टोपी दिवस : किन ठीक ? किन बेठीक ?

   नबराज बराल comment 0

पुस १७, काठमाडौँ । आज पुष कृष्ण एकादशी । सन् २०१९ को आरम्भ भएको दिन । त्यतिमात्रै होइन, आज ‘टोपी दिवस’ भन्नेहरु पनि उत्तिकै छन् । ढाका टोपी लगाएर तस्विर खिचाउँदै सामाजिक सञ्जालमा शुभकामना दिएको प्रशस्तै देखिन्छ । यद्यपि अंग्रेजी नयाँ वर्षकै दिनसँग भने टोपी दिवसको ‘१२ हातको साइनो’ पनि छैन । ढाका टोपीले चिसो नछेक्ने भएकोले मौसमका दृष्टिले पुसको जाडोमा टोपी दिवस वैज्ञानिक हुँदैन । बरु नेपाली नयाँ वर्षको दिनमा भने टोपी दिवस मनाउनु वैज्ञानिक हुने थियो । किनकि जाडोमा ढाका टोपी लगाउनु वाध्यता मात्रै हुन्छ । दिवस वाध्यताले होइन, रहरले खुसीसाथ मनाउनुपर्छ ।
नेपालमा ढाका टोपी पुरुषले मात्रै लगाउने गर्दछन् । तर, आज महिलाले समेत टोपी लगाएर तस्विर सार्वजनिक गरेका छन् । ‘ढाका टोपी दिवस’ मौलिक संस्कृतिको जगेर्ना गर्ने तर्क पनि नभएका होइनन् । यो कहिलेबाट, कसले, किन सुरु गर्यो ? तथ्य भेटिँदैन । छैटौँ ‘टोपी दिवस’ भनेपछि नयाँ नै हो भन्ने प्रष्टै हुन्छ ।
टोपी दिवस किन ठिक ? किन बेठिक ? बहस पनि चलिरहेकै छ । दिवस ठिक भन्नेको तर्क छ, यसले हाम्रो मौलिक संस्कृतिको रक्षा गर्दछ । बेठिक भन्नेको तर्क छ, नेपालीले लगाउने पोशाक टोपी मात्रै हो ? अरु पोशाकको दिवस किन नहुने ?
दुई वर्ष पहिले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टोपी दिवसबारे नयाँ तर्क गरेका थिए, ‘टोपी दिवस हुन्छ भने भांग्रा, बख्खु लगायतका दिवस किन नहुने ?’ भट्टराईले हरेक पोशाकको दिवस नहुने आशय व्यक्त गरेपछि उनको सामाजिक सञ्जालमा खेदै खनियो । भोलिपल्ट बिहानै बन्दिपुरबाट ढाका टोपी लगाएको तस्विर सार्वजनिक गर्न वाध्य भए ।
वहस चल्न थालेको छ–कसले घोषणा गर्ने हो र कसले अनुमोदन गर्नुपर्ने हो दिवस ? टोपी दिवसबारे बलराम तिमिल्सिनाले फेसबुकमा व्यंग्य गरेका छन्, ‘भोलि कसैले कट्टु फुकाल्ने दिवस भनेर हल्ला गर्ला, कट्टु फुकाल्न थाल्ने ? हावाको भरमा दौडेर कहाँ पुगिन्छ ? ’
उनले सोधेका छन्, ‘के नेपाली जनताले लगाउने टोपी ढाका टोपी मात्रै हो ? भादगाउँले टोपी, तामाङले लगाउने टोपी या मुस्लिले लगाउने टोपी चाहीँ नेपाली टोपी होइनन् ? के ढाका टोपीको उद्गम स्थल नेपाल र आदि उत्पादक नेपाली हुन् ? शासक र शासक जातिका खानपिन र लवाईखवाईलाई षड्यन्त्रपूर्वक देशकै दिवसमा छिराएर के हामीले आन्तरिक सांस्कृतिक अतिक्रमण गरिरहेका त छैनौँ ?’
उनले महिलाले टोपी दिवस मनाएकोमा अचम्म मानेका छन् । महिलालाई पनि उनको प्रश्न छ, ‘ए महिला दिदीबहिनीहरु हो ! खोई त सारी चोलो दिवस ? के त्यस्ता दिवस आए भने भातमारा पुरुषले तिमीहरुले टोपी लगाएजस्तै गरेर सारी चोलो लगाएर फोटो पोस्ट गर्लान् त ?’
‘एक भाषा एक भेष’ पञ्चायती साम्राज्यवादी नीति भएको उनको तर्क छ । यो दिवस सिर्जना गर्नेहरु शासक भएको र यसको भ्रममा नपर्न उनले अनुरोध समेत गरेका छन् । यद्यपि खुसीसाथ टोपी दिवस मनाउनको संख्या भने निकै नै देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *