त्रि.वि. सेवा आयोगमा चैतन्यपछि को ?

   नयाँ दैनिक comment 0

साउन १०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष पदका आकांक्षीहरूबीच रस्साकस्सी चल्न थालेको छ । चैतन्य शर्मा अध्यक्षबाट आइतबार बाहिरिएपछि सोको लागि नेकपा निकट प्राध्यापकहरू रस्साकस्सीमा लागेका हुन् । तीन वर्षे कार्यकाल पूरा गर्दै शर्माले गत आइतबार अवकास लिएका थिए । यद्यपि शर्माको कार्यकाल निकै विवादास्पद रह्यो । उनकै कार्यकालमा आयोग परीक्षामा सामेल भएका एक कर्मचारीले अनियमितता पुष्टि भएपछि ६ तलामाथि हाम फालेर आत्महत्या गरे । नेताका आफन्तलाई स्थायी बनाएको प्रकरण विशेष अदालतमा विचाराधीन छ ।

अध्यक्ष पदमा प्रा.डा. यादवप्रकाश लामिछाने, प्रा.डा. लालु पौडेल, प्रा. विजय सिलवाल र प्रा.डा. शंकर भण्डारी आकांक्षी रहेको बताइएको छ । नेकपा निकट स्रोतका अनुसार चार आकांक्षीमध्ये लामिछाने प्रबल दावेदार हुन् । विगतमा लाभको पद नलिएका लामिछानेले सक्षम पात्रहरूलाई पदाधिकारी बनाउन सक्रिय भूमिका खेल्दै आएका थिए ।

केही समयअघि मात्रै प्राध्यापक पदबाट अवकास लिएका लामिछाने प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष पनि हुन् । सदस्य, महासचिव हुँदै अध्यक्ष बनेका लामिछाने प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिन्छन् । तत्कालीन माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनको पनि लामिछानेलाई नै समर्थन रहेको बुझिएको छ ।

लामिछाने अध्यक्ष बनेमा सेवा आयोगको गुमेका शाख समेत जोगिने विश्वास प्राध्यापकहरूमा रहेको बताइएको छ । अंग्रेजी शिक्षा विषयका एक प्राध्यापकले भने, ‘कसलाई अध्यक्ष बनाउँदा प्रभावकारी हुन्छ त सरकारले बुझ्ने कुरा हो, तर यादव लामिछानेजस्ता प्राध्यापकहरू सेवा आयोगमा आउँदा त्रिविको स्तरोन्नति हुन्छ जस्तो लाग्छ ।’

त्रि.वि.कै नेपाली विषयका एक प्राध्यापक भन्छन्, ‘विगतमा भएका अपरिपक्क निर्णयले नै सेवा आयोगको गरीमामा आँच आएको हो । स्वच्छ छवी भएका प्राध्यापकलाई नियुक्ति गर्दा मात्रै आयोगको गरिमा बढ्छ ।’ अर्का आकांक्षी सिलवाल अवकाशप्राप्त प्राध्यापक तथा संगठनकै पूर्वअध्यक्ष हुन् । पौडेल त्रि.वि. भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख हुन् । प्राध्यापक भण्डारी त्रि.वि.अन्तर्गत उच्च शिक्षा परियोजनाका प्रमुख थिए ।

त्रि.वि. ऐनमा कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा वरिष्ठ प्राध्यापकहरुमध्येबाट एक जना अध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ । यस प्रक्रियाबाट नियुक्त अध्यक्ष र सदस्यको कार्यकाल ३ वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *