दीपक मनाङे पार्टी प्रवेशको नेकपाभित्रै विरोध

   नयाँ दैनिक comment 0

असार २०, काठमाडौँ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहर गरी सजाय तोकिएका गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएपछि नेकपाभित्र तीव्र विरोध भएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले बिहीबार गुरुङलाई पार्टी प्रवेश गराएका हुन् । गुरुङलाई प्रवेश गराउने क्रममा मुख्यमन्त्रीले
नेकपा सुध्रिन चाहनेहरूका लागि एउटा प्लेटफर्म भएको धारणा राखेका थिए । नेकपाका नेताहरूले पार्टीको नीति र सिद्धान्तलाई ख्याल नगरी विवादित व्यक्तिलाई प्रवेश गराएको भन्दै आपत्ति जनाएका छन् । नेकपाका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा नेतृत्वमाथि प्रश्न उठाएका छन् ।‘कम्युनिस्ट पार्टीले विचारधारा र सिद्धान्तका आधारमा मान्छेहरू निर्माण गर्छ तर त्यो निर्माण गर्ने प्रोसेसिङ प्लान्ट नै बिग्रेपछि आउनुपर्ने मान्छे आउँदैनन्, नआउनुपर्ने आउँछन्, हामीकहाँ त्यस्तो हुँदै छ,’ मनाङेको प्रवेशप्रति आपत्ति जनाउँदै नेकपा नेता घनश्याम भुसालले कान्तिपुरसँग भने ।

मनाङेको प्रवेशलाई उनले सैद्धान्तिक रूपमा पार्टीभित्र कसरी विचलन आइरहेको छ भन्ने दृष्टान्तका रूपमा अर्थ्यार्ए । ‘उहाँलाई पार्टीको विधान दिँदै विधानअनुसार काम गर्नू भनिएको छ रे, अब यहाँ हामी सचिवालय, स्थायी समितिमा रहेकालाई विधान चाहिएन, विधानअनुसार चल्नुपरेन,’ भुसालले भने, ‘अब हाम्रो विधान हामीचाहिँ नमान्ने भयौं, दीपकले मान्ने भए ।’ उनले पार्टी गुटबन्दीमा जकडिएपछि यस्तो प्रवृत्ति आउने उल्लेख गर्दै यो घटनालाई त्यसैको एउटा अंश मान्नुपर्ने बताए । ‘पार्टी गुटबन्दीमा विभाजित भएपछि कस्ता मान्छे ल्याउने भन्ने कुरा पार्टीमा कस्ता मानिस चाहिन्छ भन्ने आधारमा होइन, गुटलाई कस्तो मानिस चाहिन्छ भन्ने आधारमा निर्धारण हुन्छ,’ उनले भने, ‘अहिले दीपकको आवश्यकता जुन गुटलाई परेको हो, त्यसैले पार्टीमा छिराएको हो ।’

०७४ माघमा सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको थियो । गत चुनावमा उनले अभियुक्तकै रूपमा चुनाव लडेका थिए । मनाङको प्रदेशसभा (ख) बाट उनले स्वतन्त्र उम्मेदवारका रूपमा जितेका थिए । त्यसबेला तत्कालीन एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर मनाङेलाई समर्थन गरेको थियो । निर्वाचित भएपछि अदालतले जेल सजाय सुनाएकाले उनी केही समय फरार रहेका थिए । उनलाई पछि प्रहरीले पक्राउ गर्‍यो । त्यसपछि आठ महिना जेल बसे । मुलुकी संहितामा रहेको १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा प्रयोग गर्दै उनी जेलबाट छुटे । जेलबाट छुटेपछि प्रदेशसभामा शपथ लिएका थिए ।

आपराधिक गतिविधिमा लागेको व्यक्तिलाई पार्टी प्रवेश गराएपछि नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फेसबुकबाट लेखेका छन्, ‘अनगिन्ती मनाङे पार्टीमा पहिल्यै छन्/थिए, एउटा थपिएको मात्र हो । जाबो एउटा मनाङे थपिँदा केको कोकोहोलो हो कुन्नि ।’
विद्यार्थी संगठन अनरास्ववियुका उपाध्यक्ष सुरेन्द्र बस्नेतले ‘फेरि चुनाव आउँछ, हेक्का होस्’ भन्दै नेतृत्वलाई चेतावनी दिएका छन् । ‘काठमाडौंका गल्लीगल्लीमा अझै पनि दीपक मनाङेका व्यक्ति हत्या, लुटपाट र अन्य अपराधका हजारौं किस्सा छन्, अदालत, प्रहरी र जनजनमा मनाङेका मुद्दाका फेहरिस्त छन्,’ बस्नेतले लेखेका छन्, ‘बाँचुञ्जेल जनतालाई दुःख दिने यस्ता अपराधीलाई राख्ने ठाउँ जेल हो । कम्युनिस्ट पार्टी किमार्थ हैन । नेकपा नेतृत्व गण, चुनाव फेरि पनि आउँंछ, हेक्का रहोस् ।’
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *