देश कहिले बन्छ ?

   नबराज बराल comment 0

‘ल, यता आउनुस् यार फोटो खिचम्, फेरि भेट हुन्छ कि हुँदैन के थाहा ?’ खल्तिबाट मोबाइल झिकेर मन कुँड्याउँदै साथी बोल्यो, ‘अपराध गरेर जेल जान परेजस्तै लाग्छ यार विदेश जान मलाई !’

म के भनौँ, के भनौँ भएँ । सत्य कुरा भनौँ उसको मन दुख्थ्यो, नभनौँ आफ्नै मन खुर्सानीको धुँवा लागेजस्तो उकुसमुकुस थियो । फेरि भेट हुन्छ कि हुँदैन..उसका ती शब्दले नराम्ररी चिमोट्न थाले । विदेशबाट बाकसभित्र फर्किएका युवायुवतिका हृदयविदारक दृश्य सम्झिएँ र मनमनै त्यस्तो नहोस् भनेर कामना गरेँ ।

रातको करिब ९ बजेको हुँदो हो । दुई घण्टापछि अर्थात् ११ बजे उसको दक्षिण कोरियाको उडान थियो । उसको निराशा र पीडा नबढोस् ठानेर म योजनावद्ध खिस्स हाँसिदिएँ । तर, हाँसोमा कुनै स्वाद थिएन । म चाहन्थेँ, विदेशीने निर्णय जायज ठान्दै ऊ प्रफुल्ल मनले विदेसियोस् ।

नबोली त सुखै थिएन । ‘पेन किलर’का रुपमा केही शब्दहरुको ‘डोज्’ त दिनै, ताकि त्यही डोजले उसलाई हुत्याएर विदेशसम्म पुर्यावस् । अनि सम्झाएँ, ‘यात्रा गर्ने बेला के यस्तो पिल्पिल् गर्या ! कोरिया गएर महिनाको दुई लाख घर पठाउन पाउँदा त मक्खको पर्नुपर्छ त यार !’

मुख बिगार्दै उसले झ्याप्प अङ्कमाल गर्यो । मानौँ, उसलाई मैले खप्नै नसक्ने पीडादायी खबर सुनाएको थिएँ । आफ्ना आँखाका आँशु पुछ्दै भन्यो, ‘पैसाले प्यास र अत्यास मेटाउँदैन साथी…!’

उसको त्यही अनुहार विदेशबाट आउँदा कस्तो उज्यालो थियो र जाने बेला पानी पार्न लागेको बादलजस्तै देखिन्थ्यो । ऊ तेस्रो पटक कोरिया जाँदै थियो । तर, तीनैचोटी आउँदा ‘अब नेपालमै केही गर्ने हो’ भन्दै उत्साहित हुन्थ्यो र फर्कने बेला यसै भन्न वाध्य थियो । विदेशीने बेला देशको नेतृत्व गर्ने नेताहरुलाई यति घृणा र सराप गर्थ्यो कि उसको सराप लाग्ने भए संसद भवन र आर्यघाट त नेताको शवले भरिनुपर्ने !
अघिल्लो पटकको छुट्टी आउँदा उसले विदेशीनुको कारण बताएको थियो, ‘पढ्दापढ्दै आमा बिरामी हुनुभयो । उपचार गर्दा लाखौँ सकियो । बुहारीको मुख हेरेर मात्रै मर्छु भनेपछि बिहे गरेँ, झनै ऋण थपियो । नातिनातिना चाहियो भन्नुभो, छोरी जन्मिइ । बिरामी आमा, पढ्दै गरेका भाइबहिनी, नयाँ सन्तान र ऋण सम्झेर जागिर खोज्न थालेँ । धेरै नेतालाई समस्या सुनाएँ, सबैले आश्वासन मात्रै दिए । बुझेँ, नेताले झण्डा बोकाउने र अरुसँग भिडाउने मात्रै रहेछन् । अनि अझै ऋण थपेर विदेश गएको हूँ । मैले त पैसाको कारणले मन हुँदाहुँदै पनि पढ्न पाइनँ यार, तपाईँले त पढ्नुस् है ! बरु म पनि सकेको सहयोग गर्छु तपाईँलाई !’

म निशब्द भएँ । मुन्टो हल्लाउँदै सहमति मात्रै जनाएँ । बाटोमा आउँदा कपडा र टाउकोमा लागेको धुलो टकटकाउँदै ऊ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थानतर्फ छिर्यो । आँखाले देख्न छोडेपछि उजाड मन बनाउँदै म फर्किएँ । बाटोमा आफूलाई आफन्तको लास जलाएर फर्केको मलामीजस्तै लागिरहन्थ्यो ।

बाटोका हजारौँ खाल्डाखुल्डी त छल्दै थिएँ तर शक्तिशाली बम पड्काउँदा निस्केको धुवाँजस्तै धुलो कसरी छल्नु ? त्यसैमाथि चोकमा आधा घण्टा जाममा बस्नु परेपछि लाग्यो-यस्तो देशमा बस्नुभन्दा साथी विदेश गएरै ठीक गर्यो !

बल्लबल्ल जाम छिचोलेर पेट्रोल पम्प पुग्दा लेखिएको छ–पेट्रोल छैन । कोठामा पुग्दा भाडा माग्न घरबेटी आएका थिए तर कोठामा धुलो पखाल्ने पानी भने आएको थिएन । घरबेटीलार्ई किस्ता बुझाएर पसलमा जाँदा तरकारी र सामानको मूल्य छोइसक्नु होइन । भात पकाउँदै टिभी खोल्दा समाचार थियो–निर्मला पन्तको हत्यारा अझै पत्ता लागेन !

दिक्क भएर फेरिएको अर्को च्यानलको समाचार थियो–वाइडबडी खरिदमा ६ अर्ब घोटला भएको लेखा समितिको निष्कर्ष । तेस्रो च्यानलमा प्रधानमन्त्रीको फोटो हालेका ज्याकेट विज्ञापन देख्न पाइयो । चौँथो च्यानलमा क्रिश्चियन धर्मको प्रचार गर्दै गरेका उपप्राध्यापक पक्राऊ परेको समाचार थियो । अर्को च्यानलमा नेपाली राजदूत मानव तस्करीमा लागेको बारे चर्चा हुँदै थिए । त्यसपछि रिमोटको रातो स्वीच थिचेर सुत्दै सोचेँ-अनि युवाहरु विदेश नगएर के गरुन् त रु समाचारका च्यानल र पीडादायी भोगाइले देशको चरितार्थ गरेका थिए ।

सुतेँ तर निदाउन सकिनँ । अनि युट्युबबाट अफलाइन सेभ गरेका गीत सुन्न थालेँ । लोकदोहोरी गायक पशुपति शर्माको मर्मस्पर्शी गीत ‘स्वाभिमानी’ दोहोर्याइ, तेहर्याइ बजाएँ ।

स्वतन्त्र छौँ, स्वाभिमान हौँ भन्नि गर्व थियो !
एक महिनामै इन्डियाले औकात देखाइदियो !!
थुइक्क हाम्रो बानी, एक महिनामै बनाइदियो के लाउनी के खानी ? कठ्ठै बरा केही नभका केको स्वाभिमानी ? हामी नेपाली हैनौँ स्वाभिमानी…!

नेताहरुका हाँस्यास्पद भाषण सुनेर वाक्क भएका बेला गीतले झनै दिग्दार बनायो । सुन्दासुन्दै निदाएछु ।
भोलिपल्ट बिहान एउटा भाइको फोनले निद्रा खुल्यो । औपचारिकता लागि सामान्य सम्बोधन गर्दै उसले अपेक्षा राख्यो, ‘दाइ, साह्रै दुःख पाइयो, मलाई नि कतै जागिरमा लगाइदिनु न ! यतिबेला त तपाईँहरुकै सरकार छ !’

उसले ठीकै भनेको थियो । सरकार त थियो तर हुनु र नहुनुको कुनै अर्थ थिएन । उसलाई निरुत्साहित हुन नदिन मैले भनेँ, ‘जागिर पाउन त्यति सजिलो त छैन भाइ, तर म कोसिस गर्छु । अनि जागिर पाइएला, नपाइएला तर अन्य सहयोग के सकिन्छ म गरौँला !’

मलाई पो थाहा थियो नेताहरुले काम गर्दैनन् भनेर, उसलाई त के थाहा ? उसलाई लाग्दो हो, यो दाइले भनेपछि भैहाल्छ । नेताहरु आफ्नै आफन्त र चाकडी गर्नेलाई मात्रै सहयोग गर्छन् बाबु भनेर उर्जाशील युवालाई किन निराश बनाउनु ठानेर मुखमा आइसकेको कुरा पनि मनभित्रै दबाएँ । तिनका दिमागमा पैसा कमाउने र मस्ती गर्नेबाहेक केही छैन भन्ने मलाई पो थाहा थियो, त्यो अभावमा सङ्घर्षरत युवालाई के थाहा ? बदलिएका जीवनशैली र दृष्टिकोणपछि नेताहरुप्रति घृणा टुसाउँदै गएको कुरा पनि उसलाई भन्ने कुरा भएन । कुनै समस्या लिएर तिनका पैसामा धार लगाउने ‘आरन’मा ज्यू-हजुर गर्दै पुग्न मनले कहिल्यै मानेन । आफूलाई नयाँ राजा ठान्ने र तिनैका ‘चम्चाहरु’सँग हात जोडेर आफ्नो जीवन धान्नु पनि थिएन । बरु यस्तैमा तल्लिन युवायुवतीको दरिद्र मानसिकताबाट मात्रै निराश थिएँ ।

दूध चियाको तल्तल् मेटाउन बाहिर निस्किँदा डोको बोकेर हिँडिरहेकी एउटी महिला देखिइन् । मेरै आमाको उमेरकी ती महिलाले गह्रौँसँग तरकारी बोकेकी थिइन् । उनैले मलाई देखिन् र सोधिहालिन्, ‘बाबु, तरकारी राख्नुहुन्छ र ?’
‘के-के छ र दिदी ?’ जिज्ञासा राखेँ ।

यसले किन्छ कि भन्ने आसले हो वा गह्रौँ भएर हो उनले डोको बिसाइहालिन् । मुख बिगार्दै लामो सुस्केरा हालिन् । सिउँदोको सिन्दुर पसिनासँगै मिस्सिएर चिउँडोबाट तप्तप् चुहिरहेको थियो । निधारमा नाम्लोको डोब छापेझैँ देखिन्थ्यो । पसिनाले शरीरका पूरै कपडा भिजेका थिए । मानौँ, उनी चिसै कपडा लगाएर हिँडेकी हुन् ।

ढाडमा डोकाको डाम चोयाजस्तै देखिन्थ्यो । थाकेर होला, डोको बिसाउँदा थर्थर् कामेकी थिइन् । फाटेको सारीले भित्रको पेटीकोट छोप्न सकेको थिएन । पट्पटी फुटेका खाली खुट्टाले भुइँमा टेक्न पनि डराएझैँ लाग्थ्यो । भारीले बाङ्गिएको मुन्टो बिस्तारै सोझ्याइन् । ठाउँ छोडेको पटुकीको छेउले पसिना पुछिन् । त्यतिबेला मैले आफ्नै आमालाई सम्झिएँ । हजारौँ आमाहरुको मर्म यस्तै थियो । दुई किलो बन्दा, एक किलो स्कुस् र एक किलो काउली जोख्न लगाएँ । आफैँसँग सोधेँ, यिनको दुःख र पीडा कसले बुझ्छ ?

यस्तै पीडाबाट छुटकरा पाउने आशले परिवर्तनको जुनसुकै आन्दोलनमा पीडितहरुले साथ दिँदै आए । राजनीतिक परिवर्तनका नाममा देशका नदीहरुमा यस्तैका रगत खोला बनेर मिसिए । त्रिशुलीमा खसेर फेला नपरेका सवारीझैँ कैयौँ मान्छेहरु राजनीतिकै नाममा हराए । कैयौँ मान्छे जोत्दाजोत्दै खुट्टामा फाली लाग्दाझैँ पीडाले छट्पटिए । जेलनेल र हिरासतका त कुनै हिसाब नै छैनन् । हिसाब तिनको मात्रै आयो, जसलाई रगतको आहाल र छट्पटी खासै देख्नु-भोग्नु परेन । उनीहरुले सिर्फ पस्केको भात खाए र एक वर्षलाई पुग्नेबाहेक अरु बेचिदिए । थोरै बिउ दिए, भकारीका भकारी उत्पादन लिए ।

धेरै मान्छेहरुलाई अहिले पनि आफ्नै जीवन बोझ भैरहेको छ । सास धान्नकै लागि रुँदै-रुँदै विदेशीनेको सङ्ख्या लाखौँ छ । जनजीवीकामा कुनै फेरवदल नआएपछि राजनीतिक परिवर्तनको पनि उस्तो मतलब हुँदो रहेनछ । आकाशजति नै धेरै उपलब्धि भनिएको संविधान त ‘टिनएज्’को युवाले लेखेको प्रेमपत्रजस्तै भएको छ, न आकाशका तारा झर्नेवाला छ, न त उनीबिना ऊ मर्नेवाला छ । ‘यो त सब भन्ने कुरा न हो…!’, रामकृष्ण ढकालले गाएको गीतजस्तै ।

जननेता मदन भण्डारीले एउटा कार्यक्रममा भनेका रहेछन्, ‘एउटा राजाको अन्त्य भयो तर सामन्तवाद अन्त्य भएन भने देशको समस्या उस्तै रहन्छ ।’ उनले भनेझैँ राजतन्त्रको अन्त्य त भयो तर सामन्तवादको अन्त्य भएन र मुलुकको समस्या उस्ताको उस्तै छ । जनताले पीडा पोख्छन्, ‘गणतन्त्र भन्या त नेताले मस्ती गर्ने व्यवस्था पो रहेछ !’

हाम्रा बस्तीमा बाटोको योजना पुग्न चुनाव नै आउनुपर्छ । धारामा पानी ल्याउन राजनीतिक पार्टीका कार्यालय धाउनुपर्छ । रोजगारी पाउन कुनै न कुनै पार्टीको झोला बोक्नुपर्छ । बढुवा र सरुवा हुन पैसा खर्च गर्नुपर्छ ।

चुनाव जिताएर पठाएको जनप्रतिनिधिले बजेट दिन आफ्नै सम्पत्ति दिनुपरेझैँ गर्छन् । काम गरिदिए भने आफ्नै अंश बेचेर गरिदिएझैँ गर्छन् । वर्षभरिमा एउटा वडामा एउटा योजना पारेको देखाएर भाषण गर्दै हिँड्दैमा मुलुकको आमूल परिवर्तनहुन्छ ? अनि, कति सय वर्षभित्रै आउला समाजवाद ?

सरकार र प्रतिपक्ष दुवै उस्तै छन् । जोख्ने हो भने एक औँस पनि फरक नपर्ला । यी सबै देख्नका डाल र सत्ताका काल हुन् भन्दा पनि झुटो नहोला ।

नेपालमा राजनीति गर्नेहरु सफल भए, तर विडम्बना ! देश असफल हुँदै गयो । छिमेकी मुलुकहरु एक महाद्बीपबाट अर्कोमा क्षेप्यास्त्र प्रहार गर्ने भैसके, हामी खुल्ला दिसामुक्त, पूर्ण साक्षरतायुक्त गाउँ नगर घोषणा गर्दैछौँ । यसको भागीदार को हो ? अझ के-के न ठूलो काम गरेझैँ अगुवा-पछुवा लिएर माला लगाउँदै हिँड्न नेताहरु कसरी सकेका होलान् ?

राजनीतिक दललाई सरकार चाहिएको पनि देश चलाउन होइन, पार्टी चलाउन र पैसा कमाउन हो भन्ने तिनका जीवनशैली र आर्जित सम्पत्तिबाट छर्लङ्गै हुन्छ । नत्र छोटै अवधिमा कसरी धेरै कमाइन्छ ? धेरै ठग्दा र लुट्दा मात्रै त्यो सम्भव हुन्छ । गर्भाधान भएको एक महिनामै सकुशल बच्चा कहाँ जन्मेको छ ? राजनीतिक नियुक्तिका लागि घुँडा धसेर किन लाग्छन् र करोडौँको खेल किन हुन्छ ? किनकि ती ठाउँहरु ‘भन्सार’ हुन् । त्यसैले त मान्छेहरु नेताको ‘किर्तन’ गरेर ‘तीर्थ’ जान हतारिन्छन् ।

एक, दुई नेताले जनताको नाममा जे गरिदिए पनि हुने यो कुन व्यवस्थामा पुगियो हामी ? विशुद्ध संसदीय व्यवस्था भए त संसद र राजनीतिक पार्टीहरु शक्तिशाली हुनुपर्ने ! सायद, हामी ‘सामन्ती संसदवाद’मा पुगेका छौँ ।

बोल्सेविक पार्टीका नेता लेनिनले भनेका थिए, ‘बुझ्ने जनता परिवर्तनका संवाहक हुन्, नबुझ्ने भेडा हुन् !’ लेनिनको पालामा त जनता मात्रै भेडा थिए, अहिले त कार्यकर्तासमेत भेडा भए । देशको हालत यस्तो ‘पत्ला’ भैसक्दा पनि अझै नेताको जयजयकार गर्न कसरी मन मानेको होला ?

केही दिनअघि मात्रै स्वर्गारोहण भएका वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाले एउटा कार्यक्रममा भनेका थिए, ‘कसैको बाआमाले फलानोजस्तो भएस् भनेर आशीर्वाद दिए भने त्यो ‘फलानो’ ठूलो मान्छे हो । त्यसकारणले हजारौँ झुट बोलेर, अरबौँको तस्करी गरेर, ठूला बिल्डिङ बनाएर, हेलिकप्टर र टेलिभिजनमा सयर गरेर ठूलो मान्छे भइँदैन । अहिले हाम्रा बा-आमाले दशैँमा टीका लगाइदिएपछि अहिलेको कुन नेताजस्तो भएस् भनेर आशीर्वाद दिन्छन् ? हाम्रा पालामा बा-आमाले भन्थे- ठूलो भएस्, धेरै पढेस्, लक्ष्मीप्रसाद देवकोटाजस्तो विद्वान र विशेश्वरप्रसाद कोइराला र गणेशमानजस्तो नेता भएस् । अहिले फलानो नेताजस्तो भएस् भन्छन् ? भन्दैनन् । अब त्यस्तो बेला गयो नेपालमा । त्यसकारण ठूलो मान्छेको खडेरी परेको बेलामा हामीले तपाईँहरुबाटै ठूलो मान्छे खोज्दैछौँ ।’ उनले भनेका ती शब्दहरुमा कति धेरै पीडा छचल्किएका छन् ?

छातीमा हात राखेर आफैँलाई सोधौँ, धन दौलतले किर्नाझैँ ढाडिएका यी नेताले जनताको भोको पेटको प्रतिनिधित्व गर्न सक्लान् ? यिनले अहिलेसम्म के काम गरे भनेर हेर्न चाहने हो भने त रकेट चढेर अर्कै ग्रहतिर जानुपर्छ । सोचौँ त, देशमा सांसद र मन्त्रीले बाटो पाइँदैन तर देशको हालत किन यस्तो छ ? यति ‘मनी माइन्डेड्’ नेता भए कि कुन दिनदेखि आफ्नै क्रिया खर्च पनि माग्न बेर छैन । त्यसैले शङ्का उब्जन्छ, कतै हाम्रो देशको पानीमै देश लुट्ने गुण र विशेषता त छैन ?

बाटो बिराएपछि मान्छेले पहिलेको हैसियत र सम्मान गुमाउँछ । बाटो बिराउँदै करोड र अरब कमाएका यी नेताले पनि अब हैसियत गुमाइसकेका त होइनन् ? समृद्धि र सदाचारको उकालो चढ्ने आँट र छाँट जसरी हेरे पनि देखिँदैन । त्यही विकास गर्छौँ भन्ने थोत्रो वाक्य मात्रै दोहोर्याउँदैमा समृद्धि आउनेवाला छैन । आफ्ना भक्तलाई विकासप्रेमी नेता भनेर प्रचार गराएकै भरमा यिनको कार्यक्रममा फूलमाला लिएर पुग्न र ताली बजाउनैपर्छ भन्ने के छ ? यो देश हामी सबैको हो, कथित ठूलाबडाको मात्रै होइन । हामीले अब आफ्नो पसिनाले तिरेको करको हिसाब माग्नुपर्ने बेला आएको छ ।

नेताहरु पतन हुँदै गएपछि राजनीति पनि धन्दाबाहेक केही बन्दो रहेनछ । हरेक पार्टीहरु आफ्नो वर्गका रक्षार्थ बनेका हुन्छन् । आफ्नै नयाँ वर्गको रक्षार्थ पार्टीलाई उभ्याउनु नै नेतृत्वको गहन जिम्मेवारी हो । पार्टीको नाम मात्रै पक्षधरताको आधार होइन । उपभोगवादीको समृद्धि जनताको पक्षमा भएको इतिहास कहीँ कतै छैन ।

त्यसैले, यो देश कसरी बन्छ ? कहिले बन्छ ? कसले बनाउँछ ? कि सधैँको यस्तै हो ? के नेपाल सतिले सरापेकै देश हो त ? यस्ता यक्ष प्रश्नहरुको जवाफ अब नयाँ पुस्ताले दिनुपर्छ ।

अधिकांस नेताले जे गरे, आफ्नै लागि मात्र गरे । देशका लागि थोरै लगानी गरे अनि धेरै मुनाफा लिइसके । अब नयाँ पुस्ताले आफ्ना लागि मात्रै होइन, आउँदो तीन पुस्ताका लागि पनि सोच्नुपर्छ । मरेर लाने केही होइन, बाँचुञ्जेल सबैलाई बाँच्न सहयोग गर्नुपर्छ भन्ने मन्त्रलाई भुल्नु हुँदैन

। हरेकले परनिर्भरताको मानसिकता त्याग्ने हो भने देश आफैँ र छिट्टै बन्छ । आफैँले आफैँलाई कमजोर नठानौँ र देशको निम्ति जुरुक्कै उठौँ । आ-आफ्नो ठाउँबाट गुलामी होइन, खबरदारी गरौँ ।
होइन भने, हाम्रो र अर्को पुस्ताले पनि डा.विश्वनाथ बरालको गीत गुन्गुनाइरहनेछ–

‘छाडेर काम सारा एक काम रोजिरहेछु,
यो देशमा म एउटा मानिस खोजिरहेछु…..!’

नयाँ दैनिक डटकमका प्रधान सम्पादक नबराज बराल उपन्यास ‘नाम’का समेत लेखक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *