माघ १८, काठमाडौँ । अनसनरत डा.गोविन्द केसीलाई सत्तारुढ नेकपाकी युवा नेतृ सुनिता बरालले सोधेकी छिन्, ‘तपाईं संसद र संविधानभन्दा माथि हो ?’
डा.केसी हठी भएको भन्दै उनले आक्रोश समेत पोखिन्, ‘कुनै एक व्यक्तिले जे भन्यो, त्यही मान्नैपर्छ भन्ने के छ ? डा.केसी संसद र संविधानभन्दा माथि हो ? सरकारी कर्मचारीले सरकारको नेतृत्व गरिरहेका नेताहरुलाई जे मन लाग्यो त्यही भनेर मानमर्दन गर्न मिल्छ ?’ उनले केसीलाई अनसन फिर्ता लिन समेत सुझाव दिएकी छिन् ।
अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष समेत रहेकी बरालले डा.केसीकै मागअनुरुप शिक्षा विधेयक आएको बताउँदै यसै विषयलाई लिएर पूर्वन्यायाधीशहरुले पनि राजनीति गरिरहेको दावी गरिन् । नयाँ दैनिकसँग कुरा गर्दै बरालले भनिन्, ‘डा.केसीले राजनीति गर्न थाले, उनी राज्यभन्दा माथि होइनन् । पूर्वन्यायाधीशहरुले समेत समर्थनको नाममा राजनीति गरिरहेका छन्, यो ठीक हुँदै होइन ।’
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की लगायतप्रति इंकित गर्दै नेतृ बरालले अहिलेको व्यवहारले उनीहरुको न्याय सम्पादनमै प्रश्न चिन्ह खडा भएको पनि बताइन् । ‘अवकाश पाएपछि धरी यस्तो राजनीति गर्ने न्यायाधीशले पदमा हुँदा झन् कति राजनीति गरे होलान् ? भन्ने प्रश्नचिन्ह खडा भएको छ । उहाँहरुको गतिविधिले न्यायालयमाथि नै अविश्वास बढाएको छ’ उनले भनिन् ।
शिक्षा विधेयक बहुमतले पारित गरेपछि कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै बरालले डा.केसीका समर्थकलाई शिक्षा विधेयक राम्ररी पढ्न समेत आग्रह गरेकी छिन् । उनले भनिन्, ‘विधेयक नराम्रो छँदै छैन । विरोध गर्नेले कि विधेयक नपढेको हुनुपर्छ, कि त सरकारविरोधी सोच हुनुपर्छ ।’ नयाँ विधेयकको धेरै जस डा.केसीलाई नै जानेसमेत उनको भनाई छ ।
हस्पिटल बन्द गरेर आन्दोलन नगर्न समेत चिकित्सकहरुलाई अनुरोध गर्दै बरालले चेतावनी दिइन्, ‘डा.केसी आफैँ सकिने बाटोमा जाँदै हुनुहुन्छ, बेलैमा अनसन तोड्दा राम्रो हुन्छ । अरु डाक्टरले पनि बिरामीको बेहाल बनाएर आन्दोलन गर्न मिल्दैन ।’
शिक्षा विधेयक पनि समय सापेक्ष परिवर्तन हुने भन्दै उनले तर्क गरिन्, ‘संविधान त सबैले मानेका छैनन्, परिमार्जन गर्दै जाने भनिएको छ भने विधेयक पनि त परिमार्जन गर्दै जान सकिन्छ नि !’
Well said didi😍
आंशिक समर्थन मेरो
तर संसद यस्तो संस्था पनि त होइन स्वेच्छाचारी प्रवृत्ति बढाउने र संसदको नाममा व्यक्तिगत हित हुने गरी कानुन बनाउन मिल्छ त?
जनउत्तरदायी हुनु पर्दैन। जननिर्वाचित भएका व्यक्तिले जनताको हितमा काम गर्ने होइन र पंक्तिकार ज्यू