दमौलीको शोक सभामा खगराजले भने– ‘भरतमोहन र रविन्द्रमा एउटै गुण थियो’

   नयाँ दैनिक comment 0

फाल्गुण १९, दमौली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश सहइन्चार्ज तथा पूर्वमन्त्री खगराज अधिकारीले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्री रविन्द्र अधिकारीबीच तुलना गर्दै दुईबीच एउटै गुण भएको बताएका छन् । सत्तारुढ नेकपाको तनहुँ जिल्ला कमिटिद्वारा आयोजित शोकसभामा प्रतिनिधि सभाका सांसद समेत रहेका अधिकारीले चार दिनको फरकमा असामयिक निधन भएका नेताद्वय भरतमोहन र रविन्द्रको स्मरण गर्दै यस्तो बताएका हुन् ।

नेता अधिकारीले रविन्द्र अधिकारीको शोकमाथि भरतमोहन अधिकारीको पनि शोक थपिएकोमा चिन्ता व्यक्त गर्दै सभामा सहभागीसँग पीडामाथि पीडा पोखे । पर्यटनमन्त्री रविन्द्रको गत १५ गते हेलिकोप्टर दुर्घटनाबाट र पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहनको उपचारको क्रममा हिजो शनिबार निधन भएको थियो ।

नेताद्वयलाई स्मरण गर्दै खगराज भने, ‘अर्थमन्त्री त धेरै भए तर भरतमोहनजस्तै अरु भएनन् । पर्यटनमन्त्री पनि धेरै भए तर अरुजस्ता रविन्द्र होइनन् ।’ अधिकारीले रविद्र र भरतमोहनमा समगुण भएको भन्दै आश्चर्य समेत व्यक्त गरे । ‘हजुरबा र नाति पुस्तामा कसरी यस्तो गुण मिल्यो होला ?’ अधिकारीले भने, ‘उहाँहरु दुवै जना देश बनाउने भिजन भएका नेता हुनुहुन्थ्यो । देश बनाउन निरन्तर संघर्ष गर्ने समगुण उहाँहरुमा थियो । भरतमोहन अधिकारीजस्तो अर्थमन्त्री र रविन्द्र अधिकारीजस्तो पर्यटनमन्त्री मुलुकले अब पाउँदैन ।’

नेता अधिकारीले रविन्द्रलाई विशेष स्मरण गर्दै जीवित हुँदा उनीमाथि न्याय गर्न नसकेकोमा खिन्नता प्रकट गरे । ‘यो व्यवस्थामा रविन्द्रहरूले धेरै गर्नुभयो । हामीले उहाँमाथि न्याय गर्न सकेनौँ’ अधिकारीले भने । श्रद्धाञ्जली पनि सपनामै भनेजस्तो लागेको उनको भनाई थियो ।

मृत्युबारे गौतमबुद्धको कथा सुनाउँदै अधिकारीले मृत्यु अनिवार्य र सबैका घरमा हुने प्रक्रिया भएको बताए । आधा घण्टा लामो मन्तव्यका क्रममा अधिकारीले मदन भण्डारी, मनमोहनलगायतका धेरै नेताहरुको इतिहास स्मरण गराए ।

फरक प्रशंगमा अधिकारीले गिरीजाप्रसाद कोइराला पनि कुनै समयमा कम्युनिस्ट पार्टीमा भएको दावी गरे । बि.स.२००३ मा मनमोहनले गिरीजालाई कम्युनिस्ट पार्टीमा संगठित गरेको उनको जानकारी थियो ।

भरतमोहनले दिएको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ को नारा स्मरण गराउँदै अधिकारीले अहिले ‘आफ्नो गाउँ आफैँ भत्काऔँ’ भन्दै डोजर लगाउने काम भइरहेकोमा चिन्ता व्यक्त गरे ।

नाताले भाइ पर्ने बताउँदै अधिकारीले रविन्द्रबारे भने, ‘अधिकारी–अधिकारी भएर होइन, अर्को नाताले रविन्द्र मेरो भाइ पर्नुहुन्थ्यो । उहाँलाई मैले नजिकबाट बुझेको छु । उहाँले कहिल्यै वारपारको संघर्ष गर्नुभएन, सबैसँग समन्वयकारी भूमिका थियो ।’ रविन्द्रले आफ्नो क्षमता र योग्यताले नै निरन्तर पार्टीमा हस्तक्षेपकारी भूमिका खेल्दै आएको समेत शोकसभामा उनले स्मरण गरे ।

रविन्द्रमा संगठनले दिएको जिम्मा पूरा गर्ने दृढता र क्षमता भएको बताउँदै उनले स्वयंसेवकदेखि नेतासम्म बन्न सक्ने स्वभावका भएको समेत सुनाए । रविन्द्रको प्रशंसा गर्दै उनले भने, ‘रविन्द्रको सिर्जनाशक्ति पनि राम्रो थियो । किताब पनि लेख्नुभएको छ । सबैको मन जित्न सक्ने क्षमता पनि उहाँमा थियो ।’

कठोर संघर्षको बेला पनि हाँसीहाँसी यात्रा गर्न सक्ने रविन्द्रको स्वभाव अनुकरणीय रहेको बताउँदै खगराजले भने, ‘रविन्द्र असल नेता र विद्यार्थी आन्दोलनको रोलमोडल हो ।’

शोकसभामा प्रदेश सांसद तथा पूर्वमन्त्री आशा कोइराला, प्रतिनिधि सभाका सांसद केदार सिग्देल, नेपाली कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आले, कांग्रेसबाट प्रदेशकी समानुपातिक सांसद सरिता गुरुङलगायतले शोक मन्तव्य व्यक्त गर्दै नेताद्वय भरतमोहन र रविन्द्रको योगदानको स्मरण गरेका थिए ।

नेकपाका तनहुँका जिल्ला संयन्त्र सदस्य श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सभामा नेतृ भगवती न्यौपानेले रविन्द्र अधिकारीको जीवनी बताएकी थिइन् । भरतमोहन अधिकारीको जीवनी नेता विष्णुभक्त सिग्देलले सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *