नाम खोज्ने उपन्यास- नाम

   नयाँ दैनिक comment 0

कास्कीको देउरालीमा जन्मिएर उच्च शिक्षाका लागि पोखरा झरेका नवराज बराल पोखरेली पत्रकारिताका क्षेत्रमा परिचित नाउँ हो । ‘आदर्श नेपाल’ राष्ट्रिय दैनिकको प्रधान सम्पादक भएर काम गरिसकेका बरालले सम्पादकीय र अन्य लेखहरुबाटै आफ्नो लेखनलाई तिखार्दै अहिले आफूलाई उपन्यासकारका रुपमा उभ्याउन पुगेका छन् । साहित्यिक कर्म गर्नेहरुका लागि पत्रकारिता एउटा भरपर्दो माध्यम बन्दै आएको छ । आजका कतिपय चर्चित कवि–लेखकहरु पनि पत्रकारिताकै माध्यमबाट साहित्यको क्षेत्रमा देखा परेको पाइन्छ । साहित्यको उत्थान र विकासका लागि साहित्यिक पत्रिकाले मात्र होइन समाचार पत्रिकाले समेत टेवा प्रदान गर्दै आएको देखिन्छ । साहित्यिक स्तम्भबाट मात्र होइन अन्य स्तम्भ, समाचार र सम्पादकीय लेखनले पनि लेखन–शिल्प बढाउँदै साहित्यिक कर्मका लागि मार्ग प्रशस्त गरेको हुन्छ । नवोदित लेखकका लागि मात्र होइन स्थापित साहित्यकारहरुका लागि पनि पत्र–पत्रिका रचना–प्रकाशनको महत्वपूर्ण माध्यम बनेको हुन्छ । पत्रिकामा लेखिने टिप्पणी, छोटा लेख र सम्पादकीय लेखहरु बढी वस्तुपरक हुने हुँदा विस्तृत अनुभूति र भावनाको प्रस्तुतिका लागि छुट्टै साहित्यिक कृति अपेक्षित हुन्छ । अनुभूतिको यस्तै विस्तृत प्रस्तुतिका लागि पत्रकार नवराज बरालले ‘नाम’ शीर्षकको करिव साढे तीनसय पृष्ठको उपन्यास प्रकाशन गरेका छन् ।

अहिले नेपालमा वर्षेनी तीन हजारको सङ्ख्यामा विभिन्न पुस्तकहरु प्रकाशन हुन्छन् । सङ्ख्याको दृष्टिले यो निकै ठुलो हो तर गुणात्मक वा स्तरीयताको दृष्टिले भने तिनको राम्ररी मापन हुन सकेको छैन । लेखन र प्रकाशनका दृष्टिले समेत कविता नै सदैव पहिलो स्थानमा आउने भएपनि चर्चा र लोकप्रियताको दृष्टिले यतिखेर उपन्यास नै अगाडि रहेको पाइन्छ । कविता सिर्जनाको उर्वर भूमि मानिने पोखरा र सिङ्गो गण्डकी प्रदेशमै पनि कविताको अनुपातमा गद्य कृतिहरु (आख्यान र गैरआख्यान दुवै) निकै कम लेखिने र छापिने गरेका छन् । अझ पछिल्लो समयमा त गैर आख्यानात्मक कृतिको स्थिति निराशाजनक नै देखिन्छ । ‘गद्यं कविनाम् कसिनाम् वदन्ती’ भनेझैं गद्य नै कविहरुको कसी हो । तर बढी साधना र धैर्यता चाहिने भएकाले नवोदित कविहरु गद्यमा र अझ गैर आख्यान क्षेत्रमा हात हाल्न सितिमिति अघि सर्दैनन् । यतिखेर उपन्यास लेखनको लहरले पोखरालाई पनि छुन थालेको र फाटफुट रुपमा केही उपन्यास कृतिहरु निस्कन थालेको स्थितिमा नवराज बरालको ‘नाम’ उपन्यास निस्कनु अवश्य पनि सकारात्मक कार्य हो ।

जम्मा आठ परिच्छेदमा विभाजित यस उपन्यासको विषयवस्तु मूलतः वैचारिक रहेको छ । सामाजिक र राजनीति सन्दर्भहरु समेटिएको यो उपन्यास ‘म’ अर्थात् कवल नामक पात्रकै केन्द्रीयतामा अघि बढ्छ । उपन्यासको सुरुवात ‘म’ पात्रको मन्त्रीपदमा शपथग्रहण सन्दर्भबाट सुरु हुन्छ । त्यहाँ ‘म’ पात्र अर्थमन्त्रीका रुपमा र उसको राजनीतिक गुरु अविरलले गृहमन्त्रीमा शपथ लिइरहेका हुन्छन् । लामो समयको अन्तरालमा एक्कासी शपथग्रहण समारोहमा एकअर्कालाई देख्दा दुवै खुसी र आश्चर्यमा पर्छन् अनि ‘म’ पात्रले आफ्ना विगतका घटना–सन्दर्भहरु केलाउन थाल्छ ।

उसको बाल्यकाल अत्यन्त दुःख र अभावका वीच गुज्रिएको हुन्छ । अभावकै वीच एस.एल.सी. प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न पोखराको पृथ्वीनारायण क्याम्पसमा आउँछ र विज्ञान विषय पढ्न थाल्छ । यसै बेलादेखि अविरलसँग चिनजान हुन्छ र उसकै प्रभावले क्रान्तिकारी पार्टीमा संलग्न हुँदै आफ्नो क्षमता र योग्यता देखाउन पुग्छ । पार्टीमा लागेपछि उसले पढाइ पूरा गर्न सक्तैन । उसको इमानदारिता र क्षमता देखेर पार्टी नेतृत्वले सचिवालयमा काम गर्न बोलाउँछ तर नेताको पि.ए.ले उसप्रति ईश्या गर्दै पन्छाउन खोज्छ । उसलाई हटाउन षड्यन्त्र गर्छ र त्यहाँबाट हटाइन्छ । जिल्लाको पार्टी बैठकमा गलत प्रवृत्तिको भण्डाफोर गर्दा ऊ पार्टीबाट समेत निकालिन्छ । यसरी आफूले रोजेको र काम गरेको पार्टीको रवैवा, त्यहाँभित्र हुने गलत परिपाटी, भ्रष्ट र दलालहरुले पार्टी कब्जा गरेको अवस्था, इमानदार कार्यकर्ताहरु पाखा पर्ने स्थितिको पनि उपन्यासले उजागर गर्न खोजेको छ ।

उपन्यासले एकातिर पछिल्लो राजनीतिक गतिविधि विशेषतः साठीको दशकपछिको पार्टीहरुको अवस्था, त्यहाँ भित्रको विसङ्गति र टुटफुटको सन्दर्भ पनि अघि सारेको छ भने अर्कातिर गाउँको अवस्था, गरिवी र कष्टप्रद जीवनका बारेमा पनि यथार्थ चित्रण गर्न खोजेको छ । मुख्य पात्र ‘म’ अर्थात् कवललाई उसको बाबु, आमा र छिमेकी लाहुरेले समेत ‘पैसा कमाएर ठूलो भइँदैन, ठूलो कुरा देश र जनताका लागि केही गरेर नाम कमाउनु हो । इमानदारिपूर्वक जनताको काम गरेर नाम कमाउनु पर्छ’ भन्छन् । उपन्यासको मुख्य पात्र वा नायकलाई त्यो भनाइले भित्रैदेखि छुन्छ र ऊ आखिरमा गएर नाम राख्ने कार्य गर्न गाउँको सेवामा लागिपर्छ ।

उपन्यासको नायक कवलको पारिवारिक स्थिति ज्यादै नाजुक हुँदै गएको हुन्छ । एउटा दुर्घटनामा परी मृत्युको मुखमा परेका बाबुलाई ऋण गरेर काठमाडौं ल्याई उपचार गरिन्छ, बहिनीले गाउँकै तल्लो जात भनिने व्यक्तिसँग प्रेम गर्छे, ऊ ऋणबाट मुक्त हुने उपाय खोज्दै अरव पुग्छ र उतै बिरामी हुन्छ । छोरा अरवमा बिरामी भएको र छोरीले तल्लो जातको व्यक्तिसँग बिहे गरेको चोटले आमाले आत्महत्या गर्छिन् । बाबु घरमा बस्न नसकी भारत पस्छन् । यसरी एकातिर राजनीतिक नेताहरुमा आएको विकृति, भ्रष्टता, विलासी जीवनशैली, गुट निर्माण र वर्ग परिवर्तन अनि अर्कातिर गाउँमा बस्ने आम मानिसहरुको अवस्था, विशेषतः गरिवी र अभावको कष्टपूर्ण स्थितिलाई उपन्यासमा यथार्थ रुपमा चित्रण गरिएको छ ।

अरवबाट फर्केपछि बाबुलाई लिएर आएको, गाउँका बेरोजगार युवाहरुलाई जम्मा गरेर सामूहिक रुपमा तरकारी खेती, बाख्रापालन आदि व्यवसाय गर्दै राम्रो आम्दानी गरी फाइदा भएको रकमले गाउँमा विद्यालय, अस्पताल, छात्रवृत्ति कोष, वृद्धभत्ता, बाटो निर्माण जस्ता विकास र समृद्धिमा सहयोग पु¥याएको अनि त्यसबाट उत्साहित जनताले उसलाई संसदमा निर्वाचित गराई मन्त्रीसम्म बनाएको र मन्त्री बनेपछि देशको विकास र जनताको समृद्धिका लागि थुप्रै योजनाहरु अघि सारी त्यसको सफलतापूर्वक पूरा गरी आफ्नो नाम राखेको देखाउँदै उपन्यास टुङ्याइएको छ ।

साठीको दशकपछिको नेपालको राजनीतिक परिवेश र पोखरा–लेखनाथका गाउँहरुको ग्रामीण परिवेशमा लेखिएको यो उपन्यासले पोखरा वरपरका गाउँ, त्यहाँको जनजीवन र अवस्थालाई जीवन्त रुपमा चित्रण गरेको छ— ‘‘उकालो बाटो । जङ्गलको बीचमा टिनले छाएको धन्सार जस्तै ठाँटी । नजिकै पानी नआउने धारो । आडैमा सानो चौतारी । चौतारीमाथि वरपीपलका हुर्कौला बिरुवा । सुनसान, केही परे गुहार पनि नपाइएला जस्तो । चराको चिरबिर । पहेंलिन नभ्याएको रातो घाम । असाध्यै खेलुवा ढुङ्गा …।’’ आफ्नो उपचारमा थुप्रै ऋण लागेको बुझेपछि बाबु आँसु चुहाउँदै छोरासँग भन्छन्— ‘‘तेत्रो खर्च अरेर क्यार्न ल्याउनपर्तो मलाई । अव त जान द्या भे भैहाल्तो नि । ऋण क्यारेर तिर्चस् ? कति लाग्यो भन्त ?’’ बाबुलाई आफू बाँच्न सकेकोमा कुनै खुसी लाग्नुभन्दा छोरालाई ऋण लागेकोमा बढी चिन्ता छ । बाबुको पुत्र–वात्सल्यको यो अभिव्यक्ति ज्यादै मार्मिक र यथार्थपरक लाग्छ । गाउँको परिवेश चित्रणमा आउने कुराहरु यथार्थपरक लाग्छन् भने राजनीतिक सन्दर्भका कुरामा नेताहरु भ्रष्ट र दलालहरुसँग रक्सी पिएर बसेको, नेताका पि.ए.र सहयोगीहरु नितान्त स्वार्थी र संकीर्ण भएको अनि पार्टी बैठकमा सही कुरा राख्दा कार्वाही भोग्नुपरेका कुराहरु यथार्थपरक लागेपनि ‘म’ पात्रको जनयुद्धमा भएको संलग्नताको सन्दर्भचाहिँ त्यति स्वाभाविक जस्तो लाग्दैन ।

उपन्यासले हेर्दा सामान्य लाग्ने तर हाम्रो व्यावहारिक जीवनमा अत्यन्त महत्व राख्ने कुराहरुलाई पनि महत्वका साथ उठान गरेको छ । समाजमा सबै खरावै खराव मात्र छैनन् असल र राम्रा व्यक्तिहरु पनि छन् भन्ने कुरा यहाँ सन्दर्भसहित देखाइएको छ भने मानिसका आडम्वरी र ढोंगी प्रवृत्तिलाई पनि देखाइएको छ । उपन्यासको सुरुदेखि नै यथार्थ पात्रका रुपमा देखिएको नायक कवल अर्थात् ‘म’ पात्र अन्त्यमा गएर आदर्शवादी बन्न पुगेको छ । अरव गएर आएपछि गाउँका युवाहरुलाई जम्मा गरेर सामूहिक खेती गर्ने कुरा स्वाभाविक र यथार्थ भएपनि एक–एक हजार उठाएर ठुलो परिमाणमा तरकारी खेती गरी छोटो अवधिमै लाखौं नाफा गरेको र केही वर्षमै थुप्रो नाफा कमाएर गाउँमा शिक्षा, स्वास्थ्य, बाटो जस्ता कार्यमा खर्च गरेर प्रशंसा कमाएको अनि त्यही आधारबाट चुनाव जितेर मन्त्रीसमेत बनी देशलाई विकास र समृद्धिको दिशामा लगेको देखाउनु अति आदर्शवादी देखिन्छ ।

सामाजिक र राजनीतिक सन्दर्भसँगसँगै उपन्यासले प्रेमको सन्दर्भलाई पनि समेटेको छ । ‘म’ पात्रले सुरुमा स्कुले जीवनमै कल्पना नामकी केटीसँग प्रेम गर्छ, त्यसपछि दोहोरी गाउँदा परिचय भएकी मनिषा नामकी केटीसँग र त्यसपछि पोखराकी कजनासँग प्रेम गर्छ । कजनासँगको प्रेम केही स्वाभाविक र परिपक्व जस्तो लागेपनि त्यसलाई पनि स्वाभाविक परिणाममा पुग्न दिइएको छैन । त्यसैले पे्रमको सन्दर्भले आवश्यक परिपाक पाउन सकेको छैन । राजनीतक सन्दर्भसँग सामाजिक÷पारिवारिक सन्दर्भमा पनि अलि बुनाइ नपुगेको जस्तो लाग्छ । घटना, पात्र र परिवेश उपयुक्त र स्वाभाविक भएपनि घटनाको स्वाभाविक विकास र संयोजनमा त्यति ध्यान नपुगेकोे देखिन्छ ।

उपन्यासमा प्रस्तुत विषयगत पक्षहरुलाई हेर्दा सामाजिक सन्दर्भ यथार्थपरक र राजनीतिक सन्दर्भचाहिँ आदर्शपरक रहेको देखिन्छ । उपन्यासको भाषा स्तरीय भइकन सरल रहेको छ र पात्रहरुको संवादमा पाइने पश्चिमा भाषिकाको प्रयोग पनि स्वाभाविक देखिन्छ । उपन्यासमा प्रयुक्त वाक्य र त्यसको आञ्चलिकताले अझै मिठास थपेको महसूस हुन्छ ।

लेखकको पहिलो कृति भएपनि शैलीगत प्रौढता, भाषिक सरलता, जीवन्त परिवेश, यथार्थ पात्र र सामाजिक–राजनीतिक विषयले उपन्यास पठनीय रहेको छ ।

साढे तीनसय पृष्ठ ओगटेको, सुन्दर आवरण र स्तरीय छपाइ रहेको प्रस्तुत पुस्तकको मूल्य पनि बजार भाउ अनुसार स्वाभाविक लाग्दछ ।

लेखक प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *