धूलो र जाममा यहाँलाइ स्वागत छ !

   राम न्यौपाने comment 0

शहर देख्ने रहरले देशको राजधानी आउनु भएका यहाँ सबैलाइ स्वागत गर्न पाउँदा यो शहर गौरवान्वित छ ।  तपैँको धोको पूरा हुँदै गर्दा हाम्रो शहर यसरी सबैको रहरको शहर बनाउन योगदान दिनुहुने कृपालुप्रति विशेष आभार त दिनैपर्यो, हैन ? यस्ता कुरामा लोभी पनि त हुनु भएन ।

सनातनी धर्म र ‌वैदीक दर्शनको चाकडीमा यत्रो समय व्यतित गर्ने नेपालीजनलाई यति ‘स्यानो’ कुरा त सिकाउनुपर्ने नै होइन । काम, क्रोध, लोभ र मोहबारे हाम्रा धर्मभिरुहरुले बाँडेका ज्ञानका थैलिहरु शहर–नशहरबासीका मन–मनमा अमीट छ ।

पोहोर–परारको कुरो हो, शहरमा स्याल कराउँथ्यो । शहरमा नि स्याल काराउछ र ? भनेर नसोध्नुहोला । किनकी यो कुरा पोहोर–परारको हो ।

खेतका गरा–गरामा लह–लह अन्न झुल्थे, खेत पनि थियो र ? अन्न पनि झुल्थ्यो र ? कसरी झुल्थ्यो हँ ? भनेर नसोध्नु होला । किनकि यो कुरा पोहोर–परारको हो ।

अनि अर्को कुरा खेतका गरा भएको भए त्यहाँ के फल्थ्यो होला त भनेर देख्न नपाउनेहरुले ङिच्च हाँस्दै आफैँ पत्ता लाउन सक्नुहुनेछ । जे पनि जान्न मन लाग्नेलाइ ‘गुगल दाजु’को सहाराले तस्वीरबाट सबथोक थाहा पाउने अवसर त छँदैछ । हजुर्बाउका पालामा अन्न फलाउने शहरले बाउका पालामा घर फलाउन जान्यो ।अब तिमेर्का पालामा के फलाउछौँ ? आफैँ जान ।

था पाउलाउ ! तिमेर्का पालाँ त घर फलाउन नि गाह्रो हुनेछ । लौ, घर किन फलाउन पर्यो त नि भनेर चैँ मलाई नसोध्दै बेस हुन्छ । किनकि यो भनेर भन्नु जत्तिको बुद्धिमता मलाई अरु केही लाग्दैन ।

याम्बु अर्थात नेप्पाल । के भाषा हो यो भनेर सोध्नेले ‘गुग्ले’ हेरे भो । नत्र आफूभन्दा जान्ने तामाङ्गभाषी दाजुभाइ, दिदीबैनीलाइ सोद्धा नि हुन्छ । भाषा बिगार्यो भनेर भन्ने राष्ट्रवादी, भाषावादीले चैँ ऐना हेर्नुहोला ।

म शहरको कुरा गर्दै थिएँ । यो शहर लेखकको घरबाट असी किलोमिटर टाढा अवस्थित छ । शहरसँगै चिपिक्कै टाँसिएको जिल्लाका मान्छेले पनि यो शहरलाइ आदीमकालदेखि नेपालीभाषीले ‘नेप्पाल’ र तामाङ्गभाषीले ‘याम्बु’ उच्चारण गरेको यो ‘कनिकुथीकार’ लेखकलाइ प्रष्टै जानकारी छ ।

हाम्रो गाउँबाट ज्याला मजदुरी गर्न आउने हाम्रा पुर्खाका कुरालाइ आधार मान्ने हो भने यो शहरमा साँच्चै स्याल कराउँथ्यो । साँच्चै ! यो शहरमा धेरै अन्न फल्थ्यो । शहर शान्त थियो । शहरलाइ शहरजस्तै हुन केके चाहिन्छ ? त्यो त कनिकुथीकारलाई था’छैन तर शहर हुनका लागि शहर, शहर जस्तै हुनपर्छ ।

सबैको शहर हो यो । पूर्व, पश्चिउँ, उत्तर, दख्खिण सबैको । बराजु, बाजे, बाउ, हामी सबैको । उ बेलाँ पनि यो शहर नै थियो । यो बेलाँसम्म पनि यो शहर नै छ । बरु उबेलाँ गाउँ भएका ठाउँहरु यो बेला शहर भैसके तर यो शहर सधैँ शहरको शहर बनेर बसिरहेको छ । यसर्थ यो शहर भाग्यमानी छ । अब यो शहरमा बस्नेहरु चैँ भाग्यमानी कि केमानी छ आफैँ जान्नु होला ।

शहर प्रवेशका मुख्य दुर्इ नाका छन् । एउटा नागढुङ्गा, थानकोट हुँदै कलंकी र अर्को साँगा, भक्तपुर, जडीबुटी हुँदै कोटेश्वर । रसुवा, नुवाकोटबाट बालाजु बाइपास र सिन्धुपाल्चोकबाट साँखु, जोरपाटी, बौद्ध हुँदै चावहिल पनि सहायक नाकाका रुपमा छ ।

अँ, धनीमानी र गरीबमानी जे भए नि मजबुरीमा परेर आकाशमा उड्न बाध्य हुनेहरुको पनि अर्को नाका छ, ‘यार्पोट’को नाका । उडेर आउने नाका बाहेक अन्य उल्लेखित नाकाहरु अहिले चर्चाका सडकखण्ड हुन्, जहाँ तेस्रो विश्वका चामत्कारिक विकासे मोडेल देख्न पाईन्छ । शहर छिर्दै गर्दा हुने जुन कुतूहलता, जुन रहस्यमयता, जुन काल्पनिकता छन्, ति सबैसबै भावनाहरु एकाएक जुर्मुराउछन् ।

एक खालको आश्चार्यचकितम् भावले स्वागत गर्न तयार भएर लाइनबद्ध रहेका सवारी साधनका लामहरु। स्वागतार्थ बज्ने सवारी साधनका विभिन्न जातका ‘हरने बाजाहरु’ । वाह ! शहरी प्राकृतिक मनोरमको एक बिछट्टको उदाहरण ! यार्पोटको पनि कुरो त त्यै हो । जहाँबाट आएको भए नि हाम्रोमा आएपछि हाम्रै स्वभावको त हुनै पर्यो नि !

जताबाट प्रवेश गरे पनि सबैभन्दा पहिला तपाइलाई स्वागत् गर्ने भनेको शहरको जामले हो । जामले अगाडिपछाडि साइरनवालाको लामले सुरक्षा दिने बडाहाकीमको गाडी बाहेक जिन्दगीको जस्तोसुकै बिषम परिस्थितिमा बाच्न विवश बिरामीको एम्बुलेन्सलाइ पनि चिन्दैन ।

जो बिरामी भए नि जामलाई बाल ! एम्बुलेन्स भनेर हुन्छ, जामले नचिनेपछि कसरी अगाडी बढ्न पाउछ ? बडा कहीँ नभाको एम्बुलेन्स !

नेपालमा एम्बुलेन्सलाइ साइड दिन पर्छ भनेर यो सहरमा कस्ले भन्छ र ? शहरको नियम नै यही हो, शहर बसेपछि शहरको नियम नमानेर हुन्छ ?
जामसँगै यहाँको धूलोले पनि तपाईलाई बिस्तारै स्पर्श गर्छ ।

चोकचोकमा थुप्रिएका फोहोरका डंगुरले आफ्नो बास्ना सुँघाएर तपाईलाई अच्छा बनाउँछ । त्यसो हुँदा संविधानमा स्वच्छ वातावरणको हक भन्ने शीर्षकले खिसी गर्छ भनेर कल्पना पनि नगरे हुन्छ ।

सार्वजनिक सवारी साधनमा यात्रा गर्नु हुन्छ भने त झन् मुन्टो कोचेर सबैसँग च्यापिन पाउने तपाइको नैसर्गिक अधिकार सुरु हुन थाल्छ । बरु चन्दा उठाउन पाउने नैसर्गिक अधिकारको हनन् होला तर यसरी भेडाबाख्रा जसरी कोचिएर यात्रा गर्न पाउनु सँविधानले लेख्न छुटेको नयाँ मौलिक अधिकार हो, जुन यो देशको मै हुँ भन्नेले नि तपाईंहामीबाट खोस्न सक्दैन ।

लोकतान्त्रिक गणतन्त्र सँस्थागत् गर्नका लागि समाजवादोन्मुख सरकार व्यस्त भएको छ । शहरका खाल्डाखुल्डी पुर्ने, फोहोरका डंगुर हटाउने, सार्वजनिक यातायातलाई व्यवस्थित गरि यात्रुका सास्तिलाइ सहजतामा बदल्ने, नागरिकको सुविधालाइ ध्यान दिने, नागरिकलाइ बढि भन्दा बढि सुविधा दिने जस्ता ससाना काम गर्ने फुर्सद सरकारलाई नभएको मौका छोपेर केहि लटरपटरेहरु बिथ्थामा हल्ला गर्छन् ।

सरकारले रेल ल्याउँदै छ । देशमा पानीजहाज आउँदै छ । केहि दिनमा नै हाम्रो आफ्नै भूउपग्रह हुनेछ । भूमिसुधार मन्त्रालयले जग्गा बाँझो राखे कार्वाही गर्दैछ । श्रममन्त्रालयले जापानमा काम गर्न जान पाउने अवसर सुनिश्चित गर्दै छ । जग्गा बाँझो राखे भूमीसुधार मन्त्रालयले कार्वाही गर्ने भन्ने र युवालाई जापान जाने अवसर एउटै सरकारको द्वैध तरिका कम्ता काइदाको छैन !

शहरको सडक जामले भरिएको छ भने यस्ता निर्णय गर्ने सरकारको कामनै जाममा परेको हुनसक्छ भनेर अनुमान लाउन किन ढिलो गर्नु अब ? सरकारको काम पनि जाममा पर्यो भन्ठानम्, चुपो बसम् ।

विरोध गर्ने र समर्थन गर्ने काम जनताको हैन । जनताको काम त चुनाउको दिन भोट हालेपछि सकियो । अब अर्को चुनाउ नआउन्जेल नेतालाइ जनताको के मतलव ति माथि नेताले जनताको ठेक्का पनि त लिएका होइनन् । सरकारले जे गरे पनि चुपचाप सहनुपर्छ, नसके नसहे पनि हुन्छ । तर सरकारलाई गाली गर्न पाइन्न ।

लोकतान्त्रिक व्यवस्थामा सरकारको आलोचना गर्नु त महाभुल गर्नु हो । यसो गर्दा सरकार कमजोर हुन्छ । देश कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ । उखान कमजोर हुन्छ । टुक्का कमजोर हुन्छ । यि कुरा नसुन्नेका कान कमजोर भएका हुन सक्छन् त्यसैले कान जचाउन पर्छ । तर सहरको जाम कहिले पनि जाच्न हुन्न । सहरको धूलो कहिल पनि जाच्न हुन्न ।

यो सब देख्ने, भोग्ने बानी लगाउनुस् । यसो गर्दा आस्चार्जे नलागोस् । ताज्जुप नलागोस् । अचम्म नलागोस् । जय होस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *