तिक्लाङ्ग गुफा संरक्षणको सार्थक अभियान

   गोपीचन्द्र लामिछाने comment 0

साउन ११, काठमाडौँ । कास्की दर्जनौं गुफाहरु भएको जिल्ला हो। पोखरा र यसको आसपासका क्षेत्रहरुमा थुप्रै गुफाहरु अस्तित्वमा छन्। तर संरक्षण र प्रचार प्रसारको अभावमा ती गुफाहरु ओझेलमा परेका छन् ।जसको प्रचार भएको छ, ती पर्यटकीय केन्द्र हुनुका  साथै राम्रै आर्थिक गतिविधि हुने स्थलको रुपमा विकसित भएका छन्। खासगरी महेन्द्र गुफा यसको राम्रो उदाहरण हो । हुनत साठीको दशकपछि पोखराको छोरेपाटनमा रहेको गुप्तेस्वर गुफा अर्को आकर्षणको केन्द्रको रुपमा अगाडि आएको छ। पोखरा घुम्न आउने पर्यटकहरुले यस्ता गुफाहरुलाई  मनोरम स्थलको रुपमा लिने गरेको पाइन्छ। साथै उनीहरुले यस्ता गुफाहरुलाई घुम्नै पर्ने स्थलको सूचीमा पार्ने गरेका छन्। हुनपनि जमीनमुनि अनेकौं प्राकृतिक कलाकृति सहित झकिझकाउ हुने यस्ता ठाउँहरुलाई मानिसले मनोरम स्थलको रुपमा लिनु स्वाभाविक हो। यस्ता ठाउँहरुलाई केही मानिसले धार्मिक आस्थाको रुपमा समेत लिने गर्दछन् भने केही मानिसले प्रकृतिको अनुपम छटाको रुपमा लिने गर्दछन् । खासगरी पुरानो भरतपोखरी र अहिले पोखरा महानगरको ३३ नं वडा  स्थित तिक्लाङ्गमा परापुर्व कालदेखि  एउटा गुफा  अस्तित्वमा रहेको छ।संरक्षण र प्रचारप्रसारको अभावमा यो गुफा वर्षौंदेखि गुमनाम छ । सेती नदीको  किनार तल्लो खैरेनीदेखि तिक्लाङ्गसम्म फैलिएको यो गुफाको लम्बाई करिब ३०० मिटर रहेको छ। पोखराको पृथ्वीचोकदेखि  १५ किलोमिटर पूर्वतर्फ अवस्थित यो गुफा पृथ्वी राजमार्ग  पावरहाउसदेखि करिब १ किलोमिटर पश्चिमतर्फ पर्दछ। पोखराका दोबिल्ला, लामगादी तथा पावरहाउसको बाटो प्रयोग गरी सजिलैसंग पुग्न सकिने यो गुफा निकट भविष्यमा एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने कुरामा कुनै शंका छैन।  त्यसैले स्थानीय स्रोतहरुको परिचालन गरी समग्र समाज विकासको बाटोमा अघि बढ्न यस्ता कार्यहरु अनुकरणीय हुनसक्छन। त्यसकारण वर्षौंदेखि संरक्षण र सम्बर्धन अभावमा ओझेलमा परेको तिक्लाङ्ग गुफा संरक्षण अभियानले स्थानीय विकासमा  एउटा महत्वपुर्ण सन्देश दिन सक्छ। खासगरी अहिलेसम्म गुफाको वरीपरि बस्तुभाउ चराउन आउने गोठालाले ओत बस्ने र लुकामारी खेल्ने बाहेक अरु उपयोगितामा यो गुफा आउन सकेको थिएन।अरु क्षेत्रमा थुप्रै विकास निर्माणले गति लिंदा पनि यो गुफा संरक्षण मा कसैले चासो देखाएको थिएन।

यद्दपि स्थानीय जनताको निरन्तर पहल र तत्कालिन यस निर्वाचन क्षेत्रका सांसद तथा पर्यटनमन्त्रि समेत रहेका रबिन्द्र अधिकारीको विशेष महत्वको स्थलको रुपमा परेको तिक्लाङ्ग गुफाको संरक्षणको अभियान सुरु भएको छ । गुफा संरक्षणमा निरन्तर चासो राखेका विकासप्रेमी युवा नेता अधिकारीको असामयिक निधन भएकाले  यो गुफाको प्रस्तावित नाम नै “रबिन्द्र स्मृति सुन गुफा” को रुपमा अगाडी सारिएको छ । स्थानीय समाजसेवी बलबहादुर बानियाको अध्यक्षतामा तिक्लाङ्ग गुफा संरक्षण समिति गठन गरी यसको संरक्षण , प्रचार प्रसार अभियानलाई अगाडि  बढाइएको समितिका सदस्य संगीत बानियाले जानकारी दिए । समितिका अनुसार ३३ नम्बर वडाका  अध्यक्ष शिबप्रसाद आचार्यसमेत यस गुफा संरक्षण अभियानमा प्रत्यक्षरुपमा जोडिएका छन्। साथै  यस गुफाको प्रवर्धनमा वडा कार्यालय, नगरपालिका, पर्यटन मन्त्रालय साथै प्रदेश सरकारले समेत भूमिका खेलेको अभियानका सदस्यहरुले बताए। यस गुफा र आसपासको क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने समितिका सदस्य बानियाले बताए । उनका अनुसार गुफा संरक्षणको पहिलो चरणको काम धमाधाम भैरहेको र दोस्रो चरणको काम आउँदो हिउँदमा तुरुन्त सुरु  गरिनेछ साथै  यस गुफाको अवलोकन गर्न आउने पर्यटकहरुलाई मध्ये नजर राख्दै निजि लगानीमा  पिकनिक स्पट तथा बृहत रिसोर्ट निर्माणको कार्य पनि संगसंगै अगाडि बढाइएको  संरक्षण समितिका सदस्य बानियाले जानकारी दिए। उनले भने, “यो गुफा पोखरा -३३ तथा यसको आसपासका क्षेत्रको विकासमा एक कोसेढुंगा साबित हुनेछ। आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै नया रोजगारीको समेत सिर्जना हुनेछ”।

वास्तबमा यो गुफा पोखरा घुम्न आउने आन्तरिक तथा बहिह्य पर्यटकका लागि एक पुग्नै पर्ने अर्को गन्तब्य हुनेमा दुईमत छैन। तसर्थ यो सार्थक प्रयासलाई सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक सोचका साथ सहयोग गरौँ। यो अभियानमा लाग्ने सबैलाई अग्रिम बधाई!

निर्माण अभियानका केही तस्बीरहरु (संगीत बानियाको सहयोगमा)

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *