराधका रुपमा लिने गरिन्छ । चीनमा मृत्युदण्ड गोली हानी दिने गरिन्थ्यो तर पछिल्लो समय प्राणघातक रसायनको सुइमार्फत हुने गर्छ । मृत्युदण्डको यो स्वरुपलाई तुलनात्मक रुपमा धेरै मानवीय वा अपराधीको शरीरमा कम ध्वंसात्मक प्रभाव पर्ने मानिने गरिन्छ । गोखरापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *