‘पशुपतिमा चोर्नेलाई पाप लाग्दैन ?’

   नयाँ दैनिक comment 0

पुस १४, काठमाडौँ । धर्मले भन्छ–चोर्नु पाप हो । ‘सेवा गरे मेवा मिल्छ’ हाम्रो मुखमा झुँडिएको वाक्य । तर, विडम्वना ! हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर अर्थात् दैनिक हजारौँ भक्तजन पुग्ने पशुपतिनाथको मन्दिरभित्रै चोरी हुन्छ । चोर्ने बाँदरले होइन । किनकि बाँदरले जुत्ता लगाउँदैन । अर्थात्, त्यहाँ नयाँ र महङ्गाखाले जुत्ता हराउँछ ।
पशुपतिनाथ मन्दिर परिसरभित्र पुगेपछि मुख्य मन्दिरमा जान बाहिरै जुत्ता–चप्पल खोल्नुपर्छ । खाली खुट्टै करिब सय मिटर हिँडेपछि मात्रै मन्दिरमा पुगिन्छ । जुत्ता लगाएको भगवानले त मन पराउलान्, नपराउलान् तर पूजा गर्दा जुत्ता–चप्पल खोल्ने भने धार्मिक परम्परा हो ।
सकेसम्म खाली पेटमै ‘शुद्ध भएर’ पूजा गरे धर्म प्राप्त हुने जनविश्वास छ । एकाबिहानै पशुपति पुग्ने र खाली पेटमै भगवानसँग ‘एक्स–रे’ गराउनेहरु सयौँको संख्यामा हुने गर्दछन् । कतिपय औपचारिकताका निम्ति मन्दिरमा पुग्छन् र फर्किन्छन् हतारिँदै ।
पशुपतिको दर्शन गरेर जुत्ता–चप्पल लगाउन आएपछि खोजेको खोज्यै हुन्छन् कतिपय भक्तजन । राम्रा खाले जुत्ता वा चप्पल जति खोजे पनि पाइँदैन । पशुपतिमा जुत्ता–चप्पल राख्ने व्यवस्थै नभएको भने होइन । तर, भक्तजनको भिड हुँदा सबैका जुत्ता–चप्पल राख्ने ठाउँमा अट्दैनन् ।
नयाँ वा एक पटक पनि नपरेकाहरु भगवान् भरोसामा बाहिरै जुत्ता–चप्पल राखेर भित्र छिर्छन् । फर्किँदा जुत्ता गायव हुन्छ । मानौँ, भक्तजन भिनाजू हुन् र जुत्ता लुकाउने दाउमा त्यहाँ सालीहरु बसिरहेका हुन्छन् ।
पशुपतिनाथ यस्तो मन्दिर हो, यहाँ विशेष चाडपर्वमा त पाइला राख्ने समेत ठाउँ हुँदैन । जुत्ता जोगाउने त परैको कुरा । दशैँ, शिवरात्रीजस्ता पर्वहरुमा त यहाँ लाखौँको संख्यामा भक्तजन भित्रिन्छन् । जुत्ता हराएकाहरु खाली खुट्टा हिँड्दै दुखेसो पोख्छन्, ‘पशुपतिमा चोर्नेलाई पाप लाग्दैन ?’ उत्तर पो कसले दिने ! करोडौँ कमाई हुने पशुपतिमा जुत्ता–चप्पलको सुरक्षार्थ केही कर्मचारी थप्नुपर्ने माग भक्तजनको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *