पोखरामा आइटीएफ यु–१८ टेनिस प्रतियोगिता हुने

३८ राष्ट्रका सय बढि खेलाडीको नाम दर्ता
   नयाँ दैनिक comment 0

माघ  ११, पोखरा । अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता हुने भएको छ । यहि माघको २१ देखि शुरु हुने प्रतियोगिताको तयारी तिब्र पारिएको आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।

प्रतियोगितामा भाग लिन विभिन्न ३८ राष्ट्रका खेलाडीहरुले आ–आफ्नों नाम पठाइसकेको प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेलले बताए । खेलाडी संख्या बढि हुने भएकाले माघको १९ र २० गते पूर्वछनौंट खेल खेलाइने उनले जानकारी दिए । सिंगल र डबल्स गरि दुई इभेण्टमा हुने प्रतियोगितामा विजयी खेलाडीले आइटीएफको २ सय ५० अंक प्राप्त गर्नेछन् ।

पोखरामा आयोजना भएका प्रतियोगिताहरु मध्ये यो अहिले सम्मकै उच्चस्तरको प्रतियोगिता भएकाले यसलाई सफल पार्न पोखरेलीको सहयोग चाहिने संघ कास्कीका अध्यक्ष दोर्जे लामाले जिकिर गरे । यहि स्तरको प्रतियोगिता यसअघि एक पटक काठमाण्डौमा आयोजना भएको थियो ।

आइटीएफ सर्किटमा लडिरहेका स्तरिय खेलाडीहरु पोखरा आउने भएकाले उनीहरुको खेल घरेलु मैदानमा हेर्न पोखरेलीहरुका लागि पनि अवसर भएको लामाले बताए । झण्डै सय खेलाडीहरु कम्तिमा १६ दिन सम्म पोखरा बस्ने भएकाले यसले पोखराको पर्यटनमा पनि टेवा पुग्ने उपाध्यक्ष नारायण पहारीले विश्वास व्यक्त गरे ।

प्रतियोगिता सम्पन्न गर्न झण्डै १४ लाख ४० हजार खर्चको अनुमान लगाइएको भएपनि अहिले सम्म ७ लाख ४० हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ । बाँकि खर्च विभिन्न प्रायोजक तथा सहयोगीबाट उठ्ने कोषाध्यक्ष राजु गुरुङ्गले आशा व्यक्त गरे ।

खेलाडीलाई आयोजकले पुरस्कार स्वरुप नगद वा ट्रफि दिन नपरेपनि व्यवस्थापकिय पक्षमा उक्त रकम खर्च हुने गुरुङ्गले बताए । संघ कास्कीले विजयी खेलाडीहरुलाई मायाको चिनो स्वरुप मेडल पुरस्कार प्रदान गर्नेछ । प्रतियोगितालाई नेपाल पर्यटन बोर्डबाट राम्रै सहयोग हुने अपेक्षा लिएको संयोजक भुजेलले बताए । आयोजक समितिका महासचिव नविन चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *