डा.केसीको अनशनले कांग्रेस टिक्दैन : भण्डारी

‘चिकित्सा शिक्षासँग द्वन्द्वकालिन मुद्दाको के सम्बन्ध ?’
   नयाँ दैनिक comment 0

माघ ८, काठमाडौँ । अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले डा.गोविन्द केसीको आन्दोलनले नेपाली कांग्रेस टिक्नै नसक्ने ठोकुवा गरेका छन् । डा.केसीलाई कांग्रेसले बोकेको आरोप लगाउँदै भण्डारीले प्रश्नसमेत गरेका छन्, ‘चिकित्सा शिक्षासँग द्वन्द्वकालीन मुद्दाहरुको के सम्बन्ध छ ?’

चिकित्सा शिक्षाको एजेण्डामार्फत नेपालमा अस्थिरता पैदा गर्न नसक्ने भएपछि नेपालमा अस्थिरता पैदा गर्न चाहने विदेशी शक्तिकेन्द्रहरुले द्वन्द्वकालिन मुद्दा उठाएर डा.केसीलाई अनशनमा बसाएको समेत उनले आरोप लगाए ।

अखिल (क्रान्तिकारी) कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस इकाई समितिद्वारा आयोजित ‘वामदेव घिमिरे स्मृति पक्लिहवा कप २०७५’ को समापन कार्यक्रममा बोल्दै भण्डारीले नेपाली कांग्रेसले सडकमा आउने एजेण्डा नपाएपछि डा.केसीको अनशनका नाममा सरकारको विरोध गर्न खोजेको जिकिर गरे ।

यूवा नेता भण्डारीले बरु शेरवहादुर देउवा र गगन थापालाई माइतिघर मण्डलामा आएर अनशन बस्न सुझाव दिएका छन् । समृद्ध नेपाल निर्माणको निम्ति कृषि क्रान्ति अनिवार्य रहेको र उक्त कृषि क्रान्तिमा कृषि प्राविधिकहरूको महत्वपूर्ण भूमिका रहने उनको भनाई छ ।

माघ २ देखि सञ्चालित प्रतियोगितामा भलिबलतर्फ १४ र सुपरसिक्स क्रिकेटमा १८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा भलिवलतर्फ लिटिल फ्लोर कलेज विजेता बनेको छ । क्रिकेटमा हजि कलेज विजयी भएको आयोजक समितिका अध्यक्ष गगन भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *