जङ्गली फूल

   सुमिना अभिलाषी comment 0

मालिको सुसार बिना हुर्किएँ
छन् फूल कम काँडा ज्यादा
थाह छैन मलाई
बगैँचाका अनुशासनहरू !

र त पालना गर्दिन म
मालीका विधानहरू !

अभिमानी पहरामा निर्भीक फुलेकी
म त अराजक
‘एक जङ्गली फूल’

प्रितम !

तिमी चुँड्नुअघि
एकपटक अवस्य सोँच्नु

कहिँ रगताम्य हुन सक्छन्
तिम्रा सुकोमल पञ्जाहरु

एक प्रभात
कसैले सोध्यो मलाई
तँमा यतिधेरै क्रुरता किन ?

प्रतिउत्तरमा म बोलेँ–

मलाई सोध्नुपूर्व
सोध यहि प्रश्न ती अनाथहरूलाई !

जो लावारिस जन्मिए
सडकमा हुर्किए, खेले, बढे
कसले कसरी निर्वाह गर्यो
उनको अभिभावकत्व !

के उनलाइ पढाइयो
मान्छेवाट मान्छे बनाइनुका शिक्षाहरू ?

हो !
अराजकता मेरो मन्त्र हो
तर स्वतन्त्रता असुल !

म त अभिमानी पहरा छेउ
निर्भिक फुलेकी
अराजक ‘एक जङ्गली फूल’ ।

प्रितम !

यदि दृश्यमा परेँ भनेँ,
चुपचाप नियाल्नु टाढैबाट !
तर,
नजिक आउनुपूर्व
एकपटक अवश्य सोच्नू

कतै काँडाम्य हुन सक्छन्
तिम्रा सुकोमल पैतलाहरू !!

फगत नदेखाउनु ‘त्रास’
बतासको
म त आँधिको बाटो छेकेर
निर्धक्क फुल्न सिकेँ !

भो नसोध अनुकूलता के हो
र प्रतिकुलता के हो ?

बाल् मतलब
मलाई पर्वाह छैन कुनै कठिनाइको !

म त
परिस्थितिको कठालो समातेर
समयलाई आफ्नो गुलाम बनाउन खोज्ने
एक महत्वाकांक्षी शासक !

कोहि आसै नगर मबाट
‘सहानुभूति’

नचाहेर पनि क्रुर संसारसँग भिडन्त गर्न
मैले काँडा त हुर्काउनु नै थियो ।

अँ,
मैले आफूसँग भएको कोमल हृदय
निकै पहिले बेचिसकेकी छु
बैमान सहरमा !

ढोँगी कथित समाजका हरेर आदेशहरू ललकार्न

अभिमानी पहरा छेउ निर्भीक फुलेकी
म त अराजक ‘एक जङ्गली फूल’

प्रितम !

आत्मीयता बढाउनु पहिले
एकपटक अवश्य सोच्नू

कतै कुल्चिन सक्छन् तिम्रा अपेक्षाहरू,
बध हुन सक्छ्न् निर्मम तरिकाले

म त अभिमानी पहरा छेउ निर्भीक फुलेकी
अराजक ‘एक जङ्गली फूल’

Leave a Reply

Your email address will not be published. Required fields are marked *