धुर्मुस–सुन्तलीले चितवनमा क्रिकेट रङ्गशाला बनाइदिने

   नयाँ दैनिक comment 0

माघ १६, काठमाडौं । नेपालले क्रिकेटमा राम्रो सफलता हासिल गर्दै गए पनि खेल मैदानको भने अभाव छ । जसोतसो खेलाडीले अभ्यास गरेर क्रिकेट मार्फत नेपाललाई चिनाइरहेका छन् । यहि अभावलाई ख्याल गर्दै ‘धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिदिने भएको छ । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भइसकेको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् । उनले यसअघि चारवटा वस्ती निर्माण गर्दाको अनुभव रंगशालामा खन्याउँछु भनेका छन् । धुर्मुसले जनसहयोगबाटै भूकम्पपीडित, बाढी पिडित र मुसहरहरुका लागि नमूना वस्ती बनाएका थिए । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ ।

रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ । अब गुरुयोजना तयार पारिनेछ जसका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको धुर्मुस बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *