देशैभर चिसो बढ्न थाल्यो

   नयाँ दैनिक comment 0

असोज २८, काठमाडौँ । मनसुन बाहिरिएसँगै देशैभर चिसो बढ्न थालेको छ । गत शनिबार नेपालबाट मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुने गर्दछ ।

पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण उपत्यकासहित मुलुकभर चिसो बढ्ने गरेको महाशाखाले जनाएको छ । यस वर्ष मनसुन औसतभन्दा १० दिन ढिलो भित्री औसतभन्दा १९ दिन ढिलो बाहिरिएको थियो ।

सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ अर्थात् असोज ६ गते नै मनसुन बाहिरिने औसत समय हो । मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्ने बताइएको छ ।

दिउँसोपख घाम लागे पनि बिहान र बेलुकाको समयमा चिसो हुने गरेको छ । महाशाखाले अबको केही दिन बिहानीको समयमा हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउनसक्ने भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *