‘नेपाल बन्द गर्न हजार पर्चा भए पुग्छ’

इतिहासमा बोली हैन, कर्म लेखिन्छ : विश्वप्रकाश शर्मा
   नयाँ दैनिक comment 0

पुस ३०, काठमाडौँ । नेपाली राजनीति आलोचनाको केन्द्रमा हुँदा पनि प्रशंसा पाउने थोरैमध्येका एक नेता हुन्–विश्वप्रकाश शर्मा । युवा नेता शर्मा वृद्ध नेताको भिडमा कांग्रेसको प्रभावशाली प्रवक्ता पनि हुन् । तार्किक र नरम नेताका रुपमा उनको छवी दिनानुदिन बढ्दो छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघको पाचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पनि उनले तार्किक मन्तव्य शालिन पारामा दिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहेको सो कार्यक्रममा महत्वपूर्ण मन्तव्य राख्दै नेता शर्माले कांग्रेसको बचाउ मात्रै गरेनन्, सरकारको उछितो पनि काढ्न भ्याए । कमजोर प्रतिपक्ष भन्दै कांग्रेसको आलोचना भइरहेका बेला नेता शर्माले भने, ‘संसदमा व्रिफकेस फोर्न दुइटा पाखुरा भए पुग्छ । उपत्यका बन्द गर्न सय मान्छे भए पुग्छ । नेपाल बन्द गर्न हजार पर्चा भए पुग्छ । तर त्यो प्रतिपक्षले देशलाई योगदान गर्दैन ।’ उनले कांग्रेस कमजोर प्रतिपक्ष नभई सहयोगी प्रतिपक्ष भएको दावी समेत गरे ।
नेपाली कांग्रेसका नेताहरुको बोली नबुझिने भनेर हुने व्यंग्यको पनि उनले घुमाउरो पाराले खण्डन गरे, ‘सुशील कोइरालाको बोली बुझिँदैनथ्यो, उनकै नेतृत्वमा संविधान बन्यो र कर्म बुझियो ।’ उनले इतिहासमा बोलि नभई कर्म लेखिने तर्क गरे, ‘सुशील कोइरालाको बोली बुझिँदैनथ्यो । जिब्रोको क्यान्सरको कारण उहाँको बोली बुझिएन होला तर कोही बात छैन, उहाँले गरेको कर्म बुझियो । केपी ओलीको बोली प्रष्टै बुझिएको छ तर कर्म नबुझेर मान्छेहरु हैरान भैरहका छन् ।’ शर्माले यसो भनिरहँदा हलभरि हाँसो गुञ्जियो । प्रचण्ड समेत हाँसे ।
सत्तारुढ नेकपालाई शर्माले सुझाव दिए, ‘मुलुकले ठूलो ध्वंसात्मक द्वन्द्व बेहोर्यो । द्वन्द्व ठिक थियो या थिएन, आ–आफ्नो कोणबाट बहस हुन सक्छ तर नेपाल देशले राजतन्त्रलाई विदाई गरेर गणतन्त्रलाई स्थापित गर्न कमरेड प्रचण्डहरुले उठाउनुभएको बन्दुकले पनि अनि नेपाली कांग्रेस र एमालेले प्रदर्शन गरेको शान्तिपूर्ण जनआन्दोलनले पनि १२ बुँदे समझदारी एक ठाउँमा आएपछि मुलुकले बदला पायो । त्यसैले विगतको सन्दर्भको कसैले कसैलाई आलोचना गरेर होइन नयाँ सन्दर्भमा नयाँ तरिकाले मुलुकलाई लाने ढङ्गले सोच्नुपर्छ ।’
करिब १६ मिनेटको लामो मन्तव्यका क्रममा शर्माले नेकपाको आलोचना गरे, ‘बिहान उठ्दै गर्दा टोलटोलका पोलपोलमा प्रधानमन्त्री केपी ओलीको तस्विर चोकचोकमा हेर्न पायौँ, खुसी लाग्यो । म त झापाली मान्छे, मेरो जिल्लाबासीको तस्विर चोकचोकमा टाँसिदै गर्दा एउटै कुरा मात्रै सोध्नु छ– पोलपोलमा र टोलटोलमा प्रधानमन्त्रीको तस्विर टाँसिन मिल्ने नयाँ युगमा एउटा निर्मला पन्त नाम गरेकी बालिकालाई न्याय चाहियो भनेर तस्विर टाँस्दा च्यात्नुपर्ने यो कस्ता नयाँ युग हो ?’
पुस्तकबारे उनले भने, ‘पुस्तकले बोल्दैन, बोल्ने बनाउँछ । पुस्तकले सुन्ने बनाउँछ । पुस्तकले विद्वता दिने बनाउँछ । मान्छेलाई जस्तो बन्न चाहन्छ, त्यस्तै बनाउँछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *