आहा पोखरा ! तपाईं पुग्नुभयो ?

   नयाँ दैनिक comment 0

मंसिर–पुषको रमाइलो र घमाइलो बेला । उस्तै खुलेको पोखेरेली आकाश । विवाह मन्डपमा सजिएकी दुलहीजस्तै देखिन्थ्यो–पोखरा । त्यसो त एउटा मुर्तिकारले परिकल्पना गरेर कोरेको सुन्दर मुर्तिजस्तै छ पोखरा । अझै भनौँ, सानैछँदा हजुरआमाले सुनाउने कथाकी परिजस्तै । नेपालको दोश्रो ठूलो शहर पोखराको केही दिन अघि मात्रै थप चर्चा परिचर्चा सुनियो मज्जैसँग । एक साता व्यतित गरियो त्यही रमणीय पोखरामा । ‘पोखरा त पोखरा नै रहेछ’ भन्ने राम्रैसँग भयो अनुभूति ।
गत डिसेम्बर महिनामा मात्रै दुई ठुला महत्वपूर्ण कार्यक्रमहरु अर्थात जमघटहरु भव्यता पुर्वक सम्पन्न भए । पहिलो, युथ कृयसन थियटरको आयोजनमा करिव दुई हप्तासम्म नाटक ‘घेरो’ चल्यो । जहाँ हजारौं दर्शक, सयौँ स्रष्टा–सर्जक नाट्य कलाकारहरुको जमघट थियो । धेरै मानिसले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आफूलाई उपस्थित गराएर रमाए, आनन्दित भए । समाजमा व्याप्त तमाम प्रकारका विसङ्गति र विकृतिका विरुद्द आवाज बुलन्ध बनाउन अपिल गरे । कैयन ऐतिहासिक र परम्परागत सास्कृतिक पक्षका सवालमा जानाकारी र पुनर्ताजगी गराए ।
दोश्रो, फेवातालको किनारमा करिव एक हप्तासम्म साहित्यक सम्मेलन चल्यो । नेपालका मुर्धन्य स्रष्टाहरु, लेखक, विश्लेषक, साहित्यकार, कलाकार, नेता र अभिनेताको भव्य उपस्थिति रह्यो । साहित्यिक जमघटमा के स्वदेशी, के विदेशी उत्तिकै र उसैगरी आनन्दित भए । अनुभव साटासाट गरे । एक अर्काका सृजनाहरुका गहन चर्चा गरे । जिउँदा इतिहासहरुका चर्चा परिचर्चा भए । यस्तो लाग्थ्यो–उसबेला संसारको साहित्य पोखराकै वरिपरि थियो र अब पनि रहिरहनेछ । त्यसैले होला हरेक व्यक्ति पोखराको सुन्दरताका सामु नतमस्तक छ । हरेक सर्जक पोखरा आइपुगेपछि प्रफुल्लित हुन्छ र उसको मनमा धेरै कुरा फुर्छ । उसका हातका औँलाहरु सृजनाका निम्ति फेरि तम्तयार हुन्छन्, अनि कम्प्युटरका किबोर्डमा दौडिन्छन् उसैगरी ।


तेस्रो, गत डिसेम्बर २८ देखि जनवरी १ सम्म गत वर्षझैँ यस वर्ष पनि २० औं सडक महोत्सव भव्यतापूर्वक सम्पन्न गर्न आयोजक सँस्था रेवानको तम्तयारी उस्तै । आहा ! कति सुन्दर पोखरा । उस्तै गौरवशाली पोखेरेलीहरु पनि । लाखौँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्षसहित अङ्ग्रेजी नयाँ वर्षमा हरेक वर्ष सुरु गरिने यस प्रकारको सडक महोत्सव । शव्दमा बर्णन गर्न सायदै गार्हो पर्छ जो कोहीलाई । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको महोत्सव निकै भव्य र रोचक देखिन्थ्यो ।
पोखरा यसैपनि बेग्लै अलौकिक प्राकृतिक सुन्दरताले भरिएको । बेग्लै भरिभराउ विविध जातजाति, भाषा, धर्म, सँस्कृति र समुदायका नागरिकहरु । अत्याधिक गोर्खा सैनिकहरुको बसोबास भएको नगरी । अनि ती प्रत्येक समुदायका आ–आफ्ना मौलिक परम्परागत रहनसहन, भेषभूषा र रितिस्थिती बाहेक हङकङ, मलाय, ब्रिटेनसहित अन्य धेरै देशका रहनसहन र लवजले त झनै यस्ता बेला पोखरालाई धपक्कै सजाएको भान हुने ।

सयौँ देशका नागरिकहरुको जमघट हुने पोखरा । कस्तो मनमोहक ! त्यसमाथि हरेक रेस्टुरेन्ट र होटलहरुका आ–आफ्ना स्टल । बेग्लै ब्रान्ड र बेच्न राखिएका अनेकन सामग्री । आ–आफ्ना पहिचान झल्किने हस्त निर्मित सामग्रीहरु, अनि देश विदेशका बजार सामग्रीले त झन संसारै मोहित बन्छ हरेक वर्ष र चकितै पर्छन् आगन्तुक पाहुनाहरु पनि ।

त्यसो त पोखरा पर्यटनको राजधानी शहर मानिन्छ । हरेक देशका मानिसहरुको एउटा यस्तो गन्तव्य हो, जहाँ नपुगी स्वदेशी बिदेशी कोहि पर्यटकको पनि मन मान्दैन । यो सुन्दर नगरी जहाँ हामी हरेकलाई माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, मनास्लुलगायत दर्जनौँ हिमशृङ्खलाको काखैमा बसेर लुटुपुटु गरेको अनुभुति हुन्छ । त्यसैमाथि झन् फेवाताल र वेगनास तालको छेवैमा बसेर हिमशृङ्खलाको छायामा आफूलाई हराउँदा प्राप्त हुने खुसी त झन् मानव जीवनको कुनै प्रकारका खुसीसँग तुलना हुनै सक्दैन ।
यस्तो रौनकपुर्ण महोत्सवमा निकै महत्वका साथ आयोजकले यस पटक करिव ३ किलोमिटरको दुरी लेकसाइडको सहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म निर्धारण गरि झकिझकाउ र सजिसजाउ बनाएर रंगाएका स्टलहरु निर्माण गरिएको थियो । सडकका दायाँ र बायाँ खानाका बास्नादार चुल्होहरु सजाइएका देखिन्थे । बसाइको रहर लाग्दो व्यवस्थापन थियो । पुतलीझैँ उडौँउडौँ बनायो पोखराले ।
पर्यटकहरुको चाप हुन सक्ने कुरालाइ मध्यनजर गर्दै महोत्सव स्थलमा सवारी प्रवेशलाई पनि रोक लगाइएको थियो । ताकि अनावश्यक भिडभाड नहोस्, जाम नहोस्, पैदल यात्रा गर्दै अवलोकन गर्दै रमाउने र अझै सुन्दरताको अनुभूति गर्न सकियोस् भनेर । आयोजकले महोत्सव अति व्यवस्थित बनाउने प्रयास गरेको सजिलै देखिन्थ्यो ।
हरेक जातजातिका बेग्लै प्रकारका खानाका भान्छाहरु । हरेक होटेल व्यवसायीका आफ्ना–आफ्ना स्टलहरु । लेकसाइडको यसै पनि फस्टाउँदो व्यापार । झन् ‘सडकमै खाउँ, सडकमै रमाउँ ! नाचौँगाउँ, केही पल सडकमै होऔँ !’ भन्ने सन्देशसहित सुरु गरिएको सडक महोत्सव अति नै भव्य र सुन्दर देखिन्थ्यो । नाचगान र रमाइलो गर्न बेग्लै झकिझकाउ स्टेजहरु थिए । विभिन्न संघसँस्थाका रङ्गिचङ्गी तुल–व्यानर उस्तै फेरि । महोत्सवमा स्थलमा सजाइएको गौतम बुद्धको ठूलो प्रतिमुर्ति र रंगिन अक्षरमा लेखिएको ‘बुद्ध वाज वोर्न इन नेपाल’ ठूलो अक्षरधारी व्यानरले त साच्चिकै महोत्सव स्थललाइ निकै सजिवता प्रदान गरेको थियो । बेग्लै उत्सुकता पनि सिर्जना गरेको थियो ।
महोत्सवमा चितवनको थारु स्टिक नाच, भक्तपुरको धिमेनाच, कौरा तामाङ सेलो लगायत देशैभरिका नमुना नाच छनौट गरि प्रदर्शन गरिएको रहेछ । हरेहरे रामराम ! हरेहरे कृष्णकृष्ण ! देखि हिन्दी, मैथिली, भोजपुरी भाषाका स्वतस्फूर्त रुपमा घन्किएका वाजागाजा, नाचगान अनि हाम्रै पहाडी गुरुङ, मगर, नेवारी नृत्य मात्रै होइन, बालनृत्य युवाहरुलाई मोहित पार्ने ब्यान्ड वाजा सहितको प्रदर्शनीस्थल ।
ओहो ! तपाईंले हेर्नु भयो नि हगि ? साँच्चिकै मनमोहक थियो नि सडक महोत्सव । विविध समूहका भेषभुषा, झाँकी, र्यालीहरुले त झन् प्राचीन नेपालको झझल्को दिलाउथ्यो पोखरामा पर्यटकहरुलाई । कास्कीका कैयन ऐतिहासिक ठाउँ मात्रै होइनन्, आसपासका जिल्लाका मौलिक र ऐतिहासिक ठाउँमा घुमेर लोकल र अर्गानिक खानाका स्वाद लिँदै प्राकृतिक सुन्दरतामा पर्यटकलाई मग्न बनाउने उद्देश्यले हरेक स्टलहरुमा फरक–फरक परिकारसँगै सोही अनुसारको रुट गाइड र सबै चाजोपाजो मिलाउने आयोजकलाई त मान्नैपर्छ ।
फेवातालको छेउमा बसेर माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, धौलागिरी हिमालको छायामा रमाउनु, अन्नपूर्ण सर्किट र अन्नपूर्ण संरक्षित एरिया घुमफिर गर्नु, कैयन ट्रेकिङ रुटमा हिँडेर मज्जा लिनु मात्रै होइन, तातो चिया र कफिको चुस्कीसँगै युवायुवतीहरु रमेको दृश्य झनै मनमोहक थियो । कता–कता अघिल्लो हप्ताको साहित्यिक महोत्सवको झझल्को सडक महोत्सवमै मेटिन्थ्यो पनि । कोहि खाँदै पिउँदै, कोहि गाउँदै रमाउँदै, कोहि तालको दृश्य क्यामेरामा कैद गर्दै, कोहि सडकमा पोलेका मकै, नेपाली टिमुरको चट्निसँगै खाँदै थिए । कोहि सिन्कामा उनेर सेकाइएका सुकुटी, पानीपुरी, चटपटे खाँदै रमाउँदै ।
अर्काेतिर फेरि राधेराधे ! हरेहरे ! भाकामा हिमाल, पहाड र तराईका मानिसहरुको नाच र वाजागाजा । साँच्चिकै हेर्न लायक थियो पोखरा । सडक छेउमा पोलेका तात्ताता तरुल, पिँडालु, शखरखण्ड र अन्य कन्दमुल हातमा लिएर खाँदै हिँड्नुको मज्जा खानेलाई मात्रै थाहा हुन्छ । यो दृश्यले हरेकको ध्यान आकर्षित गथ्र्यो । त्यति मात्रै हो र ! बिदेशी नागरिकहरुको नेपाली लोकभाकामा नाचेको दृश्य आज पनि मनस्पटलमा घुमिरहेको छ । भँैसी, राँगा र विभिन्न पशुपंक्षीका सुकुटी सिन्कामा उनेर आगोका कोइलामा सेकाइएका देखि अस्ट्रिज र बट्टाइ चराका मासुका सेकुवा पर्यटकका रोजाइ मात्रै बनेनन्, क्यामेरामा पनि कैद भए । तालको छेउका माछाका परिकार सहितको लोकल ढिडोको स्वाद, मासु सेकाइएको पोलेको घरेलु चुल्होको दृश्य । अहो ! कस्तो जीवन्त लाग्थ्यो लेकसाइडको तस्विर । युवायुवतिका ‘डेटिङ स्पोर्ट’देखि बुढापाकाको दुःख–सुखको चौतारी बनेको सडक महोत्सव संसारकै अनुपम नमुना हो जस्तो अनुभुती हुन्छ अहिले पनि । त्यसैले त हरेक वर्ष यसरी नै प्रफुल्लित छ पोखरा । अनि मख्ख छ लेकसाइड ।

