तनहुँको नेतृत्व नपाएपछि मदन आलेको प्रतिक्रिया : ‘हजारौँ ठक्कर खाएँ र अझै ठक्कर खान तयार छु’

   नयाँ दैनिक comment 0

बैशाख १३, दमौली । सत्तारुढ नेकपाका युवा नेता मदन आलेले तनहुँको नेतृत्व नपाएपछि चुनौतिसँग खेल्ने आफ्नो आदत बनिसकेको प्रतिक्रिया दिएका छन् । नेकपा तनहुँको नेतृत्वको आकांक्षी आलेले केन्द्रको प्रतिकुल निर्णय आएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आलेले लेखेका छन्, ‘हजारौँ ठक्कर खाएँ र अझै हजारौँ ठक्कर खान मानसिक रुपमा तयार नै छु किनकि चुनौतिसँग खेल्ने मेरो आदत बनिसकेको छ ।’

संविधान सभाको दोस्रो चुनावमा तनहुँको क्षेत्र नं २ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र तत्कालिन एमालेका नेता किसान श्रेष्ठसँग प्रतिष्पर्धा गरेका आले अहिले नेकपाको गण्डकी प्रदेश सदस्य हुन् । तत्कालिन एमाओवादी पार्टी विभाजन भएपछि तनहुँको जिल्ला पार्टी सम्हालेका नेता आले गत चुनावमा पनि प्रदेश सदस्यको उम्मेदवार हुनेमा ढुक्क थिए तर पाएनन् ।

जनयुद्धको समयमा अखिल (क्रान्तिकारी) कास्कीको अध्यक्ष तथा केन्द्रीय सदस्य समेत रहिसकेका आले तनहुँमा पनि उत्तिकै स्थापित छन् । स्रोतका अनुसार पार्टी एकतापछिको भागवण्डामा माओवादी केन्द्रले पाउने जिल्लाको प्रमुख पद आफूले पाउनेमा आले विश्वस्त थिए । तर दुई पार्टीका जिल्लाका अध्यक्ष वा संयोजक नै अध्यक्ष वा सचिव बन्ने पार्टीको नीति बनेपछि उनको अपेक्षा पूरा हुन सकेन ।

तनहुँमा तत्कालिन एमालेका अध्यक्ष केदार सिग्देल अध्यक्ष भए भने माओवादी केन्द्रका संयोजक राजेन्द्रकेशरी न्यौपाने सचिव बन्न पुगे । करिब दुई वर्ष कठोर जेलजीवन समेत बिताएका आलेले तनहुँको नेतृत्व नपाएपछि फेसबुकमा लेखेका छन्, ‘पार्टी, नेतृत्व र समाजवादप्रतिको मेरो निष्ठा र समर्पण अझ तिव्र गतिमा अगाडि बढ्नेछ ।’

नेता आलेले परिस्थितिबस नेतृत्व छनौट भएको विषयलाई तनहुँ जिल्लामा कसै कसैले आफ्नो ठूलो विजय र अरुको हारको रुपमा व्याख्या गरेको भन्दै यस्तो नसोच्न समेत घुमाउरो तरिकाले चेतावनी दिएका छन् । आलेले लेखेका छन्, ‘यसमा प्रतिक्रिया दिने मसँग समय र सोच छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *