‘छैन कोठामा पुगेर नरोएको कुनै दिन’

   नयाँ दैनिक comment 0

आजभोलि सामाजिक सञ्जालमा भाइरल भएको कविता हो– ‘छैन कोठामा पुगेर नरोएको कुनै दिन ।’ यो कविता नयाँ भने होइन । ४ वर्ष अगाडि नै बलराम दाहालले लेखेर सुनाएका थिए यो कविता । ‘एनिमेशन’ भएर यो कविता फेसबुकका म्यासेन्जरमा एकबाट अर्कोमा ‘फरवार्ड’ भैरहेको छ । यो हो कविता :

एउटा चिन्ता सकियो फेरि अर्को चिन्ता भयो सुरु
चिन्तै चिन्ता छ चिन्ताको के होला औषधि गुरु
नसोध कति छन् चिन्ता अहिले भन्न म सक्दिनँ
छैन कोठामा पुगेर नरोएको कुनै दिन ।

चिन्ता भविष्यको होइन बर्तमान् धराप छ
उछाल्ने र पछार्नेको जमनै यो खराब छ
वाह वाहमा मात्रै हो सभामा छिनका छिन
छैन कोठामा पुगेर नरोएको कुनै दिन ।

जेहोस्, तलब थापिन्छ कुरेर महिनौँ दिन
अघिल्लो महिना बाँकी तिर्दै सिद्धिन्छ त्यही दिन
जागिरै नहुने मान्छे के गर्छन् म त जान्दिनँ
छैन कोठामा पुगेर नरोएको कुनै दिन ।

उता जागिरको चिन्ता चिन्ता पढाइएको यता
घडेरी जोड्नको चिन्ता चिन्ता छ घरको उता
संकटा शनि हट्दैन मनमा भ्रामरी किन
छैन कोठामा पुगेर नरोएको कुनै दिन ।

पाएको पद फुस्केला भन्ने चिन्ता यतातिर
पद नपाउँदा लाग्ने अर्को चिन्ता उतातिर
छोराछोरीको त्यो अर्कै चिन्ता छ लाइन
छैन कोठामा पुगेर नरोएको कुनै दिन ।

ग्याँस चामलको भाउ अहिले लाख पुगे पनि
दिँदैन राज्यले सित्तैँ खानुपर्छ किनेर नि
तिर्दैन राज्यले भाडा हामी हौँ जति निर्धन
छैन कोठामा पुगेर नरोएको कुनै दिन ।

जडिबुटी सबै बेच्छन् भुसको मूल्यमा त्यता
राज्यले औषधि किन्छ सुनको मूल्यमा यता
सारा संयन्त्र सम्झेर राज्यको किन हो किन
छैन कोठामा पुगेर नरोएको कुनै दिन ।

बाटा मुन्तिर बग्दैछ त्रिशुली त्यो निरन्तर
बाटाकै घर निस्पष्ट बल्दैन बिजुली तर
यी सारा चिज सम्झेर म आफैँ किन हो किन
छैन कोठामा पुगेर नरोएको कुनै दिन ।

पालैपालो महि पार्न मदानी मात्र खोसियो
अहँ घ्यु निस्कने आज नौनाडी सबैको गल्यो
के भो कसो छ सोध्दैनन् भन्दैनन् खै नआत्तिन
छैन कोठामा पुगेर नरोएको कुनै दिन ।

गुनासो मात्र सुन्दैछु भाषामा होस् कि भेषमा
भनेजस्तो कुनै एउटा छोरो जन्मेन देशमा
मुलाझैँ देश काटेर बाँडेको हेर्न सक्दिनँ
छैन कोठामा पुगेर नरोएको कुनै दिन ।

उक्लियोस् राष्ट्र यो भन्दै वर्षौँदेखि कराइयो
बिग्रेको आज गाडीझैँ घ्याच्चघ्याच्च गराइयो
भन्नोस् दिए कसैले त्यो सान्त्वना न तर्सिन
छैन कोठामा पुगेर नरोएको कुनै दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *