जनयुद्धका ति दिनहरु (सन्दर्भ : जनयुद्ध दिवस)

   लेखनाथ न्यौपाने comment 0

कम्तिमा १०–१५ वर्ष त पक्कै बस्नु पर्ला भन्ने एउटा ढुक्कता र योजनाबद्ध दिनहरु बिताउने सोंचसहित जेल जीवन बिताइदै थियो तर आकस्मिक रुपमा पहिलो वार्ता कालमा जेलबाट रिहाइ भइयो ।

२०५८ सालको कुरा हो । ४ वर्ष ६ महिना जेल बसेर निस्कदा करिब ८० हजार रुपैँया जम्मा भएको थियो मसँग । यो पैसा एक नेपाली युवाले २ वर्ष अरब बसेर कमाए बराबरको थियो त्यतिबेला । त्यतिखेरको ८२ हजार क्रय शक्तिका हिसाबले निकै धेरै पैसा थियो । जेलमा पैसाको निकै महत्व हुँदोरहेछ । जेल भनेको बन्द समाज, सिमित स्रोत र साधन हुनाले त्यो सीमित र स्रोत साधनभित्र सबै आर्थिक परिचालन गर्न निकै कठिन हुन्थ्यो । पैसाको असाध्यै धेरै महत्व हुने ठाउँ जेल हो भन्ने मेरो अनुभूति छ ।

बाहिर रहँदा हामी एक सुक्का, मोर र एक रुपैँयाको हिसाब गर्दैनौँ तर जेलमा सुक्का, मोरको पनि निकै मसिनो हिसाब हुन्थ्यो । मैले कमाएको त्यो ८२ हजार बाहिर निस्केपछि खास सदुपयोग गर्न त सकिन तर अंशगत नै भएपनि पुस्तकमा लगानी भयो । मैले जेलभित्र संस्मरणहरु लेखेको थिए । पछि प्रतिबन्धित कलमको नाममा पुस्तक सार्वजनिक भयो । त्यहि पुस्तक प्रकाशनका लागि त्यो पैसा थपियो र खर्च भयो ।

२०५८ मै पुस्तक निकाल्ने भनेर पैसा संगठनमा बुझाएँ तर संकटकालको कारण २०६० सालमा मात्र पुस्तक निस्कियो । आत्मीय मित्र तथा विद्यार्थी नेता ज्ञानेन्द्र त्रिपाठीको सहयोगमा त्यो किताब निस्कियो तर पुस्तक सार्वजनिक सँगै ज्ञानेन्द्रजी पक्राउ पर्नुभयो र अहिलेसम्म पनि वेपत्ता हुनुहुन्छ ।

राज्यले दिने चामल (दैनिक ७ ग्राम) र दालको पैसा (दैनिक १५ रुपियाँ) ले खानै नपुग्ने अवस्था थियो । यसैबाट इन्धन, दाल–तरकारी र भुटुन–मसला सबै किन्नु पथ्र्यो । बाहिर (परिवार, आफन्त र पार्टी) बाट आर्थिक सहयोग गर्नसक्ने अवस्था पनि थिएन । पत्रिका र पुस्तक किन्न, उपचार र लगाउने लुगाको व्यवस्थाको लागि, चिया र कहिलेकाही मासु खानको लागि अतिरिक्त पैसा आवश्यक हुन्थ्यो नै । आवश्यकताले किचेपछि श्रमसँग जोडिने चेतना आउने नै भयो । जेलमा श्रमका क्षेत्र पनि सीमित थिए ।

२०५२ सालको चैतमा ६ महिना सेन्ट्रल जेल बसेको थिए । हामीलाई माया गर्ने गैर राजबन्दीहरुको सहयोगमा टोपी बुन्न सिकेको हुँ । पछि तान लगाउन पनि सिकें । २०५४ को अन्त्यमा जेल परें र लगातार ४ वर्ष ६ महिना बन्दी जीवन बिताउन बाध्य भइयो । तर विभिन्न जेल सरुवा गरेर हैरान बनायो राज्यले । जसबाट श्रम कार्य पनि खण्डित भइरह्यो ।

तैपनि सबैभन्दा लामो समय भद्रबन्दी गृहमा राख्यो । कमाएर तिर्ने (ऋण) सर्तमा तान किनेर टोपी बुन्न थालेको हुँ । शुरुशुरुमा टोपी बुनाइको गति कम र गुणस्तर पनि कमसल हुन्थ्यो । पछि त निकै राम्रा टोपी बुन्न थालें र एउटा टोपीलाई ४ सयदेखि ५ सयसम्ममा बेच्ने भएँ । गणित पढेको फाइदा ग्राफमा नयाँ नयाँ बुट्टा बनाउने सिर्जनात्मकता टोपीमा अभिव्यक्त भयो । जसको कारण मैले बुन्ने टोपीको माग बजारमा बढ्यो । त्यसपछि पैसा राख्ने कपडाको थैली (पर्स) बुन्न थालें र अझ पछि त ढाका चोलो बुन्ने भएँ ।

यसले आय आर्जनमा थप सहयोग पुर्यायो । तर जेलमा हामी राजबन्दी बिचमै प्राय सबै विषयमा विवाद चलिरहन्थ्यो । श्रम गरेर आय आर्जन गर्ने हामी केही साथीहरु थियौं । यसको पनि हाम्रै साथीहरुबाट बिरोध भयो जो पाटे अल्छी थिए, पार्टीलाई लेवि बुझाउन/पठाउन जरुरी छैन भन्थे र बाहिरबाट पैसा मागेर जेलमा पनि मस्ती गर्थे ।

हँसिया हथौडा अंकित टोपीको बुट्टा मैले नै निकालेको हो जुन निकै लोकप्रिय पनि भयो । भक्त बहादुर श्रेष्ठ, शक्ति लम्साल दाइहरुलाई त्यही छोपी लगाउन पठाइदिएको थिए । उहाँहरुले पछिसम्म त्यो टोपीको चर्चा गर्नुहुन्थ्यो । गाउँबाट भेट्न आउनेहरुलाई पनि टोपी उपहार दिएर पठाउथे । जेलबाट रिहा हुँदा त्यो मेरो प्रिय टोपी तान पार्टीका बन्दी साथीहरुलाई सामूहिक उत्पादनको लागि छोडेर आएको हुँ ।

जेल अनुसारको जीवन हुन्थ्यो जेलमा । सेन्ट्रल र भद्रबन्दी गृह अलि फराकिलो भएकोले बिहान हिंड्ने, व्यायम गर्ने, दिउँसो पुस्तकालय जाने, श्रमसँग जोडिने अवसर थियो भने बेलुकी बाहिर निस्कन पाइन्थेन । त्यो बेला ओछ्यानमा बसेर पढ्ने, लेख्ने गर्थे । यो पनि बेला बेलामा प्रतिबन्धित हुन्थ्यो । कहिलेकाही त पुस्तक र रचनाहरु नै खोसिन्थे । यस्तो बेला शारिरीक यातनाले भन्दा बढी दुखाउथ्यो मन । गोरखा जेलमा रहदा मैले नाम्ला, दाम्ला र मुढा बुन्ने काम गरें । यसले पनि आय आर्जनमा निकै सहयोग पुर्यायो । त्यतिबेला बुनेका मुढा अहिले पनि घरमा प्रयोग भइरहेका छन् । त्यतिबेल बुनेका टोपी त कहिले काहीं मैले अचेल पनि लगाउने गरेको छु ।

जेलभित्रको प्रशासन जेलरले बन्दीहरुबाटै छानेर चौकिदार, नाइके, भाइनाइके बनाएर चलाउँछ । तिनीहरु जेलका शासकहरु हुन् । यिनीहरु मार्फत नै हो हाम्रा सामान बजारसम्म जाने । नाइकेहरु नै ठेकेदार हुन्थे । वातावरण सहज हुँदा भेटघाटमा आउनेहरुलाई भनेर पनि बजारसम्म पु¥याउने गरिन्थ्यो । मैले बुनेका टोपी, थैली, चोला, मुढा आदि सामान एक दिन पनि जगेडा राख्नु परेन । पहिला नै पैसासँगै अडर आउथ्यो र त्यही अनुसार बुन्ने गर्थे । तयारीसामग्री नबिक्ने, पैसा नउठ्ने समस्या खास जेल्नु परेन मैले ।

जेलमा प्रहरीसँग खासै सम्पर्क हुँदैन तर हिरासतमा निकै बाक्लो हुन्थ्यो । प्रहरीहरुको डिउटी एउटा कुरा हो र स्वभाव अर्को जस्तो लाग्छ । ५२ साल चैतमा गिरफ्तारीमा पर्दा मेरा सबै पुस्तक बोरामा हालेर प्रहरीले लगेको दिन निकै रुन मन लागेको थियो तर तत्कालीन डिएसपि वीरेन्द्रबाबु श्रेष्ठ (अहिले एआइजीबाट सेवावृत) ले पछि प्राय सबै पुस्तक फिर्ता गरिदिए । त्यो क्षण निकै खुशीको थियो । उनी गोरखाबासी रहेछन्, पछि थाहा पाएको हुँ । उनलाई अहिले पनि सम्झन्छु र बेलाबेला भेट हुँदा त्यो प्रसङ्ग निकाल्छु ।

हनुमान ढोका हिरासत बस्दा जाडो महिना थियो । चौधरी थरका प्रहरी जवान भित्रि डिउटीमा थिए । राजनीतिक आन्दोलन हो, आन्दोलनपछि मन्त्री पक्का भइन्छ । त्यो बेला तपाईंलाई डिएसपी बनाइदिउला भनेको त पत्याएँ उनले । उनी डिउटी भएको बेला मलाई चिया र तातो पानी खुवाए । तातो पानीको हरेक प्रसङ्गमा अचेल पनि ति चौधरी प्रहरी साथीलाई सम्झन्छु तर त्यसपछि कहिल्यै भेट हुनसकेन । गोरखा हिरासतमा निकै यातना दिनेहरुको अनुहार अझै पनि याद छ तर नाम थाहा भएन र पूर्वाग्रह पनि छैन् । एकाध मात्र खराव हुन्, नत्र अधिकांश प्रहरीहरुले सहयोग नै गरेंको मेरो अनुभव छ ।

५२ सालको चैत्रमा जेल पर्दा उपत्यकामा म पहिलो माओवादी कार्यकर्ता थिए जेल पर्ने । त्यतिबेला माओवादीबारे अनेक खिस्सा र किम्बदन्ती सुनिन्थे । बडेमानको जिउ, दारा पलाएको, उढेर वल्लो डाडाबाट पल्लो डाडामा पुग्ने आदि आदि । जेलमा आज माओवादी आउँदै छ भने सनसनीपूर्ण खबर पुगिसकेको रहेछ । माओवादी हेर्न बन्दीहरु पंतिmबद्ध भएर बसेको म आफैंले देख्दा आचम्म परेको । २८ दिन हिरासत बसेर जेल जादा मैलो त्यतिकै हुने नै भयो । त्यसमा छुस्स दारी, गाला भित्र पसेको लिखुरे केटो देखेर बन्दी सबै निरास भएको घटना निकै रोचक लाग्छ अहिले पनि ।

ठूलो संघर्षपछि भद्रबन्दी गृहमा हामी माओवादी बन्दीहरुले छुट्टै भान्सा चलाउने अनुमति पाएका थियौं । रोलक्रममा खाना बनाउने र भाँडा माझ्ने नियम बनाएका थियौं । म लगायत केही साथीले आफैंले चिनी, चियापत्ती किनेर भान्छाको स्टोप प्रयोग गरेर कालो चिया पकाएर खान्थ्यौ । एकदिन हामी भन्दा ठूला नेता (पछि प्रमको पिए भए र अहिले कम्युनिस्ट नै छोडे) ले उहाँहरुले खर्च गरेको सामूहिक मट्टीतेल बराबरको पैसा चिया नखाने हामीहलाई बाँड्नु पर्छ भने । यस्ता पनि माओवादी हुन्छन् भनेर मैले भातको डल्लाले तिनको गालामा हानेको घटना अहिले पनि निकै रोचक लाग्छ । त्यो घटनाको कारण आजभोलि पनि उनीसँग खास कुराकानी हुँदैन ।

राती पढेको र लेखेको आरोपमा पागल बन्दीहरुसँगै ४२ दिन गोलघरमा राख्यो । त्यहाँ बस्दाको क्षण पनि बारम्बार सम्झनामा आइरहन्छ र निकै भावुक बनाउँछ । एकातिर पागल वन्दीहरु अर्कोतिर जुम्रा उडुस र उपियाँ । वर्गीय उद्देश्यका लागि त्यस्ता दिन पनि बिताइयो । खान नपाएको, यातना खाएको, यातनाले देब्रो कान फुटेको र अस्पतालमा फलामको साङ्लाले बाँधेर उपचार पाएको, एउटा जेलबाट अर्कोमा रातीराती सार्दाको त्रास र महिना दिनसम्म नाइकेको चर्पी सफा गरेको घटना पनि उत्तिकै सम्झनामा आउँछन् आज जेल जीवनमा फर्कदा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *