जननेता मदन भण्डारीले ‘राजा’बारे के भनेका थिए ?

   नयाँ दैनिक comment 0

आदरणीय जनसमुदाय !

हामीलाई कुनै पूवाग्रहहरु साँध्नु छैन । जनता र राष्ट्रको उन्नति र प्रगति गर्नु छ । जनताको समृद्धि र खुसीयाली हाँसिल गर्नु छ । त्यो जनताको प्रगति र समृद्धि राष्ट्रको प्रगति र समृद्धिलाई बाधा हाल्ने तत्व भनेका सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवाद हो । त्योसँग कुनै सम्झौता हुन सक्दैन । त्योसँग कुनै समझदारी हुन सक्दैन र त्यसलाई सम्पूर्ण रुपले उखेलेर फाल्नुपर्दछ । तबमात्रै यो मुलुकको कायाकल्प हुन सक्छ । तबमात्रै यो मुलुकको भाग्य र भविष्य सुध्रिन सक्छ ।

अहिले पनि नेकपा मालेले ठीक यही धारणा राखिरहेको छ । यहाँहरुलाई यदि हाम्रा धारणाहरु चित्त बुझेनन् भने आलोचना गर्न सक्नुहुन्छ, सुझाव दिन सक्नुहुन्छ र खण्डनमण्डन गर्न सक्नुहुन्छ । त्यसको निम्ति हामी शिर निहुराएर नम्रतापूर्वक त्यो कुराहरु लिन र ग्रहण गर्नको निम्ति तयार छौँ ।

यसो भएको हुनाले मैले एउटा यसो भनेर के कुरा व्यक्त गर्न खोजेको हुँ भने कुनै पनि बेलामा संघर्ष गर्ने भनेर सवाललाई अगाडि बढाइन्छ भने त्यसको बाधक तत्व को हो ? शत्रु को हो ? भन्ने सवाल प्रमुख रुपले उपस्थित हुन्छ । र त्यो प्रमुख शत्रु हटे पनि यदि आधारभूत कुराहरु परिवर्तन भएनन् भने त्यो प्रमुख शत्रुलाई निमिट्यान्न पारे पनि यदि मुलुकको स्थितिमा परिवर्तित भएन भने जनता र राष्ट्रको जीवनमा खुसीयाली आउन सक्दैन ।

त्यसो भएको हुनाले हामीले अहिले यदि राजा संविधानमा बाँधिएर बस्ने हो भने यदि राजा जनतालाई दिएका अधिकारहरु उल्लंघन गर्ने कहिल्यै पनि त्यस्तो दुस्साहस नगर्ने हो भने रहन पनि सक्छन् । यसो भन्दाखेरि अघि मैले भनेँ कि यहाँहरु धेरैलाई मेरो कुरा चित्त नबुझ्न सक्छ । ओहो ! यसले त राजालाई रहन पनि सक्छ भन्यो, नेकपा मालेको महासचिवले रहन पनि सक्छन् भन्यो ।

आदरणीय जनसमुदाय !

यो कुनै ठूलो कुरा होइन । एक जना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन । तर सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन ।

यो राजासहितको प्रजातन्त्र भन्दाखेरि मैले अस्ति एउटा पत्रिकामा इन्टरभ्युमा पनि बताएको थिएँ, मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर पनि यदि जनतालाई सर्वशक्तिमान बनाउने, प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने कुरालाई ग्यारेन्टी गरिन्छ भने यो ठूलो आपत्तिको कुरा हुने छैन । किन ठूलो आपत्तिको कुरा हुने छैन ? यसकारणले ठूलो आपत्तिको कुरा हुँदैन कि कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ । कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ र त्यो हामी अरु अनेकौँ गणतान्त्रिक मुलुकहरुमा देखिरहेका छौँ । हाम्रो मुलुकमा चाहीँ राष्ट्रपतिको निर्वाचन चाहीँ गर्न नपर्ने तर राजाकै छोरा राष्ट्रपति जस्तो हुन्छन् भने पनि यसलाई ठूलो आपत्तिको विषय मान्नपर्ने केही जरुरी हुँदैन । यसकारणले कि यद्यपि राजालाई यो परम्परावादी खालको एउटा अविजात वर्गलाई र त्यो अविजात्य शैलीलाई कायम राख्दाखेरि मुलुकलाई अल्लि बढ्ता खर्च बेहोर्नुपर्ला ।

जस्तो माधव कमरेडले बताएर जानुभयो कि राजाको चार लाख तलब भन्ने कुरा चाहीँ राखियो । अहिले हाललाई राजाले चार लाख तलब खाएर दरबारमा, नारायणहिटीमा राज गरिरहुन्, त्यहीँ बसिरहुन् तर मुलुककको शासन प्रणाली र मुलुककको भाग्य निर्माण गर्ने काम जनताको हातमा दिइयोस् । हाम्रो हातमा दिइयोस् । नेपाली जनताको हातमा दिइयोस् ।

यसो गर्दा यसो भन्न सकिन्छ कि यहाँले आफ्नो घरमा हात्ती पाल्नुभयो भने धेरै घाँस धेरै भुस, धेरै त्यसको उसलाई फिडिङ चाहिन्छ । तर एउटा बोको पाल्नुभयो भने त्यो बोकालाई थोरै घाँसले पुग्ने थियो । यसर्थमा एउटा निर्वाचित राष्ट्रपति हुने हो भने उसले १५ हजार, २० हजार वा केही त्यस्तै प्रधानमन्त्रीको बराबरको तलबमा काम चल्थ्यो होला । तर यो सामन्ति अविजात्य शैलीमा बाँचेको दरबारलाई अहिले त्यति खर्चले पुग्नेवाला छैन ।

त्यसो हुँदाखेरि अहिले राजालाई चार लाखको खाँचो छ भने हामी कोहीवात छैन हामी त्यो कुरा अहिले दिन तयार छौँ । तर प्रजातान्त्रिक अधिकारहरुमा कुनै गिद्धे दृष्टि हुनुभएन । प्रजातान्त्रिक अधिकारमा कुनै पनि किसिमको औँलो ठड्याउनु भएन दरबारबाट । हामीले भन्ने खोजेको कुरा यो हो ।

त्यसो हुँदाखेरि सवाल आधारभूत कुराको हो । सवाल वर्गीय शत्रुको हो र सवाल प्रतिगामी उत्पादन सम्बन्धको हो । त्यो प्रतिगामी उत्पादन सम्बन्धलाई तोड्नुपर्छ र प्रगतिशील उत्पादन सम्बन्धलाई कायम गर्नुपर्छ ।

त्यसो हुँदाखेरि यस्तो भनिरहेको बेला जब संविधानमा दिइएको सम्मानको आधारमा राजा त्यहीभित्र यदि सिमीत रहेर रहने हो भने हामीलाई राजासँग त्यस्तो विशेष आपत्ति हुने छैन भन्ने कुरा भनिरहेको बेला म कुरालाई मनमा राखिरहेको छु भने भोलि अर्को कुनै शक्ति सामन्त, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको रक्षा गर्ने मुख्य शक्ति बनेर आउन सक्छ र त्यो चाहीँ हाम्रो आन्दोलनको मुख्य शत्रु बन्न सक्नेछ ।

त्यसो हुनाले मुल शत्रु बदलिन्छ आन्दोलनको दौरानमा । मुल शत्रु बदलिए पनि परिस्थिति बदलिएको छैन भने अर्को जुन मुल शत्रु आउँछ त्योसँग हामीले हाम्रो लगाईंलाई जारी राख्नुपर्छ । त्यसो हुँदा यो पूर्वाग्रहको लडाईं होइन, यो कुनै किसिमको त्यस्तो एउटा कसैप्रति व्यक्तिगत दुर्भावनाको लगाईं होइन । यो जनता र राष्ट्रको जीवन र मरणको लडाईं हो । यो जारी रहन्छ र जारी राख्नुपर्छ ।