यस वर्षको पुष १५ पोखरामै मनाउने विचार गरि लम्केको थिएँ म । सडक महोत्सवलाई नजिकबाट नियाल्ने अवसर मिल्यो । पुस महिनाको चिसो मौसम र ताल किनाराको सिरेठो युवायुवतीलाई वास्तै थिएन । बाक्ला कपडा लगाएरै भए पनि बुढापाकाहरु लम्किँदै लम्किँदै लेकसाइड झरेको कम्ति त आकर्षक देखिँदैनथ्यो । पातला–पातला र सेता–सेता विदेशी अनुहारहरु उत्सुकताले भरिएका उस्तै । हामीलाई केही सोध्न खोजेजस्तो, हामीसँगै नाच्न खोजेजस्तो, हाम्रै नेपाली लोकभाकाका गीतहरु गुन्गुनाए जस्तो भान हुन्थ्यो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरु आफ्नो प्रस्तुतिको पालो कुरेर कफिको चुस्की लिएको दृश्य साच्चिकै मनमोहक थियो । स्याङ्जाको पन्चासे, कास्कीको घान्द्रुक र तनहुँको फिरफिरे तीन पट्टिका चुचुराहरु साक्षी बसेर सुरु गरिए जस्तो लाग्ने सडक महोत्सव नहेर्ने र आनन्दित नहुने सायदै कोहि थिएनन् ।
खासगरी कार्तिक, मंसिरदेखि बैशाख जेठसम्मको समय पोखरा हेर्न, घुम्न र प्रकृतिसँग रमाउन अत्यधिक आनन्दित समय मानिन्छ । त्यसैमाथि यो बेला आकाश पूरै खुल्ने र हिमाल, पहाड, लेक, भञ्ज्याङको दृश्य राम्रोसँग देखिने हुँदा पर्यटकहरुको संख्या यहिबेलामा अत्याधिक हुन्छ । यो समय यस्ता मेलापर्व र जात्राहरु आयोजना गर्ने गरिन्छ ।
हाल अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति हेर्दा पनि मेलाजात्रा र केन्द्रीकृत प्रकारका व्यापारीक शैलीको अधिक प्रयोग हुने गरेको र यस्ता प्रकारका जमघटमा बजार पनि प्रतिस्पर्धात्मक हुने गर्छ । थोरबहुत सहुलियतमा कारोबार हुने सम्भावना पनि भएका कारण आजकल महोत्सवले महत्त्वपूर्ण स्थान लिन सफल भएका छन् । अन्तर्राष्ट्रिय बजार र उपभोक्ताको प्रवृत्ति अनुरुप पोखरामा पनि हालसम्ममा यस्ता महोत्सव चल्दै आएका छन् र यो २० औँ सडक महोत्सव हो ।
करोडौंको आर्थिक कारोवार हुने यस्ता जमघटहरु व्यवसायीहरुका अधिक रोजाइका व्यापारीक स्टाइल हुने गरेका छन् । हरेक वर्ष कोहि न कोहिले आयोजना गर्ने गरेका छन् तथापि लेकसाइडका यस्ता मेला चाहिँ अक्सर रेस्टुरेन्ट तथा होटेल व्यवसायीहरुले नै गर्ने गरेका छन् । रेवान तिनै व्यवसायिहरुको छाता सँस्था हो ।
नेपाल सरकार पर्यटन मन्त्रालयले यस वर्ष ५० लाख भन्दा बढि पर्यटक भित्र्याउने लक्ष लिएको छ । पोखरा एउटा यस्तो स्थान हो, जहाँ आधाभन्दा बढि पर्यटक ओइरिन्छन् । त्यसैले त पर्यटनको राजधानी शहर भनिन्छ पोखरालाई । त्यसैले रेवान कास्की भन्छ, ‘ तपाईं हाम्रो हरेक यस्तै प्रयत्नले मात्रै देशको पर्यटन प्रवर्धनमा टेवा पुग्ने हो, मानिसहरुको आम्दानी गर्ने क्षमता बढ्ने हो र देशका कुनाकन्दराको प्रचारप्रसार हुने हो । लेकसाइड मात्रै होइन, कास्कीका अरु कैयन ठाउँ परम्रागत र मौलिक होमस्टेहरु, अरु सयौँथरी जातजाती र समुदायका समाज घर, अनि उनीहरुका जीवनशैलिहरु संसारका सामु पुर्याउन, चिनाउन र त्यहाँ पर्यटकहरुलाई ल्याउन सक्दा मात्रै पनि देशको पर्यटन प्रवद्र्धन हुन्छ ।
खासगरी कास्की र यसको सुन्दर नगरीको गरिमा बेग्लै छ । त्यसो त पर्यटकहरुलाई पोखेरेली वातावरण सधैँ महोत्सवमय लाग्छ । सधैँ पर्यटकले खचाखच भरिएको देखिन्छ पोखरा । कास्कीका हिमालहरु सेता दन्त्य लहर देखाउँदै हाँसिरहेको भान हुन्छ सधैँ । फेवाताल र वेगनासतालले दिनहुँ हिमालको छायाँ काखमा खेलाइरहेकै देखिन्छन् । हरेक पर्यटकले बिहानको सूर्योदय आरामदायी तबरले आफ्नै बिस्ताराबाट नियालीरहेकै हुन्छन् । त्यसैले त हरेक पर्यटक भन्छन्–आउनुस् एक पटक पोखरामा । तपाईं रमाउनुस् र सँगसँगै अरुलाइ पनि पुग्ने र आनन्दमा रमाउने अवसर र सल्लाह दिनुस् !

लेखक पौडेल नेकपाको गण्डकी प्रदेश सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *