नेपाली समाजशास्त्रीको समाज बुझाउने प्रयास

   सीता बोहरा comment 0

कतै पढेको थिँए । चिप्ले किरा आफ्नो गन्तव्यमा धैर्यताका साथ अघि बढ्ने क्रममा बाटो निर्माण गर्छ र अरुका लागि पनि गोरेटो निर्माण गरिदिन्छ । लेखन कार्यले पनि चिप्ले किराले जस्तै एउटा उदेश्य बोकेर गन्तब्य तय गरेको हुन्छ । जसले आफुभन्दा पछिका अन्यको लागि गोरेटो प्रदान गर्दछ । विश्वविद्यालयको कक्षा कोठामा नेपालका नामी समाजशास्त्री चैतन्य मिश्र भन्नुहुन्थ्यो “समाजशास्त्र अध्ययन भनेको पढाई संगै चिन्तन र लेखनको त्रिबेणी हो । समाजशास्त्रका विद्यार्थी पाठ्य पुस्तकमा मात्र केन्द्रीत भएर हुदैन ।

सिक्ने क्रममा समाज संस्कृति, राज्य संयन्त्र र अर्थतन्त्र लगायतका सवाल महत्वपूर्ण हुन्छन् । त्यसैले समाजशास्त्रका विद्यार्थीले पुस्तकका अलावा समाज नै पढ्ने हो र समाजकै बारेमा चिन्तन गर्ने हो अनि लेख्ने हो ।” उनै समाजशास्त्री मिश्रका चेला दिपेश घिमिरे यसबाट प्रभावित नहुने कुरै भएन । नियमित रुपमा लेखन गरिरहेका घिमिरेको नयाँ पुस्तक ‘रिफ्लेक्सन अन नेपलिज सोसाइटीः एन अरकाइभ अफ सोसियोलोजिकल एस्सेज’ पुस्तक प्रकाशित भएको छ ।

समाजशास्त्र विषयको अध्ययन गर्ने क्रममा हामीले अधिकांश पश्चिमाहरुको लेखन पढ्यौ । सायद यसैले पनि समाजशास्त्रीहरुलाई पश्चिमामुखी भएको दोष लाग्ने गरेको छ । हाम्रो आफ्नै सन्दर्भमा लेखिएका मौलिक लेख तथा पुस्तकको अभाव छ । शायद त्यसैले पनि हामी विद्यार्थीहरु पनि पश्चिमा लेखन मै भर परिरहेका छौ । पश्चिम समाज र हाम्रो समाजको बीचमा विशिष्ट भिन्नता छन् । यद्यपी यि दुवैतिरका समाज परिवर्तनशिल छन् ।

समाजमा दिनदिनै भईरहेका परिवर्तन, रुपान्तरण र अन्वेषणहरुको बारेमा पश्चिमाहरुले नियमित अध्ययन, अनुसन्धान तथा लेखन गर्दै आईरहेका छन् । तर नेपाली समाजमा भएका परिर्वतनका बारेमा यथेष्ट अनुसन्धानहरु भएनन् । नेपालमा समाजशास्त्रीहरुले निकै कम लेखेका छन् । जसले गर्दा हाम्रो मौलिकता सहितको समाज बुझ्ने बुझाउने पुस्तक वा अन्य लेखन निकै कम छन् ।

अस्ति भन्दा हिजो र हिजो भन्दा आज समाज रुपान्तरण भईरहेको छ । फरक छ । यसरी समाज किन बदलिरहेको छ ? भन्ने कुरा बुझ्न समाजशास्त्रका विद्यार्थी मात्र होईन आम नागरिक पनि उत्सुक देखिन्छन् । यस्ता उत्सुकतालाई सम्बोधन गर्ने माध्यम भनेको समाजशास्त्रीय लेखन हो । तर नेपालका प्राज्ञिक वर्गले लेखनमा कम रुचि देखाउँदा नेपाली समाज र सामाजिक परिवर्तनको बारेमा बुझ्न चाहनेको लागि आवश्यक खुराक आवश्यक मात्रामा पाउन सकिरहेका छैनन् ।

नेपाली समाजशास्त्रीहरुको लेखन कम हुँदा समाज अध्ययनमा लाग्ने विद्यार्थीहरुले पनि पश्चिमा लेखनको साहारा लिनु पर्ने बाध्यता छ । यद्यपी बाहिरको ज्ञान पढ्नु हुदैन भन्ने भने पटक्कै होईन । बाहिरको ज्ञान संगै नेपाली समाज परिवर्तनको तुलनात्मक अध्ययन तथा लेखन जरुरी छ ।
यद्यपी वर्तमान युवा पुस्ताले समाजको परिवर्तन सम्बन्धि ज्ञान आर्जन गरि लेखनबाट अरुलाई समेत समाज बुझाउने प्रयास गरिरहेका छन् ।

यहाँ त्रिभुवन बिश्वबिद्यालय, समाजशास्त्र केन्द्रीय बिभागका उप प्राध्यापक दिपेश घिमिरेको ‘रिफ्लेक्सन अन नेपलिज सोसाइटीः एन अरकाइभ अफ सोसियोलोजिकल एस्सेज’ पुस्तक प्रकाशित भएको सन्दर्भ जोड्न खोजिदैछ । लेखक घिमिरे समाज, सामाजिक संरचना तथा सामाजिक सम्बन्धहरुलाई शुक्ष्म रुपले बिश्लेषण गर्न र त्यसलाई बिहंगम ऐतिहासिक संरचनाभित्र राखेर केलाउने सामथ्र्य राख्छन् । पुस्तकमा जम्मा नौवटा अनुसन्धानात्मक लेखहरुसमावेश गरिएका छन् ।

पहिलो लेख गरिबीका बारेमा रहेको छ । उक्त निबन्धनात्मक लेखमा गरिबीको सैद्धान्तिक पक्षलाई मिहिनतापूर्वक केलाएका छन् । साथै नेपालमा गरिबी निवारणमा भईरहेका प्रयासहरु किन खेर गईरहेका छन् भन्ने कुरा पनि उल्लेख गरेका छन् । मुलतः नेपालमा गरिबीलाई आर्थिक रुपमा मात्र मापन गरिदै आईएको छ । तर गरिबी बहुआयामिक कुरा हो । पैसा भएर मात्र गरिबी नहुने भन्ने हुदैन । त्यसैले नेपाल सरकारले सुरु गरेको गरिबी परिचय पत्र बितरण लगायतका अन्य प्रयासलाई सफल बनाउने हो भने मौद्रीक दृष्टिकोणबाट मात्र नभई बहुआयामिक दृष्टिकोणबाट गरिबिको बिश्लेषण गरि निती बनाउनु पर्ने निष्कर्ष निकालेका छन् ।

यसैगरी, दोस्रो लेखमा मधेस आन्दोलनबारेको अध्ययन लेख रहेको छ । लेखकले राजनितिमा तिन मुख्य कुरालाई इंगित गरेका छन्, जसमा एजेण्डा, नेतृत्व र संगठन रहेको छ । उनका अनुसार मधेशि राजनितिक शक्ति संग बलियो एजेण्डा त छ तर कमजोर नेतृत्व र संगठनका कारण अपेक्षित परिवर्तन हुन सकिरहेको छैन । मधेस आन्दोलनलाई मधेसका कतिपय नेताले कसरी सत्ताको भर्याङ बनाए भन्ने कुरालाई प्राज्ञिक तवरले पेश गरेकाछन् । उनले मधेशका चुनौतिहरुलाई मिहिन तवरले बिश्लेषण गरेका छन् ।

त्यस्तै तेस्रो लेख सार्बजनिक निति सम्बन्धि रहेको छ । पाँच वटा उपशिर्षक दिईएको उक्त लेख मुख्य २ प्रश्नको उत्तर खोज्नमा केन्द्रित छ । के समाजशास्त्रले सार्बजनिक नीतिमा योगदान दिन सक्दैन ? र सार्बजनिक नीतिमा समाजशास्त्रीय संलग्नताको स्थिति के छ ? भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा उनले थुप्रै प्रमाण र उदाहरण पेश गर्दै सार्बजनिक नीति निर्माणमा समाजशास्त्रको महत्वलाई प्रकाश पारेका छन् ।

लेखको निष्कर्षमा सार्बजनिक नीतिमा समाजशास्त्रीय संलग्नता बिस्तारै उन्नत भईरहेको, कर्ता र संरचना, राष्ट्रिय र अन्तराष्ट्रिय एजेण्डा सेटिङ्ग तथा कार्यान्वयन जस्ता दृष्टिकोण मजबुत भएको दलिल पेश गरेका छन् । उनले समाजका विशिष्ट अवस्थालाई सूक्ष्म र बृहत् दुवै किसिमले विश्लेषण गर्ने समाजशास्त्रीहरु नीति निर्माणमा संलग्न हुने हो भने त्यसले अहिले देखिएका कतिपय नीतिगत समस्या समाधान गर्न सहज हुने तर्क गरेका छन् ।

यसैगरी, सामाजिक समावेशीता र बहिष्करण लेखमा महिला, जनजाति, दलित अपांगताको मुद्दामाथि छलफल गरेकाछन् । साथै राजनीतिक दलहरूको समावेशिता र बहिष्करणको अवस्थालाई उल्लेख गर्दै यो विषय राजनीतिक वृत्तमा जति चर्चा गरिए पनि दल आफैंले त्यसको कार्यान्वयन गर्न नसकिरहेको उनको निष्कर्ष छ । त्यस्तै अर्को निबन्धनात्मक लेख नीति अध्ययन गर्ने संस्थासँग सम्बन्धि रहेको छ ।

बि.स.२००७ सालको प्रजातन्त्र स्थापनापछि नेपालमा स्थापना गरिएका यस्ता संस्थाहरुको औचित्य र सरकारको त्यसप्रतिको उदासिनताका बारेमा मिहिनतापूर्वक केलाएका छन् । नेपाली मौलिक ज्ञानको विकास नहुनुमा यस्ता संस्थाहरुको सञ्चालन प्रक्रियाको भुमिका छन् । यस्ता संस्थाहरू त जसोतसो स्थापित भएका छन् तर त्यसको सञ्चालनको लागि आवश्यक पर्ने सर सहयोग गर्ने तथा समन्वय गर्न सरकार उदासिन रहदाँ समस्या उत्पन्न भएको उनको तर्क छ ।

यसैगरी ‘माओवादी आन्दोलन’ शीर्षकको निबन्धमार्फत नेपालको माओवादी आन्दोलनका सामाजिक संरचनात्मक कारणहरू के के हुन् भन्ने खोजी गरेका छन् । उनले माओवादी आन्दोलन केही नेताका कारणले मात्र नभई सामाजिक संरचनात्मक कारणले सुरु भएको तर्क गरेकाछन् । माओवादी आन्दोलनका बिभिन्न कारणहरु रहेको उनको ठम्याई छ । जसमा देशको आन्तरिक कारण, राज्यको संरचना, स्वरूप र बनोट अनि बाह्रय देश र सम्बन्धका आधारमा बिश्लेषण गर्नुुपर्ने उल्लेख गरेकाछन् । कुनै पनि क्रान्ती कुनै व्यक्तिको लहडमा वा चाहनामा हुदैन यसको पछाडी संरचनात्मक कारण हुन्छ भन्ने उनको ठम्याई छ ।

आठौं लेखमा युवा उद्यमशीलता सम्बन्धि रहेको छ । घिमिरेले युवा उद्यमशीलता विकास नहुनुको सामाजिक कारण खोजी गरेकाछन् । उद्यमशीलता पैसा वा सीपसँग मात्र जोडिँदैन बरु यो त समाज, सामाजिक बनोट, सामाजिक संरचना तथा सामाजिक तथा सार्वजनिक नीतिसँग नजिकको सम्बन्ध हुन्छ । नेपाली समाजमा विद्यमान मूल्य मान्यता युवालाई उद्यमी बन्न प्रेरित गर्ने नभई जागिर खान उत्प्रेरित गर्ने खालको छ भन्ने उनको तर्क रहेको छ ।

उक्त पुस्तकको अन्तिम निबन्धमा कुटनितिक, अन्तर्राष्ट्रिय सम्बन्ध, सैन्य, आर्थिक तत्व र राष्ट्रिय हितका सम्बन्धमा छ । उनको यो लेख संघिय गणतन्त्र नेपालको सन्दर्शमा समकालिन राजनीति बुझ्न महत्वपुर्ण छ । जनआन्दोलन २ को परिर्वतनको एजेण्डाले सामाजिक, आर्थिक, राजनितिक, सांस्कृतिक संरचनामा मात्र परिवर्तन खोजेको थिएन राष्ट्रिय सुरक्षा नितिमाथि पनि संसोधन चाहेको थियो भन्ने बुझाई छ । तर यस किसिमको निर्मम समिक्षा गरी सुरक्षा नीतिलाई राष्ट्रिय हित अनुकुल बनाउन नसकिएको उनको तर्क छ । यस लेखमा घिमिरेले संबिधानमा राष्ट्रिय हितका बिषयमा गरिएको प्राबधानको समाजशास्त्रीय विश्लेषण गरेका छन् ।

समग्रमा हेर्दा वर्तमान नेपाली समाजलाई बुझ्न पुस्तक अत्यन्त उपयोगी र सान्दर्भिक छ । हामी बुाचीरहेको समाजलाई बुझ्न बुझाउनको लागि यस पुस्तकले थोरै भएपनि योगदान गर्नेमा शंका छैन । यो पुस्तक समाजशास्त्रका विद्यार्थीलाई मात्र नभई सर्बसाधारणको लागि पनि सान्दर्भिक हुन सक्छ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. टीकाराम गौतमको भुमिकामा पुस्तकको महत्वपुर्ण सार भेट्न सकिन्छ ।

नेपालमा नयाँ पुस्ता नेपाली मौलिक समाजशास्त्रको विकासको लागि सक्रिय छ । यसै मध्येका एक घिमिरे पनि हुन् । उनको यो चौथो पुस्तक हो । अनुसन्धानात्मक कार्य आफैमा सहज होईन । झन् यसको निरन्तरता त थप गाह्रो काम मानिन्छ । आवश्यक स्रोत तथा साधनको अभावमा अध्ययनमा रुची हुनेले पनि प्राज्ञिक कार्यलाई निरन्तरता दिन नसक्ने अवस्था छ । यद्यपी लेखनमा उनको निरन्तरताले नेपाली ज्ञान निर्माणको लागि सुन्दर भविष्यको संकेत गर्दछ । यस अघिका तीनवटा पुस्तक सुशासन तथा भ्रष्टाचारका विषयवस्तुमा केन्द्रीत थिए । यो पुस्तकबाट उनमा रहेको त्यस भन्दा बाहिरको ज्ञानका बारेमा जान्ने मौका पाईन्छ ।

कुल २१२ पेजको पुस्तकलाई सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो, पुस्तक अंग्रेजी भाषामा छ । त्यसैले आम पाठकको ध्यान नतान्न सक्छ । तथापि नेपाली समाजको परिर्वतनलाई नजिकबाट नियाल्न खोज्ने नेपाली तथा बिदेशी पाठकका लागि पुस्तक उपयोगि छ । नेपाली सन्दर्भ सहितको मौलिक ज्ञान उत्पादनमा यसैगरी नयाँ पुस्ता सक्रिय भईरह्यो र निरन्तरता दिईरह्यो भने समाजशास्त्र माथि लाग्दै आएको “पश्चिमा केन्द्रीत”आरोपबाट पनि छुटकारा मिल्न सक्छ ।

तसर्थ, घिमिरेलाई अनुसन्धानात्मक कार्य र लेखनको निरन्तरताको शुभकामना !

( बोहरा त्रिविबाट समाजशास्त्रमा एमफिल अध्ययनरत हुन् । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *