निजीकरणका विरुद्ध निरन्तर लड्छौँ : सिंह

‘किनबेच हुनेहरु संस्था र संगठनका नामका कलंक हुन्’
   नबराज बराल comment 0

सत्तारुढ दल नेकपा निकट अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष हुन्– पञ्चा सिंह । माध्यमिक तहको औपचारिक शिक्षा पूरा नगर्दै उनी जनयुद्धमा होमिइन् । बि.स.२०४३ साल मंसिर २० गते सिम्खेत–४, कालीकोटमा जन्मिएकी सिंहले शान्तिप्रक्रियामा आएपछि बल्ल रोकिएको औपचारिक शिक्षालाई निरन्तरता दिएकी हुन् । इतिहासमा स्नाकोत्तर गरिसकेकी नेतृ सिंह भन्छिन्, ‘नयाँ छलाङ अभियानमा जुम्ला पुगियो, त्यतिबेलैबाट पूर्णकालीन भएँ अनि पढाई त त्यस्तै भो ।’

उनका बाबु देव प्रा.वि., ओदाका प्र.अ. थिए । बाबुले पढाउने विद्यालयबाटै उनले नेपाली र अंग्रेजी शब्दहरु सिकेकी हुन् । उनका सहपाठी साथी पनि जनयुद्धमा सानै उमेरमै होमिएका रहेछन् । उनले जानकारी दिईन्, ‘दुई जना सहिद हुनुभयो । एक जना समायोजनमा गएर क्याप्टेन हुनुहुन्छ । अरु त राजनीतिमा सक्रिय हुनुहुन्न ।’

पूर्णकालीन भएलगत्तै उनी अखिल (क्रान्तिकारी)को जुम्ला र काटीकोटको जिल्ला सदस्य बनिन् । सचिवालय सदस्य हुँदै ०६० सालमा कोषाध्यक्षको जिम्मेवारी मिल्यो उनलाई । ०६२ मा अध्यक्ष बनिन् ।

जुम्ला र कालीकोटको एक–एक कार्यकाल अध्यक्ष भएपछि ०६३ को १७ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य तथा कर्णालीको इन्चार्ज जिम्मेवारी मिल्यो उनलाई । केन्द्रीय समितिको विस्तारित बैठकबाट सचिवालय सदस्य बनिन् । १८ औँ राष्ट्रिय सम्मेलनपछि भेरी कर्णालीको संयोजक रहेर सुदुर पश्चिमको विद्यार्थी आन्दोलनको नेतृत्व गरिन् । ०६६ मा विद्यार्थी संगठनकै नेता केशव शाहीसँग प्रेम सम्बन्धमार्फत उनको लगनगाँठो कसियो ।

त्यसपछि पार्टी फुटको तितो क्षण सम्झँदै उनी भन्छिन्, ‘प्रदेश इन्चार्ज लगायत सिनियर नेताहरु नै पार्टीभित्र पार्टी बनाउन लाग्नुभयो । अनि पार्टीमा गति नै पैदा भएन ।’ पार्टी विभाजन भए पनि विद्यार्थी संगठनमा त्यति असर नपरेको उनले दावी गरिन् ।

जुम्ला र पिली आक्रमणमा आफैँ सहभागी थिइन् सिंह । जुम्लाको आक्रमणमा हारेर फर्किंनुपर्दाको उनले पीडा पोखिन् ‘४० जना जति साथी घाइते हुनुभो, ९ जना सहिद । एक जना कमरेड लुक्न गोठभित्र छिर्नुभएको गोठ नै जलाइदिए । गोठभित्र जल्दाखेरि साथी कराएको आवाज अहिले पनि कानमा गुञ्जिरहन्छ ।’

जुम्लाको साविक ताम्ती गाविसको सापुल्लीको घटना थियो त्यो । राज्य पक्षले जंगलमा समेत हेलीबाट आक्रमण गरेपछि उनी दुर्गुदै गोठभित्र छिरेका रहेछन् ।

पीलीमा आक्रमणमा पनि स्वास्थ्य युनिटमा बसेर उनले सक्रिय भूमिका खेलेकी थिईन् । खुसी हुँदै उनले भनिन्, ‘चाँडै नै जितेर चाँडै नै फर्कियौँ । लडाईं जित्नुको मज्जा बेग्लै हुँदो रहेछ ।’

सत्रौँ राष्ट्रिय सम्मेलनमा मात्रै उनी काठमाडौँ आएकी हुन् । रमेश मल्ल संगठनको अध्यक्ष हुँदा उनी सचिव बनिन्, नरेन्द्र न्यौपानेको नेतृत्वमा उपाध्यक्ष । १९ औँ राष्ट्रिय सम्मेलनमा उनी पुःन उपाध्यक्षमा निर्वाचित भएर प्रशिक्षण विभाग प्रमुखको भूमिकामा समेत छिन् ।

सुदुरपश्चिमबाट संघर्ष थालेर हाल विद्यार्थीको नेतृत्वदायी भूमिकामा रहेकी नेतृ पञ्चा सिंहसँग आगामी फागुण १४ गते हुने स्ववियु चुनावबारे हामीले छलफल गरेका छौँ । प्रस्तुत छ, उपाध्यक्ष सिंहसँगको संक्षिप्त अन्तर्वार्ता :

 

निर्धारित मितिमै स्ववियु चुनाव हुन्छ त ?

हुन्छ । विद्यार्थीको साझा संस्था स्ववियुको निर्वाचन अति महत्वपूर्ण छ । स्ववियुको निर्वाचनसँग सबै शैक्षिक सरोकारवालाहरुको चासो छ । फागुण १४ ले विद्यार्थीको भविष्यको फैसला गर्दछ ।

विद्यार्थी संगठनको आन्तरिक विवादको कारण चुनाव हुन गाह्रो छ भन्छन् नि, के हो ?

संगठनभित्र विवाद हिजो पनि थियो, आज पनि छ । भोलि पनि होला । तर, हाम्रा आन्तरिक कारणले चुनाव हुन नदिनु हुँदैन ।

तपाईंहरु भित्रकै आन्तरिक भागवण्डा कसरी मिलाउनुहुन्छ ?

पार्टी एकता भैसके पनि हाम्रो संगठनको एकता प्रक्रिया पूरा भैसकेको छैन । कार्यदलले पनि काम गर्न सकेन । यो अवधिमा ४९/५१ गरेर जाने भन्ने समझदारी भएको छ । कतिपय ठाउँमा उम्मेदवारको व्यक्तित्व हेरेर पनि निर्णय लिनुपर्ने हुन सक्छ । यो हामी समझदारीबाटै टुंग्याउँछौँ । हाम्रोबीचमा छलफल भैरहेको छ, विवाद छैन ।

कतिवटा क्याम्पसमा हुँदैछ स्ववियु चुनाव ?

त्रिभुवन विश्वविद्यालय अन्तर्गत ६१ वटा आंगीक कलेजमा चुनाव हुँदैछ । सम्बन्धन प्राप्तमा पनि गर्नुपर्छ भनेर छलफल चलिरहेको छ ।

तपाईंको आफ्नै आन्तरिक प्यानललाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

चुनावमा नचाहाँदा नचाहँदै प्यानलजस्तो बनेको सत्य हो । त्यो हाम्रो भन्दा पनि नेताहरुकै कमजोरी हो । पार्टीको संस्थागत निर्णय भने केही थिएन । चुनावपछि ठीक ढंगले व्यवस्थापन हुन नसक्दा गुट संस्थागत भैरहेको तितो अनुभूति पनि हामीसँग बाँकी नै छ । यसमा हामीले भन्दा पार्टीको नेतृत्वले ध्यान दिनुपर्छ ।

अहिले पनि ‘बासी’ एजेण्डा लिएर जाने हो चुनावमा ?

एजेण्डा बासी र साजी हुँदैनन् । कार्यान्वयन नहुँदासम्म हरेक एजेण्डा साजी र तत्कालीन ‘इस्यु’ भैरहन्छन् । हामी निजीकरणका विरुद्ध निरन्तर लड्छौँ । एजेण्डा कार्यान्वयनको चरणमा पनि हामी गएका छौँ । सरकारलाई समेत हामीले झक्झक्याएका छौँ । हाम्रो सुझाव लिएरै शिक्षामन्त्रीले अहिलेको नियमावली ल्याउनुभएको हो । यत्ति नै पर्याप्त छैन, हामी निरन्तर संघर्षमा छौँ ।

संघर्ष–संघर्ष भन्नुहुन्छ, शैक्षिक संस्थामा भागवण्डा पनि भैरहेकै छ, किन ?

भागवण्डाले विकृति ल्याएको छ, यो अन्त्य गर्नुपर्छ । त्यसैले पनि संघर्ष भन्न र गर्न छोड्नै हुन्न । विश्वविद्यालयका उपकुलपति, रजिष्टार, रेक्टर र विद्यालयका प्र.अ धरी भागवण्डा गर्दै जाने हो शिक्षामा केही हुनेवाला छैन । परिचालन संयन्त्र बनेको छ तर तरिका गलत छ । भागवण्डाको परिपाटीले दक्ष जनशक्ति उत्पादन गर्दैन । यो अस्थिरताको उपज पनि हो । अब राज्य बलियो हुँदैछ । विश्वविद्यालय पनि आफैँमा बलियो हुँदैछ । अब राजनीतिक पृष्ठभूमिका आधारले शिक्षाको आवश्यकता हल गर्दैन । शैक्षिक संस्थामा योगदान र क्षमताको आधारमा जिम्मा दिनुपर्छ, राजनीतिक भागवण्डा गर्नु ठीक हुँदै होइन । भागवण्डाको विरुद्ध हामी निरन्तर उभिएका छौँ ।

सम्बन्धन लेनदेनमा विद्यार्थी/पार्टीको नेताको चलखेल रोक्न सक्नुहुन्छ त ?

पछिल्लो समय टियु र एफयु ले एफिलेसन दिएको विषयमा अलि बढी पैसाको लेनदेन भयो भन्ने हल्ला ब्याप्त नै छ । यस्तो भएको भए गलत हो । सस्थागत रुपमा हाम्रो संगठनमा पैसा आएको पनि छैन । कसैले ब्यक्तिगत रूपमा लिएको छ भने त्यो भ्रष्टाचार र नाजायज काम हो । पछिल्लो समय सरकारको निर्णय विपरीत विभिन्न बाहना बनाएर एफिलेसन दिने काम भैरहेका छन्, यसले शैक्षिक दलालहरु हावी हुँदैछन् भन्ने पुष्टि गर्दछ । यो अवस्था रोक्न पर्छ भन्नेमा हाम्रो ध्यानाकर्षण भएको छ ।

निजी कलेजलाई एफिलेशन दिनुहुँदैन भन्ने हाम्रो संगठनको आधिकारीक नीति हो । हामी नीतिको पक्षमा र निजीकरण विरुद्धको आन्दोलनको पक्षमा छौँ । निजीकरण विरोधी आन्दोलनमा हाम्रो ऐक्यवद्धता रहन्छ । लोभी–पापीहरु बिक्छन् तर सबै लोभी–पापी छैनन्, हुँदैनन् । कसलाई किने र को बिक्यो त्यो तिनको कुरा हो । किनबेच हुनेहरु संस्था र संगठनका नामका कलंक हुन् ।

डा.गोविन्द केसीको आन्दोलनमा समर्थन हो कि विरोध ?

चिकित्सा क्षेत्रमा उहाँले आफ्नो व्यक्तित्व गुमाउँदै जानुभयो । उहाँको आन्दोलन विस्तारै राजनीतिकरण हुँदै कांग्रेसीकरण हुन थाल्यो । उहाँको नियती माथि शंका छ । द्वन्द्वको विषय उठाउने उहाँले होइन । उहाँको मुद्दासँग द्वन्द्वको विषय कत्ति मेल खाँदैन । उहाँ गलत दिशामा गैराख्नुभएको छ । हुँदाहुँदै कांग्रेसको कार्यकर्ताजस्तो देखिनुभयो । तसर्थ उहाँको अभियानलाई अब गलत छ भन्नुपर्छ । आजबाट केसी प्रवृत्तिको अन्त्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *