पृथ्वीनाराण शाहले नै देश जोगाएका हुन् : प्रधानमन्त्री

   नयाँ दैनिक comment 0

पुस २७, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहले नै नेपाल देशलाई जोगाएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने भन्दै शहको प्रशंसा समेत गरे ।
राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन् । ‘उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्वमानचित्रमा नेपाल उम्भिनै सक्ने थिएन,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन ।’
नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिकलगायतका अनेक विविधताका बीच मजबुत एकताका आधार तयार पृथ्वीनारायणले नै तयार पारेको प्रधानमन्त्रीको भनाइ छ । अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको भन्दै उनले शाहको प्रशंसा गरेका छन् । संसारका अधिकांश देश उपनिवेशवादको चङ्गुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।प्रधानमन्त्रीले सन्देशमा भनेका छन्– पुर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुण्णताप्रति हामी सदैव गौरव गर्दछौं।’ मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादतर्फ उन्मुख भएको उनको भनाई छ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.स. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *