ढुक्क भएर लगानी गर्न विदेशीसँग प्रधानमन्त्रीको आग्रह

   नयाँ दैनिक comment 0

चैत १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तासँग आग्रह गरेका छन् । लगानी सम्मलनको आज काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा संविधान बनेर राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि निकै राम्रो वातावरण बनेको दावी गरे । नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको दावी गर्दै ओलीले कुनै पनि द्विविधा नपर्न समेत विदेशीसँग आग्रह गरे ।

सरकारले अब दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य राखेर काम गरिरहेको दावी गर्दै ओलीले सोका लागि स्वदेशी पुँजी पर्याप्त नभएको बताए । उनले भने, ‘हामीले विदेशी लगानीलाई सहज रुपमा भित्र्याउन कानूनहरु संशोधन गरेका छौं, नयाँ कानून ल्याएका छौं । हामी नाफाको सम्मान गर्छौं, लगानीबाट प्राप्त लाभांश फिर्ता लैजान पनि रोक्दैनौं ।’

नेपाल भूराजनीतिक हिसाबले निकै महत्वपूर्ण ठाउँमा रहेको भन्दै यहाँ गरिने उत्पादन भारत र चीनजस्ता ठूला बजारमा सजिलै लैजान सकिने प्रधानमन्त्रीको भनाई छ । उनले सरकारले पारदर्शी भएर काम गर्ने भन्दै कुनै पनि सिन्डिकेटलाई संरक्षण पनि नगरिने लगानीकर्तालाई आश्वास्त पनि पारेका छन् ।

करलाई अनुमान योग्य बनाउने, लाभांश सजिलै फिर्ता लैजान दिने, लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाउने, बिजुलीको आपूर्तिलाई प्रत्याभूत गर्ने, औद्योगिक पूर्वाधार उपलब्ध गराउने, सूचना प्रविधिमा आधारित भएर काम गर्ने लगायतका विषयमा सरकारको तर्फबाट उनले प्रतिवद्धता समेत जनाएका छन् ।

उनले विदेशी लगानीकर्तालाई दोहोरो करको मार पर्न नदिन विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौता भइरहेको भन्दै बौद्धिक सम्पत्तिको संरक्षणलाई पनि ध्यान राखेर ऐन ल्याउन लागिएको बताए ।

नेपालमा सस्तो जनशक्ति उपलब्ध रहेको भन्दै ओलीले दक्ष र सिपयुक्त जनशक्तिको पनि समस्या नरेको लगानीकर्तामाझ दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *