निजीकरणको विरोधमा रामपुरका विद्यार्थीहरू फेरि आन्दोलित

   नयाँ दैनिक comment 0

फाल्गुण २६, चितवन । निजीकरणको विरोधमा रामपुर, चितवनका विद्यार्थीहरु फेरि आन्दोलित भएका छन् । विश्वविद्यालयले गत असार २० गते ८ वटा कलेजमा निजी सम्बन्धन दिने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए । सम्बन्धन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट हालेपछि फैसला कुरेर बसेका विद्यार्थीहरु प्रशासनले अटेर गरेर प्रक्रिया अगाडि बढाएपछि पुनः आन्दोलनमा उत्रिन वाध्य भएका हुन् ।

गत सालको भदौ २ गते तत्काल सम्बन्धन प्रक्रिया पूर्ण रुपमा स्थकित गर्ने र सरकारले तोकेका ११ ओटा आङ्गिक कलेजहरु स्थापना गर्ने भन्ने सहमति भए पनि वर्ष दिन नपुग्दै विश्वविद्यालय प्रशासनले सहमति तोडेकाले आन्दोलन गर्नुपरेको विद्यार्थी संगठनले दावी गरेका छन् । सम्बन्धन प्रक्रियाबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ ।

विश्वविद्यालयका उपकुलपतिले सूचना निकालेपछि कलेजहरुले अस्थायी सम्बन्धन मात्र पाएका छन् । कक्षा सञ्चालनको अनुमति नभए पनि केही निजी कलेजले जवर्जस्त भर्ना गराएको विद्यार्थी संगठनको आरोप छ । नयाँ शैक्षिक सत्रका लागि कृषि संकायले पौष १४ गते लिएको प्रवेश परीक्षाबाट विद्यार्थी भर्ना गराएकाले अहिले विद्यार्थीको विचल्ली भएको विद्यार्थी संगठनले दावी गरेका छन् ।

नयाँ क्याम्पसले सम्बन्धन पाइनसकेको र मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले नयाँ भर्ना नगर्न, कलेज नजान र भर्ना भएकाले पैसा फिर्ता माग्न विद्यार्थी र अभिभावकलाई आग्रह गरिएको अखिल (क्रान्तिकारी) विश्वविद्यालय समितिका अध्यक्ष विवेक पौडेलले जानकारी दिए ।

अखिल (क्रान्तिकारी)का सचिव दिनेश पौडेलले भने, ‘निजि सम्बन्धनको विरोध गरेकै कारण सरकारले समेत विश्वविद्यालय अनुदान आयोग मार्फत कृषिमा ५० र भेटेरिनरीतर्फ ३० जना विद्यार्थी मासिक ६००० छात्रवृत्ति सहित निःशुल्क भर्ना गर्न भनेको छ । सोही अनुरुप कृषि संकायले भर्खरै पुनः तिनै ५० जना विद्यार्थी भर्ना गराउन अनलाइन आवेदन फारम खुलाएको छ, जुन कुराले सरकारले समेत समाजवादी शिक्षाको बाटोमा पाइला अघि बढाएको देखिन्छ ।’

सर्वोच्च अदालतमा निजी कलेजहरुको तर्फबाट हालेको मुद्दाको अन्तिम फैसला चैत्र १८ गते हुने बताइएको छ । शनिबार पनि विद्यार्थी संगठनहरुले कृषि संकाय डिन कार्यालय अगाडि विरोध जुलुस र कोणसभा गरेर निजिकरणको विरोध गरेका थिए ।

नेवि संघ रामपुर इकाइ सभापति संयम पण्डितले निजी क्याम्पसले जवर्जस्ती भर्ना गराएका विद्यार्थीहरुलाई सरकारले निःशुल्क पढाउन भने पश्चात् खोलिएको नयाँ फारम भरेर केन्द्रीय कलेजमै प्रतिष्पर्धा गरेर नाम निकालेर पढ्न निजी कलेजमा भर्ना भएका विद्यार्थीलाई आह्वान गर्न विरोध सभा राखिएको जानकारी दिए । अनेरास्ववियु रामपुर इकाइ कमिटी अध्यक्ष सन्तोष खतिवडाले विद्यार्थी संगठनहरुले निजी सम्बन्धन खारेज नभएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

सम्बन्धनको विरोधमा अहिले पनि विश्वविध्यालयको केन्द्रीय कार्यलय र प्रशासनिक काम ठप्प छन् । विद्यार्थीको तर्फबाट अखिल (क्रान्तिकारी) विश्वविद्यालय समितिका उपाध्यक्ष अमृत श्रेष्ठ र अनेरास्ववियुका विभोर गौलीले निजी सम्बन्धन संविधानको मर्म, विगतको सहमति विपरित र त्रुटिगत छ भन्दै खारेजीको माग गर्दै सर्वोच्चमा दर्ता गराएको मुद्दाको सुनुवाई सरेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *