‘देश बदल्ने बाटो’ मा पुष्पलाल

   युग पाठक comment 0

साउन १९, काठमाडौँ। अचानक ‘देश बदल्ने बाटो’ मा पुष्पलाल फेला परे भने के होला ? प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै कोरेको ‘देश बदल्ने बाटो’ (कान्तिपुर, ७ साउन) पक्कै पनि एक ठाउँमा पुगेर उनलाई चामत्कारिक लाग्ला । केही साथीसँग कलकत्ताको गुमनाम कोठामा ७० वर्षअघि आफूले गठन गरेको कम्युनिस्ट पार्टीको एउटा अवतारले शक्तिशाली सरकार चलाइरहेको थाहा पाउँदा उनी रोमाञ्चक पनि हुँदा हुन् । अझ यो ‘सरकारले समानतालाई समृद्धिसँग जोडेको छ’ भन्ने पढ्दा गर्व पनि लाग्दो हो ।

हो, पुष्पलाललाई धेरैले तस्बिरमा मात्र चिनेका छन्, अरू कैयौंले नाम मात्र सुनेका होलान् । कृपया, उनलाई तस्बिरबाट बाहिर निस्कन नदिऔं ! नामबाट फुत्केर प्रधानमन्त्री ओलीको ‘देश बदल्ने बाटो’ मा आइपुगे भने समृद्धिवाला टिपरले हान्ने खतरा छ (साँच्चै, उनीसँग आधुनिक कम्युनिस्ट नेतासँग झैं करोडौंको लग्जरी कार छैन) । समानतालाई समृद्धिसँग जोडेको ठट्टाबाहेक अरू कैयौं हरफ पढ्न पनि नदिऔं ! अकस्मात् रंगिएको स्यालको जीउमा पानी खन्याएझैं भयो भने ? गुट–उपगुट र आरोप–प्रत्यारोपको खेलबाट हैरान भएर बल्लबल्ल विश्राम लिएका पुष्पलाललाई थप यातना नदिएकै राम्रो ।

हामी सक्छौं !

हामीलाई ठीक छ । रंगिएको स्याललाई अद्भुत मानेर पूजा गर्न जान्ने पनि हामी । ‘समृद्ध नेपाल, सुखी नेपाली’ लेखिएको पोस्टर देखेर दंग पर्न जान्ने पनि हामी । फेरि रङ खुइलिएको सक्कली स्यालले हुइयाँ पिटेपछि दशकैपिच्छे आफ्नै छाती पिटिपिटी ‘सतीले सरापेको देश’ वाला उखान हाल्न जान्ने पनि हामी । हामी सक्कली र नक्कली कुरा उत्तिकै स्वादले पचाउन सक्ने भइसकेका छौं । त्यसैले ‘देश बदल्ने बाटो’ बारे एकैछिन विचार गर्न पनि हामी सक्छौं ।

समृद्धि ल्याउन हामी सक्छौं, किनभने हामीसँग दशकौंदेखि एउटा रेडिमेड नारा छ । नाराले भन्छ— हामीसँग उर्वर प्रकृति छ । अनि छ, युवा र कर्मशील जनसंख्या पनि । हामी सक्छौं, किनभने कति दौरा–सुरुवाल यही नारा लगाउँदा–लगाउँदै फाटे । प्रधानमन्त्री, मन्त्री, न्यायमूर्ति, सचिव र अनेकानेक दर्जाधारी हाकिम सबैले कतिकति दौरा–सुरुवाल फटाए । नयाँ–नयाँ दौरा–सुरुवालधारीहरू फेरि पनि यही नारा घन्काउँदै कुर्सीमा चढे, दौरा–सुरुवाल फाटिरहे । चमत्कारपछि चमत्कार, दौरा–सुरुवालपछि दौरा–सुरुवाल ।

हामी सक्छौं, किनभने अहिले त झन् समृद्धिको पोस्टरमै उक्लिसकेका प्रधानमन्त्री छन् । फरक कुरा हो कि, हाम्रो उर्वर प्रकृतिमाथि वर्षौंदेखि बलात्कारपछि बलात्कार चलिरहेको छ । ‘हरियो वन नेपालको धन’ भन्ने उखान बालबच्चालाई ढाँट्ने पाठ्य–पुस्तकमा मात्र बाँकी छ । धान रोप्न लागिएको खेतमा डोजर चलाउने धन्दा फस्टाएको छ । ठेकेदारदेखि ठेकेदारसम्म आजको समृद्धिको पनि मूलमन्त्र हो । क्रसर उद्योग, डोजर र टिपर समृद्धिका व्यस्त वाहन हुन् । आरुबखडा र नास्पाती फल्ने पाखामा रिङरोड बनाउने प्रतिस्पर्धा छ । जडीबुटी फुल्ने–फल्ने वनपाखा र लेकमा ठेकेदारको अन्धाधुन्ध राइँदाइँ चलेको छ । चुरेदोहन एउटा सजीव यथार्थ भएको छ । कृषिका नाममा पहुँचवालाले परियोजना चलाउँछन् । जमिनको उर्वराशक्ति समाप्त पार्ने, प्रोजेक्ट चलाउने र प्लटिङ गर्नेहरूको सक्रियता उच्च छ । अनि हामी सक्दैनौं त ?

हामी सक्छौं, किनभने प्रधानमन्त्री ओलीलाई पुर्खाहरूको वीरतापूर्ण र गर्विलो इतिहासको याद पटक–पटक आइरहन्छ । वीर पुर्खा, ज्ञानी पुर्खा, उहिल्यै पुष्पक विमान बनाउन सक्ने पुर्खा ! त्यसमाथि मिहिनेती, सरल र कर्मशील नेपाली हामी ! अनि हामीले नसकेर कसले सक्छ ? फरक कुरा हो कि, हाम्रो सरकार कर्मशील युवालाई वैदेशिक रोजगारीतिर धकेल्न खुब व्यस्त छ । देशमै टिकेकालाई पानीजहाज र रेलको सपना देखाएरै भए पनि लटपट्याउन सक्षम प्रधानमन्त्री स्वयम् छन् । त्यतिले नपुगे राष्ट्रवादको अफिम छँदै छ । त्यतिले ’नि नपुगे राष्ट्रकवि, दौरा–सुरुवाल, पृथ्वीनारायण र महेन्द्र शाहको गौरवगाथा गाइदिए पुगिहाल्यो । अझ बुद्धको देश र सगरमाथाको उचाइ पनि त छ ।

हो, हामी सपना देख्न ‘बखुबी’ सक्छौं !

हलाल पुँजी

पुष्पलालले प्रधानमन्त्री ओलीलाई राम्रोसँग चिन्नै पाएनन् । नत्र थाहा पाउने थिए, कम्युनिस्टहरू कति उदार र सिर्जनशील भइसकेका छन् । प्रधानमन्त्रीका सिर्जनशील कुरा यस्ता छन्— पहिले–पहिले जस्तो आकाशे पानीको भर पर्ने होइन, खोला थुनेर कुलो फर्काउनुपर्छ । हलो जोत्ने होइन, ट्याक्टर चलाउनुपर्छ । यी कति सिर्जनशील कुरा हुन्, आमकिसान जसलाई सोधे पनि हुन्छ । फरक कुरा हो कि, किसान यो र यस्ता कैयौं सरकारको प्राथमिकतामा कहिल्यै परेनन् ।

प्रधानमन्त्रीको ‘महावाणी’ छ— हामीले अर्थतन्त्र आत्मनिर्भर बनाउनुपर्छ । सही हो, विदेशी उत्पादन मात्र बेच्ने थलो बनाएपछि मुलुक परनिर्भर हुन्छ । आफ्नो उत्पादन नभएपछि बाहिरबाट आउने पुँजी दलाल नै हुन्छ । दु:खद पक्ष के भने, यस्तो पाण्डित्याइँ सबै शासकले छाँट्दै आएका हुन् । तर नेपालजस्तो गरिब मुलुकका शासकका निम्ति उदारता नभई नहुने गुण हो । पख्नुस्, यो उदारता गरिब जनता, किसान, मजदुर र उत्पीडित/सीमान्तकृत समुदायका लागि होइन नि फेरि । यो उदारता हो, त्यही दलाल पुँजी, दलाल पुँजी परिचालन गर्ने दलाल वर्ग र खास गरी शक्तिशाली दाताहरूका लागि हो ।

दाता पनि उदार, प्रधानमन्त्री पनि उदार । बस, कुरो मिलेन त ? बाह्य पुँजी आउँदा दलाल पुँजी आयो भन्नेहरू वैचारिक शुद्धतावादी भइहाले, उदार कम्युनिस्टको कुरो होइन । उदार कम्युनिस्टले बाह्य पुँजी नल्याई पुँजी र प्रविधिको कमी (ग्याप) पूरा हुँदैन भन्ने ठान्छ । फरक कुरा हो कि, यो भाष्य तिनै धनी पुँजीपति दाताहरूले सिकाएका हुन् । गरिब मुलुकका पुँजी र प्रविधिको ग्याप पूरा गर्न नै उनीहरू विश्व बैंक, एसियाली विकास बैंक आदि अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत ऋण लगानी गर्छन् । नरम ऋण वा निर्ब्याजी ऋणका नाममा तिनले यसै गरी प्रधानमन्त्रीसम्मलाई आफ्ना नीतिगत कुरा सिकाउँछन् र वैचारिक रूपमै परनिर्भर बनाइदिन्छन् । आईएनजीओ र दूतावासको प्रत्यक्ष दानबाट पनि उनीहरू त्यो ग्याप मेटाउन खोज्छन् । यति उदार पुँजी ल्याउन तयार भएपछि बढ्दैन त उत्पादन ?

पुष्पलाललाई यस्ता उदारवादी पुँजीको कुरा के थाहा ? हाम्रा प्रधानमन्त्रीलाई दलाल भन्ने शब्द मन नपरेको हो, उदार पुँजी त अच्छा छ । फरक कुरा हो कि उनी जनताको आधारभूत अधिकारको कुरामा चाहिँ अनुदार छन् । दौरा–सुरुवालवाला शुद्धताचाहिँ उनलाई पनि मन पर्छ । मार्क्सको पुँजीको व्याख्यामा अड्किनु पो पिँजडाभित्रै बस्नु हो, राजा महेन्द्रको विचारमा अडिनुचाहिँ नि:सन्देह अडान हो । त्यसैले वैदेशिक सहायतामा उदार, वैदेशिक पुँजीमा पनि उदार । ठीक महेन्द्रजस्तै, केवल जनताको अधिकारको कुरो मन पर्दैन हाम्रा प्रधानमन्त्रीलाई, कर्तव्य सिकाउन चाहन्छन् ।

जहाँसम्म दलाल पुँजीको कुरा छ, शब्द बदलेर अब यसलाई ‘हलाल पुँजी’ बनाउन आवश्यक छ । गरिबका नाममा सहायता नामको पुँजी ल्याउने, गरिबका टाउकोमा ऋण र परनिर्भरता टेकाउने एवं कुलीन सत्ता टिकाउने । फरक कुरा हो कि, आत्मनिर्भरता नामको मन्त्र जपिरहनुपर्छ । हलालचाहिँ जनताको पुँजीलाई गर्ने हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा फुर्सदिला कार्यकर्तालाई एकदिने ज्याला बाँड्ने, खर्बौं उडाउने । हुन त रोजगारी भनेको एकदिने गल्लीसफाइ होइन, जीवनको आधार बन्न सक्ने विश्वाससहितको नियमित काम हो । जे होस्, प्रधानमन्त्रीको बुझाइमा पुँजी र प्रविधि त बाहिरबाट आउने हो, आफैं बनाउने होइन ।

अन्त्यमा,

पुष्पलालको बुझाइमा कम्युनिस्ट भनेको गरिबको पार्टी हो । जनताले पनि यही बुझेका हुन् । तर सिर्जनशील र उदार प्रधानमन्त्री ओलीले शाही सवारी रोजे । आफू हिँड्ने सडक र आफू उड्ने आकाश खाली गराउने सिर्जनशीलता त्यसै फुरेको होइन । नेता–कार्यकर्ता पनि सिर्जनशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै पिर्का, टेबल, कुर्सीमा उक्लेर सलामी खाइरहेकै छन् । अरू के चाहियो, उदार आधुनिक कम्युनिस्ट पार्टी बनाउन ?

पुष्पलालको सपना उनैले साकार पारिरहेछन् ।

जय होस् !
कान्तिपुर दैनिक बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *