साउन २, काठमाडौँ ।मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार नियमित पत्रकार सम्मेलनको आयोजना गरियो । सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, ‘विप्लब समुहसंग वार्ताका लागि सरकार सदवै तयार छ तर, दाउपेच, शक्ति सञ्चयका लागि वार्ता हुुँदैन ।’मन्त्री बास्कोटाले अनुचित, गैरजिम्मेवार, असंवैधानिक मागमा वार्ता नहुने बताउँदै सिके राउतकोझै शान्तिपूर्ण राजनीति गर्ने प्रतिवद्धता सहित स्पष्ट भएर आए वार्ता गर्न तयार रहेको बताए । साथै कमजोर धरातलमा उभिएर वार्ता–वार्ता भनेर मात्रै नहुने मन्त्री बाँस्कोटाले स्पष्ट पारे। ‘उहाँहरुको अनुचित गैरजिम्मेवार, असम्भव मागहरुको सम्बोधन हुँदैन,’उनले भने,‘तर उहाँहरु नितान्त सिके राउतको झै हामी शान्तिपूर्ण राजनीतिमा पार्टी दर्ता गरेर प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ आए राष्ट्रिय अखण्डता, लोकतन्त्रको हकमा त प्रश्न उठ्दैन होला? ’सञ्चार तथा सूचनाप्रविधी मन्त्री गोकुल बास्कोटाले बिहीवार पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका हुन् । मन्त्री बास्कोटाले विप्लव समूहलाई वार्तामा आउन भनिरहेको बताउँदै जेलमा राखिएका मान्छे छोड्दै उनीहरुको शक्ति सञ्चयका लागि वार्ता नहुने बताए । उनले भने, ‘वार्ताका लागि मान्छे छोड्नुपर्ने भन्ने हुँदैन । ५२ सालदेखि ६२ सालसम्म के भयो ? वार्ता गर्ने, छोड्ने फेरि शक्ति सञ्चय गर्ने ? फेरि त्यसकै दुस्चक्रमा फर्किने ? त्यसमा सरकार सचेत छ ।’ साथै उक्त सम्मेलनमा मन्त्रि परिषदका पछिल्ला निर्णयहरु पनि सार्वजनिक गरिएको थियो ।