त्रिविको विजोग : यस्तो छ नालीबेली

   नबराज बराल comment 0

चैत ८, काठमाडौँ । नेपालको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालय विजोग अवस्थामा पुगेको छ । राज्यले मासिक करोडौँ लगानी गरे पनि त्रिविले अपेक्षित परिणाम दिन सकेको छैन । त्रिवि यस्तो अस्तव्यस्त छ कि केन्द्रीय क्याम्पस कीर्तिपुरभित्र पुगेपछि लाग्छ– यो कुनै विकल्प नभएर वाध्यताले चलिरहेको हो ।

शिक्षक छन्, विद्यार्थी छैनन्

त्रिविको केन्द्रीय क्याम्पस, कीर्तिपुरमा मात्रै करिब ९०० प्राध्यापक कार्यरत छन् । तर पढाई हुने ४० विषयमा २७०० जति विद्यार्थी मात्रै भर्ना भएका छन् । यो हिसाबले एक शिक्षक बराबर जम्मा ३ जना विद्यार्थी पर्न आउँछन् ।

अन्तराष्ट्रिय मान्यता अनुसार एक प्राध्यापक बराबर ५० विद्यार्थी हुनुपर्छ । यो हिसाबले यत्तिको भौतिक सुविधामा त्रिविले ४५००० विद्यार्थी पढाउन सक्छ । पछिल्लो शैक्षिक सत्र २०७५/७६ को प्रथम सेमेस्टरको भर्नाको औषत हेर्ने हो भने करिब १०० शिक्षकले केन्द्रीय क्याम्पसमा काम चल्छ ।

विगत ८–१० वर्षदेखि विद्यार्थी बिहीन विभाग पनि छन् । १० भन्दा कम विद्यार्थी हुने विभाग पनि १० वटाभन्दा बढी छन् । शिक्षकको अनुपात हेर्ने हो भने अधिकांस विभागमा एक विद्यार्थी बराबर एक शिक्षक पुग्छन् ।

सिनियर प्राध्यापकले कक्षा लिँदैनन्

अधिकांस सिनियर प्राध्यापकले कक्षा लिँदैनन् । कतिपयले परियोजनामा काम गर्छन्, कतिपय राजनीतिक दलको प्रचारमा हिँड्न भ्याउँछन् । कतिपयले फेरि निजी कलेज मार्फत् व्यवसाय गर्छन् र विद्यार्थी तानेर त्रिविलाई नै सुकाउँछन् । सरकारी डाक्टरले क्लिनिक खोलेर हस्पिटल सुकाएझैँ ।

सिनियरले ‘क्लास’ लिएमा राजनीतिक दवाबमा भर्ति भएका आंशिक शिक्षकलाई घण्टी पुग्दैन । तिनै प्राध्यापकले खोलेका ‘शैक्षिक पसल’मा कक्षा लिन ‘पार्ट टाइमर’ शिक्षक पुग्छन् । तर यिनै प्राध्यापकलाई पाल्न राज्यको मासिक करोडौँ रकम खर्च हुन्छ ।

प्राध्यापकले मासिक रु. ६० हजार, सहप्राध्यापकले रु. ५० हजार र उपप्राध्यापकले रु. ३५ हजार न्युनतम तलब बुझ्दछन् । यो हिसाबले त्रिविका देशभरका प्राध्यापकको तलबमा मात्रै करिब ४० करोड खर्च हुन्छ ।

प्राध्यापकले क्लास नलिने मात्रै होइन, विदाको दुरुपयोग पनि गर्दै आएका छन् । पाँच वर्ष तलबसहित अध्ययन बिदा लिन्छन्, डलर कमाई हुने देशमा पढ्ने बहानामा जान्छन् । ढिलोमा ३ वर्षभित्र पढेर सकिन्छ तर समय चोरेर उतै बस्छन् ।

पाँच वर्षपछि २ वर्ष बेतलबी विदा लिन पाउँछन् । त्यसपछि पनि पहुँचका आधारमा हाजिर गरेर फेरि भाग्छन् । एक प्राध्यापकले नै खुलाए ‘नौ वर्षसम्म क्याम्पस नआइकन जागिर खाइरहेका पनि छन् ।’

‘सेमेस्टर सिस्टम’ विद्यार्थी घट्नुको कारण

सेमेस्टर सिस्टम लागु भएपछि विद्यार्थी संख्या ह्वात्तै घटेको छ । यो खर्चिलो र महंगो पनि पर्छ । सेमेस्टरपिच्छे भर्ना शुल्क तिर्नुपर्छ र किताब पनि किनिरहनुपर्छ ।

प्रवीणता प्रमाणपत्र र स्नातक तहमा सेमेस्टर नहुने र स्नाकोत्तरमा आएपछि हुने हुनाले विद्यार्थी यो सिस्टममा समायोजन हुन सकिँदैन ठानेर भर्ना हुँदैनन् । भर्ना भएका पनि ८० प्रतिशत हाजिरी अनिवार्य र गृहकार्य गर्नुपर्ने कारण बीचैमा छोड्छन् । कतिपयको जीवन धान्न जागिर गर्नैपर्ने वाध्यता छ, उनीहरुलाई सेमेस्टरमा पढ्ने समय चाहेर पनि मिल्दैन । सेमेस्टर अनुसार विभागीय पुस्तकालय छैनन् । प्राक्टिकल हुँदैन । पुरानै जमानाको पुस्तकालय र पुस्तक छन् ।

पढेर रोजगारी नपाउने कारण पनि कतिपय विद्यार्थी पढ्न आउँदैनन् । पाठ्यक्रम पुरानै छ, अध्यावधिक छैन । वर्षौँ अगाडिकै कोर्ष पढाइ हुने भएकाले पनि विद्यार्थीमा पढाइप्रतिको रुचि देखिँदैन । ‘प्लस टु’ वा स्नातक गरे पछि विदेश जाने ‘फेसन’ नै चलेकाले पनि स्नाकोत्तर तहमा विद्यार्थी घटेका हुन् ।

न समयमा परीक्षा, न त रिजल्ट

त्रिविको परीक्षा प्रणाली अवैज्ञानिक छ । न समयमा परीक्षा हुन्छ, न त रिजल्ट । स्नाकोत्तर दुई वर्षे भने पनि ‘थेसिस’ समेत सकाउँदा कम्तिमा ३ वर्ष लाग्छ । परीक्षा र रिजल्टको ढिलाईका कारण दिग्दार भएका सिनियरले जुनियरलाई त्रिविमा पढ्न सुझाव नै दिँदैनन्, उल्टो नपढ्न दवाब दिन्छन् ।

बल्लबल्ल पास गरे पनि योग्यताको प्रमाणपत्र लिन युद्ध जितेजस्तै हुन्छ । लाइनमा बसेर त्रिविका कर्मचारीबाट काम लिन पनि त्यति सजिलो छैन । सर्टिफिकेट लिन आधा महिना कुर्नुपर्छ । नाम बिग्रिएर सच्याउन हप्तौँ लाग्छ ।

त्रिविमा थोरै विद्यार्थी मात्रै उत्तीर्ण हुन्छन् भन्ने सबैमा परिसकेको छ । अनुत्तीर्ण हुने डरले पनि विद्यार्थी भर्ना हुँदैनन् । गुणस्तरीय शिक्षा दिने र विद्यार्थीलाई पास गराएर भविष्य उज्ज्वल बनाउनेतर्फ सरोकारवालाको ध्यान छैन ।

नाम मात्रैका आवास

त्रिविभित्र होस्टेल छ, छैन भन्न मिल्दैन । छ, तर नाम मात्रैको । भुकम्पले भत्केका भवन बनेका छैनन् । दोस्रो तलामाथिका थोत्रा टिनले पानी ओत्दैननन् । होस्टेलमा बस्ने विद्यार्थी दुखेसो पोख्छन्, ‘मुसा ‘अलाराम’ लगाएझैँ टिनमाथि कुदिरहन्छन् ।’

धारामा पानी आउँदैन । आएको बेला पालो पाउनै मुस्किल हुन्छ । पानी भर्ने पालो कुर्दैमा विद्यार्थीको बिहान बित्छ । त्यसैमा बस्न पनि अति थोरै सिट छन्, विद्यार्थी संगठनको पावर नहुनेलाई त्यही सुविधा पनि मिल्दैन ।

प्राध्यापकका लागि पनि आवासहरू छन् तर सिमित । त्यसैमा पनि ‘जसको शक्ति उसैको भक्ति’ हुन्छ । बसिरहेकाले छोड्न मान्दैनन् । आवास व्यवस्थित र सुरक्षित पनि छैनन् ।

अनुशासनहिनता

हरेक शैक्षिक संस्थाको विशिष्ट उद्देश्य सिक्नु र सिकाउनु हो । ज्ञान बाँड्ने मात्रै होइन, अनुशासनको पाठ सिकाउने थलो पनि हो क्याम्पस । तर यहाँ विद्यार्थी मात्रै होइन, शिक्षकमा पनि अनुशासनहिनताका पर्याप्त प्रमाणहरु भेटिन्छन् ।

भनिन्छ, एउटा गलत उदाहरणको छाप लामो समयसम्म परिरहन्छ । त्रिविमा पनि बेलाबेला छात्रामाथि दुर्व्यवहार भएका समाचार आइरहन्छन् । गत महिनामात्रै एक सहायक डिनले एक छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए । उनी अहिले पनि थुनामै छन् । सोसोलोजीका थेसिस गाइडले पनि विद्यार्थीलाई कोठामै बोलाएर दुर्व्यवहार गरेको समाचारले पनि राम्रो सन्देश दिएन । नेपाली विषयका एक लेक्चरलाई आफ्नै विद्यार्थीसँग अनैतिक रूपमा बस्दा प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

गत वर्ष यौनसम्पर्कको क्रममा त्रिविभित्रै दुई जोडीको माथिल्लो तलाबाट खसेर निधन भएको थियो । क्यान्टिन सञ्चालक चितुवा पसेछ भनेर भागेको हाँसो र चर्चा त्रिविभित्रै अझै चलिरहन्छ ।

मदिरा र धुमपान हाकाहाकी

धुम्रपान, मद्यपान र सुर्जीजन्य पदार्थ निषेध भए पनि क्याम्पसभित्र हाकाहाकी बेच्ने र सेवन गर्ने गरिन्छ । क्यान्टिनमा खुलेआम चुरोट पिउनेलाई सजिलोका लागि लाइटर धागोमा बाँधेर झुँड्याइएका छन् ।

वरपर रक्सीका बोतलहरु पनि ‘झ्याप’ भएर लडेझैँ देखिन्छन् । चुरोटका बट्टा, सुर्तिका डब्बा–खोल, रक्सीका बोतल त्रिविभित्र बग्रेल्ती भेटिन्छन् ।

डम्पिङ साइड र गौचरन

कीर्तिपुरबासीको ‘डम्पिङ साइड’ बनेको छ क्याम्पस । बिहान–बेलुका हातमा भएका फोहोरका पोका सुटुक्क त्रिविका चउरमा खस्छन् । यतिसम्म कि प्राध्यापकका आवासमा धरी कण्डमका खोलहरु देखिन्छन् ।

त्रिविमा भवन छन्, तर शौचालय अति कम छन् । भएकामा पनि पानी छैन । फोहोर व्याप्त छ । विद्यार्थीको स्वास्थ्यमा गडबढ भएमा ठूलो संकट आइलाग्छ ।

विश्वविद्यालय गौचरन जस्तो भएको छ । बाख्रा चराउनेले पनि यही ठाउँ प्रयोग गर्छन् । भुस्याह कुकुर बाटो छेक्न आउँछन् । नेपाली विषयका एक शिक्षकले भने, ‘एक दिन पढाउँदा पढाउँदै गाई भित्रै छिर्याे ।’

जाडोमा कठ्यांग्रिने, गर्मीमा वाफिनुपर्ने

विश्वमा स्मार्ट कक्षाको अवधारणा आइसकेको छ । तर त्रिविका संरचना प्रविधिमैत्री छैनन्, पठनपाठनमा प्रतिकुल छन् । जाडो महिनामा चिसाले कठ्यांग्रिनुपर्ने र गर्मीमा वाफिनुपर्ने वाध्यता छ । हावाहुरी चल्यो भन्यो भित्रै धुलो पस्छ । झ्याल–ढोकामा खापा छैनन्, भएका पनि पसाङ्गिएर छेस्किनी लाग्दैनन् ।

पार्किङ छैन, झाडी छ

त्रिवि जग्गाको दृष्टिले सबैभन्दा धनी शैक्षिक संस्था हो । केन्द्रीय क्याम्पस, कीर्तिपुरमा मात्रै करिब ३००० रोपनी जग्गा छ । तर पार्किङ स्थल व्यवस्थित र निश्चित छैन । जहाँ मन लाग्यो त्यहीँ सवारी साधन राखिएका हुन्छन् । भौतिक स्रोत साधन जीर्ण छन् । त्रिविभित्रै आइएनजीओले जग्गा ओगटेर बसेको छ ।

हजारौँ रोपनी जग्गा त्यसै खेर गइरहेको छ । जग्गा बाँझो राख्नेलाई कारबाही हुने भए सुरुमै त्रिविलाई कारबाही गर्नुपर्छ । त्रिविका जग्गामा ‘बनमाराको खेती’ गरेझैँ देखिन्छ ।

झाडीभित्र हप्तैपिच्छे युवायुवती रङ्गेहात पक्राउ पर्ने गर्छन् । झाडीको फाइदा उठाउन बसेकालाई हरेक हप्ता पुलिसले पक्राउ गरिरहेको प्राध्यापकहरु नै बताउँछन् ।

सवारी चलाउन सिकिन्छ, सिकाइन्छ

यस्तो लाग्छ, त्रिविको जग्गा ड्राइभिङ इन्स्टिच्युटले भाडामा लिएको हो । तर त्यसो होइन । फुर्सदका बेला जोकोहीले त्रिविभित्र सवारी चलाउने अभ्यास गर्न पाउँछन् । सवारी साधन ट्रायल गर्ने र सिक्ने ठाउँ भएको छ ।

एक जना प्राध्यापकले भने, ‘सिक्दै गरेको स्कुटीले हिर्काएर धन्दै मरिएन । एक महिना बेड रेस्ट गर्नुपर्यो ।’ केही महिनाअघि मात्रै एक प्राध्यापकका बुबाको सिकारू चलाएको सवारीले किचेर निधन भएको थियो । अहिले पनि सिकारुले किच्ने हुन् कि ठानेर त्रिविभित्र जोगिएर हिँड्नुपर्छ ।

राजनीतिको थलो

त्रिवि राजनीतिको थलो भएको छ । हुनत यो नेपालका शैक्षिक संस्थाको साझा रोग नै हो । विद्यार्थी, शिक्षक र कर्मचारीका विभिन्न पार्टी निकट संगठनहरु छन् । तिनीहरु पार्टी कार्यालयबाट निर्देशित हुन्छन् । त्रिवि पनि देशको शैक्षिक जनशक्ति कम र राजनीतिक दलका कार्यकर्ता बढी उत्पादन गर्ने ‘कारखाना’ हो भन्दा फरक नपर्ला ।

त्यसैले विश्वविद्यालयभित्र छिरेपछि शैक्षिक कोटेशनबाट प्रभावित भएर विद्यार्थीलाई पढौँपढौँ लाग्नुपर्नेमा भित्ताहरुमा देखिएका राजनीतिक दलका नाराले विद्यार्थीलाई यहाँ भर्ना हुनै मन लाग्दैन । अभिभावकले पनि राजनीतिमा लागेर पढ्दैनन् ठानेर त्रिविमा भर्ना गराउँदैनन् ।

त्रिविका पदाधिकारी राजनीतिक आस्थाका आधारमा भर्ति हुन्छन् । शैक्षिक योग्यता र योगदानको मूल्यांकनको अंक अति कम छ । प्रोफेसरको अन्तर्वार्ता लेक्चरले लिन्छन् । हाल सेवा आयोगको अध्यक्ष चैतन्य शर्मा नै ‘लेक्चर’ हुन्, उनले प्रोफेसरको अन्तर्वार्ता लिन्छन् । विद्यार्थीहरु गुनासो गर्छन्, ‘थेसिसमा पनि राजनीतिक आधारमा नम्बर फरक पर्छ ।’

झण्डै देशैभरका १५००० विद्यार्थी र ८००० प्राध्यापक लगायतको प्रशासनिक व्यवस्थापन गर्न झण्डै १० हजार कर्मचारी त्रिविमा कार्यरत छन् । जुन संख्या तीन गुणा बढी हो । जो अधिकांस राजनीतिक दवाब र प्रभावमा भर्ति भएका हुन् । यसले राज्यको व्ययभार मात्रै बढाएको छ । प्राध्यापक नै भन्छन्, ‘कर्मचारीले चलाएको विश्वविद्यालय हो यो ।’

यहाँ विद्यार्थी संगठन छन्, तर उनीहरु थोत्रा मुद्दा मात्रै बोकेर हिँड्छन् । विद्यार्थी नेता आफू टिक्न र चर्चामा आउन मात्रै ‘इस्यु’ उठाउँछन् । कुनै इस्यु उठाए पनि नेताको दवाब वा आर्थिक प्रभावमा छोडेको भन्दै विद्यार्थीबाटै विद्यार्थी नेताको आलोचना सुन्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *