तनहुँ कांग्रेसमा ‘साँढे जुध्ने, बाच्छा मिच्चिने’

   नयाँ दैनिक comment 0

माघ ८, दमौली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तनहुँ जिल्लामा ‘साँढे जुध्ने, बाच्छा मिच्चिने’ भएको छ । रामचन्द्र पौडेल र गोविन्दराज जोशीको जुधाईले कार्यकर्ता मिचाईमा परेका हुन् । कार्यकर्ता यता न उता जस्ता भएका छन् । जताको पक्षमा लागे पनि उनीहरुले राजनीतिक रुपमा नेताको जुधाईमा मिच्चिएको अनुभूति गरेको बताइएको छ । कोही कार्यकर्ता पौडेलको पक्षमा छन्, भने कोही जोशीको पक्षमा लागेका छन् । बलियो जिल्ला मानिएको तनहुँमा गत चुनावमा प्रतिनिधिसभा र प्रदेशमा समेत कांग्रेसले एक सिट पनि जित्न सकेन ।

आफूले टिकट नपाएपछि जीवन–मरणको लडाईं थालेका नेता जोशीले आज पनि विशेष जिल्ला अधिवेशन भन्दै कार्यकर्ता लगेर पार्टी कार्यालय कब्जा गर्न लागेका थिए । केही दिनदेखि अधिवेशनको व्यापक प्रचार–प्रसार गर्दै दमौली बजारका रुख–रुखमा समेत जोशीका तस्विर अंकित तुल र व्यानर टाँगिएका थिए ।

जोशीले अघिल्लो दिन सार्वजनिक रुपमै आफूसहित ५ सिट गुमाउनेको नेतृत्वले कांग्रेसको भविष्य सुन्दर बनाउँदैन भन्दै रामचन्द्रको कडा आलोचना गरेका थिए । उनले सोमबार आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेपाली काँग्रेस सबैको साझा पार्टी हो । तनहुँमा यो पार्टी बनाउन सबैको योगदान छ । विनाकारण दम्भ देखाएर पार्टी लाई सकाउने अधिकार कसैलाई छैन ।’

यस्तै रह्यो भने अर्को स्थानीय चुनावमा काँग्रेसले वडा सदस्य पनि नजित्ने उनले ठोकुवा गरेका छन् । विपी कोइरालाको विचार आत्मसाथ गर्दै कांग्रेसलाई बचाउन माघ ८ गते हुने जिल्ला सम्मेलनमा दमौलीको खुला मैदानमा उपस्थित हुन समेत उनले ७ गते सबैलाई अनुरोध समेत गरेका थिए ।

जिल्ला सम्मेलन भन्दै पार्टी कार्यालय कब्जा गर्ने उद्देश्यले आज दिउँसो गएको टोलीलाई नेपाल प्रहरीले रोकेको छ । रामचन्द्र पौडेलकै आदेशमा ३०० पुलिस खटाएर आफूहरुलाई रोकिएको जोशीले आरोप लगाएका छन् । गत बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी नेतृत्वको व्यवहारबाट विक्षिप्त नेता कार्यकर्ताको आवाजलाई आफूले मुखरित गरेको दावी गरेका थिए । उनले प्रश्न गरेका थिए, ‘यति धेरै नेता कार्यकर्ता नेतृत्वबाट असन्तुष्ट भएपछि नेतृत्वले सम्बोधन गर्नुपर्दैन ?’ कार्यकर्ताको अपमान हुन नदिन आफू संघर्षमा उत्रिएको उनको दावी छ ।

यता पौडेलले भने जोशीकै कारण आफूले चुनावमा पराजय खेपेको बताउँदै आएका छन् । गत चुनावमा आफूविरुद्ध जोशीले वागी उम्मेदवारी दिएपछि पौडेलले जोशीको अदालतमा विचारधीन भ्रष्टाचारबारेको मुद्दाका आधारमा जोशीको मुद्दा निर्वाचन कार्यालयबाट रद्द गराएका थिए ।
गत पुस २४ गते एक विज्ञप्ति जारी गर्दै जोशीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उठेर पार्टीका आधिकारीक उम्मेदवारलाई हराएको हुनाले विद्रोही उम्मेदवारलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख थियो । पार्टीले कारबाही गरेलगत्तै उनले तनहुँको जिल्ला अधिवेशन बोलाएका हुन् । जोशी कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वमन्त्री हुन् । जोशीको भ्रष्टाचारबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । विशेष अदालतले एक वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ ४१ पैसा जरिवानाको फैसला गरेपछि उनी सर्वोच्च गएका हुन् ।

जोशीको भ्रष्टाचार मुद्दाको पेसी सर्वोच्च अदालतमा ४४ पटक तोकेर पनि स्थगित भएको छ । १० पटक हेर्न नभ्याउने र १८ पटक हेर्न नमिल्ने सूचीमा राखियो । यस्तै, ७ पटक स्थगित, एकपटक प्रमाण झिकाउने र एकपटक हेर्दाहेर्दैमा राखियो । ७ पटक पेसीबाटै हटाइयो । पूर्वप्रधानन्यायाधीशको दामोदरप्रसाद शर्माको पालादेखि हालसम्म यही क्रम चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *