नेविसंघको आन्दोलन : स्ववियु चुनाव भाँड्ने प्रपञ्च

   सुरेन्द्र बस्नेत comment 0

केन्द्रमा नेकपाको दुई तिहाईको सरकार छ । सातवटै प्रदेश सरकारमा काङ्ग्रेस कतै पनि छैन । झण्डाबाल गाडीभित्र जता हेरे पनि वामपन्थी नेताहरु नै देखिन्छन् । देशका अधिकांश स्थानीय तहमा पनि वाम वर्चस्व नै छ । यो सब परिदृष्य देख्दा यतिबेला काङ्ग्रेसजनहरु साँच्चिकै छट्पटाएका छन् ।

वाम जनमत विभाजनको जगमा सधैंभरि सत्ता हत्याइरहने काङ्ग्रेसको कागताली युग समाप्त भएको छ । त्यसैले आफुलाई लोकतन्त्रको सवैभन्दा ठुलो मठाधिश ठान्ने काङ्ग्रेसीजनहरु गत आम निर्वाचनको पराजयपछि नराम्ररी तिल्मिलाउन थालेका छन् । खासगरी नेपालमा दुई ठुला कम्युनिस्ट पार्टी एक भएपछि काङ्ग्रेसी मित्रहरुलाई चुनाव भन्ने बित्तिकै ज्वरो आउन थालेको छ ।

त्यही कडी अन्तर्गत पछिल्लो चरणमा स्ववियु निर्वाचनको घोषणासँगै नेविसंघको सातो जान थालेको छ । चुनावको ‘चु’ मात्र सुन्नेबित्तिकै नेविसंघको होस् हवास उड्न थालेको छ । त्यसैले गत वर्षको आम निर्वाचनमा नराम्ररी पछारिएको माऊ पार्टी तङ्ग्रिन नपाउँदै नजिकिएको स्ववियु निर्वाचन सार्न र टार्न नेविसंघ कम्मर कसेर लागेको छ । त्यसैले उ कहिले गोविन्द केसिको साहरा लिन पुग्छ,  त कहिले सरकारी गाडी जलाउन पुग्छ ।

अस्तब्यस्त नेविसंघ

नेविसंघ यतिबेला इतिहासकै भद्रगोल र अस्तब्यस्त अवस्थावाट गुज्रिरहेको छ । पटकपटक म्याद थप गर्दै आयु लम्ब्याउँदै आएको नेविसंघ नेतृत्वले लगभग सम्पूर्ण रुपले राजनीतिक र कानुनी वैधानिकता गुमाइसकेको छ। महाधिवेशन पछि आजसम्म नेविसंघको केन्द्रीय समितिको एउटा पनि पूर्ण वैठक वसेको समाचार सुन्न पाइएको छैन । म्याद गुज्रिएको हुनाले कसैले कसैलाई टेर्ने अवस्था छैन ।

भेला, वैठक, अधिवेशन नेविसंघमा एकादेशको कथा भैसकेको छ । माऊ पार्टीको गुटबन्दीले नेविसंघ थिलोथिलो भएको छ । नेविसंघमा पार्टीका नेतैपिच्छेका गुट र उपगुट छन् । नेविसंघमा यसलाई ब्ववस्थापन गर्ने न त सक्षम नेतृत्व छ, न विधि छ न त प्रणाली नै । महाधिवेशनको मिति पटकपटक सरिसकेको छ ।

महाधिवेशनका लागि देशभरका एक दर्जज जिल्लामा पनि जिल्ला अधिवेशन हुन सकेको छैन ।  यहाँ सम्मकी नेविसंघको वारेमा नेविसंघ स्वयंले वहस गर्ने अवस्था छैन । नेविसंघको बारेमा केवल पार्टीमा मात्र छलफल हुने अवस्था छ । आफैं छलफल गरेर निष्कर्ष निकाल्ने अवस्था नरहेपछि नेविसंघ नेताहरु दिनहुुँ विभिन्न नेताका घरमा धर्ना कस्न गएको देखिन्छ । राजिनामा दिनेको लर्को छ । महाधिवेशनमा जाने कि, अर्को तदर्थ समिति वनाउने कि यही समितिलाई लिएर जाने भन्नेमा कुनै टुंगोमा पुग्न सकेको छैन । समग्रमा हेर्दा नेविसंघ यतिबेला इतिहासकै सर्वाधिक संकट र अकर्मण्यताको दलदलमा फसेको छ ।

स्ववियुले उडाएको सातो

त्रिभुवन विश्वविद्यालयका ६० वटा आङ्गिक क्याम्पस, त्रिविकै झण्डै १ हजार सम्वन्धन् प्राप्त कलेजहरु मध्ये निर्वाचन हुने करिव ४ सय क्याम्पस र नेपाल संस्कृत विश्वविद्यालयका करिव १ दर्जन क्याम्पसमा स्ववियु चुनाव हुने देखिन्छ । स्ववियु चुनावलाई मिनि आम चुनावको रुपमा पनि लिइने गरिन्छ । यसले एकढंगले मुलुकको राजनीति र जनमत कता मोडिरहेको छ भन्ने कुराको पनि स्पष्ट संकेत दिन्छ । यसले राजनीतिक पार्टीको ग्राफलाई समेत इङ्गित गर्छ ।  यसले मुलुकको सचेत र शिक्षित युवा समुदाय कतातिर छ भन्ने संकेत गर्छ । यसर्थ स्ववियु चुनावको वहुआयामिक महत्त्व छ।

स्ववियुको महत्त्वका विषयमा नेविसंघलाई पनि कुनै द्विविधा छैन । तर स्ववियु निर्वाचनको सम्भावित परिणामको आंकलन गरेर नेविसंघ अत्यन्तै तिल्मिलाएको छ । उसले राम्रो संग वुझेको छ कि विगतका चुनावमा एक्लाएक्लै समेत अधिकांश ठाउँमा स्ववियु जित्ने गरेका दुई ठुला अखिल यतिबेला एक भएका छन् । उसले यो पनि वुझेको छ कि दुई अखिल विचको एकताको मुल्य दुई वाम पार्टीको एकता भन्दा पनि चर्को पर्छ । किनकि विगतमा अनेरास्ववियु , अनेरास्ववियू (क्रान्तिकारी ) र नेविसंघ हाराहारीका प्रतिस्पर्धी शक्ति हुन् ।

नेविसंघले दुई अखिल एक हुनसाथ त्यसको गुणात्मक परिणामको राम्रो संग आंकलन गरेको छ । अहिलेको स्थितिमा जसरी नेविसंघले जित्ने कलेज लाइट वालेर खोज्नुपर्ने स्थिति छ, ठिक त्यसरी नै संयुक्त अखिलले हार्ने कलेज लाइट वालेर खोज्नुपर्ने स्थिति छ । आजभन्दा दुई वर्षअघि उपत्यकामा मात्रै चुनाव भएका त्रिभुवन विश्वविद्यालयका ८ वटा आङ्गिक कलेज मध्ये अनेरास्ववियुले ३ , अखिल (क्रान्तिकारी ) ले ३ र नेविसंघले २ वटा क्याम्पस जितेको थियोे ।

यो दुई अखिल एक्ला एक्लै लड्दाको परिणाम थियोे ।  मिलेर एउटै प्यानल भएपछि के हुन्छ सहजै अनुमान लाउन सकिन्छ । यो स्थिति नेविसंघले राम्रो संग वुझेको छ । त्यसैले उसको मुल सातो उडेको छ ।  नेविसंघका कुनै पनि नेता कार्यकर्ताले स्ववियुमा आफुले जित्ने क्याम्पस ठम्याउन सकेको अवस्था छैन ।

स्ववियु निर्वाचन टार्न आन्दोलनको नाटक

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको घोषणा गरिसकेको छ  । यसको तयारी गर्न मातहत कलेजलाई पत्राचार समेत गरिसकेको छ । दुवै अखिलले स्ववियु निर्वाचनको स्वागत गरिसकेका छन् ।  तर उता जतिजति स्ववियु निर्वाचनको तिथि नजिकिदै छ, नेविसंघ उतिउति आत्तिन र छट्पटाउन थालेको छ ।

मुखले जतिसुकै लोकतन्त्रको डंका पिटे पनि नेविसंघलाई चुनाव देखि डराउने गम्भीर रोग लागेको छ । त्यसैले चुनावलाई सार्न, टार्न अथवा विथोल्न नेविसंघ ऐजेण्डाविहिन आन्दोलनको नाटक मञ्चन गर्न थालेको छ ।  नेविसंघ जनताको लोकप्रिय वहुमत प्राप्त सरकारलाई विना आधार अधिनायकवादको विल्ला भिराएर सडकमा देखापरिरहेको छ ।

आफ्ना मुद्दा र ऐजेण्डामा जनताको कुनै रुचि र आकर्षण नभएपछि विवेकशील साझा र ग‍ोविन्द केसिका पछि कुद्न नेविसंघ अभिशप्त छ ।  नजिकिएक‍ो स्ववियु चुनाव विथोल्न नेविसंघ अनपेक्षित रुपमा मषाल जुलुस र पुतला दहनमा उत्रिन थालेको छ । नेविसंघको यो आन्दोलनमा न कुनै मुद्दा छ न त कुनै प्रष्टता । यसको एउटै मात्र उदेश्य छ – आफ्नो हारलाई टार्न स्ववियु निर्वाचन सार्ने ।

केही दिन मात्र अघि नेविसंघका उपत्यकाका विभिन्न कलेजका अगुवा नेता कार्यकर्ताहरु पार्टी सभापति शेरवहादुर देउवा, नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह लगायतका नेताहरुको निवास घेर्न पुगेका थिए ।  त्यहाँ उनीहरूले नेविसंघले काहीँ पनि चुनाव नजित्ने रिपोर्ट राखेका थिए । 

यही पृष्ठभूमिमा आइतबार साँझ प्रधानमन्त्री निवास वालुवटारमा वोलाइएको वैठकमा काङ्ग्रेस सभापति देउवाले स्ववियु चुनावप्रति आफ्नो अरुची राम्रैसँग प्रकट गरेको विषय प्रकाशमा आएको छ । यी सबै सन्दर्भ र घटनावलीहरु हेर्दा चुनावदेखि डराउने रोग लागेका काङ्ग्रेसीजनहरुले आसन्न स्ववियु चुनाव विथ‍‍ोल्न न्वारानदेखिको वल लगाइरहेको सहजै वुझ्न सकिन्छ ।

आन्दोलनको नाममा सडकमा प्रदर्शित नाटक केवल स्ववियु विथोल्ने प्रपञ्च मात्र हो ।  यस खालको जाल, झेल र षड्यन्त्रलाई चिर्दै ठोस र प्रभावकारी कार्ययोजना सहित स्ववियु निर्वाचन यथासमयमा सम्पन्न गर्न सम्वद्ध सवै जुट्नुपर्छ । त्रिवि पदाधिकारीले दह्रोसंग खुट्टा टेक्नुपर्दछ । चुनावबाट भाग्न खोज्नेहरुलाई पनि चुनावभित्रै ल्याउनुपर्छ ।

लेखक सत्तारुढ नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *