जोक्कर सरको रजगज

   खगेन्द्र संग्रौला comment 0

असार १९ काठमाडौँ । जोक्कर्‍याइँ जीवनको प्रधान तत्त्व होइन, सहायक तत्त्व हो । नभई नहुने, ज्यास्ती भए बित्यास पर्ने । त्यसैले जोक्कर नाटकको नायक होइन, केवल खलनायक महलको जीव हो । जीवनको वास्तविक नाटकमा जब खलनायक मार्काको जोक्कर नै नायक बन्छ, जीवनको अर्थ र गरिमा चौपट हुन्छ । सत्ता राजनीतिको हकमा पनि कुराको चुरो यही हो । जब सत्ता राजनीति कमिकतुल्य र सत्ताको माउ कर्ता जोक्करतुल्य बन्छ, तब कुरो गडबड हुन्छ । सिसिफसको वेदनामय किस्सामा झैँ हरिप जिन्दगीमा झल्ला कमिक दोहोरिँदो छ । यो प्रत्यक्ष देखिँदै छ, कष्टसाथ भोगिँदै छ र त्यसैत्यसै आजित भइँदै छ । ट्वीटको जङ्गलमा म उत्सुक आँखा दौडाउँदै के थिएँ, अजिवको जीवसँग जम्काभेट भयो । जीव युट्युबमा छ । ऊ तामसी हाउभाउसाथ बोल्दै छ । उसको कुटिल अनुहारमा दम्भ छ, ढोँगी बोलीमा अहंकार छ, र बोलाइको लय र तालमा झल्ला जोक्कर्‍याइँ छ । केके न ठूलो कुरा गरेझैँ वक्ता भन्छ— ‘म प्रधानमन्त्री भएका बेला मैले भनेको थिएँ— अब काठमाडौँमा नाक समातेर हिँड्नुपर्दैन । अब मास्क लगाउनुपर्दैन । म प्रधानमन्त्री भएको बेला काठमाडौँको आधा जनसंख्या मास्क लगाएर हिँड्थ्यो, अहिले मास्क लगाएर कोही पनि हिँड्दैन ।’

सोचेँ— यो जो बोल्दै छ, केवल राजनीतिक नाटकको जोक्कर हो । जोक्कर बोल्यो र श्रोतागणले गलल्ल हाँस्दै परर्र ताली बजायो । नयनराज पाण्डेले ट्वीटमा टिप्पणी गरे— ‘रमाइलो छ संसार !’ एक गम्भीर स्रष्टाको यो टिप्पणीले मलाई किञ्चित् आश्वस्त तुल्यायो— हो, यो जोक्कर्‍याइँयुक्त राजनीतिक नाटक हो, यथार्थ जीवनको यथार्थ दृश्य किमार्थ होइन । यो त केवल झल्ला कथ्यमा हल्का मनोरञ्जनको लेप लगाइएको झल्ला दृश्य हो । तर लाल मजदुर नामक ब्रोको ट्वीटे टिप्पणीले भने मलाई किञ्चित् झस्कायो । यी लालबाबुले कटाक्ष गरे— ‘सारा सडक खाली गरेर हिँडेछि मास्क कता देखिनु नि ब्रो ?’ ए गाँठ्ठे ! कमिकतुल्य यो दृश्य त वास्तविक पो हो कि ? वक्ता उही धरती र आकाश कब्जा गरी घरी बाहिर, घरी भित्र सवारी हुने औतारी मानव पो हो कि ? सान्त्वनाको खोजीमा मेरो बेचैन चित्त हास्य उस्ताद मिस्टर मनोज गजुरेलतर्फ मोडियो । प्रधानमन्त्रीको अभिनयमा सायद छद्मभेषी मनोज होलान् । र सायद यो गाईजात्राकालीन झल्ला हास्य होला । यसरी गम खाँदै दृश्य दोहोर्‍याएर हेरेँ । वचन ध्यान दिएर सुनेँ । अरे, जोक्कर त साँच्ची नै वास्तविक जीवनको वास्तविक पात्र जस्तो पो छ बा ! म झन् झस्केँ ।नभन्दै झल्ला हास्यका झल्ला अभिनयकर्ता त श्रीमान् ओली सर पो रहेछन् । सर्वज्ञानी एवं सर्वशक्तिमान् ओली सर । नेकपाका दुईदुनी चार डाक्टर सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली । ओली सरको झल्ला हास्यप्रति झल्ला प्रतिक्रिया गर्दै जसले थप्पडी बजाए, ती को हुन् ? हास्यकारका आउरे–पाउरे र धुपौरेहरू ? निजहजुरका हुक्के, ढोके र बैठकेहरू ? निज प्रभुका आज्ञाकारी भक्त–भक्तिनीहरू ? हैकमी एवं तजबिजी सत्ताद्वारा पालित, पोषित र रक्षित अरिङ्गालहरू ? आत्महीन एवं स्वाभिमानविहीन दास–दासीहरू ? कि रैतीबाट नागरिकमा नफेरिन जिद्दी गर्ने कमारा–कमारीहरू ? आफ्नै विशिष्ट स्वत्व र निजत्वसहितका जीव हुँदा हुन् त तिनले आफैप्रतिको क्रूर ठट्टा झल्किने झल्ला कथनको प्रतिक्रिया झन् झल्ला मुद्रामा त्यसरी किन पो गर्दा हुन् र ? चिउँडा–चिउँडामा मास्क झुन्ड्याएका छन्, अथवा झोलाझोलामा मास्क कोचेका छन् । र, ती नवनरेशको परम अनुकम्पाले जीवन मास्कमुक्त भएको कथनको अनुमोदनमा अट्टहासका साथ थप्पडी बजाइरहेछन् । ल हेर, कठोर शासक मास्क लगाएर कष्टको कहर काटिरहेको दयनीय जनजीवनफ्रति त्रूर ठट्टा गरिरहेछ ! त्यो क्रूर ठट्टाबाट मानौँ पुलकित हुँदै झल्ला भीड कर्कश हल्ला गरिरहेछ ।

गणतन्त्रको सत्ताको गद्दीमा ओली सर विराजमान छन् । सत्ताको मुहुनीमय गद्दा हेरेर घुटुक्क थुक निल्दै पुष्पकमल ब्रो ट्वाँ परेर टोलाइरहेका छन् । राजधानीमा आर्थिक प्रदूषण, नैतिक प्रदूषण र वायु प्रदूषण दिन दुगुना रात चौगुना बढ्दो छ । तैपनि बिनालाज, बिनासंकोच सत्तासीन चटकेश्रीबाट आज्ञा हुन्छ— मेरो पौरखी शासनमा हिजोको आजै काठमाडौँ प्रदूषणमुक्त भयो । यथार्थमा काठमाडौँ छ प्रदूषणद्वारा हदै आक्रान्त, ढाँटकलामा विशारदप्राप्त चटके ख्वामितबाट आज्ञा हुन्छ यस्तो ! तर कुरा अचम्मको छ । स्वयंप्रतिको यो क्रूर ठट्टालाई मानौँ कोही पनि गम्भीर रूपले लिँदैन । नयनराज पाण्डेजस्ता संवेदनशील एवं मानवतावादी स्रष्टासमेत यसलाई हल्का टिप्पणीमा फुस्स उडाइदिन्छन् । आखिर किन ? सायद सत्ताधारी जोक्करले अहोरात्र जोक्कर्‍याइँ गर्दागर्दा हाम्रा संवेदन तन्तुहरू भुत्ते र थेत्तरा भएर । सायद झल्लापन नै जीवन–यथार्थको नित्य दिनचर्या भएर । सायद लापरबाही र खेलाँचीसामु जीवनको गम्भीरता आजित, पराजित एवं लाचार भएर ।देशको कार्यकारी प्रमुख ठट्टा होइन । देश–दुनियाँको जीवनमा उसका एकएक वचन, एकएकं सङ्केत र एकएक हाउभाउको सुल्टो वा उल्टो, सुखद वा दु:खद, क्षणिक वा दूरगामी प्रभाव त पर्छ नै । कार्यकारीले जनजनको पीडाप्रति मनोरञ्जक मुद्रामायति क्रूर ठट्टा गर्दा मिडियामा बबाल प्रतिक्रिया हुनुपर्ने हो । बुद्धिजीवीहरूमाझ उत्पात खैलाबैला हुनुपर्ने हो । मानव अधिकारवादीहरू प्लेकार्ड उचालेर सडक–सडकमा लाम लाग्नुपर्ने हो । युवा विद्यार्थीहरूका उत्ताल आक्रोशका स्वरले आकाश घन्किनुपर्ने हो । र, माइतीघर मण्डलमा जनसागरको आवेगी लहर उर्लिनुपर्ने हो । तर छैन ! ट्वीटर–फेसबुकका खत्र्याक–खुत्रुक प्रतिक्रियासिवाय कतै केही देख्नु–सुन्नु छैन । किन ? किनभने शासक महलका भुइँफुट्टाहरूको बकवास सुन्दासुन्दा लोकको संवेदना जडवत् भएको छ । सत्तासीन चटके भन्छ— एक वर्षमा देश तुइनमुक्त हुन्छ । वर्ष बित्छ, तुइनबाट खसेर मान्छे मर्ने क्रम तुरिँदैन । चटके पुस १६ गते पानीजहाजको टिकट काट्न आऊ भन्छ । पुस १६ आउँछ, टिकटले हावा खान्छ । चटके अब कसैले भोकै मर्नुपर्दैन भन्छ, दीनदु:खी भोकै मरिरहन्छ । चटके अब कसैले जाडो र गर्मीले मर्नुपर्दैन भन्छ, गरिब जाडो र गर्मीले मरी नै रहन्छ । चटके यावत् सडक चिल्ला र आरामदायी भए भन्छ, सडकका खाल्डामा खसेर बालक मरिरहन्छ । तर यो सब चुपचाप सहिन्छ, कतै बबाल विरोध हुँदैन । किन ? सायद चटकेका सिल्ली आश्वासनहरूको अनवरत शृङ्खलाले मानवीय संवेदनालाई चुटेर, लेथ्नो बनाएर, भुत्ते पारेर र थेत्तरो तुल्याएर ।

उ: सिंहासनधारी चटके सिल्ली मुद्रामा काइँकुत्ते स्वर उचालेर भन्दो छ— राजधानी सहर मास्कमुक्त भयो ! उता ऊ त्यसो भन्दो छ, यता राजधानीबासी मास्क भिरेर निसासिइरहेका छन् । चटके ब्रोका सल्लाहकारहरू सुन्छन्, ङिच्च हाँस्छन् र मौन रहन्छन् । ती आफ्ना ख्वामितलाई चुइँक्क केही भन्न सक्दैनन् । ती केवल ख्वामितलाई सलाम गर्छन्, निजका चरण स्पर्श गर्छन् र मस्ती मुद्रामा तलब–भत्ता ज्युनार गर्छन् । मन्त्रीहरू सुन्छन्, ङिच्च हाँस्छन् र ओठ जाम गर्छन् । आफ्ना प्रभुका असङ्गत वचनमाथि टिप्पणी गर्न तिनमा दुई पैसाको दम छैन । गरे प्रभुद्वारा आफ्नो सुस्वादु दानापानी हरण होला भन्ने भय छ । अनि संसदीय सभाका सभासद र सभामुख ? यी श्रीहजुरका सामु ती प्राय: हुचिलको छायामा परेको सर्पतुल्य निस्तेज हुन्छन् । बस, तैँ चुप् मै चुप् । तलब–भत्ता खाऊ र डकार । घूस–कमिसन खाऊ र मोजमस्ती गर । नवनरेशको असीम अनुकम्पाले हात लागेको ६ करोड पाकेट खर्च सभक्ति ग्रहण गर र बर्बराहटकारी प्रभुको जयगान गर ।

पहिले राजा त्रिभुवनको सिल्ली वचन सुनिन्थ्यो, अहिले छद्मभेषी राजा ओली सरको सिल्ली वचन सुन्नुपर्‍या छ । गरिब प्रजाले ‘खान पाइनँ सरकार’ भन्दा त्रिभुवन छक्क पर्दै ‘तैँले पेटभरि दूधभात पनि खान पाइनस् ?’ भनेर सोध्थे रे । अहिले उही गगनबासी त्रिभुवनको सिको गर्दै निजका उत्तराधिकारी भन्छन्— ‘अहिले काठमाडौँमा मास्क लगाएर कोही पनि हिँड्दैन !’ जनजीवनको असह्य कष्टमाथि यति क्रूर ठट्टा त्यसैले मात्र गर्न सक्छ, जो संवेदनशील जीवनको यथार्थ धरातल छाडेर छिचिमिरे औतारको कमिलोझैँ आकाशमा उडिरहेछ, जो जीवन–यथार्थका स्पन्दनशील प्रक्रियाहरूबाट बिलकुल विमुख छ, जो मानवीय करुणाशून्य छ, जो लज्जाहीन छ, जो जनजनका दु:खदर्दमाथि ठट्टा गर्नमा ठूलो पराक्रम र आनन्द अनुभूति गर्छ । भन्न असजिलो लाग्छ मान्यवर, तर यो भन्न म अभिशप्त छु । जो यो सब गर्छ, त्यो सिल्ली हो । यसो गम खाँदा मलाई त योभन्दा ठूलो अनिष्टको डर लाग्छ । धरातल छाडेको, तर्कसङ्गतिबाट च्युत भएको, लाज र घीन बिर्सेको, दम्भले उन्मत्त भएको, जनजनका दु:खमाथि निर्मम ठट्टा गर्दै आनन्द लिने शासक महलको अजिवको यो जीवले जे पनि भन्न सक्छ, जे पनि गर्न सक्छ । कुनै दिन यसले ‘बालुवाटार सेरोफेरोको समस्त भूमिको भूपति मै हुँ’ भन्यो भने !? ‘हाम्रा पुर्खाले कत्रा दु:खले आर्ज्याको यो गोर्खा राजको राजा मै हुँ’ भन्यो भने !? अचम्म छ, सिंहासनबासी प्रभुको घातक जोक्कर्‍याइँबाट आक्रान्त लोक यो विरल सरकारको स्वास्थ्य–परीक्षाको माग किन गर्दैन ? हो, शासक पाषाणहृदयी छ । जनजीवनको दुर्दशामाथि ठट्टा गर्नु ऊसको अनिवार्य दिनचर्या बनेको छ । बिजुलीको लट्ठामा बसेर कौवा सोध्छ— यस्तो त्रूर ठट्टा आखिर कहिलेसम्म ब्रो ? प्रश्न शून्य आकाशमा तुन्द्रुङ्ग झुन्डिएको छ । आहत माइतीघर मण्डल मानौँ चारै दिशा हेर्दै व्यग्र मुद्रामा उत्तर पर्खिरहेको छ ।
(कान्तिपुर दैनिकबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *