नेपालमा फेरि युद्ध सम्भव छ ? (विश्लेषण)

   नबराज बराल comment 0

यतिबेला सर्वत्र चर्चा छ, नेत्रविक्रम चन्द ‘विप्लव’को । चर्चासँगै उनी सबैभन्दा जोखिममा पनि छन् । किनकि उनले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सरकारले प्रतिवन्ध लगाएको छ । प्रचलित कानुन अनुसार पक्राउ परे भने उनलाई जन्मकैदको सजाय हुने छ ।
विप्लवका नेता/कार्यकर्तालाई जहाँ देख्यो त्यहीँ घुँडामुनि गोली हान्ने सरकारको आदेश छ । निशाना मिलेन भने गोलीले घुँडा तल र माथि छुट्याउँदैन ।

गोली खाने र जेल जाने भएपछि विप्लव र उनका कार्यकर्ता पनि चुप लागेर नबस्लान् । राजधानी शहरमै शक्तिशाली बम विस्फोट गराउने विद्रोही शक्तिले राज्यविरुद्ध आफ्नो पूरै तागत प्रयोग गरेर बदला लिने अनुमान सजिलै गर्न सकिन्छ । प्रतिवन्ध लगाएपछि विप्लवले निकालेको विज्ञप्तिमा नै बदलाको चेतावनी दिइएको थियो ।

विप्लवले अब सेना/पुलिसमाथि होइन, भ्रष्ट, दलाल नेताहरु माथि नै आक्रमण गर्ने बताउँदै आएका छन् । तसर्थ उनीहरुको रक्षार्थ पनि राज्यले पुलिसको प्रयोग बढाउनुपर्ने हुन्छ । उनीहरुको पनि निशाना सही नै पर्छ भन्ने हुँदैन । विप्लवको निशानालाई प्रहरीले मात्रै रोक्न सकेन भने अवश्य पनि सेनाको प्रयोग गर्छ सरकारले ।

तत्कालीन माओवादी जनयुद्धमा सेनाको प्रयोग ढिलाई हुँदा राज्यको धेरै धनजनको क्षति भएको निष्कर्षसहित राज्यले यतिबेला सुरुमै सेनाको प्रयोग गर्न खोजेको बुझिन्छ । त्यसैले पनि नेपाली सेनाले विप्लवको आधार जिल्ला कालिकोटतिर आफ्नो गस्ती र गतिविधि बढाइरहेको छ ।
विद्रोही शक्ति र राज्य आमने–सामने भिड्ने संकेतसँगै देशमा वहस चल्न थालेको छ– नेपालमा फेरि युद्ध सम्भव छ कि छैन ? एकाथरी भन्छन्–पहिले भयो र अब हुन सक्दैन ? अर्काथरीले हुनै नसक्ने निस्कर्ष निकालेका छन् । अब पहिले र अहिलेबारे मूल्यांकन गरौँ ।

पहिलेको युद्ध कसरी सफल भयो ?

तत्कालीन माओवादीले ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम हो’ भन्ने उद्घोष गरेर जनयुद्धको सुरुवात गरेको थियो । २०५२ फाल्गुण १ गतेबाट । ‘प्रतिक्रियावादी सत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नारा थियो उसको ।

व्यापक तयारी गरेर मात्रै युद्ध थाल्नुपर्छ भन्ने मतलाई ‘कायरता’को संज्ञा दिँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्ध र तयारी सँगसँगै गर्ने बताएका थिए । माओवादीले ४० बुँदे माग सररकालाई बुझाएर दिएको १५ दिने अल्टिमेटको म्याद नसकिँदै जनयुद्ध शुरु गरेको थियो ।

युद्ध चर्किँदै जाँदा प्रहरीले मात्रै विद्रोहीसँग लड्न सकेन । सेना परिचालन गर्न तत्कालीन राजा बीरेन्द्र मानेनन् । संकटकाल लागेछि २ महिनाभित्र माओवादी साफ हुन्छ भन्ने विश्लेषणले पनि काम गरेन । युद्ध र वार्ता हुँदै माओवादी राजनीतिक दलसँग मिलेर जनआन्दोलन गर्दै शान्तिप्रक्रियामा आएको हो । माओवादी न युद्ध जितेरै शान्तिप्रक्रियामा आएको हो न त आत्मसमर्पण गरेर ।

माओवादी र जनयुद्ध सफल हुनुका पछाडि केही अकाट्य कारणहरु थिए । पहिलो– योभन्दा पहिले यस्तै खाले युद्ध भएको थिएन । दरबार र दलसँग जनता सन्तुष्ट थिएनन् । विकल्पको रुपमा माओवादी आएको थियो । दोस्रो– माओवादीसँग स्थापित र आशालाग्दा नेताहरु थिए । प्रचण्ड शिक्षक थिए । वैद्य कम्युनिस्ट राजनीतिमा इमान्दार र दार्शनिक नेताका रुपमा चिनिन्थे ।

प्रचण्ड र वैद्यभन्दा जनता र कार्यकर्तामा बाबुरामको ‘बोर्डफस्ट र पिएचडी’ले धेरै काम गरेको थियो । बाबुराम खुल्ला मोर्चामै स्थापित भइसकेका थिए र उनी सुपरिचित र क्षमतावान् मानिएकाले पनि उनले नेतृत्व गरेको ठानेरै जनताले माओवादीबाट धेरै आश गरेका थिए । विदेशी शक्तिले पनि बाबुरामसहितको माओवादीलाई त्यति कमजोर रुपमा नलिई धेरै नै महत्व दिए ।

तेस्रो– दरबार, दल र सेनाबीचमा भएको अन्तरविरोध पनि महत्वपूर्ण कारण हो । दरबार आफ्नै आन्तरिक अन्तरविरोधमा रहेछ भन्ने दरबार हत्याकाण्डले पनि पुष्टि हुन्छ । दलहरु आफैँभित्रको गुट–उपगुट र फुटमै अल्झिएका थिए । सेना राजनीतिक दल र दरबारसँग पनि रुष्ट थियो । पछि सेना–पुलिस र सशस्त्रबीच पनि अन्तरविरोध व्याप्त भएकाले विद्रोही विरुद्ध एकढिक्का हुन सकेनन् ।

चौँथो– अन्तराष्ट्रिय शक्ति सन्तुलन पनि माओवादीले मिलाउन सकेको थियो । विदेशी शक्ति र दरबारबीच पनि सम्बन्ध राम्रो थिएन । अन्तरविरोधको मौकाको फाइदा उठाउँदै माओवादीले वाह्य शक्तिको समेत सहयोग लिन भ्यायो । जनआन्दोलनमा पनि वाह्य शक्तिको साथ राजनीतिक दललाई नै मिलेको हो ।

पाचौँ– माओवादीले युद्धकै क्रममा जनसेना, जनसरकार, जनवर्गीय संगठन र पार्टीका कमिटिहरु चुस्त गतिमा निर्माण गर्यो । दूरदराज र गाउँका जनताहरु माओवादीमा संगठित थिए । माओवादीको जनशैलीले पनि जनतासँग राम्रो सम्बन्ध बन्यो । परिवारका सदस्य र आफन्त माओवादीमा संगठित भएकाले पनि सेना–पुलिस माओवादीसँग पूरै निर्मम बन्न सकेनन् । बरु भटाभट जागिर छोडेर भाग्ने क्रम चल्यो । जनप्रतिनिधि र कर्मचारी पनि गाउँ छोडेर शहर बस्न थाले । यस्तै खाले संयोगकै कारण जनयुद्ध सफल भएको हो ।

फेरि युद्ध सम्भव छ त ?

कम्युनिस्टहरु नै भन्छन्–‘संसारमा असम्भव भन्ने केही पनि छैन ।’ ‘जिते संसार र हारे हतकडी’ पनि कम्युनिस्टहरुकै भनाई हुन् । ‘राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ’ पनि कम्युनिस्टहरुले नै प्रयोग गर्ने आदर्शवाणी हुन् । मार्क्स भन्छन्, ‘संसारमा वर्ग रहेसम्म वर्गसंघर्ष रहिरहन्छ ।’ माओत्सेतुङले पनि चीनमा दिर्घकालीन जनयुद्धकै बाटो लिएका थिए । भन्न त विप्लवले भनेका छन्, ‘हामीले युद्ध होइन, क्रान्ति गर्ने हो ।’

कम्युनिस्ट घोषणापत्र र नेताका भनाईलाई नै आधार मान्ने हो भने नेपालमा फेरि युद्ध सम्भव छ भन्नुपर्ने हुन्छ । किनकि विप्लवको पार्टीले आफूहरुलाई खाँटी कम्युनिस्ट पार्टीको दावी गर्दै आएको छ र ‘एकीकृत जनक्रान्ति’ मार्फत दलाल राज्यव्यवस्थाको अन्त्य गर्ने उद्घोष गरेको छ । नेपालमा भएका बग्रेल्ती कम्युनिस्ट पार्टी विप्लवको नजरमा दलाल पुँजीपति र भ्रष्टहरुका पार्टी हुन् ।

नेपालमा राजनीतिक परिवर्तन भए पनि वर्गमा परिवर्तन आएको छैन । धनी र गरीबबीचको खाडल झनै बढ्दै गएको छ । यो कोणबाट हेर्दा नेपालमा अझै वर्गसंघर्षको सम्भावना छ ।

पहिलेभन्दा जनता सचेत भएकाले राज्यले परिचालन गर्दैमा आँखा चिम्लेर परिचालन हुने सम्भावना कम छ । विप्लवले संगठन बलियो बनाए भने गोलीले काम गर्दैन । जनयुद्धमा पनि हजारौँ सेना पुलिसले जागिर छोड्नुको कारण माओवादीको संगठन, फौजी क्षमता र नेतृत्वको चातुर्यता नै हो ।

पहिले जनयुद्ध सुरु गर्दा माओवादीले राज्यबारे धेरै बुझेका थिएनन् । युद्ध थाल्दा केही दर्जन नेतामात्रै थिए । तर अहिले परिस्थिति फेरिएको छ । विद्रोही पार्टीका दोस्रो तहका नेता नै पूर्वमन्त्री हुन्, उनले राज्यको खुट्टी देखेर चाल पाइसकेका छन् । यद्यपि उनीहरुबारे राज्यले पनि बुझेकै छ ।

विप्लव स्वयं पनि युद्धबाट स्थापित प्रभावशाली नेता हुन् । उनको समाकालीन नेताहरुसँग मात्रै होइन, अन्तराष्ट्रिय शक्तिसँग पनि राम्रै सम्बन्ध छ । तत्कालीन माओवादीका दर्जनौँ सांसद उनका सारथी छन् । पार्टीमा युवाहरुको उपस्थिति पनि राम्रो छ भन्ने खुलामञ्चमा भएका सभाबाट अनुमान लगाउन सकिन्छ ।

विप्लव आफैँमा युद्धको राम्रो अनुभव भएका नेता हुन् । उनी सांस्कृतिक र आर्थिक रुपमा पनि विवादित थिएनन् । विप्लवले बेलाबेला भन्ने गर्थे, ‘युद्ध त हामीले हो लडेको । प्रचण्ड–बाबुराम त बेला–बेला प्रशिक्षण दिन मात्रै आउने हुन् ।’

त्यतिमात्रै होइन, विप्लवसँग ‘अयोग्य लडाकु’को संख्या पनि उल्लेख्य भएको बुझिन्छ । सहिद–वेपत्ता परिवार पनि उनीबारे मौन छन् । माओवादीका अधिकांस कार्यकर्ताको दिमागमा पनि विप्लवले दिएका प्रशिक्षण सुरक्षित होलान् । पालुङटार प्लेनममा पनि प्रचण्डले नै विप्लवलाई क्षमतावान नेता भन्दै प्रशंसा गरेका थिए । वैद्य र बाबुरामले समेत विप्लवलाई धेरै महत्व दिएकाले उनीबाट प्रभावित कार्यकर्ताले विप्लवलाई मौन समर्थन गरिरहेका छन् । विकसित घटनाक्रममा समर्थकहरु नै कार्यकर्ता बन्न पुग्ने सम्भावना रहन्छ । जनयुद्धबाट आएका नेता/कार्यकर्ताले ‘युद्ध बेठीक हो’ भनिहाल्न पनि मिल्दैन ।

विप्लवलाई संयोगले पनि साथ दिएको छ । सिके राउतलाई अनावश्यक महत्व दिने र विप्लवलाई प्रतिवन्ध लगाउने सरकारको स्टेप सँगै हुन गयो । यसले सिकेप्रतिको आक्रोश र रिस विप्लवप्रतिको सहानुभूतिमा बदलिन पुग्यो । सामाजिक सञ्जाल प्रतिवन्धको विरुद्ध देखियो ।

त्यसैमाथि नेपालको भौगोलिक धरातलको कारण पनि युद्ध लडिरहन सम्भव हुन्छ । ठूल्ठूला पहाड र डाँडाकाँडाका कारण लुकेर आक्रमण गर्न र भाग्न सजिलो छ । त्यसैले युद्ध सम्भव छैन भन्न मिल्दैन ।

विप्लव आफैँमा अन्तरविरोधमा खेल्न माहिर नेता मानिन्छन् । माओवादीमा फरक धारका नेता वैद्य र बाबुरामसहित नारायणकाजीलाई समेत ‘धोवीघाट’मा उनले प्रचण्डविरुद्ध एकै ठाउँमा ल्याएका थिए । वैद्यलाई पार्टी फुटाउन दवाब दिने र वादललाई प्रचण्डविरुद्ध उभ्याउने पनि उनै हुन् ।

माओवादीको एमालेसँग एकता हुनु, वैद्य र बाबुराम पनि छुट्टाछुट्टै पार्टीको नेतृत्वमा रहनु, कांग्रेस कठोर प्रतिपक्षका रुपमा उभिनु र पूर्वराजाको सक्रियता बढ्नुले विप्लवलाई नै अनुकुलता मिलेको छ । मधेशवादी र राप्रपाको सरकार विरोधी स्वर पनि विप्लवले ठाडो कान बनाएर सुनेकै होलान् । स्थानीय, प्रदेश र केन्द्रीय सरकारबीच बढेको अन्तरविरोध, सरकार र कर्मचारीबीचको बेमेल, दलहरुभित्र पदको निम्ति भएका लुछाचुँडी, भ्रष्टाचार, बेरोजगारी, दलाली आदिको बीचमा खेल्ने विप्लवको प्रयास अवश्य रहनेछ ।

माओवादी पार्टी विभाजित नहुँदै वैद्य समूहमा सक्रिय थिए विप्लव । उनीहरुले लामै समय ‘पार्टीभित्र पार्टी’को अभ्यास गरे । विप्लवसँग पोखरामा भएको एक भेटमा मैले सोधेको थिएँ, ‘तपाईंलाई प्रचण्डजस्तै बन्न खोज्ने चरम महत्वाकांक्षी नेता हो भन्छन् नि, हो र त्यस्तो ?’  विप्लवले हाँस्दै जवाफ दिएका थिए, ‘यो त आरोप मात्रै हो हेर्नुस् । पहिलो कुरा–प्रचण्ड हामीले सोचेजस्तो नेता भएनन्, उनी रुपान्तरण हुनुपर्छ भन्ने मान्छे म फेरि प्रचण्डजस्तै किन बन्न खोज्थेँ र ! दोस्रो कुरा–म चरम महत्वकांक्षी चाहीँ हो । जनयुद्ध सुरु गर्ने सबै नेताहरु चरम महत्वकांक्षी नै हुन् । त्यत्रो सेना–पुलिस सहितको राजालाई केही दर्जन मान्छेले युद्धबाटै जित्न सकिन्छ भन्ने आँट गर्नु त्यो महत्वकांक्षा थिएन र ? महत्वकांक्षा योजना पनि हो हेर्नुस्, दुस्साहसवादी भने नि भन्नुस् तर मलाई जे पनि गर्न सकिन्छ भन्ने लाग्छ ।’

उनले प्रचण्डको प्रशंसा गरेझैँ आलोचना पनि गरेका थिए, ‘प्रचण्डले युद्धमा आँट र क्षमता देखाएकै हुन् । तर शान्तिप्रक्रियामा आएपछि उनी गलत मान्छेको घेरामा परे । घेराबाट बाहिर बाहिर आएनन् भने सम्बन्ध विच्छेद जरुरी हुन आउँछ ।’ यो अभिव्यक्तिलाई आधार मान्दा विप्लव राज्यसँग सजिलै गल्दैनन् ।

भनिन्छ-राजनीतिमा न स्थायी शत्रु हुन्छ, न त स्थायी मित्र । कम्युनिस्टहरु नै भन्छन्, ‘मुख्य दुश्मनलाई परास्त गर्न सहायक दुश्मनसँग मिल्नुपर्छ ।’ उनले पनि कसैको साथ लिएर शक्ति आर्जन गर्न सक्छन् । त्यसैमाथि नेपाललाई अस्थिरता चाहने शक्तिले उनलाई अवश्य सहयोग गर्नेछन् । राज्यसँग रिसाएको बेला विप्लवले वेद पढेर पक्कै पनि नबस्लान् ।

युद्धबाट जित्न सकिन्छ त ?

युद्ध थाल्नु ठूलो कुरा होइन । युद्धको निरन्तरता पनि असम्भव नहोला । तर अहिलेको परिस्थितिमा युद्धबाट जित्न भने असजिलो मात्रै होइन, असम्भवप्रायः छ । विप्लवको पार्टीमा स्थापित र राम्रो प्रोफाइल भएका नेता छैनन् । जनयुद्धबाट १७ हजारले ज्यान गुमाएर गणतन्त्र आए पनि युद्धबारे आम मानिसमा सकरात्मक बुझाई छैन । कथम कदाचित विप्लवलाई राज्यले पक्रियो भने अरु नेताबाट योजना पूरा हुने पनि देखिँदैन ।

विप्लवलाई थाहै होला, युद्धबाटै सत्ता कब्जाको सम्भावना छैन भन्ने । उनले पहिले पनि सांसद मात्रै होइन, राज्यका हरेक निकायमा भागवण्डा हुनुपर्ने बताएका थिए । त्यसैले कतिपयले उनलाई सम्झौतामा आउनैपर्ने भएकाले देशमा फेरि जनधनको क्षतिमा नलाग्न सुझाव दिँदै आएका छन् ।

विप्लवसँग यतिबेला जनताले बुझ्ने खास एजेण्डा पनि छैनन् । नेतालाई गाली गरेर मात्रै संगठन बन्दैन । हिजोजस्तो राजतन्त्र छैन, गणतन्त्र आइसकेको छ देशमा । माओवादीका नेताहरु प्रचण्ड, वैद्य, बाबुराम, गोपाल किराँती, आहुतिहरु फुटेर एकले अर्कोलाई गाली गर्दै छुट्टाछुट्टै पार्टी बनाउन पुगेकाले विप्लवलाई जनताले पत्याइहाल्दैनन् । युद्धका घाउ र टाटाहरु राम्ररी निको नभैसकेको बेला फेरि युद्धको पक्षमा माहोल बन्ने पनि सम्भावना अति कम छ ।

संसारमा युद्धबाटै जितेका र टिकेका इतिहास थोरै छन् । मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओलगायतका नेताले भनेजस्तै कम्युनिस्ट पार्टी र तिनको सरकार संसारको कुनै पनि देशमा छैन ।

राज्यले आवश्यक परेमा खुलेरै विदेशी सहयोग लिन सक्छ । विद्रोहीले विदेशी सहयोग लिएको थाहा पाएमा जनताले घृणा गर्न थाल्छन् । क्रान्तिको लागि अन्तराष्ट्रिय परिस्थिति पनि अनुकुल छैन । यस्तो बेला युद्धबाट जितिन्छ ठान्नु दुस्साहसवादी दृष्टिकोण बाहेक केही होइन ।

युद्ध असफल भयो भने अपराध ठहरिन्छ । सम्झौतामा टुंगिए आन्दोलन मानिन्छ । युद्धबाटै कब्जा भएमा क्रान्ति ठहर्छ । विप्लव अपराधी, आन्दोलनकारी र क्रान्तिकारी मध्ये एक हुने निश्चित छ । उनी र उनको पार्टी के बन्छ ? उनै जानुन् । सरकार र विद्रोही दुवैलाई सुझाव छ– युद्ध होइन, सहमतिको बाटो रोज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *