पेरिस कम्युन : पहिलो समाजवादी सत्ता

   रामदिप आचार्य comment 0

पेरिस फ्रान्सको राजधानी । श्रमजीवि मजदुरहरुले सत्ता हातमा लिएको आज १४८ वर्ष पुरा भएको छ । १८ मार्च देखि २८ मे १८७१ सम्म जम्मा ७२ दिन मात्र टिकेको उक्त कम्युनको महत्व आज पनि उत्तिकै सान्दर्भिक छ । पेरिस कम्युन दिवसको सन्दर्भमा नेपालमा पनि छलफल गर्नु सान्दर्भिक नै छ । मैले मार्क्स, एंगेल्स र लेनिनका निष्कर्षहरुलाई सजिलो पारि राख्ने जमर्को गरेको छु, ताकि पाठकलाई पेरिस कम्युन के थियो बुझ्न सजिलो होस् ।

फ्रान्स राजतन्त्र र गणतन्त्रको उत्थान र पतन एवं विदाई र पुनरागमनको लुकामारीमा थियो । विभिन्न साना साना राजतन्त्रमा विभाजित जर्मनी एकताबद्ध हुने र वर्चश्व विस्तारको क्रममा थियो । मजदुर र किसानहरु समग्रमा जनताको जीवन कष्टप्रद थियो । उनीहरुका अगाडी विद्रोह गर्नु अपरिहार्य जस्तै बनेको थियो ।

उक्त दिन पेरिसमा मजदुरहरुले एक त्यस्तो पराक्रम गरे, जसको किर्ती युगानुयुगसम्म रहिरहने छ । त्यस दिन वुर्जुवा शासकहरुलाई शहरबाट धपाएर सत्ता आफ्नो हातमा लिएका थिए । दश दिन पछि २८ मार्चमा विश्व इतिहासमा पहिलो सर्वहारा समाजवादी राज्य पेरिस कम्युनको सृजना भयो । त्यो त्यसभन्दा अघि कहिल्यै देखा नपरेको पूर्णतः नयाँ किसिमको राज्य थियो । यस राज्यको सञ्चालन जनताद्वारा, जनताको हितमा, जनताकै लागि गरियो । यस सरकारद्वारा प्रस्तुत सामाजिक एवं राजनीतिक कार्यक्रमहरु श्रमजीवी जनताको हितमा र सबैभन्दा पहिले त मजदुरवर्गको हितमा कार्यान्वित भए ।

९ सेप्टेम्बर, १९७० मा कम्युनिष्ट इन्टरनेशनललाई लेखेको विख्यात आह्वानमा लेनिनले लेख्नुु भएको छ- मार्क्सले फ्रान्सेली सर्वहारावर्गलाई असामायिक विद्रोह नगर्न अनुरोध गर्नु भएको थियो, तर सन् १८७१ म यो विद्रोह भएपछि मार्क्सले गगन विजयी जनसमुदायको क्रान्तिकारी तत्परताको ठूलो उत्साहसहित स्वागत गर्नुभयो । लेनिनले भन्नुभयो, ‘पेरिसमा पड्केका गोलाहरुले सर्वहारावर्गका अति पछौटे र गहन निद्रामा परेका तप्काहरुलाई बिउँझाएको छ र यत्रतत्र क्रान्तिकारी समाजवादी प्रचारकार्य बढाउने प्रेरणा दिएको छ । कम्युनले युरोपेली सर्वहारावर्गलाई समाजवादी क्रान्तिका कार्यभारहरुलाई ठोस रुपमा प्रस्तुत गर्न सिकाएको छ ।’

कम्युन भनेको समाजद्वारा राज्यसत्ताको विलयन हो, जसमा समाजमा नियन्त्रणकारी एवम् दमनकारी शक्तिहरुको स्थानमा आफ्नै जीवन्त शक्तिहरुलाई स्थापित गरिन्छ, जनताको दमन गर्ने संगठित शक्तिको स्थानमा स्वयम् जनताद्वारा आफ्नै शक्तिको स्थापना गरिन्छ ।

विगतमा सबै प्रकारका ऐतिहासिक विकासहरुको लागि आवश्यक समय ती विभिन्न क्रान्तिहरु मै मात्र नष्ट पारिन्थ्यो र जनताले विजय प्राप्त गरेकै दिन ती विजयी हतियारहरु सेनालाई सुम्पने वित्तिकै फेरी ती हतियारहरु तिनै जनताको विरुद्धमा उठाइन्थे ।

त्यसैले ती पहिलेका क्रान्तिहरुको विपरित कम्युनले सर्वप्रथम नियमित सेनाको विघटन गरेर राष्ट्रिय रक्षादलको स्थापना गर्यो । शहरमा सरकारलाई नागरिकबाट सुरक्षित राख्ने स्थायी सेनाको स्थानमा सत्ता (सरकार) बाट नागरिकलाई सुरक्षित राख्ने राष्ट्रिय मिलिसिया गठित भएको छ । केवल स्थायी सेनाको उन्मुलन गर्नको लागि नै जनताले त्यस मिलिसियाको गठन राष्ट्रव्यापी गर्नु परेको थियो ।

कम्युनसँग शिक्षा प्रणालीको पुनर्गठन गर्ने समय थिएन, परन्तु त्यसबाट धार्मिक एवं पुजारी तत्वहरुलाई अलग्याएर कम्युनले जनताको बौद्धिक मुक्तिको शुरुवात गरेको थियो । गिर्जाघरहरुलाई राज्यबाट अलग्याइयो, धार्मिक आवश्यकता पूर्ति गर्ने बजेट बदर गरियो, सबै गिर्जाघरहरुको सम्पति राष्ट्रियकरण गरियो । सेनामा अनिवार्य भर्ति प्रणालीको उन्मूलन गरियो । सरकारी पदानुक्रमको उन्मूलन पूर्ण रुपमा गरियो, ती जनताका अहंकारी मालिकहरुको स्थानमा जुनसुकै समयमा पनि हटाउन सकिने सेवकहरु नियुक्त भएका छन् र देखावटी दायित्वको ठाँउमा वास्तविक दायित्व कायम गरिएको छ, किनभने तिनीहरुका क्रियाकलाप सदा सामाजिक नियन्त्रण अन्तर्गत रहन्छ ।

कम्युन ७२ दिन मात्रै टिक्न सक्यो र वीरतापूर्ण प्रतिरोधपछि आन्तरिक तथा बाह्य प्रतिक्रियावादीहरुको मारमा परेर यसको अन्त्य भयो । तर यसको अनूभव र यसले सिकाएको पाठले विश्व क्रान्तिकारी समाजवादी आन्दोलनमा ठूलो प्रभाव पारेको छ । कम्युनका अलग–अलग कार्यहरुको विशेषता जे जस्तो भएता पनि त्यसको महानतम् कार्य स्वयं कम्युनको स्थापना नै हो, जसको उत्पति त्यस्तो समयमा भयो, जुन समयमा एउटा ढोकामा विदेशी शत्रु खडा थियो भने अर्को ढोकामा आफ्नै वर्गीय शत्रु खडा थियो ।

कम्युनले आफ्नो अस्तित्वद्वारा नै आफ्नो जीवन शक्तिको प्रभाव दिएको थियो र आफ्ना सिद्धान्तहरुलाई आफ्ना कार्यहरुद्वारा प्रभावित गरेको थियो । त्यसको उत्पति फ्रान्सका विजेताहरुमाथिको विजय हो भन्ने मार्क्सको ठहर थियो ।

यदि कम्युन संगठन दृढतापूर्वक राष्टव्यापी रुपमा स्थापित हुन सकेको भए त्यसले भोग्नु पर्ने संभाव्य विपत्तिहरु तिनै दास स्वामीहरुका छिटफूट विद्रोहहरु नै हुने थिए, जसले केही समय सम्म शान्तिपूर्ण विकासको लागि केही बाधा पुर्याए तापनि सामाजि क्रान्तिको हातमा तरबार राखिदिएर त्यही आन्दोलनलाई नै बढी गतिशिल पारिदिने थियो । केन्द्रीकरण र अधिकारको अभावनै ती कुरा थिए, जसले कम्युनलाई नष्ट पार्यो ।

खासगरी कम्युनले के सावित गर्यो भने मजदुरवर्गले राज्यसत्ताको बनिबनाउ यन्त्रलाई कब्जा गरेर आफ्नो उद्देश्य पूर्तिको लागि जस्ताको तस्तै त्यसको उपयोग गर्न सक्दैन ।

यदि संघर्षले अनुकूल अवसरहरुको अचूक रुप मात्र लिइरहने हो भने विश्व इतिहासको निर्माण गर्न ज्यादै सजिलो पर्ने थियो । तर अर्कोतिर यदि संभाव्यताहरुको कुनै भूमिका नरहने हो भने इतिहासले एकदम रहस्यवादी चरित्र धारण गर्नेछ ।

ती संभाव्यताहरु विकासको सामान्य क्रममा निसन्देह तिनको संघटक अंग बनेका हुन्छन् र अन्य संभाव्यताहरुसँग सन्तुलित रहन्छन् । परन्तु सिघ्रता र मन्दता धेरै मात्रामा यिनै संभाव्यतारुमा निर्भर हुन्छन् जसमध्ये त्यस्तो संभाव्यता पनि पर्दछ, जुन आन्दोलनको नेतृत्वमा रहेका मानिसहरुको चरित्रसँग सम्बन्धित हुन्छ ।

पेरिस कम्युनको फलस्वरुप पूँजीपतिवर्ग तथा त्यसको राज्यको विरुद्ध मजदुरवर्गको संघर्षले नौलो चरणमा प्रवेश गर्यो । संघर्षको परिणाम जस्तो सुकै भए तापनि विश्व ऐतिहासिक महत्वको नयाँ प्रस्थान विन्दू भएको थियो । स्वर्गमाथि विजय प्राप्त गर्न तत्पर पेरिसका कम्युनार्डहरु जो फ्रान्सेली र जर्मनीका प्रतिक्रियावादीहरुको सामूहिक हमलामा परि तीस हजार भन्दा बढीले बलिदान गरे, जसको रगतले मजदुर समाजवादको झण्डा रंगिएको छ विश्वका सर्वहारा श्रमजीवीहरुलाई सदैव उत्प्रेरणा प्रदान गरिरह्यो ।

समाजवादको पहिलो प्रयोगको शिक्षाले विश्वव्यापी समाजवादको झण्डा उचाल्न मद्धत गर्यो । जुन रातो झण्डा मुक्ति, एकता र ऐकेबद्धताको प्रतीक हो । बुर्जुवा अन्धराष्ट्रवादको विपरित सर्वहारा अन्तराष्ट्रवादको प्रतीक हो । जुन आज पनि विश्व समाजवादी आन्दोलनको मार्गदर्शक बनिरहेको छ । यसकै प्रेरणाको कारण संसारभरका मजदुरहरु, श्रमजीवीहरु एकताबद्ध भइरहेका छन् ।

नेपालको कम्युनिष्ट समाजवादी आन्दोलन पेरिस कम्युनको वैध सन्तान हो, पेरिसका कम्युनार्डहरुको बलिदानको प्रेरणा हो जसको बाटोमा हिँड्दा नेपाली योद्धाहरुले आफ्नो जीवन आहुति गरेका छन् । पेरिसबाट उठेको मुक्तिको झण्डा सगरमाथामा फहराइरहेको छ । आज पनि मार्क्सको पालामा जस्तै उही नारा घन्काइरहेका छौँ–

पेरिस कम्युन जिन्दावाद !
अन्तराष्ट्रिय समाजवादी क्रान्ति अमर रहोस् !

लेखक आचार्य सत्तारुढ नेकपाका केन्द्रीय सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *