विप्लवको विज्ञप्ति : ‘दलाल पुँजीवादी सत्ताका सामु एकरत्ति झुक्न तयार छैनौँ’

   नयाँ दैनिक comment 0

फाल्गुण ३०, काठमाडौँ । विद्रोही नेकपाका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले दलाल पुँजीवादी सत्ताका सामु एकरत्ति पनि झुक्न तयार नभएको बताएका छन् । पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारसँग मुठभेड गर्ने मानसिकता दर्शाएका हुन् । विज्ञप्तिमा विप्लवले चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको दाबी गर्दै प्रतिबन्धलाई हास्यास्पदको संज्ञा दिएका छन् ।

आफूहरुको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल भएको विप्लव नेतृत्वको नेकपाले दावी गरेको छ । ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं । कसैको दलाली गरेर कमिसन खाएका छैनौं । हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं । अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’ विज्ञप्तिमा लेखिएको छ ।

सरकारले आफ्नो संगठनप्रति भ्रम सिर्जना गराएको भन्दै उसले दिग्भ्रमित नहुन र सहयोगलाई निरन्तरता दिन पनि सबैलाई विज्ञप्तिमार्फत अपिल समेत गरिएको छ । केपी ओली, प्रचण्डलगायतको गद्दारीले क्रान्तिमा लाग्नैपर्ने बाध्यता आइलागेको विज्ञप्तिमा बताइएको छ । क्रान्ति अहिलेको आवश्यकता भन्दै दमन भएमा त्यसको मुखतोड प्रतिरोध गर्ने समेत विप्लवले चेतावनी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *